Tuesday 4 Kartik, 2071 |
Menu

अन्तर्वार्ता

चुनाव नभए सबै प्रक्रिया रोकिन्छ : डंकन

(0 votes)
चुनाव नभए सबै प्रक्रिया रोकिन्छ :  डंकन
नेपालको भरपर्दो पारम्परिक मित्र संयुक्त अधिराज्य (बेलायत)प्रति नेपाली समाजमा सम्मानजनक र सद्भावपूर्ण स्थान छ। बेलायत सरकारले नेपालको राजनीतिक, सामाजिक र आर्थिक विकासका क्षेत्रमा महत्त्वपूर्ण सहयोग गर्दै आएको छ। दोस्रो संविधानसभा निर्वाचनका लागि प्रधान न्यायाधीश नेतृत्वमा सरकार गठनपछि आइतबार नेपाल भ्रमणमा आएका बेलायतका विकास राज्यमन्त्री एलेन डंकनले संखुवासभामा पुल उद्घाटन मात्र गरेनन्, नेपाली राजनीतिज्ञहरूसँग छलफल पनि गरे। उनले भ्रमणको सुरुमा नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यसँग विचार–विमर्श गरेका थिए भने बुधबार बिहान एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग राजनीतिक स्थितिबारे मूल्यांकन गरे। नेपालको राजनीति र विकासमा केन्द्रित रहेर मन्त्री डंकनले मंगलबार साँझ विशेष कुराकानी गरेका थिए –

तपाईं नेपाललाई माया गर्ने व्यक्ति हुनुहुन्छ र अहिले बेलायत सरकारका मन्त्री। नेपालमा भइरहेको राजनीतिक विकासक्रमलाई कसरी हेरिरहनुभएको छ?
हो, म नेपाल लगातार आइरहेको छु। नेपाल मेरो आकर्षणको केन्द्र बनेको छ। बेलायत सरकारका मन्त्रीका रूपमा पछिल्लो समय म तीनपटक नेपाल आएँ। केटाकेटी अवस्थामा मैले नेपालबारे धेरै सुनेको थिएँ। बच्चैदेखि नेपाल आउने इच्छा थियो मभित्र।
पटक–पटकको नेपाल भ्रमणमा मेरा अनुभूति अलग–अलग छन्। यतिबेला म काठमाडौंको भविष्यबारे सोचिरहेको छु। काठमाडौं भूकम्पको खतरामा रहेको वैज्ञानिकहरूले पुष्टि गरिसकेका छन्। यहाँ भूकम्प गयो भने ५०–६० लाख मानिसको अकालमा ज्यान जान्छ। भौतिक क्षति धेरै ठूलो हुनसक्छ। अहिले डिएफआइडीले यही क्षेत्रमा काम गरिरहेको छ। सँगसँगै हामीले विकासका अरु कार्यक्रम पनि सञ्चालन गरिरहेका छौं। डिएफआइडीले संसारभरका देशमा द्वन्द्वोत्तर व्यवस्थापनमा काम गरिरहेको छ। यसमा नेपालसँगै यमन पनि पर्छ। द्वन्द्वोत्तरकालीन प्रभावबाट उम्किन नेपाललाई समय लागिरहेको छ। सेना समायोजन प्रक्रिया पूरा भएकाले अब यसमा तिव्रता आउने आशा छ। माओवादी सेना क्यान्टोन्मेन्टमा रहँदा म त्यहाँ पनि पुगेको थिएँ। त्यहाँका लडाकु खुसी थिए। उनीहरूलाई फेरि युद्धमा जानुपर्नेछ भन्ने डर थिएन। त्यसपछि मलाई लागेको थियो– कसैलाई पनि युद्ध चाहिएको छैन भने

द्वन्द्वबाट शान्तितर्फको यात्रा तय गर्न किन यति धेरै समय लागेको होला?
हामीले नेपालमा शान्तिका लागि धेरै काम गरेका छौं। हाम्रो चाहना नेपालका गरिब जनताले सुख पाऊन् भन्ने हो। हाम्रो यो चाहनामा राष्ट्रपति, प्रधानमन्त्री, माओवादी पार्टीका अध्यक्ष र राजनीतिक पार्टीका नेता सहमत छन्। त्यसो हो भने समस्या कहाँ छ, मैले बु‰न सकेको छैन।
• दसवर्षे हिंसात्मक द्वन्द्वले नेपाली राज्य व्यवस्थालाई सबै हिसाबले हल्लाएर छाडेको छ। परम्परागत पद्धति विस्थापित हुने क्रममा छ भने नयाँ पद्धति बस्न सकेको छैन। तपाईंको विचारमा नेपालको राजनीतिक भविष्य कस्तो देखिन्छ?
मैले यो पटकको भ्रमणमा चुनाव हुने निर्णयले नेपाली राजनीतिमा निकै हलचल आएको 'फिल' गरेको छु। यो हलचलको राम्रोसँग व्यवस्थापन गर्न सकिएन भने नेपाल फेरि पुरानै ठाउँमा पुग्ने डर छ। तर, म सावधानीपूर्वक सोच्ने र सकारात्मक सोच राख्ने व्यक्ति हुँ। त्यसैले नेपालको राजनीतिक प्रक्रिया अगाडि नै बढ्छ, पछाडि जाँदैन भन्ने मेरो विश्वास छ।
अहिले नेपालमा चुनाव भएन भने सबै प्रकारका राजनीतिक प्रक्रिया अवरुद्ध हुन्छन्। तपाईं पहिला संविधानसभाको निर्वाचन गर्नुस्। त्यसपछि स्थानीय निर्वाचन गर्नुस्। स्थानीय निर्वाचन पनि उत्तिकै महत्त्वपूर्ण छ। स्थानीय निकायको निर्वाचनबाटै नयाँ नेताहरूको उदय हुन्छ। लोकतान्त्रिक प्रक्रियालाई निरन्तरता दिन नयाँ पिढीको नेतृत्व महत्त्वपूर्ण हुन्छ। निर्वाचनले जनजीवनका सबै पक्षमा राजनीतिक हलचल ल्याउँछ। यस्तो हलचल आएन भने त समाज स्थिर भइहाल्छ नि। मलाई लाग्छ, नेपालको राजनीतिक भविष्य निर्धारण आगामी चुनावले गर्नेछ।
• नेपालमा लोकतन्त्रको स्थिति कस्तो छ? यो कतातिर गइरहेको छ जस्तो लाग्छ तपाईंलाई?
नेपालमा लोकतन्त्र त छ, लोकतन्त्रको सक्रियताको महत्त्वपूर्ण माध्यम निर्वाचन हो। तपाईं निर्वाचनमै जान हिच्किचाउनुहुन्छ भने त्यो कसरी लोकतन्त्र हुन्छ? निर्वाचनले के परिणाम दिन्छ भनेर सोच्नुभन्दा पनि निर्वाचनमा गएर परिणाम आफैं हेर्नु उचित हुन्छ। लोकतन्त्र भनेको जनताको विवेकको सम्मान गर्नु हो। निर्वाचनबाट कि त नेताहरू चुनिन्छन् कि फालिन्छन्। मेरै कुरा गर्नुहुन्छ भने म हरेकचोटि विजयी भएको छु। किनभने जनताले मलाई मन पराएका छन्। महत्त्वपूर्ण कुरा भनेको देशको शासन व्यवस्था चलाउन वैधानिकता चाहिन्छ। त्यो वैधानिकता निर्वाचनले मात्र दिन सक्छ।
राजनीतिको अर्को पाटो भनेको अर्थतन्त्र हो। नेपाली जनतामा राजनीतिप्रति यति धेरै वितृष्णा उत्पन्न हुनुको मुख्य कारण राजनीति र आर्थिक विकाससँगसँगै अघि बढ्न नसकेकाले हो। जबसम्म दिगो पद्धति र दिगो सरकार निर्माण हुँदैन, तबसम्म आर्थिक विकासमा निरन्तरता असम्भव नै हुन्छ। राजनीतिक अस्थिरताले नेपाललाई आर्थिक विकासमा धेरै पछाडि धकेलेको छ। अघिल्लो वर्षकै कुरा गर्दा पनि आंशिक बजेटका कारण दाताहरूले दिएको पैसा पनि खर्च भएन। निर्वाचनपछि स्थिर सरकार हुन्छ भने दाताले दिएको पैसाको सदुपयोग हुने सम्भावना बढ्छ। त्यो सबै अहिले राजनीतिक अस्थिरताकै कारण त रोकिएको छ नि।
• बेलायत सरकार नेपालमा हुने निर्वाचनमा सहयोग गर्न इच्छुक छ, होइन? तपाईंले निर्वाचनका लागि सहयोगको प्याकेज पनि ल्याउनुभएको होला नि?
हो, छ। हामी निर्वाचनलाई पूर्णरूपमा सहयोग गर्छौं। कसले जित्छ वा कसले हार्छ भन्ने कुरासँग कुनै मतलब छैन हाम्रो। हामी केवल निर्वाचनमा केन्द्रित छौ। हामीले निर्वाचनका लागि समन्वय गर्ने हो, सहयोग गर्ने हो। हामी मतदाता नामावली संकलनदेखि निर्वाचन गराउनसम्म सहयोग गर्न तयार छौं। आगामी कात्तिक–मंसिरमा संविधानसभा चुनाव हुन्छ भने हामी त्यसपछि छिट्टै स्थानीय निकायको पनि चुनाव होस् र संविधान पनि बनोस् भन्ने चाहन्छौं। नेपालमा स्थायित्व आओस् र आर्थिक विकास होस् भन्ने हाम्रो चाहना हो। विकासका सम्भावनाहरू हँुदाहुँदै पनि नेपाल पछाडि परेको छ। यो ठूलो विडम्बना हो।
• के लाग्छ तपाईंलाई, यो पटक नेपालका नेताहरूले साँच्चि नै संविधान बनाउलान् त?
म सकारात्मक छु। संविधान भनेको यस्तो हुनुपर्छ, जसमा जनताले बहस गर्नै नपरोस्। त्यो जारी भएपछि त्यसैअन्तर्गत देशका सबै कामकारबाही सुचारु रूपमा अगाडि बढून्। संविधान सबैलाई मान्य हुनुपर्छ। सम्पूर्ण राजनीति संविधानअन्तर्गत चल्नुपर्छ। संविधानबारे हुने नकारात्मक टिकाटिप्पणी बन्द हुनुपर्छ।
• बेलायतमा कुनै प्रकारको लिखित संविधान छैन। तैपनि तपाईंहरूको देश राम्रोसँग चलिरहेको छ। नेपालमा त्यस्तै हुन सक्दैन?
हाम्रो त अपवाद हो। तर, नेपालमा त्यो सम्भव छैन। संविधान नभएकै कारण गत वर्ष दाताले दिएको पैसासमेत नेपालले खर्च गर्न सकेन। यो निकै निराशाजनक कुरा हो।
• नेपालका लागि विकासका प्राथमिकता के–के हुनुपर्छ?
हाम्रो प्रधानमन्त्री 'विकास भनेको गोल्डन थ्रेड (सुनौलो धागो) हो' भन्नुहुन्छ। त्यो भनेको के भने, एउटा सफल राष्ट्र हुन कुनै एक क्षेत्रको विकासले मात्र सम्भव हुँदैन। सबै प्रकारका तत्त्वको मिश्रण चाहिन्छ। राम्रो स्वास्थ्य सेवा, शिक्षा, कानुनी व्यवस्था, मानव अधिकार, स्थायी सरकार, स्वतन्त्र पत्रकारिता सबै चाहिन्छ। त्यसपछि आर्थिक विकास आफसेआफ हुन थाल्छ। यहाँ सबैभन्दा ठूलो कुरा स्थायित्वको संकट छ, जसले गर्दा आर्थिक क्षेत्र धराशायी भएको छ। पूर्वाधार अपर्याप्त भएकाले बजार खुम्चिएको छ। खुम्चिएको बजारमा कुनचाहिँ पुँजीपति लगानी गर्न इच्छुक हुन्छ? कृषि क्षेत्रमा पनि ध्यान दिनु जरुरी छ। त्यसलाई 'मोडर्नाइज' गर्नुपर्छ।
• के त्यो सबै पूरा हुने सम्भावना देख्नुहुन्छ?
हुनसक्छ। किन नसक्नु?
• तपाईंं यतिका वर्षदेखि नेपालको राजनीतिलाई नियालिरहनुभएको छ। नेपालको लोकतन्त्रमाथि कतैबाट कुनै प्रकारको खतराको संकेत पाउनुभएको छ?
निर्वाचनमा जानु भनेको लोकतन्त्रको सम्मान गर्नु हो। मलाई लाग्छ, वैद्यजीहरूले पनि निर्वाचनमा भाग नलिनुभन्दा लिएको राम्रो हुन्छ। यो मेरो सुझाव हो। व्यक्तिगत धारणा हो।
• तपाईंले वैद्यजीलाई भेट्नुभयो। उहाँले तपाईंको कुरा सुन्नुभयो त?
जब म केही बोल्छु, मान्छेहरूले अवश्य नै सुन्छन्। मेरो कुरा उहाँलाई मन परेन होला। तर, सुन्नुभयो।
• निर्वाचन हुन मधेसी, जनजातिलगायत साझेदारहरू पनि तयार हुनु जरुरी छ, होइन?
हो। नेपालका सबै राजनीतिक शक्ति र समूहले तत्कालीन फाइदाका लागि सोच्नुभन्दा दीर्घकालीन फाइदाबारे सोच्नुपर्छ। अहिले नेपाल अत्यन्तै जटिल परिस्थितिमा छ। यस्तो बेला नेताहरूले आफ्नो व्यक्तिगत चाहना र पार्टीको चाहना पन्छाएर देश हितबारे सोच्नु र एकमत बनाउनु जरुरी छ। अहिले केही गलत कदम चालियो भने नेपाल पछाडि जान्छ। राम्रो कदमले नेपाललाई अगाडि बढाउँछ। यो उत्तरदायित्वपूर्ण राजनीति गर्ने समय हो। सम्पूर्ण विश्वले नै नेपाललाई नजिकबाट हेरिरहेको अवस्था छ।
नेपालका राष्ट्रपति अत्यन्तै असल मान्छे हुनुहुन्छ। उहाँले नेपालको राजनीतिलाई स्थायित्व दिन प्रशंसायोग्य मेहनत गर्नुभएको छ। उहाँले निर्वाचनको वातावरण बनाउन पनि महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ भन्नेमा म आशावादी छु।