Friday 14 Kartik, 2071 |
Menu

समाज

सूर्य अस्त, महानगर मस्त

  • २१ बैशाख, २०७०
  • शिशिर वैद्य
  • DISQUS_COMMENTS
(0 votes)

हे अयला छ गुली बाँला
लयतासाँ छ हे, तँचासाँ छ हे
दुःख हे न छ हे, सुख हे न छ हे
सिसाँ म्वासाँ न्ह्याब्ले न छ हे
हे अयला छ गुली बाँला........
अन्जान कविका यी हरफले अयला (रक्सी)लाई सुख–दुःख, मृत्यु–जीवन सबै समयको उपयुक्त साथी रूपमा वर्णन गरेको छ। मदिरा, रक्सी, ठर्रा अनेक नाम रहेको अयला सन्ध्याकालीन जमघटको भरपर्दो साथीका रूपमा काठमाडौं उपत्यका निकै प्रख्यात छ। महानगरका गल्ली गल्लीमा नेवारी खाजासहित लोकल अयलाको स्वादमा रमाउन चाहनेका लागि थुप्रै खाजा घर भेटिन्छन्। 'भट्टी' उपनामले प्रख्यात यी खाजाघर सभ्य महानगरबासीका दृष्टिमा भने लोकनिन्दनीय केन्द्र हो। तर यी भट्टी काठमाडौंको पहिचानमध्ये एक हो। लोकल स्वाद र लोकल माहोलको आनन्द यिनै स्थानमा प्राप्त हुन्छ। पारखीहरू यस्ता स्थानको स्वाद कुनै अन्य उच्चस्तरीय रेस्टुरेन्टले दिन नसक्ने ठान्छन्। भट्टी शब्द आजभोलि खासै चलनचल्तीमा छैन, धेरैजसो भट्टी खाजाघर वा तुच्चा छेंमा परिणत भएका छन्। 

महानगरमा भट्टीसहितका दुर्नाम गल्ली थुप्रै छन्। तिनै दुर्नाम गल्लीका भट्टीले थुप्रै प्रख्यात गीत, कविता तथा अन्य सिर्जनामा मद्दत गरेको छ। रक्सीका सौखिन गायक, लेखक, कवि, कलाकारले यिनै गल्लीमा आफ्ना सुमधुर, कर्णप्रिय, कालजयी सिर्जनाका खाका तयार पारेका छन्। गायक, लेखक, कविलगायत अन्य थुप्रै कलाकार तथा समालोचकको साँझ यस्तै भट्टीहरूमा बित्ने गरेको थुप्रै उदाहरण न्छन्। मासं गल्ली, झोछें, कमलाक्षी, असन, भोटाहिटी, महाबौद्ध, मख्खन लगायतस्थान प्रख्यात एवं प्रसिद्ध गीत, कविता र कृतिका साक्षी हुन्। तर महानगरका अघिल्लो पुस्ताका यी दुर्नाम गल्ली अहिले परिवर्तित भएका छन्। भट्टी पसल बिलाउँदै गएका छन् वा नेवारी खाजाघरमा परिवर्तित भएका छन्। सिर्जनाका ठाउँ हल्ला र मनमुटावले लिन थालेका छन्। तर पनि महानगरको मौलिक पहिचान बोकेको 'भट्टी कल्चर'ले नयाँ–नयाँ गल्लीमा आफूलाई स्थापित गर्दै लगेको भेटिन्छ। पुराना पुस्ताका मानिस यी नवभट्टीहरूलाई स्वाद र संवेदनाहीन स्थान सम्झन्छन्। तर समय र पुस्ता फेरिएअनुसार नयाँ पुस्ताले पनि भट्टीको आफ्नै प्रकारले आनन्द लिइरहेका छन्।
महानगरको प्राचीन सहरभित्रका ऐतिहासिक गल्लीमा आफ्नो अस्तित्व कायम राख्दै आएका केही भट्टीमा अझै पनि उस्तै स्वादको आनन्द लिन पाइन्छ। पुस्ता परिवर्तित भए पनि स्वादको निरन्तरताले यी भट्टी अझै सन्ध्याकालीन आकर्षणको केन्द्र हुने गरेका छन्। झोछें, कमलाक्षी, असन, त्यौड, ज्याठा, मासंगल्ली, न्ह्योखालगायत स्थानमा पुस्तौंदेखि चलिआएका भट्टी र खाजाघरले महानगरबासीका पुराना र नयाँ ग्राहकलाई उही स्वाद पस्किने गरेका छन्। राँगाको मासुका परिकारका धनी यी भट्टीमा लोकल अयलालाई साथ दिन भुटन, छोयला, कचिला, म्ये, खाग्व, न्ह्येपु, टिस्यः, दायकुला, स्यें, च्वःही आदि अनेक सितन पाइन्छन्। चतामरी, वः लगायत अन्य थुप्रै भेज आइटमले मासु नखाने तर अयला पिउनेलाई पनि साथ दिने गर्छ। पहिले पहिले नेवार, तामाङ, शेर्पालगायत मंगोलियन परिवारका बाहेक बाहुन, क्षेत्री पनि भट्टी पस्न हिच्किचाउँथे। तर सिर्जना, संगत र स्वादका लागि लुकीलुकी भट्टी पस्ने बानी लागेकाले भट्टी कल्चरमा सबैलाई समाहित गरिदिए। आजभोलि यस्ता स्थानमा सबै जात र वर्गका मानिसको आउजाउ हुने गर्छ। पाँच रुपैयाँको एक गिलास घुटकाएर एक टुक्रा छोयला टोकेर हिँड्नेदेखि घन्टौं बसेर सम्पूर्ण खानाको आनन्द लिने पनि यी भट्टीमा पुग्छन्। लोकल रक्सी (अयला)को स्वाद उच्चस्तरीय विदेशी ह्विस्कीभन्दा राम्रो मान्छन् उनीहरू। भट्टीलाई घृणा र हेयका दृष्टिले हेर्ने समाज यहींको छोयला भनेपछि हुरुक्कै हुने गर्छन् र आफैंलाई प्रश्न गर्छन्– घरमा बनाएको किन यस्तो हुँदैन?
महानगरभर छरिएका भट्टीहरूलाई आजभोलि सम्मानपूर्वक नेवारी खाजघर भन्ने गरिन्छ। दिउँसो खासै चहलपहल नहुने यस्ता स्थानमा साँझ परेपछि निकै भिड लाग्छ। तर मापसे चेकिङका कारणले आजभोलि यी भट्टीहरू समस्यामा छन्। भित्री सहरका स्थानीयबाहेक मापसेकै कारण ग्राहक आउन छाडेका छन्। बस्ती विस्तारसँगै बढेको काठमाडौंको परिधिलाई भट्टीको आनन्द दिन महानगरका सबैजसो वडामा यस्ता खाजाघर बढेका छन्।
बिनाविज्ञापन चर्चित हुने यस्ता भट्टी काठमाडौंमा मात्र सीमित छैनन्। देशका हरेक कुनामा फैलिएका छन्। त्यसैले त नेपाल र नेपालीलाई चिनाउने क्रममा 'सूर्य अस्त, नेपाल मस्त' जस्ता टुक्काको प्रयोग हुने गर्दछ।
घुम्नेलाई मौसमको साथ

घुम्नेलाई मौसमको साथ

इलाम-'तिहारपछि चाहिँ परिवारै आउने' अन्तुडाँडामा भेटिएका झापा जयपुरका सुवास खतिवडा झुल्केघाम नियालिसकेपछि भन्दैथिए, 'गज्जबकै ठाउँ रहेछ नि!' पूर्व–पश्चिम राजमार्गको झापास्थित चारआलीबाट ५५ किमी दूरीमा अवस्थित अन्तुडाँडा सूर्योदयको दृश्यावलोकननिम्ति मुलुक प्रसिद्ध...

पुस्तकालयमा पाठकै छैनन्

पुस्तकालयमा पाठकै छैनन्

काठमाडौं-सरकारलाई हस्तान्तरण गरिएको लाजिम्पाटस्थित डा. डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालयमा ३० हजारभन्दा बढी पुस्तक छन्। त्यहाँ इतिहास, धर्म–संस्कृति, राजनीति, जीवनी, साहित्य, दर्शन लगायत विधाका विश्वप्रसिद्ध पुस्तक राखिए पनि थोरैले मात्र चासो...

एमबिबिएस छात्रवृत्ति कोटा भर्ना, विवादको घानमा ‘डाक्टर सपना’

काठमाडौं-बुटवलका २० वर्षीय कृष्ण खरालले एमबिबिएस पढ्न गत वर्ष शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटामा नाम निकालेका थिए। सानैदेखिको डाक्टर बन्ने सपना पूरा हुने देखेका उनको भुइँमा खुट्टै थिएन।

चुरेका खोलामा तस्करी व्यापक

चुरेका खोलामा तस्करी व्यापक

नेपालगन्ज-चुरेक्षेत्रका खोलाबाट ढुंगा तस्करी गर्ने क्रम पछिल्ला दिन झनै बढेको छ। सरकारले प्रतिबन्ध लगाएकै अवस्थामा पूर्वपश्चिम राजमार्गअन्तर्गत कचनापुर गाविसस्थित मुगुवा खोलाबाट ठूलो परिमाणमा ढुंगा संकलन तथा निकासी भइरहेको छ।

महाभारत संरक्षणको रकम गोष्ठीमा

डडेल्धुरा-जिल्ला वन कार्यालयले गत वर्ष महाभारत क्षेत्र संरक्षणका नाममा आएको १५ लाखभन्दा बढी रकम होर्डिङ बोर्ड र गोष्ठी सञ्चालनमा खर्च गरेको खुलासा भएको छ। सुदूरपश्चिमका डडेल्धुरा, डोटी र अछामले महाभारत...

वन्यजन्तु पाल्नेलाई उन्मुक्ति

धनगढी-अवैध रुपमा वन्यजन्तु पालेको आरोपमा पक्राउ परेका दुईजनालाई जिल्ला वन कार्यालय कैलालीले धरौटीमा रिहा गरेको छ भने वन्यजन्तु पालिएको घरका धनी कर्ण कुँवरलाई अनुसन्धान दायरामै ल्याइएको छैन। कुनै प्रमाण फेला...

राराकिनारमा जलवायु सम्मेलन सुरु : भित्र बहस, बाहिर नाराबाजी

राराताल (मुगु)-रारा राष्ट्रिय निकुञ्जभित्र २,९९० मिटर उचाइमा अवस्थित राराताल। तालकिनारमै तयार पारिएको सम्मेलनकक्षको मञ्च। योजनाविद, जलवायुविज्ञ, सरकारी उच्च अधिकारी र राजनीतिक तथा गैरराजनीतिक क्षेत्रका सरोकारवालाले राराको माटो हातमा लिएर बिहीबार...

नागरिकको फिचरका लागि पत्रकार बस्नेत पुरस्कृत

काठमाडौं— नागरिक दैनिकमा प्रकिशत 'फैलाउँदै आधा आकाश' फिचरका लागि पत्रकार वसन्त बस्नेतले 'सञ्चारिका समानता पुरस्कार २०७०' जितेका छन्। सञ्चारिका समूहले प्रदान गर्ने सो पुरस्कारको राशि १५ हजार रुपैयाँ छ। सो...