Thursday 13 Kartik, 2071 |
Menu

विचार

प्रचण्ड पहेली

  • शुक्रबार १३ बैशाख, २०७०
  • युग पाठक
  • DISQUS_COMMENTS
(6 votes)
समकालीन नेपाली राजनीतिमा 'मोस्ट मिसअन्डरस्टुड' व्यक्तित्व हुन्– प्रचण्ड। उत्तरआधुनिकतावादको सैद्धान्तिक भाषामा प्रचण्ड यस्ता विम्ब हुन्– जसको अनेकन अर्थ लगाइएको छ। ती अर्थ स्वयम् प्रचण्डसँग मिल्छन् कि मिल्दैनन् अर्कै कुरा हो, तर मिडियामार्फत् प्रकाशित/प्रसारित भइरहने प्रचण्डका अनेकन अवतार आश्चर्यजनक ढंगले भिन्न–भिन्न हुन्छन्। लामो समयको भूमिगत जीवनपश्चात् २०६३ सालमा एकाएक काठमाडौंमा प्रकट भएका प्रचण्ड अझैसम्म एक रहस्यमय राजनीतिक प्राणी भइरहनुका खास कारण छन्।
प्रचण्ड अझैसम्म एक रहस्यमय राजनीतिक प्राणी भइरहनुका खास कारण छन्। मिडिया डिस्कोर्समा प्रचण्ड एक 'मोस्ट मिसअन्डरस्टुड' नेता हुन्। एक प्रचण्ड र अनेक प्रचण्ड यो पहेली विद्यमान छ।
जनयुद्धकालमा माओवादीले एक अलग व्याकरण निर्माण गरेको थियो। उसलाई बुझ्नका लागि त्यही व्याकरणमा महारथ हासिल गर्नुपर्थ्यो। रोल्पालाई उसको राजधानीका रूपमा बुझिएको थियो तर २०५२ साल फागुन १ गते जनयुद्ध आरम्भ गर्दा उसले एकैपटक पूर्वदेखि पश्चिमसम्मका गाउँमा 'एक्सन' गरेको थियो। छापामार युद्ध उसको घोषित युद्धनीति थियो र छापामार युद्धको विशेषताअनुरूप नै उसका हरेक गतिविधि छक्याउने 'ट्याक्टिक्स' मा आधारित थिए। त्यसैले उसलाई तत्कालीन सरकारले बुझ्न र पराजित गर्न सकेन। तत्कालीन राजनीतिका सक्रिय नेताहरु, जो हालसम्म पनि प्रचण्डलाई बुझ्न नसकेर आजित छन्, माओवादीले कुनै युद्ध नामको चीज गर्न सक्छ भन्ने नै विश्वास गर्दैनथे। केही नभएको माओवादीले योद्धा, हतियार र नयाँ राजनीतिक पहलकदमी सबै हासिल गरिसकेपछि विश्वास र अविश्वासको गहिरो चक्रब्यूहमा तत्कालीन शासकहरु परे।

त्यतिबेलाको मूल शासक राजतन्त्र थियो। तर २०४७ को संविधानअनुरूप आफैं शासक भएको भ्रम काँग्रेस–एमालेलगायत् दलमा थियो। तत्कालीन राजा ज्ञानेन्द्रले सत्ताको प्रत्यक्ष लगाम आफ्नै हातमा लिएपछि मात्र अकस्मात् आफूसँग अप्रत्यक्ष लगाममात्र रहेको सत्यसँग दलहरुको जम्काभेट भयो। त्यतिबेला काँग्रेस–एमालेका नेताहरुले पटकपटक दोहोर्या्उने गरेको 'राजाको प्रत्यक्ष शासन' भन्ने वाक्यांशले पनि त्यही दिग्भ्रमित मनोविज्ञानलाई पुष्टि गर्छ। गिरिजाप्रसाद कोइराला मात्र एक त्यस्ता नेता थिए, जसले यो सत्य आत्मसात गरेका थिए र सात सालको असफलता मनन् गर्दै गणतन्त्रको पक्षमा उभिने फैसला लिएका थिए। काँग्रेसकै अन्य नेता त अझैसम्म पनि गणतन्त्रको बाटो हिँड्ने गिरिजाबाबुको निर्णयलाई 'माओवादीको पुच्छर' भएको अर्थमा व्याख्या गरिरहेका छन्। एमाले त ज्ञानेन्द्रको कदमलाई सच्चिन सक्ने प्रतिगमनका रूपमा बुझिरहेको थियो।

विश्वास र अविश्वासको द्रुतचक्रजस्तो भ्रामक खेलले काँग्रेस–एमालेका २०४६ सालपछि हुर्किएको पुस्तालाई त्यहीँबाट गाँजिरहेको थियो। माओवादीलाई बुझ्ने सवालमा पनि त्यही भ्रामक खेलले आजसम्म बुख्याचाले झैं तर्साइरहेको छँदैछ। अधिकांश मिडियाकर्मी, नवधनाढ्य मध्यमवर्ग र कुलीन बौद्धिकहरु पनि यही अभ्यासबाट जन्मिएका हुन्। किनभने मूलतः मिडियाको विकास यही अवधिमा भयो र राजनीति आम डिस्कोर्सको विषय पनि यही अवधिमा भयो। विश्वविद्यालयका कक्षाहरुमा यही अवधिमा भीड बढ्यो र विदेशिनेहरुको संख्या पनि यही अवधिमा ह्वात्तै बढ्यो। संसारसँग सानिध्य बढ्यो र संसारसँग आफ्नो समाजको तुलना गर्ने अवसर सबैले पाए। तर मूलतः आममिडियामा नवधनाढ्य मध्यम वर्गको पहुँच भएकाले यो वर्गको भ्रम नै सर्वभौम हो कि जस्तो देखिन थाल्यो।

अघिल्लो संविधान सभा निर्वाचनमा पनि ठीक त्यही भ्रामरी देखियो। किसिम/किसिमका सर्वेक्षणले माओवादीले चुनाव जित्नै नसक्ने प्रक्षेपण गरे। तर, त्यसको ठीक विपरित माओवादी आश्चर्यजनक ढंगले ठूलो पार्टी बन्यो। प्रचण्डलाई एकाएक करिस्मेटिक व्यक्तित्वका रूपमा चित्रण गरियो। उनको हेयर स्टाइलदेखि हिँडाईको चालसम्म चर्चाको विषय बन्यो। क्षुब्ध र निराश कुलीन वर्गका प्रतिनिधिहरुले राजतन्त्रको विरासत अन्तिम घडीमा आइपुगेको छनक त्यतिबेलै पाइसकेका थिए। त्यसैले उनीहरुले नवधनाढ्य र सत्ताको प्रत्यक्ष/अप्रत्यक्ष संरक्षणमा हुर्केका कथित् उच्चकूलका शक्तिशाली प्रतिनिधिहरुलाई एउटै किल्लामा उभ्याए। प्रचण्डविरोधी यो किल्लामा जतिथरी मानिस जम्मा भएका छन्, प्रचण्डका उति नै थरी छवि निर्माण हुने नै भयो।

प्रचण्ड उदात्त छवि भएका नेता हुन्। उनको अनुहारमा एक प्रकारको आभा सदैव नाचिरहेको हुन्छ। भाषण गर्दा उनको टाउको सबैतिर घुमिरहेको हुन्छ। अनेक तनावका बीच हप्तामा सातै दिन उत्तिकै उत्साहका साथ उनी खटिरहेका हुन्छन्। पार्टीभित्रको खिचातानी, मुलुकको आन्तरिक राजनीतिक उतारचढाव र अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुसँगको कूटनीतिक खेलका बहुआयामिक चक्रहरुमा निरन्तर गतिशील रहन सक्ने उनको क्षमता अद्भूत छ। विकसित देशहरुमा उनको स्तरको नेतासँग हरेक विषयबारे अध्ययन गरेर रणनीति निर्माण गरिदिने टिम नै हुन्छ। तर, प्रचण्डसँग त्यस्तो कुनै टिम छैन। पार्टीका केही सहकर्मीसँग सल्लाह गरेकै भरमा उनी सबै प्रकारका राजनीतिक एवम् कूटनीतिक रणनीति स्वतस्फूर्त बनाइरहेका हुन्छन्। यद्यपि विभिन्न क्षेत्रका बौद्धिकहरुसँग कहिलेकाहीँ अन्तर्क्रिया गर्ने प्रयास भने गर्छन्। यत्तिकै भरमा सम्पूर्ण राजनीतिक तथा कूटनीतिक अभ्यासलाई गतिशील तुल्याइराख्नु कठीन काम हो।

यसका अलावा प्रचण्ड एक कुशल 'रेटोरिसियन' पनि हुन्। उनले बोलेका प्रत्येकजसो कुरा समाचार र विश्लेषणका विषय हुन्छन्। उनले प्रयोग गर्ने मेटाफोर (प्रतीक र रूपक) प्रायशः विपक्षीहरुको मनोविज्ञानमाथि हावी भइरहेको हुन्छ। संविधान सभा विघटनपछि चुनावी सरकार कसको नेतृत्वमा बनाउने भन्ने बहस भइरहेको बेला उनले भने– यस्तै अवस्था रहिरहने हो भने (सहमति बन्न नसक्ने), यही सरकार (बाबुराम नेतृत्वको) पच्चीस वर्षसम्म चल्छ। भोलिपल्ट उनको यो वाक्य अनेक अर्थहरुमा पुनर्रचना भइसकेको थियो। 'माओवादीले पच्चीस वर्ष शासन गर्ने भो' भन्ने अर्थमा विपक्षीहरु प्रतिक्रिया दिन लागे, केही विश्लेषकहरुले त लेखै लेखे। भर्खरै उनले 'एमाले बाँकी छैन, प्रतिस्पर्धा काँग्रेस र आफूबीच हुने' टिप्पणी गरे। चुनावी रणनीतिको हिसाबले यो गजबको टिप्पणी हो किनभने एकीकृत माओवादी र एमाले दुवैको मत स्रोत एकै प्रकारको छ। तर उनको यो टिप्पणीले एमालेभित्र मनोवैज्ञानिक त्रास सिर्जना गरिदिएको तथ्य एमाले नेता माधव नेपालको प्रतिक्रियाले प्रष्ट्यायो।

आफ्नै बलियो अर्थतन्त्र नभएको र सभ्यताको दौडमा पछिल्तिर छुटेको हाम्रोजस्तो देशमा विदेशी शक्तिहरुको उपस्थिति विभिन्नरूपमा विद्यमान रहन्छ। यस्तो मुलुकका नेताले भित्री र बाह्य शक्ति सन्तुलनको लेखाजोखा राखेर मात्रै आफ्ना पाइला चाल्न सक्छन्। त्यसमाथि संसारको मानचित्रमा प्रभावशाली अर्थराजनीतिक हैसियत बनाउँदै गरेका भारत र चीनको बीचमा अवस्थित हुनु स्वयम्मा नेपालका लागि जटिल भूराजनीतिक विशेषता हो। जनयुद्धको पृष्ठभूमिबाट आएको हुँदाहुँदै पनि प्रचण्डले जटिल कूटनीतिक अभ्यासलाई सहज तुल्याइरहेको गजबको तथ्य हाम्रो अघिल्तिर छ। बेइजिङले अतिरिक्त सम्मानका साथ प्रचण्डलाई दक्षिण एसियाकै 'कि पोलिटिसियन' का रूपमा स्वागत गर्योत भने दिल्ली उनलाई खुलेर स्वागत गर्न आतुर देखिन्छ।

सामान्यतः नेपाली नेताका एजेण्डालाई कुनै महत्व नदिने गरेको दिल्लीले नेपाली पत्रकारलाई दिल्ली डाकेर चीन–नेपाल–भारत साझेदारीबारे प्रचण्डको खुला प्रस्तावमाथि छलफल नै चलायो। भारतीय विदेश मन्त्री सलमान खुर्सिदले प्रचण्डको भारत भ्रमणलाई विशेष महŒव दिएको स्पष्टोक्ति दिए। खिलराज रेग्मी नेतृत्वको चुनावी सरकार गठन गरेर आन्तरिक राजनीतिक खिचातानी समन गर्न सफल प्रचण्ड तुरुन्तै दुई शक्तिशाली छिमेकीसँग शक्ति सन्तुलनको कूटनीतिक अभ्यास गर्ने क्रममा छन्। कुनै पनि नेताको अन्तर्राष्ट्रिय छवि मूलतः राष्ट्रिय शक्तिकै पहिचान हो। प्रचण्डले अन्तर्राष्ट्रिय मञ्चमा हासिल गरेको 'नेगोसिएसन' गर्न सक्ने हैसियत पनि मूलतः नेपाली राजनीतिमा रहेको उनको केन्द्रीय भूमिकाकै परिचायक हो।

तथापि मिडिया डिस्कोर्समा प्रचण्ड एक 'मोस्ट मिसअन्डरस्टुड' नेता हुन्। एक प्रचण्ड र अनेक प्रचण्ड यो पहेली विद्यमान छ। अनि यो पहेलीमा विद्वान्द्वय घनश्याम भुषाल र कनकमणि दीक्षित एकै ठाउँमा देखापर्छन्। प्रचण्डको व्यक्तित्व चित्रणमा यी दुवै विद्वान्को एकै मत छ र दुवैले चित्रण गरेका प्रचण्डहरु अनेक छन्। तर मूलतः ती प्रचण्डहरु पराजित, थकित र जनताबाट कटिरहेका छन्। यो चित्रणलाई समकालीन राजनीतिक यथार्थले स्वीकार त गर्दैन तर प्रचण्डलाई एक रहस्यमय छविका चलायमान नेताका रूपमा भने पुनर्व्याख्या गरिरहन्छ। यद्यपि प्रचण्डको गति धीमा भएको छैन। जहिलेसम्म उनी खटिरहन सक्छन्, उनका अनेक छविहरु बनिरहनेछन्। अनि ती अनेक छवि निर्माण गर्न र आफ्नै रचनामाथि प्रतिक्रिया दिइरहन विद्वान् महोदयका निम्ति खाली पेज तयार रहनेछन्। आगे भविश्यको गर्भमा छँदैछ।