Wednesday 3 Baishak, 2071 | April 16, 2014
Menu

विचार

प्रचण्ड पहेली – २

  • शुक्रबार २० बैशाख, २०७०
  • युग पाठक
  • DISQUS_COMMENTS
(0 votes)
हरेक व्यक्ति इतिहास र समाज व्यवस्थाको उत्पादन हो। कार्ल मार्क्सको यही सैद्धान्तिक निरुपणलाई केन्द्रमा राख्दै बीसौं शताब्दीभर थुप्रै दार्शनिक र सिद्धान्तकारहरुले 'व्यक्ति' का मनोवैज्ञानिक, सामाजिक, राजनीतिक, ऐतिहासिकलगायत् थुप्रै आयामको व्याख्या गरेका छन्। तर, जुनसुकै कोणबाट व्याख्या गरिए पनि खास ऐतिहासिक पृष्ठभूमिमा खास समाजमा जन्मेका 'व्यक्ति' हरु इतिहास र समाज व्यवस्थामाथि क्रिया गर्ने क्रममा फरकफरक स्वरूपमा प्रकट हुन्छन्। एकथरी जारी इतिहासको घनचक्करभित्रै विलय हुन्छन्, अर्कोथरी त्यसमाथि हस्तक्षेप गर्दै निरन्तर परिवर्तनको नियमलाई घोडाको लगाम समाएझैं समाउँछन् र हाँक्छन्। अन्ततः हाँक्नेहरु नै इतिहासको रंगमञ्चमा खडा उभिने सामर्थ्य राख्छन्।
प्रचण्ड पनि नेपाली इतिहास र समाज व्यवस्थाकै उत्पादन हुन्। नेपाली इतिहास र सामाजिक सांस्कृतिक परिवेशका सीमाहरु उनको व्यक्तित्वमा पनि देख्न सकिन्छ। परन्तु उनी चूपचाप इतिहासको उत्पादन हुन अस्वीकार गर्ने र इतिहासमाथि नै क्रिया गरेर परिवर्तनको लगाम समात्ने अभियन्तामध्ये एक हुन्। यसैकारण उनका बारेमा अनेक मिथक बनेका छन् र 'प्रचण्ड' नामलाई नै उनको व्यक्तित्वसँग जोड्ने र हटाउने खेल आजपर्यन्त चलिरहेको छ। प्रचण्डलाई बिर्सने प्रबल इच्छाले एकथरी उनलाई छविलाल भन्छन्, छविलालले काम चलेन भने पुष्पकमल दाहाल भन्छन्। केही सञ्चार संस्थाले प्रचण्ड भन्दै नभन्ने आधिकारिक लाइन नै बनाएका छन्। यो पहेलीको बीचमा 'प्रचण्ड पहेली' प्रकाशित भएपछि यो पंक्तिकारले पनि थुप्रै तितामिठा प्रतिक्रिया पायो। तीमध्ये गर्गी माझीले लेख्नुभएको एक पत्रले लेख्दालेख्दै शब्दसीमा सकिएर अडिएको यो पंक्तिकारलाई थप केही पहेली खोतल्न प्रेरित गर्यो।
प्रचण्ड सत्ता कब्जा गर्न चाहन्छन् भन्ने चर्चा आजपर्यन्त सेलाएको छैन। जनयुद्धमार्फत् वैकल्पिक सत्ताको अभ्यास गरेर आएको माओवादीका नेतालाई यस्तो 'आरोप' लगाइनु अस्वाभाविक होइन। तर 'सत्ता कब्जा' भन्ने वाक्यांशलाई फरक फरक अर्थमा व्याख्या गर्न सकिन्छ। सारतः हरेक राजनीतिक शक्ति अन्ततः सत्ता कब्जा नै गर्न चाहन्छ। तैपनि नकारात्मक (तानाशाही स्थापना गर्ने) अर्थमा माओवादी र प्रकारान्तरले प्रचण्डमाथि यो आरोप लगाइने गरेको छ। अनौठो प्रसंग त के छ भने 'सत्ता कब्जा'को त्यही नकरात्मक भयदोहन गर्दागर्दै प्रचण्डका प्रबल विरोधीहरु रनभुल्लमा पर्ने गरेका छन्। किनभने क्रमभङ्गमार्फत् नयाँ परिस्थिति निर्माण गर्न र त्यो नयाँ परिस्थितिभित्रको क्रमबद्धतालाई जादूगरी शैलीमा सञ्चालन गर्न प्रचण्ड माहिर छन्।
जनयुद्धकै बीचमा संविधान सभाको माग राखेर वार्तामा बसेको माओवादी अन्ततः युद्धलाई एक मात्र र अन्तिम साधन ठान्दैनथ्यो भन्ने प्रष्टै थियो। त्यसैले लालीगुराँस क्रान्तिमा माओवादी विप्लवी तरिकाले नै सामेल भयो। शान्ति प्रक्रियासँगै गणतन्त्रको मुद्दामा आन्दोलनका सहयात्री दलहरु मूलतः काँग्रेस–एमाले माओवादीसँग सहयात्रा गर्ने मुडमा थिएनन्। त्यसबेला गिरिजाबाबुसँग प्रचण्डको मित्रता अनौठो र अभूतपूर्व थियो। गणतन्त्रको स्थापनाले प्रचण्डको सत्ता कब्जा गर्ने सपना पूरा हुन्छ भन्ने भयले ती दुवै दलभित्र घर गरेको थियो। त्यो भय प्रचण्डको बढ्दो प्रभावद्वारा निसृत थियो। तर सत्ता कब्जाको परम्परागत परिभाषाभित्रबाट अघि बढ्न सकिन्न भन्ने बुझेका प्रचण्डले शान्ति प्रक्रियामा नकारात्मक हस्तक्षेप गरेनन्। बरु, विपक्षीहरुको भयलाई चूपचाप चल्न दिइराखे। फलस्वरूप तथ्यहरुले जनयुद्धको बाटोबाट क्रमभङ्ग गरेर आएका प्रचण्ड शान्ति प्रक्रियामार्फत् चलिरहेको क्रमबद्धतालाई स्वीकार गर्छन् भन्ने पुष्टि गर्योर। अनि सत्ता कब्जाको अर्थ स्वतः एक पहेली बन्यो।
प्रचण्ड कुरा फेरिरहन्छन् भन्नेहरु पनि छन्। यस्तो टिप्पणी सुरुमा एमाले नेता माधव नेपालले गरेका थिए। पछि फेसनकै रूपमा अरुले पनि दोहोर्या उन थाले। वास्तवमा उनी थुप्रै विकल्पमाथि निरन्तर क्रियाशील हुन्छन्। ट्याक्टिकल हिसाबले जसले धेरै विकल्प निर्माण गर्छ, राजनीतिक पहलकदमी उसकै हातमा हुन्छ। संविधान सभा विघटनपछि विपक्षीहरु डा. बाबुराम भट्टराई नेतृत्वको सरकार बदल्न चाहन्थे र त्यसको ठाउँमा आफैं विराजमान हुन चाहन्थे। प्रचण्डले यस्तो प्रस्तावलाई ठाडै इन्कार गरेनन्, बरु विभिन्न विकल्प विपक्षीसामु प्रस्तुत गरे। तत्कालीन प्रधानमन्त्री डा.भट्टराई पनि विकल्पमाथि छलफल गर्न तयार नै थिए। संविधान सभा विघटनसम्म आइपुग्दा काँग्रेस–एमाले गठबन्धन संघीयता विरोधी गठबन्धनका रूपमा परिचित भइसकेकाले सैद्धान्तिक हिसाबले माओवादी नेतृत्वको तत्कालीन सत्ता गठबन्धन ठीक विपरित मोर्चामा थियो। विपरित विचारको नेताको हैसियतले प्रचण्डले पनि आफैंले पेस गरेका विकल्पमध्ये आफूअनुकूलको विकल्प छान्नु स्वाभाविक थियो। 
विकल्प निरन्तर बनाइरहने भएकैले प्रचण्ड माधव नेपालका आँखामा कुरा फेर्ने पात्र भए। फेरि उनकै विकल्पमध्ये एकमा सबै दल सहमत भएपछि परिस्थितिको डिजाइनर पनि उनै भए। उनको यही वाचाल चरित्रकै कारण एक मधेसी नेताले देशको राष्ट्रपति बन्ने मौका पाए भने यसैको फलस्वरूप बेलाबेला उनले संकट पनि बेहोर्नुपरेको छ। कहिलेकाहीँ तत्कालीन ट्याक्टिकल मुद्दामा धेरै अल्भि्करहने स्वभावका कारण ठूला मुद्दामा परिस्थिति बिग्रिसकेपछि मात्र प्रचण्डको ध्यान जान्छ। उदाहरणका रूपमा शान्ति प्रक्रियालाई लिन सकिन्छ। शान्ति प्रक्रिया निरन्तर प्राथमिकतामा पर्नुपर्ने विषय थियो र मूलतः माओवादीकै निरन्तर रचनात्मक प्रयास आवश्यक थियो। तर पार्टीभित्रको चरम गुटबन्दीले नकारात्मक बहाव समातिसकेपछि मात्र हतारहतारमा क्यान्टोनमेन्ट सेनालाई जिम्मा लगाउने काम गरियो। त्यसैले शान्ति प्रक्रिया सुखद अन्त्यसम्म पुग्न सकेन। 
अधिकांश सर्वसाधारण, विपक्षी र विदेशी कूटनीतिक खेलाडीहरुका निम्तिसमेत प्रचण्ड एक जादुगर नेता हुन्। तर उनकै पार्टीभित्र भने प्रचण्डको जादूले बेलाबेला काम गर्दैन। यसमा उनको स्वकेन्द्रित अहम्ले काम गरेको छ। हेटौंडा अधिवेशनका निम्ति उनले तयार गरेको 'राजनीतिक प्रस्ताव' मा केही असंगत त्रुटि रहनु र मूल सैद्धान्तिक कुरासमेत केही अमूर्त नै बाँकी रहनुमा पनि टिममा भन्दा एक्लै एडभेन्चर गर्न रुचाउने उनको स्वभावले काम गरेको छ। चरम गुटबन्दीमा फसुञ्जेल पार्टीभित्रको सैद्धान्तिक र सांगठनिक व्यवस्थापनमा उनको ध्यान पुगेन। अझ उनको सैद्धान्तिक अलमलले समेत गुटबन्दीमा भूमिका खेल्यो। वैद्य खेमा फुटेर गइसकेपछि मात्र उनी संग्लिएर पार्टीको सैद्धान्तिक खाका कोर्न लागेका थिए।
आफ्नो समाजको आधुनिकताको गतिलाई पक्रन सक्नु एक सफल नेताको मुख्य गुण हो। हुन त नेपाली समाजको वास्तविक स्थिति, गति र लयका बारेमा यथेष्ट अध्ययन भएका छैनन्। स्पष्टतः सतहमा आएका केही तथ्यलाई मोटो सैद्धान्तिक चश्माबाट हेरेर सम्पूर्ण व्याख्या हुन सक्दैन। तथापि राजतन्त्रकृत विभेदकारी समाज व्यवस्थाका चोटहरुबाट नेपाली समाज माथि उठ्न खोजिरहेको तथ्य स्पष्ट छ। माओवादी विद्रोह र अनेकन आन्दोलन यही प्रयासका द्योतक हुन्। राजतन्त्रको छायाँमुन्तिर केवल खान्दानी र कुलीनहरुले मात्र शासन गर्ने र अर्थतन्त्रमा पनि उनीहरुकै स्वार्थको पकड हुने स्थितिमाथि गणतन्त्रको घोषणले राजनीतिक विजय हासिल गरिसकेको छ। तर राज्यको संरचनात्मक परिवर्तन नभएसम्म गरिब वर्गले गणतन्त्रको वास्तविक फल पाउन सक्दैनन् र देशले पनि प्रगतिको बाटो पक्रँदैन। यसैका निम्ति समावेशी राज्य निर्माण गर्ने संविधान चाहिएको हो। हेटौंडा महाधिवेशनबाट पारित भएको प्रचण्डको प्रस्तावले यो तथ्य पक्रेको छ।
केही मानिसको भनाईमा प्रचण्डको व्याख्या समाजशास्त्री चैतन्य मिश्र र एमाले नेता घनश्याम भुषालको व्याख्याबाट आएको हो। मूलतः नेपाली समाज पुँजीवादमा प्रवेश गरिसकेको छ भन्ने मिश्र र भुषालको व्याख्या छ। एउटा तथ्य के हो भने आफ्नो समयमा निर्माण भएको बौद्धिक शक्तिबाट सकारात्मक शिक्षा हासिल गर्नु जरुरी कुरा हो। त्यसो गर्दा रचनात्मक बुझाई (अन्डरस्ट्याडिङ) अनिवार्य तŒव हो। तर प्रचण्डको व्याख्या विल्कुल फरक छ। मिश्र र भुषाल नेपालमा पुँजीवाद उहिल्यै आइसकेको बताउँछन्। जतिबेला माओवादीले नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक छ भन्थ्यो, त्यतिबेला पनि मिश्र र भुषाल पुँजीवाद नेपालमा प्रवेश गरिसकेको विश्वास गर्थे। एक प्रसंगमा यो पंक्तिकारले पनि विद्वान्द्वयको आलोचना गर्दै राजतन्त्रको छायाँमा उत्पादन र वितरणका साधनहरुको स्वामित्व रहेकाले पुँजीवादतर्फ मुलुक प्रवेश नगरेको तर्क गरेको थियो। 
तर गणतन्त्र घोषणापछि राजतन्त्र र उसको छायाँमा हुर्केको खान्दानी, कुलीन वर्गको शक्ति ह्रास भएको छ। हालसम्म कब्जामा रहेको स्रोतसाधन पनि विस्तारै यो वर्गको हातबाट फुत्कँदैछ र राज्यसत्ताको शक्ति प्रयोग गरेर अरु कसैलाई उद्यममा आउनै नदिने उसको शक्ति बाँकी छैन। यसर्थ फरक ढंगले राष्ट्रिय पुँजी निर्माणको निम्ति बाटो खुलेको छ। यस हिसाबले अब मुलुक पुँजीवादोन्मुख भयो भन्ने प्रचण्डको उद्घोष र सोहीअनुकूल पार्टीलाई समेत उत्पादनसँग जोड्ने नीति सही ढंगले कार्यान्वयन भएको खण्डमा मुलुकले आर्थिक विकासको गति समात्ने सम्भावना छ। आफैंमा 'ओरिजिनल' हुनु जरुरी छैन तर रचनात्मक नेतृत्व क्षमता भनेकै आफ्नो समयको आधुनिकता चिन्ने हो र त्यसको स्वामित्व लिँदै मुलुक हाँक्ने हो। यसमा प्रचण्डले आफूलाई अलग नेताका रूपमा प्रमाणित गरेका छन्। तमाम पहेलीका बाबजुद उनको रचनात्मकतामा नै नेपाली आधुनिकताको जग बस्न सक्ने सम्भावना जीवित छ।