Monday 12 Shrawn, 2071 |
Menu

विचार

गुञ्जेको सम्मान

  • शुक्रबार २० बैशाख, २०७०
  • विचार
  • DISQUS_COMMENTS
(0 votes)
बुधबार मुलुकका धेरै ठाउँमा मजदुरले मे दिवस मनाइरहेका थिए। ती सबैजसो परम्परागत ढर्रामै आधारित थिए। तर नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, धुलिखेल रुट इकाईले गरेको कार्यक्रम भने नितान्त पृथक थियो। जुन कार्यक्रममा इकाईले २८ वर्षदेखि सवारी साधन चलाउँदै आएका गुञ्जे लामालाई १ लाख ५ हजार रुपियाँ नगदसहित सम्मान गर्योस। गुञ्जे लामाप्रतिको सम्मानले उनी र उनको परिवार त खुशी हुने नै भयो, सँगै सवारी सञ्चालन क्षेत्रका संलग्न सबैलाई खुशी दिलाएको छ।
सम्मान खासै ठूलो विषय हैन नेपालका सन्दर्भमा। नामै नसुनेका बग्रेल्ती संस्थाले पनि विनायोगदान विभिन्न सम्मान र पुरस्कार दिने रोग नेपालमा भित्रेको धेरै भइसकेको छ। त्यसमाथि पनि एउटाले आफू सम्मिलित संस्थाका तर्फबाट अर्कोलाई पुरस्कार तथा सम्मान दिलाउने र उसले फेरि पैंचो तिर्ने परिपाटीले सम्मान र पुरस्कारको तौल घट्दै जान थालेका छन्। तर गुञ्जेले पाएको सम्मान पनि योभन्दा सबै दृष्टिले फरक थियो। जसले धेरै आयामसमेत उजागर गर्न सकेको छ।
नेपालमा कामलाई पनि सानो र ठूलो, गर्न हुने र नहुने, पढे/लेखेकाले गर्ने र अनपढले गर्ने जस्ता विभिन्न श्रेणीमा राखेर विश्लेषण गरिने दुःखद् चलन विद्यमान छ। यस्तो अवस्थामा सवारी क्षेत्रमा संलग्नलाई पनि तल्लो नजरले हेर्ने परिपाटी छ। त्यसैले उनीहरुको राम्रो कामको प्रशंसा शायदै हुने गर्छ। यस्तो अवस्थामा गुञ्जेको इमानदारितामाथि इकाईले पुर्या्एको नजर वास्तवमै उचित छ। किनकि उनलाई पुरस्कृत गरिनुको कारणमै सवारी नियम पालना, यात्रुलाई सम्मानजनक व्यवहार र निरन्तरता जस्ता पक्ष कदर गरिएको उल्लेख छ। यसले प्रष्ट्याउँछ कि उनलाई पुरस्कृत गरिनुका कारण एकदमै उचित छ। किनकि जसले सवारी नियम पालना गर्दैन र जसले यात्रुलाई सम्मान गर्दैन, यी दुवै कारणले क्रमशः ज्यान र व्यवसाय जोखिममा पार्छन्। जसले यसलाई पछ्याउँछ, उसले आफ्नोमात्र हैन, यात्रुको समेत ज्यान सुरक्षित पार्छ। त्यतिमात्र हैन, आफ्नो जीविकोपार्जन सुनिश्चित गर्दै सवारीधनीको जीविकासमेत भरपर्दो र विश्वसनीय बनाउँछ।
अर्थात् सवारी चालकमा हुनुपर्ने मुख्य दुई गुणलाई आधार बनाएर दिइएको पुरस्कारले गुञ्जेमात्र हैन, सम्पूर्ण सवारी चालकलाई यसप्रति संवेदनशील बनाएको हुनुपर्छ। ज्यान र जीविका दुवै सुरक्षित गराउन सके यस्ता सम्मान र पुरस्कारसमेत सुरक्षित गर्न सकिने अर्को सन्देश पनि सवारी चालकमा पुग्ने सम्भावना रहन्छ। अझ महŒवपूर्ण पक्ष त चालकहरुमा 'कतै न कतैबाट हाम्रो कामको पनि मूल्यांकन भइरहँदो रहेछ' भन्ने बुझाई उत्पन्न हुनु पनि हो। त्यसैले चालकलाई सम्मान र पुरस्कृत गर्ने इकाईको कदम धेरै अर्थमा प्रशंसनीय छ। जसलाई अन्य यातायात समितिले पनि पछ्याउनुपर्छ।
सुन्दर विचार छ गुञ्जेको अर्को– तीन वर्षपछि घर फर्केर यही पैसा लगानी गरेर बाख्रा पाल्ने। उनी तीन वर्षपछि गाडी नचलाउने विचारमा छन्। तर त्यसपछि उनी रिटायर्ड जीवन वा बुढेसकाल भनेर त्यत्तिकै बस्नेवाला छैनन्। उनी त्यसपछिको जीवनलाई पनि सक्रिय र हराभरा बनाउनका लागि व्यवसाय गर्न चाहन्छन् र यो पैसा त्यसैमा लगाउन आतुर छन्। जसबाट धेरै बेरोजगार, खासगरी युवायुवतीले सिक्न सक्छन्। २८ वर्ष गाडी चलाउँदा कहिल्यै दुर्घटना नबेहोरेका गुञ्जे आपनो जिन्दगीलाई पनि आर्थिक दुर्घटनाबाट यसैगरी बचाउन चाहन्छन्, उनको बाख्रा पाल्ने योजना शायद त्यसैको तयारी हो।
धुलिखेल रुट इकाईको यो पहलकदमीले अर्को सन्देश पनि दिएको छ– चालकलाई नियम पालना गर्न लगाउन तथा यात्रुसँग राम्रो व्यवहार गर्न सिकाउन दण्ड र जरिवानामात्र पर्याप्त छैन। उनीहरुलाई यसैगरी सेवाप्रति बढी जिम्मेवार र उत्तरदायी बनाउन सकिन्छ। त्यसैले यस्ता राम्रा कार्यक्रमलाई अन्य यातायात समितिमात्र नभई सरकारी निकायले समेत अपनाउन ढिला गर्नुहुन्न।