Friday 5 Mangshir, 2071 |
Menu

नागरिक शनिबार

पौरखी नारी

(0 votes)
'शिखरमा पुग्न उकालो चढ्नैपर्छ।' उकालोमा कसैले धेरै दुःख पाउँछन् त कोही सजिलै पार गर्छन्। आजभोलि सबै पेसामा महिला सक्षम हुँदै आएका छन्। 'कुरा होइन काम गर' भन्ने नाराका साथ १०३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँरहँदा हक अधिकारका कुरा गरिएका छन्। नाराअनुसार काम गरेर पेसामा स्थापित हुँदै गरेका केही महिलासँगको भलाकुसारी।

सेवामा बफादार

gangaगंगा पन्त (डिएसपी) - प्रहरी पोसाक पहिरिएको १३ वर्ष पुग्यो। गंगा दैनिक १४ घन्टा काममा खटिइरहेकी हुन्छिन्। तनहुँमा जन्मेकी गंगाले सानो छँदा प्रहरी देखेकी थिइनन्। ठूलै भएपछि प्रहरी देखेकी हुन्। त्यो बेला प्रहरी देख्दा डर लाग्थ्यो।

प्रहरीको माथिल्लो पदमा धेरै महिला छैनन्। तल्लो पदबाट प्रवेश गरी माथि आउँदा धेरै संघर्ष गर्नुपर्छ। महिला भएकाले संघर्ष गर्नुपर्ने बाध्यात्मक अवस्था पनि छन्। विवाहपछि बालबच्चाको स्याहार, घरपरिवारको झमेलाले सताउने गर्छ। तैपनि महिला कमजोर छन् भन्ने सोच उनमा छैन। घर, अफिस दुबैतिर काम गरेर पुरुष बराबर पेसामा स्थापित हुन गाह्रै छ। उनलाई भने घरपरिवारले सहयोग गरेकै कारण सजिलो छ। सबैलाई यस्तै अवसर भने मिल्दैन।

पछिल्लोपटक समावेशी अवधारणाले प्रहरी पेसामा महिला बढेका छन्। सानै पदबाट सुरु गरे पनि राष्ट्रिय, अन्तर्राष्ट्रिय मापदण्डले ठूलो पदका लागि प्रतिस्पर्धामा जान ढोका खुल्ला छ। गंगा भन्छिन् 'कार्यक्षमता, दक्षता, अध्ययनलाई अगाडि लैजान सके महिला भनेर तलै बस्नु पर्दैन।'
फरक फिल्डमा काम गर्ने भए पनि पतिले सक्दो सहयोग गरेका छन्। घरपरिवारको सहयोग भएमा जुनसुकै पेसामा अगाडि बढ्न सक्ने उनी बताउँछिन्। डिएसपी पद सम्हालिरहेकी गंगा जेन्डर फोकल प्वाइन्टको जिम्मेवारी पनि पाएकी छन्।

भन्छिन् 'पेसामा स्थापित हुन सामान्य ड्युटी मात्र गरेर पुग्दैन। घरमा बढी समय दिनुपर्छ। व्यक्तिगत प्रस्तुति, कार्यक्षमतालाई बढाउन सक्नुपर्छ। घर, समाजमा जस्तो महिला भएकै कारण पेसामा छुट्टै गाह्रो व्यहोर्नु पर्देन। पुरुष जत्तिकै स्वतन्त्र भएर पेसामा लाग्ने अवसर पाएमा महिला अगाडि बढ्न सक्छन्।
प्रहरी प्रशासनमा महिलालाई मूल धारमा ल्याउन विभागले प्रयास गरेको छ। पहिलेजस्तो ढोके, डेकोरेटिभ कामको जिम्मेवारी दिइँदैन। पेसाप्रति समर्पित, सक्षम भएमा दर्जा पाउन समस्या छैन। उनले पहिलोपटक देखेको प्रहरी 'डरलाग्दा' बुझ्थिन्। अहिले आफैले 'प्रहरी जनमैत्री' हुनुपर्ने सिकाउँछिन्।

'म जहाँ छु त्यो ठाउँमा इमान्दार काम गर्छु। माथि जान प्रयासचाँहि गरिरहन्छु। दर्जाभन्दा जिम्मेवारी निभाउनपट्टि लागेकी छु। सेवामा प्रतिबद्ध भयो भने माथिको ढोका आफंै खुल्छ।' गंगा भन्छिन्, 'काममा बफादारिता, शैक्षिक योग्यता, दक्षता भए केहीमा पनि महिला पछाडि पर्नुपर्दैन।' उनले अपराध अनुसन्धानमा काम गरिसकेकी छन्।

खेलमा एकाग्रता, समर्पण

rubinaरुबिना क्षेत्री : घर नजिकै चउरमा दाजुले खेलेको क्रिकेट हेरेर रुबिना घन्टौं बसिरहन्थिन्। उनलाई लाग्थ्यो यो पुरुषले मात्र खेल्ने खेल हो। सानोमा उनलाई भाँडाकुटी, पुतली खेलाएर बस्न मनै पर्दैनथ्यो। स्कुल नजाँदा दिनभर क्रिकेट हेेरेरै बसिरहन्थिन्।
रुबिनाले खेल सुरु गरेको बल्ल आठ वर्ष भयो। छोटै समयमा स्थापित भइसकेकी छन्। उनलाई मनपर्ने क्रिकेट त्यो बेला महिलाले खेल्ने चलन थिएन। घरबाट निस्केर ब्याट समाउने आँट पनि थिएन।

दाजुले खेलेको हेर्दाहेर्दै बिस्तारै उनी पनि सँगै ब्याट समाउन थालिन्। आमाले पनि खेल्न जाँदा रोक्नुभएन। रुबिना भन्छिन्, 'हरेक क्षेत्रमा मेहनत र संघर्ष गर्नुपर्छ। काममा इमान्दार र इच्छा पहिलो कुरो हो।' रुबिनाका बुबा नभए पनि आमाले उनलाई केही कुरामा कमी हुन दिनुभएन। तैपनि उनी मनलाग्दो खर्च गर्न पाउँदिनथिन्। आमाले जोहो गरेको पैसा कम भएको महसुस हुन्थ्यो। रहरले खेल्न थालेपछि खर्च नपुग्दा कहिलेकाहीँ समस्या हुन्थ्यो।

उनी परिवारको सहयोगबाटै अगाडि बढ्न सकिन्। महिला क्रिकेटको कप्तान बनेपछि हरेक खेलमा जित्नैपर्ने सोच राख्छिन्। सबै साथी खेलप्रति प्रतिबद्ध हुन्छन्। भन्छिन्, 'जुनसुकै खेलाडीले प्रतिबद्धता देखाउनुपर्छ। हामी देशको लागि खेलिरहेका छौं। खेलमा एकाग्रता, समर्पण र मेहनत आवश्यक छ।'
प्रशिक्षणको क्रममा पुरुषसँग पनि रुबिना खेलेकी छन्। भन्छिन्, 'आफ्नै लेबलसँग खेलिन्छ, केटाले बलिङ गर्दैछ भन्ने सोच हुँदैन।' उनी भन्छिन्, 'अब महिला-पुरुष छुट्टाउनु आवश्यक छैन।' पुरुषभन्दा उत्तम गरेर देखाउन सक्ने उनमा दृढ विश्वास छ। थप्छिन् 'महिला पनि धेरै क्यापेबल भइसकेका छन्।'

उनी भन्छिन्, 'देशको लागि केही गर्नुपर्छ। मैले खेल्न सक्ने समयसम्म इमान्दार हुनुपर्छ।' अहिले उनी आर्म पुलिस फोर्स कन्ट्क्याटमा छिन्। भनेजस्तै भएमा सशस्त्र प्रहरीमा जागिरका साथमा खेल अगाडि बढाउने सोचमा छिन्। कसैलाई आइडल मान्नुपर्छ। तर आफ्नै नामले चिनिनुपर्छ। ऊभन्दा राम्रो भएर देखाउँछु भन्ने समर्पण र मेहनतका साथ आउन नयाँ खेलाडीलाई सुझाव दिन्छिन्। भन्छिन्, 'कुनै पनि काम महिला र पुरुषका लागि छुट्टाएको हुँदैन।' सधैंभरि खेल्न नसके पनि 'कोच' बनेर क्रिकेटमै जीवन बिताउने सोच्छिन्। जेन्डरले काम छुट्टयाएको हुँदैन।

फराकिलो उडान

asnaआस्ना आचार्य : पाइलट- आस्ना सानैदेखि मनमनै आकासमा उडिरहन्थिन्। विराटनगरमा जन्मेकी उनले सोचेको सपना पूरा गर्दैछिन्। उनी कक्षा आठ पढ्ने बेला पाइलट बन्ने सपना बुनेकी थिइन्। उडानमा अत्यन्तै रुचि राख्थिन् आस्ना। उनी पेसामा लागेको तीन वर्ष हुन लाग्यो। हाइस्कुलपछि युएसमा टे्रनिङ लिएर कमर्सियल पाइलटको लाइसेन्स लिएकी छन्।

आस्ना यति एयरलाइन्समा दैनिक उडान भर्छिन्। कहिलेकाहीँ दिनमै तीनचार ठाउँ उडान भर्नुपर्छ। फुर्सदको समयमा घर सफा गर्ने, पकाउन आमालाई सघाउँछिन्। सानैमा सोचेजस्तो र अहिलेको पाइलटमा धेरै फरक पाएकी छन्। सपनाको आकासमा उड्नु र यात्रुलाई जिम्मेवारी साथ गन्तव्यमा पुर्‍याउनु फरक हुने नै भो। अहिले उनीसँग मेहनत र आत्मविश्वास बढ्दै गएको छ। उडानमा कहिलेकाहीँ जहाज हल्लिँदा यात्रुले महिला भएकोमा दोष दिन्छन्। 'हल्लिँदा प्यासेन्जरले महिला पाइलट रै'छ भन्दा उनलाई दुःख लाग्छ। 'महिलालाई अझै कमजोर छन् भन्ने सोचिएको' उनी बताउँछिन्। 'पुरुषभन्दा महिला काममा अझै बढी समर्पित हुन्छन्, हामीभन्दा धेरै सिनियर महिला हुनुहुन्छ।' आस्ना भन्छिन् 'हामी पुरुषभन्दा इमान्दार र समर्पित छौं।'

उनी अब छिट्टै नै क्याप्टेन बन्ने प्रक्रियामा छिन्। भन्छिन्, 'करिअर यही हो। जिम्मेवारी साथ काममा लाग्छु। पेसामा महिला-पुरुषबीच असमानता भएको देख्दिनन्। थप्छिन्, 'निडर भएर काममा समर्पित हुनुपर्छ।' उनका अनुसार 'पाइटल उडानको चाहना, एक्टिभ, अलर्ट र फास्ट' हुनुपर्छ। मल्टिटास्क सम्ह्ाल्न सक्नुपर्छ। प्लेन भन्दा ढिलो हुनुहुन्न। हरेकतिर सोचेर अगाडि बढ्न अलर्ट हुनुपर्छ। प्यासेन्जरको जिम्मेवारी लिएर साथमा आकासमा उडिरहँदा आस्नालाई आनन्द लाग्छ। कामप्रति केन्द्रीत हुनुपर्दा, उडिरहँदा अरु सोच्ने समय हुँदैन। काठमाडौंबाट दैनिक भद्रपुर, विराटनगर, पोखरा, भरतपुर, भैरहवा, नेपालगंज, धनगढी उडानमा हुन्छिन्। उनी भन्छिन् 'काममा विभेद हुँदैन। आफू आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ।'

सेवा अभाव

arpanaडा. अर्पणा न्यौपाने (फिजिसियन) : सानो कक्षामा पढ्दा अर्पणालाई गुरुहरूले साह्रै माया दिनुहुन्थ्यो। त्यसबेला उनले शिक्षक बन्ने कल्पना गर्थिन्। स्कुल खोल्ने सोचेकी थिइन्। स्कुलको नाम समेत जुराएकी थिइन् 'अर्पणा स्कुल'। सात कक्षामा पुगेपछि उनको सोच बदलियो। बिरामी भएर अस्पताल पुगिन्। बिरामी देखिन्, डाक्टरलाई देखेपछि ठूलो भएर बिरामी ठीक पार्ने सोच पलायो।

अर्पणा स्वास्थ्य क्षेत्रमा २० वर्ष अगाडि आएकी हुन्। दिनमा १२ घन्टा बढी नै व्यस्त रहन्छिन्। अस्कलमा आइएस्सीमा गरी कलकत्ताबाट एमबीएस सकेर आएपछि वीर अस्पतालमा आठ महिना स्वयंसेवक भएर काम गरेकी थिइन्। त्यसबेला प्राइभेट अस्पताल कम थिए। डाक्टरको काम बिरामी निको पार्ने मात्रै थियो।
उसबेला कलकत्तामा बिरामीको भीड देखेकी थिइन। त्यहाँका डाक्टर बिरामीलाई भगवान मान्थे। नेपाल आएपछि त्यो भेटिनन्। भन्छिन् 'मेरो मनमा डाक्टर पैसाले पढिन्छ भन्ने थाहा थिएन।' थप्छिन् 'कलकत्तामा बिरामी भनेपछि ज्यानै दिने डाक्टर देखेकी थिएँ। आजभोलि डाक्टरसँगै पैसा जोडिएको हुन्छ।' त्यो बेला डाक्टर देखेर रहर गरेकी उनी अहिले सोही पेसामा काम गर्दा जिम्मेवार बढेको सोच्छिन्।

उनी बीर अस्पतालमा काम गर्ने बेला बिरामीको सोचाइमा केटा मान्छे मात्र डाक्टर हुन्छन् भन्ने थियो। महिला डाक्टरलाई उतिसारो पत्यार मान्दैनथे। 'ओहो डाक्टर त महिला रैछ' भनेको सुन्थिन्। बिरामीलाई उपचार गरेर देखाएपछि त्यो हट्दै गयो। साक्षरताको कमीले महिलालाई कमजोर सोच्ने गरिएको उनी ठम्याउँथिन्।
'मनैदेखि इच्छा छ भने अवश्य पूरा हुन्छ' भन्छिन् 'आजभोलि डाक्टर भएर जो पनि आउन सक्छ। हरेक क्षेत्रमा ज्ञान लिनुपर्छ। ज्ञानको साथमा सक्रियता बढाउनुपर्छ।' उनलाई धेरै पैसा तिरेर डाक्टर हुन पाउने प्रक्रिया मन पर्दैन। थप्छिन् 'यसले ज्ञानको क्षमतालाई कमी बनाउँछ। योग्यता अनुसारको काम हुनुपर्छ।'
उनलाई महिला भएर पेसामा विभेद भोग्नु परेको छैन। 'पेसा सबैको साझा हो' उनी भन्छिन् 'मलाई बिरामीको एकदमै माया लाग्छ। कसैले राम्रोसँग हेरिदिनुस् भन्छन् त्यो ममा लागू हुँदैन। किनकि मेरा सबै बिरामी बराबर हुन्छन्। कसैलाई भेदभाव गर्दिन्। सबैलाई उत्तिकै समय दिएर सेवा गर्छु।'

आत्मविश्वासले सबलाई जित्छ

kekeiकेकी अधिकारी : कलाकारितामा छोटो समयमै चर्चा कमाएकी केकी प्रायजसो फिल्म सुटिङमा व्यस्त हुन्छिन्। छिट्टै माथि पुर्‍याउने चुरो कुरो उनको आत्मविश्वास हो। बिहान साढे ६ बजेदेखि बेलुकीसम्म व्यस्त रहन्छिन्। धेरैजसो दिनमा १२ घन्टा भन्दा बढी नै व्यस्त हुन्छिन। उनले भोग्नु परेको छैन तापनि महिलालाई परम्रागत सोचाइले हेरिने बताउँछिन्। छोरीलाई घरबाहिर धेरै काम गरेको रूचाउने कमै छन्। उनको पेसालाई सघाउने शिक्षित परिवार एउटा कारण हो।

महिला भएकाले उनलाई त्यस्तो झमेला व्यहोर्नु परेको छैन। सबैको सहयोग मिलेको केकी बताउँछिन्। सबैजनालाई त्यो मिल्न सक्दैन। जुनसुकै काममा संघर्ष गर्नुपर्छ। अहिलेसम्म आइपुग्दा उनले कडा मेहनतका साथ आत्मविश्वास बोकेकी छन्। केकी भन्छिन् 'बाबा यही फिल्डमा भएकाले मैले करिअर शुरू गर्न सजिलो भयो' उनी सोच्छिन्, 'आजको काम राम्रो गर्‍यो भने भोलिको कामका लागि अझै बढी मेहनत गर्नुपर्छ।'

उनी कुनै व्यक्तिलाई सक्षमता, योग्यता, आत्मविश्वासले अगाडि बढाउने विश्वास गर्छिन। उनको काममा महिला भएकैले अहिलेसम्म दुःख पाउनु परेको छैन। महिला पुरुषले समान संघर्ष गर्नुपर्छ। प्रतिस्पर्धी दुनियाँमा संकल्पका साथ अगाडि छिन्।
काठमाडौंकै बासिन्दा भएकाले बाहिरका साथीले जस्तो संघर्ष गर्नु परेन उनलाई। उपत्यका बाहिरबाट आउनेलाई धेरै अप्ठ्यारा झेल्नुपर्ने बताउँछिन्। थप्छिन् 'पढाई वा कुनै कामका लागि आउनेलाई सबै व्यवस्था मिलाएर जान गाह्रो हुन्छ।' परिवारसँगको सम्बन्ध र घरबाहिर कामलाई उनी निकै ध्यान दिन्छिन्। फुर्सदमा घरको काम सघाउँछिन। उनको सुटिङका बेला आमाले सबै व्यवस्था गरिदिनुहुन्छ।

फिल्डमा टिकिरहन आफू सबै चीजले पोख्त भएर आउनुपर्ने उनको सुझाव छ। सोचेकै जस्तो नहुन सक्छ। त्यसमा जुध्न तयारी हुनुपर्छ। शिक्षा अनिवार्य छ, परिवारलाई मनाउनुपर्छ, तालिम लिएर आउन सल्लाह दिन्छिन्। अगाडि बढ्न आफ्नो काम इमान्दारीपूर्वक गर्नु नै सफलता ठान्छिन्। भन्छिन् 'समयमै आफ्नो काम सक्नुपर्छ। कामलाई सम्मान गर्नुपर्छ।' फिल्मी क्षेत्रमै अगाडि बढ्ने उनको दृढता छ। थप्छिन् 'पछिको कुरा हो। कहिलकाँहि तल पनि झरिन्छ त्यसमा हार खानु हुन्न। आत्मविश्वासले सबैलाई जित्छ।'

विन्ध्यवासिनीमा खैंजडीको धुन

विन्ध्यवासिनीमा खैंजडीको धुन

प्यागोडा शैलीको तीनतले मन्दिर। भित्र सिंहमाथि बसेकी भगवती। आठ हात भएकी देवीको दायाँ–बायाँ गणेश र ललितादेवीका मूर्ति। दधिकोट, भक्तपुरको बिरुवामा अवस्थित विन्ध्यवासिनी मूर्तिको उचाइ ६ फिट छ भने चौडाइ ४...

यी दिनहरूमा...

यी दिनहरूमा...

जोनाथन वेटले आफ्नो कविता ‘द सङ अफ द अर्थ' (धर्तीको गीत) को अन्तमा भनेका छन्, ‘पोएट्री इज द प्लेस, होयर वी सेभ द अर्थ' (कविता नै त्यो ठाउँ हो, जहाँ...

भरियालाई भ्याइनभ्याइ

भरियालाई भ्याइनभ्याइ

खुर्कोट (सिन्धुली)– उनीहरू हतारमा छन्। सिन्धुलीको खुर्कोट र रामेछापको सेलेघाट जोड्ने झोलुंगे पुलमा होस् वा सुनकोसी किनारको खुर्कोट नयाँ बजारमा उनीहरू दौडिरहेका छन्। हातमा नाम्लो लिएका वा पिठ्युँमा भारी बोकेका–...

यार, मजाक गरेको

यार, मजाक गरेको

किन बस्छ सलिम सिनेमाका पोस्टरहरू टाँसिएका भित्तामुनि? के त्यो एकलैनी बजार पस्ने गल्लीको दाहिने भित्ता होइन? के ऊ त्यही भित्तामुनि वर्षौंदेखि जुत्ता पालिस गरेर बसिरहेछ?

थारु संगीतमा प्रेम र समर्पण

थारु संगीतमा प्रेम र समर्पण

अरी कहासेन सिरिजल चकियाक पिहि्रयाअरी कहासेन सिरिजल चकियाक खुटियाविवाहका बेला गाइने यो गीत पश्चिम नेपालको थारु समुदायमा लोकप्रिय छ। थारु भाषामा 'माँगर' भनिने यो गीत माघ–फागुन महिनामा बढी बज्छ। थारु समुदाय...

शारीरिक अपांगको सिर्जना

शारीरिक अपांगको सिर्जना

काठमाडौ‌‌-सडक किनारमा मागेर खानेहरूको कथा आ–आफ्नै छ। जन्मिँदै शारीरिक अपांगता भएका १९ वर्षीय आनन्दकुमार पासवानले भने कसैसँग हात थाप्नुपरेको छैन। उनका दुवै हातका कुहिनादेखि तलको भाग र दायाँ खुट्टा छैन।...

गुन्यु–चोली र दौरा–सुरुवाल

झरना राईको घर पाँचथरको सिदिन –१ को दवाई पानी भन्ने ठाँउमा पर्छ। तिमीहरूलाई थाहा नै छ, पाँचथर पूर्वी पहाडी जिल्ला हो। भारतको सीमासँग जोडिएको उनको गाउँ विकट छ। बिजुली बत्ती...

क्यान्सरझैं फैलँदैछ चुरेदोहन

क्यान्सरझैं फैलँदैछ चुरेदोहन

सुन्दरपुर (उद्यपुर)– 'पहिले फुसको छाप्रो बनाएर केही समय त्यसै छाड्छन्। अनि चुरेवनकै रुख काटेर सखुवाको खम्बा गाड्छन् र एक–दुई कोठा बनाउँछन्। यति गर्दा पनि कसैले औंला नउठाए क्रंक्रिटकै घर बनाउँछन्,'...