Monday 3 Kartik, 2071 |
Menu

विचार

भ्रमणको कूटनीतिक अर्थ

  • बुधबार १८ बैशाख, २०७०
  • नरेन्द्रजंग पिटर
  • DISQUS_COMMENTS
(0 votes)
फेरि पनि चर्चाको केन्द्रमा प्रचण्ड छन्। उनको उत्तर–दक्षिणका दुवै छिमेकी मित्र राष्ट्र चीन–भारतको भ्रमण र त्रिदेशीय सम्बन्धको बहस अहिले केन्द्रीय विषय बनेको छ। अब दोहोर्याइरहनुपर्ने विषय रहेन कि समकालीन नेपाली राजनीतिमा उनको भूमिकाले क्रिया उत्पन्न गर्छ र सनातनी सोच एवं राजनीतिक दलहरु प्रतिक्रियामै सीमित रहने गरेका छन्। 
त्यसको प्रभाव आन्तरिक राजनीतिमा मात्रै नभई छिमेकी मुलुकप्रति लिइने धारणामा पनि परेको छ। राजतन्त्र अन्तसँगै  परम्परागत नेपाली सत्ताको चरित्रमा फेरबदल ल्यायो। सोहीअनुसारको सरोकारवालाले पनि नेपाललाई हेर्ने/बुझ्ने र व्यवहार गर्नेमा फरकपन आउनु स्वाभाविक नै थियो। नेपालले पनि छिमेकी र शक्ति राष्ट्रसँगको व्यवहारमा पहिलाको मान्यताभन्दा भिन्न हुनु आवश्यक हुन्थ्यो। त्यसैले अहिले समय फेरिएको छ, सम्बन्धको नयाँ आयाम पनि सुरु भएका छन्।  
विश्व साँघुरिँदै छ। अन्तरविरोधका रूप फेरिँदैछन्। एकले अर्काको निर्भरता र नयाँ आवश्यकता अझ बढेका छन्।  अझ नाता फेर्न सजिलो भए पनि छिमेकी फेर्न भने सकिँदैन। छिमेकीसँगको व्यवहार भने सुधार्न आवश्यक हुन्छ र पर्छ पनि। छिमेकीहरुसँग समस्या हुन्छन्, भ्रम हुन्छन्, सत्ता चरित्रअनुसार नै उनीहरुको परराष्ट्र नीति पनि हुन्छ। आखिर कुरा गरे न कुरा मिल्छ। ती संवाद कहिले प्रत्यक्ष हुन्छन्, कहिले अप्रत्यक्ष। हाम्रा दुवै छिमेकी सामरिक शक्ति सम्पन्न र विश्व अर्थतन्त्रमा उदयमान महाशक्ति बन्दैछन्। यी दुवै मुलुकको बीचमा रहेकाले नेपालका आफ्नै अपेक्षा, सीमा, समस्या र सम्भावना पनि  छन्। अहिले विश्व राजनीतिमा विचारको द्वन्द्वभन्दा पनि बजारमाथिको पहुँच, कच्चा सामग्रीमाथिको रजाइँ प्रमुखतामा पर्छन्। राजनीतिमा बजार हाबी भएको छ। बजार–संस्कृतिले अर्थात् अर्थ–राजनीतिले अन्य विषय ओझल पारेको छ। झिना मसिना विषयले त्यति महŒव राख्दैनन्। हाम्रा छिमेकीबीच सिमानाका विवाद र समस्या नभएका कहाँ हुन र!  भारत र चीनबीच काश्मिर, लद्दाख, अरुणाचलमा विवाद छन्। ब्रह्मपुत्र नदीको प्राकृतिक बहाव सम्बन्ध पनि बहसमा छ। सन् १९६२ मा प्रत्यक्ष लडाइँ भए पनि त्यो कटुतालाई अहिले दुई देशबीचको बढ्दो व्यापारी साझेदारले प्रत्यक्ष द्वन्द्वबाट बचाइरहेको छ। दुवै देशबीच सन् २००१ को ३ अर्ब व्यापार बढेर सन् २०१२ सम्म आइपुग्दा ८० खर्ब डलर बराबरको व्यापार भएको छ। सन् २०१५ मा पुग्दा १०० खर्ब पुर्यानउने लक्ष्य लिएको छ। दुवै देश सम्पन्न हुँदा बीचमा रहेको नेपाल अविकसित हुनु उनीहरुका लागि पनि चुनौतीको विषय हुन्छ। यसले उनीहरुको आन्तरिक समस्यामा पनि असर पुग्न सक्छ।

उदयमान महाशक्ति र विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा रहेको चीनको नेपालसँगको मुख्य सरोकार भनेको नेपालमा आश्रय लिएर उसको आन्तरिक विषयमा कुनै गडबढी मच्चाउने शक्तिलाई नियन्त्रण गरिदिनु हो।  केही वर्ष पहिलासम्म उसको बाह्य सामरिक चासो र प्राथमिकतामा पूर्वी तट अर्थात् प्रशान्त महासागरीय क्षेत्र मात्र पर्थ्याे भने अहिले दक्षिण क्षेत्र विशेष गरेर तिब्बत र सिचुवानलाई लिएको छ। नेपाललाई आधार मानेर अमेरिकी प्रशिक्षित खम्पाहरुले तीसको दशकमा तिब्बतमा गडबढी मच्चाएका थिए र उनीहरुलाई काबुमा ल्याउन नेपाली सेना परिचालन गरी कारबाही गरिएको थियो।  अहिले पनि शरणार्थीका रूपमा रहेका तिब्बतीहरुको गतिविधि चीनविरुद्ध होला कि भन्ने नेपालको टाउको दुखाई छ।
तीनतिर सिमाना जोडिएको नेपाल भूपरिवेष्टित देश भए पनि एक हिसावले भारतवेष्टित भन्दा अत्युक्ति हुँदैन। अझ भौगोलिक र सांस्कृतिक निकटताले समस्या धेरै हुनु पनि स्वाभाविकै हो। भारतको नेपालसँगको चासो दईवटा छन् :  पहिलो, खुला सिमाना भएकाले यहाँबाट भारतविरोधीहरुको घुसपैठ र अर्थतन्त्रलाई चोट पुग्ने जाली नोटको पैठारी। दोस्रो, प्राकृतिक जलसम्पदा। भारतीय अपेक्षा भनेको उसको सुरक्षा संवेदनशीलतामा नेपालले गम्भीर भइदिनुपर्ने हो भने जलसम्पदालाई क्षेत्रीय आवश्यकताअनुसार कसरी प्रयोग गर्न सकिन्छ भन्ने हो।
दशक लामो प्रत्यक्ष टकराहट र सात वर्षीय शान्तियुद्धका टकराहटले अन्यौल, भ्रम र आग्रह पलाएका छन्। विषय कुन र त्यसको मर्म के भन्दा पनि विषयलाई कसले उठायो भन्नेमा अहिले बहस चलेका छन्। नेपाललाई हेर्ने छिमेकी र नेपालले पनि उनीहरुलाई हेर्ने दृष्टिकोणमा सत्ताको चरित्रसँगै फेरबदल हुने गरेको छ। पृथ्वीनारायण शाहले यसलाई दुई ढुंगाको तरुल भने। त्यो समय अंग्रेज उपनिवेशकाल थियो। जनयुद्धकालीन माओवादीले दुई ढुंगाबीचको डाइनामाइट भन्यो। सानो देश, सानो अर्थतन्त्र, समुन्द्रसँगको सीमा नजोडिँदा कयौँ सन्दर्भमा हीनताबोधले हामीलाई सताएको छ भने छिमेकीहरुको ठूल्दाइको व्यवहारले पनि उग्र प्रतिक्रिया जन्माएका छन्।  अन्धराष्ट्रवादकै कारण उनीहरुप्रतिको वितृष्णा बढाएको हुन्छ।  अर्काेतर्फ सत्तालिप्साले ठूलो शक्तिलाई रिझाएर सत्तामा पुग्ने खेल पनि नदेखिएका हैनन्। दुवै छिमेकी देशको अन्तरविरोधमा खेल्दै अनुकूल परिस्थिति  बनाएर हित साधना गर्ने पनि देखिएको छ। विगतमा राजतन्त्रले यही उपाय अपनायो। छिमेकीहरुको परम्परागत धारणामा चीनले दरवारलाई नै भरोसा गर्योा भने  भारतको दरवार र लोकतान्त्रिक शक्ति दुवैलाई विश्वास गर्ने दुई खम्बे नीति रह्यो।  राजनीतिक तहको सम्बन्ध भन्दा पनि ब्युरोक्रेटिक स्तरमा साउथब्लक हाबी भयो। राजनीतिक नेतृत्वमा सम्बन्ध विकास नहुँदा ब्युरोक्रेसीमा हेपाहा प्रवृति देखापर्योभ। यता नेपालमा भने यसैको कारण भारत विरोधी राष्ट्र्रवाद हावी भयो।
जबसम्म राजनीतिक सम्बन्धको विकास राजनीतिक स्तरमा हुन सक्दैन, तबसम्म सम्भावनालाई समुचित उपयोग र उपभोग गर्न सकिँदैन। सम्बन्धहरुले औपचारिकताका सीमा छिचोल्न सक्दैनन्। अहिले प्रचण्डको भ्रमणले त्यसको पहल गरेको छ। बहसमा उठेका त्रिदेशीय सम्बन्धका विषय नेपालको छिमेकीहरुप्रति गरिने व्यवहार र अपेक्षाको बहस हो। यसले तत्कालीन परिणाम देखाउन नसके तापनि दूरगामी महŒव लिने नै छ। तर त्यसका लागि आग्रह तोड्न र नयाँ सोच निर्माण गर्न जति आवश्यक हुन्छ, त्यति नै परराष्ट्र नीतिका विषयमा घरेलु मामिलामा भएका मतभिन्नतामा एकरूपता ल्याउन जरूरी छ।