Thursday 15 Shrawn, 2071 |
Menu

विचार

बुढ्यौली र बिर्सने बानी

  • आइतबार २२ बैशाख, २०७०
  • डा. तारानाथ शर्मा
  • DISQUS_COMMENTS
(0 votes)
मानिसले बिताएको पाको उमेरलाई नै यहाँ 'बुढ्यौली' भनिएको हो तर कुन उमेरमा पुगेपछि मान्छे पाको हुन्छ त? नेपाल प्रज्ञा प्रतिष्ठानले छापेको नेपाली बृहत् शब्दकोशलाई पत्याउने हो भने 'पचास वर्षको उमेर काटेपछि नै मान्छे बूढो हुन्छ' रे। यता नेपाल सरकारले भने ६० वर्षपछि मात्रै वृद्धावस्थाले छुन्छ भन्ने मान्यता राखेको छ।  उता संयुक्त राज्य अमेरिकामा चाहिँ पैँसट्टी वर्ष नपुगी ज्येष्ठ नागरिक हुँ भन्न पाइदैन। जे होस्, जति होस् शरीरका अवयवहरुले शिथिलताको अनुभव गरेपछि नै बुढ्याइँले भेट्न थालेछ भन्न सकिन्छ।

शरीरका हात, गोडा, कान, आँखा जस्ता अंग कमजोर हँुदै गएपछि पहिलेकै जस्तो प्रकारले काम गर्न सकिँदैन। शारीरिक कमजोरी हुने मान्छेले पहिलेको जस्तो फूर्तिका साथ हिँड्न, समाउन, सुन्न र देख्न पनि सक्दैन। यस्तै कमजोरीका बेला नै रोगहरुले पनि आक्रमण गर्न थाल्छन्। शारीरिक रोगहरुको रोकथाम त चिकित्सकहरुसँग सल्लाह लिएर तथा उनीहरुले प्रस्ताव गरेका औषधीहरुको सेवन गरेर पनि हुन्छ नै। त्यसका साथै बिहान–बिहान सफा हावा भएका ठाउँमा घुम्नाले र नियमित योगाभ्यास तथा हलुका व्यायाम गर्नाले पनि शरीरलाई स्वस्थ राख्न सकिन्छ।
बुढ्यौली ज्ञानको अमूल्य भण्डार हो। जीवनभरिको अनुभबाट धेरै कुरा जानिएको हुन्छ। पढेर भन्दा परेर नै मान्छेले बुद्धि राम्ररी बढाउन सक्छ भन्ने उखान हाम्रो समाजमा प्रचलित छ, जो अत्यन्त सत्य कुरो हो। त्यसैले त 'आगो ताप्नु मुढाको, कुरा सुन्नु बूढाको' भनिएको हो। हाम्रो जस्तो संस्कार र संस्कृति भएको समाजमा संयु्क्त परिवार नै श्रेष्ठ मानिन्थ्यो अर्थात् दुवै आमाबाबु आफ्नै छोरा–बुहारीसँगै जीवन व्यतीत गर्थे। त्यसो हुँदा बुढेसकालमा हुने शारीरिक अशक्तता अथवा मानसिक रोगहरुले थलिए पनि ज्येष्ठ नागरिकहरुको अत्यन्त स्नेहपूर्ण हेरचाह हुने गर्थ्यो। बूढा बाबु वा बूढी आमालाई आदर र प्रेमको व्यवहार हुने हुँदा जस्तै रोगव्याधी वा अशक्ततामा पनि तिनले छोरा–बुहारीबाट उपयुक्त सेवा र सहयोग पाइरहन्थे तर हाम्रो समाज पनि विस्तारै पश्चिमका सामाजिक व्यवहारबाट चाँडोचाँडो प्रभावित भएर आमा–बाबुबाट पूरै छुट्टिएर बस्ने एकलकाट्टे व्यवस्थातिर लम्किरहेकाले बुढ्यौलीको समस्या तीव्रतर गतिमा बढ्दै गएको छ।

पढ्न शहरतिर वा टाढा विदेशतिरै जाने र उतै काम गरेर बस्ने चलन बढेर गएकाले बूढा आमा–बाबु थोत्रो घरमा एक्लै जीवन बिताउन बाध्य हुनुपर्दा मानसिक पीडाले पनि उनीहरु व्यथित छन्। यस्तो व्यथाले बूढाबूढी उमेरका व्यक्तिहरुलाई मस्तिष्कमा नराम्रो प्रभाव पार्छ। अनि विचार गर्ने, तर्क गर्ने र सम्झने शक्ति बिगार्दै लान्छ। हुन त पश्चिमका मुलुकहरुमा सरकारले र दयालु धनी मानिसले समाजका अशक्त र असहाय वृद्धवृद्धालाई राम्रो सहयोग गर्ने उद्देश्यले वृद्धाश्रममा राम्ररी तालिम पाएका कर्मचारीले अशक्त बूढाबूढीलाई निरन्तर सेवा पुर्याोउँछन्। साधारण खेलहरु खेलाएर, सामूहिक गीत र नाचहरुमा मात्र लिन लगाएर तथा अरु प्रकारका मनोरञ्जनमा डुबाएर समय काट्न सजिलो गराइदिन्छन्। हाम्रै नेपालमा पनि केही वृद्धाश्रम खुलेका छन्। परिवारका शक्त सदस्यहरुले सेवा नपुर्यानएका र हेपेका बूढाबूढीलाई यस्ता आश्रमले केही सेवा पुर्यािएकै छन्।

पुराना कुरा बिर्सने, साथीभाइका नाम बिर्सने र आफूले राखेका वस्तुहरुका स्थान बिर्सने जस्ता मस्तिष्कका कम्जोरीबाट पीडा बढ्दै जाने रोग बुढ्यौलीलाई असह्य बनाउने कुरो हो। बूढापाका व्यक्ति राम्ररी हिँडनलाई आँखा नदेख्ने, दिएका सङ्केत नसुन्ने अथवा घुँडा दुःखेर वा पाउ लर्बराएर तथा पाखुराले काम नदिएर असमर्थ हुने स्थिति उत्पन्न हुँदा सहयोगको आवश्यकता पर्छ। चाहे घरपरिवारमै बस्दा छोरा–बुहारी वा नाति–नातिनाले समाएर र डोर्या एर सहायता दिनुपरोस् अथवा वृद्धाश्रममा स्वयंसेवक वा त्यसै काममा नियुक्त व्यक्तिले निरन्तर सहयोग गरेर होस्, वृद्धवृद्धालाई जीवन सजिलो तुल्याउनु ठूलो धर्म र मानवीय कर्तव्य हो तर हाम्रा कतिपय सन्तानले परिवारका आदरणीय प्रौढ व्यक्तिहरुको उचित सेवा गर्नु त कता हो कता, उनीहरुलाई असीमित पीडा दिइरहेका हुन्छन्। मनुष्य जीवन पाएर पनि यस्ता नराधमहरु धिक्कारका पात्र हुन्।

वृद्धवृद्धाको सबैभन्दा डरलाग्दो शत्रु एकान्तवास नै हो। एक्लै बस्नुपर्दा नै बिर्सने रोगले च्याप्छ र सिध्याएरै छाड्छ। त्यसो हुँदा परिवारमा नै रहनेले नातिनातिना खेलाएर र नहुनेले समकक्षी तथा समवयस्क मान्छेहरुसँग कुरा गरेर, ख्यालठट्टा गरेर र हलुका खेलहरुमा मन दिएर समय गुजार्नु साह्रै आवश्यक हुन्छ। आफू जन्मेदेखि हुर्काउने, बढाउने, हिँड्न, बोल्न, खाने र लुगा लगाउनसमेत सिकाएर काखमा बोकी सशक्त र सक्षम बनाउने तथा सिकाउने पढाउने मातापिता परमेवश्वरका साक्षत् अवतार हुन्। आफू सशक्त भइसकेपछि त्यस्ता ईश्वरतुल्य बाबु आमाको सेवा गर्न पाउनु ठूलो भाग्य हो। छोराबुहारीले हेरचाह राम्ररी गरेमा मनोविकारबाट उत्पन्न हुने बिर्सने रोग पनि च्वाट्टै निको हुन्छ।