Wednesday 7 Shrawn, 2071 |
Menu

'मध्यपूर्वमा महिला कामदारको अवस्था दयनीय'

  • मङ्गलबार १० बैशाख, २०७०
  • सुरेन्द्र पौडेल
  • DISQUS_COMMENTS
(1 Vote)
काठमाडौं, - वैदेशिक रोजगारका दृष्टिले नेपाली कामदारका लागि मध्यपूर्वका मुलुक प्रमुख गन्तव्य हुन्। दैनिक सयौं नेपाली रोजगार खोज्दै मध्यपूर्वका आधा दर्जन देश पुग्छन्। लाखौं त्यहाँ कार्यरत छन्। फर्किनेको लर्को पनि उस्तै छ। सीप जानेकाले राम्रै आर्जन गर्छन्। तर, लहलहैमा मध्यपूर्व पुग्नेले भने दुःख बेसाएर मात्र फर्कनुपर्छ।
सरकारी अधिकारी तथा नेताहरू तिनै नेपाली कामदारले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको भन्दै गर्व गर्छन्। कामदारले पाएको सास्तीबारे भने कमै चासो दिन्छन्। मध्यपूर्व पुगेका कामदारलाई कसरी सुरक्षित राख्ने भन्नेमा अहिलेसम्म प्रभावकारी योजना छैन।

मध्यपूर्वका जोर्डन, कुवेत, युएई, लेबनान्, बहराइन, इराक, कतार, साउदी अरब र यमनमा रहेका आप्रवासी कामदारका पीडा उजागर गरेकेा छ- गत साता सार्वजनिक भएको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को प्रतिवेदनले। मानव तस्करहरूको 'टि्रक्ड' र 'ट्रयाप्ड' मा परी नेपाल लगायत अन्य देशका कामदारले मध्यपूर्वमा कस्तो सास्ती खेपिरहेका छन् भन्ने प्रतिवेदनले औंल्याएको छ।
'टि्रक्ड एन्ड ट्रयाप्ड ह्युमन ट्राफिकिङ इन द मिडिल इस्ट' नामक उक्त प्रतिवेदनमा महिला कामदारलाई मध्यपूर्वमा जबर्जस्ती काम लगाइने गरेको उल्लेख छ। आइएलओले सन् २०११ जुनदेखि सन् २०१२ डिसेम्बरसम्म १७ महिना लगाएर अध्ययन गरेको थियो।
अध्ययनमा मध्यपूर्वमा कामदार पठाउने एसियाली तथा अफ्रिकी राष्ट्र नेपाल, बंगलादेश, इथोपिया, श्रीलंका, फिलिपिन्स, केन्या, क्यामरुन, मादागास्कर र सेनेगललाई पनि समेटिएको छ। अध्ययनका क्रममा मध्यपूर्वमा कार्यरत कूल ६ सय ५३ जना कामदारसँग अन्तर्वार्ता लिइएको थियो, जसमध्ये ३ सय ५४ जना आप्रवासी थिए। अन्तर्वार्ता लिएका आप्रवासी कामदारमध्ये २ सय ६६ ले आफूलाई जबर्जस्ती काममा लगाइएको बताएका थिए।

अन्तर्वार्ताका क्रममा २ सय ६ जनाले नक्कली करारपत्र, १ सय ३ जनाले सीमित स्वतन्त्रता, १ सय ४९ ले तलब समयमा नदिने (रोकेको), १ सय ९६ ले जबर्जस्ती बढी समय काम गराएको र १ सय ६८ ले परिचयपत्र लिँदा तनाव दिने गरेको बताएका थिए।

आइएलओको प्रतिवेदनअनुसार मध्यपूर्वमा ६ लाख आप्रवासी कामदारलाई जबर्जस्ती काममा लगाइएको छ। मध्यपूर्वमा निर्माण, उत्पादन, कृषि उद्योगमा पुरुष र मनोरञ्जन उद्योगमा महिला कामदार बढी पीडित रहेको जनाइएको छ। घरेलु कामदार र मनोरञ्जन उद्योगमा काम गर्न गएकामाथि यौनहिंसा बढी हुने गरेको उल्लेख छ। मध्यपूर्वका मुलुकमा २० लाखभन्दा बढी घरेलु कामदार रहेको अनुमान छ।

अध्ययनका क्रममा मध्यपूर्वमा घरेलु कामदारका रूपमा कार्यरत नेपालीसहित १ सय ४३ आप्रवासी महिलासँग अन्तर्वार्ता लिइएको थियो। उनीहरूको उमेर १९ देखि ५५ वर्षसम्म थियो। अधिकांशले आफूलाई गरिबका रूपमा चिनाएका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाई नक्कली करार पत्रमा मध्यपूर्व पुगेको त्यहाँ कार्यरत नेपाली घरेलु महिला कामदारले बताएका थिए। सेटिङका लागि अलग्गै पैसा बुझाउनुपर्ने उनीहरूको भनाइ थियो। विमानस्थलस्थित अध्यागमनका कर्मचारीलाई १ सय देखि ७ सय अमेरिकी डलरसम्म घुस खुवाउनु परेको उनीहरूले बताएका थिए।

 

'यहाँ घरेलु कामदार किनबेच हुन्छ। मैले देखेको एउटा घटना सुनाउँछु - एकजना रोजगारदाताले घरेलु कामदार एजेन्सीलाई फिर्ता गर्योु, बदलामा क्षतिपूर्ति स्वरुप उसले ५ सय अमेरिकी डलर लियो। एजेन्सीले ती महिलालाई फेरि अर्को रोजगारदातालाई एक हजार अमेरिकी डलरमा बेच्यो,' प्रतिवेदनमा कुवेतमा हुने गरेको घरेलु कामदार बेचबिखन सम्बन्धमा कुवेत लयर एशोसिएसनका एक सदस्यको भनाइ उद्वृत गरिएको छ।

कुवेतमा मात्र ३० हजारभन्दा बढी नेपाली महिला घरेलु कामदार छन्। यौन हिंसाबाट धेरै महिला पिडित भएपछि गत वर्ष सरकारले ३० वर्षभन्दा मुनिका महिलाले घरेलु कामदारको रूपमा मध्यपूर्वका मुलुक जान नपाउने निर्णय गरेको थियो।

प्रतिवेदनमा एजेन्सीले घरेलु महिला कामदार बेच्दा अफ्रिकन तथा एसियालीलाई ३ हजार देखि ४ हजार अमेरिकी डलरसम्म बेच्ने गरेको उल्लेख छ। सबैभन्दा चर्को मूल्यमा किनबेच जोर्डनमा हुन्छ- ५ हजारदेखि ७ हजार अमेरिकी डलरसम्म।

'लेवनान पुग्नेबित्तिकै मेरो राहदानी खोसियो। मलाई लगेर कोठामा थुने, जहाँ ३० जना जति महिला सुतिरहेका थिए। गलत भैरहेको मैले बुझे। म चिच्याएँ। बाथरुम समेत जान दिइएन। थुनिएको १२ घन्टापछि मेरो नाम बोलाइयो। एउटा व्यक्ति आयो, जसलाई मेरो राहदानी थमाइयो। श्रीमान-श्रीमती र तीन जना बच्चा रहेको परिवारमा काम गर्न मलाई पठाए, जुन घरमा मेरा लागि सुत्ने कोठा थिएन,' लेवनानमा कार्यरत केन्याकी एक महिला कामदारको भनाइ प्रतिवेदनमा उद्वृत गरिएको छ।

कुवेत पुगेका घरेलु कामदारलाई साउदी अरब लगि बेचिएको समेत अध्ययनमा उल्लेख छ। यस्ता ५० भन्दाबढी कामदारलाई उद्धार गरेको कुवेतस्थित नेपाली दूतावासले जनाएको प्रतिवेदनमा छ। घरेलु काममा लगाउने प्रलोभनमा कुवेत पुगेका उनीहरूलाई साउदीमा भेडा र उँटको रेखदेख गर्न लगाइएको थियो।

करारपत्रमा काम गर्ने समय ८ घन्टा भनिए पनि दबाब दिई दैनिक १५ घन्टासम्म काममा लगाउने गरेको महिलाहरूले बताएका थिए। केहीले बिहान ६ बजेदेखि अर्कोदिन बिहान २ बजेसम्म काम गर्न परेको बताएका थिए, उनीहरूको मासिक तलब १ सय ८० अमेरिकी डलर मात्र थियो। अधिकांश घरेलु महिला कामदारलाई मोबाइल बोक्न दिइँदैन। सञ्चार तथा हिँडडुल गर्न सीमित स्वतन्त्रता पाएका छन्।

'मेरो दिदी अत्यन्त अप्ठेरो अवस्थामा हुनुहुन्छ। उनको मेडमले पेटभरि खान नदिई कुट्छिन्। ती मेडमले मलाई दिदीसँग भेट गर्न पनि दिएकी छैनन्। दिदीलाई बन्धक बनाएका छन्। म दिदीसँग प्रत्येक महिना फोनमा कुरा गर्छु, तर कहाँ छिन् थाहा छैन,' लेवनानमा कार्यरत एक नेपाली महिलाको भनाइ छ।

मध्यपूर्व पुग्ने अधिकांश आप्रवासी कामदारको राहदानी रोजगारदाताले राख्ने गर्छन्। ९९ प्रतिशतको सम्बन्धित देशको विमानस्थलबाटै राहदानी खोसिन्छ। राहदानी नभएपछि जति यातना दिएपनि भाग्ने सम्भावना कम रहने बुझाइ रोजगारदाताको छ। यातना सहन नसकी कोही भाग्न खोजे अनेक बहानामा फसाउने गरिन्छ।

'तेस्रो तलाबाट हाम्फालेर भाग्ने तयारीमा थिएँ, मेडमले देखिन् र मलाई समाति एजेन्सीलाई बुझाइन्। एजेन्सीको मान्छे निकै रिसायो, उसले मेरो कुहिनामा जोडले कुट्यो। दुवै हात पछाडि लगेर लगेर बाध्यो। त्यसपछि मलाई एक दिनभरि कोठामा थुनेर राखे। उनीहरूले मलाई पैसा चोरेको आरोप लगाई थुन्ने धम्की दिए,' लेबनानमा रहेकी एक फिलिपिनो महिलाको भनाइ उद्धृत गर्दै प्रतिवदनमा भनिएको छ। यातना सहन नसकी कोही कामदार स्वदेश फर्कन चाहे एजेन्टले उल्टो पीडितसँग पैसासमेत माग्ने गर्छन्।

प्रतिवेदनअनुसार मध्यपूर्वमा कार्यरत घरेलु महिला कामदारमाथि मनोवैज्ञानिक, भौतिक र यौन गरी तीनैथरी हिंसा हुने गरेको छ। कपाल काटिदिने, साहुले भनेजस्तै कपडा लगाउनुपर्ने, आइफोनमा अश्लील तस्बिर तथा भिडियो देखाउने, राति कोठामा निर्वस्त्र आउन बाध्य पार्ने लगायत यातना खेप्नुपरेको गुनासो अन्तर्वार्तामा सहभागी महिलाले गरेका छन् । एक जना नेपाली महिला कामदारले आफूलाई साहुले बलत्कार गरेकोसमेत बताएकी छन्। यो कुरा उनले साहुनीलाई बताइन्, तर उनले पत्याइनन्, उल्टो गाली गरिन्।

कुवेतको हिरासतमा रहेकी फिलिपिनो महिलाले भनेकी छन्, 'म घरेलु कामदारको रूपमा कुवेत आएको थिएँ। साहुले मलाई मोबाइल पसलमा गर्न अनुमति दियो। एक दिन उसको कार पसलअघि आएर रोकियो। मलाई कारमा लगेर उसले त्यहीभित्र बलात्कार गर्योन। पुलिसकहाँ कम्प्लेन लेखाउन गएँ। उसले म भाग्ो भनेर प्रहरीमा रिपोर्ट गरेको रहेछ, प्रहरीले मलाई पक्राउ गर्योू। रोजगारदाताले भन्यो यदि मैले केस फिर्ता लिएँ भने मलाई डिपोर्ट गरिने छैन।'

आइएलओले प्रतिवेदनमा सुरक्षित तवरमा मात्र मध्यपूर्वमा काम गर्न जान प्रतिवेदनमा आग्रह गरेको छ। विदेश जानुअघि सक्कली करारपत्र लिएर मात्र जानुपर्ने सुझाव आइएलओको छ। कामदारको मानवअधिकार, स्वतन्त्रा, अधिकारको संरक्षण तथा सम्मान गर्न सम्बन्धित देशहरूलाई आइएलओले आह्वान समेत गरेको छ। अधिकांश पीडित अशिक्षित र अदक्ष भएकाले सीप सिकेर मात्र वैदेशिक रोजगारमा जान आइएलओले भनेको छ। रोजगारदाता, एजेन्सी, करारपत्र लगायत सम्पूर्ण कुरा बुझेर मात्र रोजगारमा गए सुरक्षित हुने निष्कर्ष आइएलओको छ।