Thursday 4 Baishak, 2071 |
Menu

विचार

मे दिवसको सार्थकता

  • बुधबार १८ बैशाख, २०७०
  • सम्पादकीय
  • DISQUS_COMMENTS
(0 votes)
मे १ विश्वभरका मजदुरका लागि हर्षोल्लाष मनाउने दिन हो। सन् १८८६ मा अमेरिकाको सिकागो शहरमा मजदुरहरुले देखाएको वीरतापूर्ण प्रदर्शनको सम्झनामा मनाइने यो दिवस नेपालमा पनि विभिन्न प्रकारले मनाइँदै आएको छ। ८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा मनोरञ्जनको माग राखेर सडकमा उत्रेका उनीहरुले देखाएको अदम्य साहस र बलिदानीको सम्झना नै मे दिवसको मुख्य आकर्षण हो। त्यसैले आफ्ना मागको आवाज बुलन्द भएको र यसरी आवाज उठाउनेहरुको साहसप्रति सम्मान गर्दै मजदुर हकहितका लागि थप उपलब्धि प्राप्त गर्न गोलबन्द हुने सन्देश मे दिवसले दिने गरेको छ।

नेपालमै पनि विभिन्न कार्यक्रमका साथ यस्तो दिवस मनाइँदै आएको छ। तर विडम्बना, 'विश्वभरका मजदुर एक हौं' भन्ने ब्यानरमुनि मनाइने यो दिवस दर्जनौं ठाउँमा मनाइन्छ। एउटै ठाउँका मजदुर त एक हुन नसक्ने अवस्थामा विश्वका मजदुर एक हुनुपर्ने आग्रह कति सान्दर्भिक छ भन्नेतर्फ गम्भीर सोचविचार आवश्यक छ। वास्तवमा जहिले पनि मजदुरहरु शोषित हुने र उद्यमीले शोषण गर्ने मान्यता राखिन्छ। मार्क्सवादी दृष्टिकोणले त श्रमिकमाथि बढ्दै गएर शोषण चरम रूपमा पुगेपछि त्यसले पुँजीवाद नै सकिने तर्कसमेत गर्ने गरेको छ। यसरी हेर्दा विश्वका, चाहे जुनसुकै देश र क्षेत्रका किन नहुन्, मजदुर मजदुर नै हुन्, उनीहरु उद्यमीलाई धनी बनाइदिएर आफूचाहिँ झन् झन् गरिब बन्दै गएका दृष्टान्त थुप्रै छन्। यस्तो अवस्थामा समान पीडा र उस्तै वेदना भएकाहरु नै मिल्न नसक्नुले भने मे दिवस किन र केका लागि भन्ने प्रश्न खडा गरेको छ।
खासगरी विभिन्न दलको पुच्छर बन्ने प्रवृत्तिले पनि मजदुर एकतामा भाँजो हाल्ने काम गरेको छ। कुनै दलविशेषप्रति सद्भाव राख्नु वा समर्थन गर्नु बेग्लै पाटो हो तर आफ्नो वर्गीय हितलाई नै थाँती राखेर उसकै मार्ग पछ्याउनुले चाहिँ मजदुर वर्गकै अन्याय बढाउने काममात्र गरेको छ। नेपालमा चिराचिरामा विभक्त कम्युनिष्ट पार्टी हुन् वा कांग्रेस समर्थक मजदुर संगठन, एक्लाएक्लै मे दिवस मनाउन पर्नुको वास्तविकता योभन्दा पृथक छैन। जसबाट मजदुरले आफ्नो हकहितका लागि पूरा गराउन सक्ने कतिपय माग पनि पूरा गराउन सकेका छैनन्। र, यसको प्रत्यक्ष मार यिनै मजदुरले भोगिरहेका छन्।
अर्को बुझ्नैपर्ने कुरा के हो भने मुलुकमा उद्योगधन्दा बढे र तिनले राम्रो व्यापार गरे भनेमात्र मजदुरको स्थिति पनि सुदृढ हुने सम्भावना रहन्छ। अर्थात् माउको कल्चौंडो पोषिलो भएमात्र बाच्छाबाच्छीले झम्टीझम्टी दाबी गर्ने अवस्था रहन्छ। तर नेपालमा पछिल्लो समय केही मजदुरमा कल्चौंडोप्रति नै धावा बोल्ने प्रवृति देखिएको छ। विभिन्न माग राखेर आन्दोलन गर्ने, बरु माग पूरा नहुने स्थितिमा उद्योग नै बन्द गराउनेसम्मको हर्कत देखिँदै आएको छ। उद्यमी र केही सीमित नेताको यो जुँगे लडाइँमा थुप्रै मजदुर पिसिएका छन्। उनीहरुको रोजीरोटी संकटमा परेको छ। अर्थात् धेरै मजदुर ढालका रूपमा प्रयोग हुँदै आएका छन्। अब मजदुर नेताहरुले यो प्रवृतितर्फ पनि गम्भीर मनन् गर्नुपर्ने बेला आएको छ।
नेपालको सन्दर्भमा दिनभर भव्य महल बनाउनेहरु राति पाटीमा बास बस्नुपर्ने अवस्था छ। अरुको भकारी भरिदिनेहरु आधा पेट निदाउनुपर्ने बाध्यता छ। अनि मालिक एउटाबाट दश वटा बस किन्ने अवस्थामा पुग्दा पनि खलासी र ड्राइबर भने दुई छाककै चिन्तामा रुमलिइरहनुपर्ने अवस्थाबाट मुक्त हुन सकेका छैनन्। उत्पादनका साधन र उत्पादनका शक्तिबीचको बेमेलले यहाँका मजदुरको मुहार चम्काउन अवरोध खडा गरेको छ। त्यसैले उद्यमी, मजदुर र सहजकर्ताका रूपमा सरकारी पक्षको समन्वयमा सुझबुझपूर्ण नीति निर्माण र त्यसको कार्यान्वयनले मात्र मे दिवस मनाउनुको अर्थ झल्कन सक्छ। नत्र यो सनातनी कर्मकाण्डी पाराभन्दा माथि उठ्ने छैन।