8 Kartik, 2071 |
Menu

विचार

ज्येष्ठ नागरिकको आवश्यकता

  • बुधबार १८ बैशाख, २०७०
  • छत्र प्रधान
  • DISQUS_COMMENTS
(0 votes)
ज्येष्ठ नागरिक हुने क्रममा गम्भीर प्रकारका मानवीय समस्या पनि बढेर जान्छन् । उनीहरु बिस्तारैबिस्तारै कमाईधमाई गर्न नसक्ने अनुत्पादक हुने भएकाले उनीहरुले आफूले चाहेको/सोचेको जसरी काम गर्न असमर्थ हुन्छन्। यसबाट उनीहरुको आवश्यकता अझ बढेर जानेे कारणले पनि उनीहरुप्रति अलिक गम्भीररूपमा सरोकार राखिनुपर्छ। 
यहा“ंनेर नैतिक प्रश्न खडा हुन्छ, जसलेे हाम्रो ध्यानलाई पारलौकिक मूल्यहरुतिर तान्ने काम गर्छ। उनीहरुले यसलाई प्राकृतिक कुराजस्तै लिने गर्छन्। परिवारका सदस्यहरु नै वृद्धवृद्धाको स्याहार तथा व्यवस्थापनका लागि जिम्मेवार हुन्छन्। तर हाल परिवेश फरक भइसकेको छ। वृद्ध उमेर समूहका मानिसको संख्या पनि निकै बढेको छ।
वृद्धवृद्धाले समाजको अगाडि राखिदिएको समस्या कुनै पनि अर्थमा आकस्मिक र एकोहोरोखालको पनि होइन। वृद्धवृद्धा यसै विकास प्रक्रियाका उपज हुन्। हाम्रो विकासले दिएको समग्र जोड भनेकै व्यक्तिगत सफलता, वृत्ति विकास, उद्यमशीलता, लगानी, पुँजी निर्माण तथा नाफा नै हुन्। परिवार, समुदाय तथा सरकारको तहमा वृद्धवृद्धाको समस्याले निकै कम प्राथमिकता पाएको हुन्छ। यस्ता समस्यालाई गहिरिएर अध्ययन नगरी जस्ताको तस्तै लिइएको हुन्छ, जसबाट समस्या आफ्नै पाराले समाधान हुँदै जान्छन्। यसलाई विशेषतः पारिवारिक समस्याको रूपमा नै लिइन्छ। यसलाई समुदाय वा सरकारले गर्नुपर्ने नै केही छैन कि जस्तो गरी लिइन्छ।  
परिवारबाट स्याहारसुसार पाउने आशा राखेका वृद्धवृद्धाको यस किसिमको दुर्दशा छ, जसको जहाज कुनै पनि बेला डुब्न सक्छ। अर्कोतिर वृद्धवृद्धाहरु अलग भएर रहनै सकिरहेका हँुदैनन्। उनीहरुको मनमा आफू धेरै बाँचिन्न भन्ने धारणा प्रबल हुन्छ तापनि आफू बसिआएको घर छोडिहाल्न पनि उनीहरू असमर्थ हुन्छन्। वानप्रस्थ तथा संन्यास आश्रमको विचार पनि अब त निकै टाढाको र आदर्श जस्तो मात्रै भइसक्यो। उनीहरु नातिनातिना हेर्दाहेर्दा, धार्मिक प्रवचन तथा भजन सुन्दासुन्दा, तीर्थ आदि जाँदाजाँदा र टेलिभिजनको अगाडि बस्दाबस्दा दिक्क भइसकेका छन्। उनीहरु आफ्ना समकालीन साथीभाइको साथमा उपयुक्त प्रकारको सृजनात्मक तथा रचनात्मक काम गर्न चाहन्छन्।
आधुनिक समाजले यस सम्बन्धमा बालुवामा टाउको लुकाउने अस्ट्रिच चराको नीति लिएको छ। पश्चिमा समाजले वृद्धाश्रम, पेन्सन, निवृत्तिभरण, समाजिक सुरक्षा, स्वास्थ्य सेवा जस्ता कुराबाट यस समस्याको समाधान खोजिरहेको छ। निःसन्देह यिनीहरु महŒवपूर्ण कदम हुन् तर यी समस्यालाई कस्ता सोचाईले छोपिरहेका छन् भने उनीहरुलाई जवानीमा मोज गरेकाले हाल आएर आराम चाहिएको छ। यस्तो सोचाईलाई हाम्रो विकासले हटाउनुपर्छ। संवेदना र मानव जातिको गुणको विकास नगर्ने विकास त वास्तवमै विकास होइन, राक्षस नै हो, त्यो हिरोसिमा नै हो। वृद्धवृद्धाको व्यवस्थापन तथा स्याहारले यस बुँदालाई निकै राम्रोसँग प्रष्ट्याउने गर्छ। कमाईधमाई नगर्ने अनुत्पादक र फाल्टु भइसकेका मानिसका लागि खर्च गर्नु जस्ता कुरालाई विकासको सम्बन्धमा शड्काले हेर्ने गरिन्छ। विकाससम्बन्धी पछिल्लो विश्लेषणअनुसार न्यायपूर्ण समाज स्थापनाका लागि मानिसहरुको क्षमता विकास नै वास्तविक विकास हो।
जहाँसम्म अपाङ्ग र कमजोरहरुको वृद्धावस्थाको कुरा छ, उनीहरुलाई नर्सिङ होम, सेवा गृह, घुम्ती स्वास्थ्य शिविर आदिबाट ध्यान दिनुका साथै उनीहरुको स्याहारका लागि परिवारका सदस्यलाई नै प्रशिक्षित गरिनुपर्छ। यो बढी फलदायी हुन्छ। केवल भावना र दायित्वले मात्रै स्याहार दिन सकिँदैन। समस्या तथा त्यसको उपचारबारे पनि राम्रोसँग बुझ्नु आवश्यक हुन्छ। यस प्रकारको प्रशिक्षणले स्वास्थ्य तथा औषधीको प्रयोग सम्बन्धमा राम्रो ज्ञान प्रदान गर्न सक्छ। यसरी अनुत्पादक अवस्थामा रहेकाहरुका लागि आधुनिक ज्ञान तथा उचित भावनाको संयोजनले ज्येष्ठ नागरिकलाई शारीरिक तथा भावनात्मक सुविस्ता प्रदान गर्न सक्छ।
लेखक राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका महासचिव हुन्।