17 Shrawn, 2071 |
Menu

स्वास्थ्य

नेपालमा औषधीप्रतिरोधी औलो

  • बिहीबार १२ बैशाख, २०७०
  • दीपक दाहाल
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं- नेपालमा औषधी प्रतिरोधी (ड्रग रेसिस्टेन्सी) औलोको विकास भएको एक अध्ययनले देखाएको छ। दक्षिणपूर्वी एसियाका अधिकांश देशमा औषधीप्रतिरोधी औलो दर बढ्दै गएको पाइएपछि नेपालमा स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हाल प्रयोग भइरहेको औषधीको प्रभावकारिता अध्ययन गरेको थियो।


'फाल्सिफेरम'ले गराउने कडा खालको औलो दिइने 'कोआर्टिम'को प्रभावकारितामा समस्या देखिएको महाशाखाका निर्देशन डा. गरिबदास ठाकुरले बताए।

नेपालमा ६ वर्षअघि अध्ययन गर्दा यस्तो औलो भेटिएको थिएन। पछिल्लोपटक महाशाखाले विशेषज्ञसहित टोली परिचालन गरी एक महिनाअगाडि औषधीको प्रभावकारितामा अध्ययन थालेको थियो। कडा खालको औलोमा 'कोआर्टिम' र 'प्यलाज्मोडियम भाइरेक्स'का लागि 'क्लोरोक्विन' औषधी दिइन्छ। प्रभावकारिता समस्या 'कोआर्टिम'मा मात्रै रहेको महाशाखाले जनाएको छ। विज्ञहरूले नेपालमा पनि औषधीप्रतिरोधी समस्या भेटिइसकिएकाले त्यसलाई वैज्ञानिक आधार दिनमात्रै अध्ययन जरुरी परेको बताएका छन्।

औषधीप्रतिरोध भए, रोग निको हुन समय लाग्ने वा निकै नहुने हुन्छ। दक्षिणपूर्वी एसियाका अधिकांश देशमा पछिल्लो समयमा उपचार दायरामा आएकामध्ये १० प्रतिशतभन्दा बढीमा औषधीप्रतिरोधी औलो भेटिएको छ। सामान्यतः २० प्रतिशतभन्दा बढी यस्तो बिरामी भेटिए औषधी नै परिवर्तन गर्नुपर्छ।

सन् २००५ सम्म औलोका लागि 'प्यारामिथामिन सल्फाडोक्सिन'भन्ने औषधी चलाउने गरिएकोमा औषधीले काम गर्न छाडेपछि अहिले प्रयोग भइरहेको 'कोआर्टिम' प्रयोग थालिएको थियो। विभागले सरकारी तहबाट औलो निदानमा समस्या नभएको दाबी गरेको छ। निजी क्षेत्रले रोग परीक्षण गर्न अपनाएको विधि आरडिटीले सही रिपोर्ट नदिँदा जथाभावी औषधी प्रयोग भएकाले पनि 'ड्रग रेसिस्टेन्स' विकास भएको आशंका अधिकारीहरूको छ।

सामान्यतः काम ज्वरो आउने र जोखिमयुक्त ठाउँको भ्रमणपछि रोगको आशंका गरी परीक्षण गरिन्छ। निजी क्षेत्रका धेरै संस्थाले सस्तो परीक्षण सामग्री भिœयाएकाले सही रूपमा एन्टिजिन र एन्टिबडी छुट्याउन नसक्दा जथाभावी उपचार हुने गरेको अधिकारीहरूको दाबी छ। 'यस्तो परीक्षणमा शरीरमा पहिला कुनै समयमा भएको औलोका कारण पनि एन्टिबडी देखिन सक्छ,' निर्देशक डा. ठाकुरले भने, 'जथाभावी उपचार गरेपछि त औषधी प्रतिरोध हुन्छ।'

औलो नियन्त्रण गर्न आवश्यक परेमा औषधी नै परिवर्तन गर्न पनि संसारमा अध्ययन भइरहेको छ। तर अहिलेको भन्दा प्रभावकारी औषधी पत्ता लागेको छैन्। सरकारले नेपाललाई सन् २०२६ सम्म औलोमुक्त बनाउने, २०१६ सम्म औलो संक्रमणलाई सन् २०१० को तुलनामा ९० प्रतिशतले घटाउने र औलो सर्ने गाविसको संख्या ७५ प्रतिशतले घटाउने लक्ष्य लिएको छ। औलोको जोखिम भएका ६५ जिल्लामध्ये सुक्ष्म वर्गीकरणमार्फत् ५४ गाविस उच्च र दुई सय गाविस मध्यम जोखिमयुक्त पहिचान भएको छ।

यी जिल्लामा झन्डै ६६ प्रतिशत औलो रोगी स्थानीय संक्रमणबाट र ३३ प्रतिशत आयातीत संक्रमण भएको महाशाखाको तथ्यांक छ। '६६ प्रतिशत केस स्थानीय संक्रमण छन्, तिनलाई ९० प्रतिशतले कमी ल्याउने चुनौती हामीले स्विकार गरेका छौं,' डा. ठाकुरले भने।

स्वस्थ्य सेवा विभागका महानिर्देशक डा. मिङमार गेल्जेन शेर्पा औलोमा सहस्राब्दी विकास लक्ष्य पूरा भइसकेको भनेर खुसी हुनुपर्ने अवस्था नरहेको बताए। जुनसुकै दिन पुनः महामारीका रूपमा आउन सक्ने भन्दै त्यसका लागि सधै तयार रहनुपर्ने उनको धारणा छ। 'झन्डै ६० वर्षअघि औलो उन्मुलनको घोषणा भए पनि फेरि त्यो आयो,' डा. शेर्पाले भने, 'लामखुट्टेका गुँड जताततै छन्, स्वास्थ्यले मात्रै कार्यक्रम घोषणा गरेर हुन्न।' सन् २००६ मा बाँकेमा औलोले ३१ जनाको मृत्यु भएको थियो।

सन् २००५ देखि सुरु गरिएको अति जोखिम क्षेत्रमा विषादियुक्त झुल वितरण, वर्षको दुईपटक विषादि छर्कने, रोगी भेटिएका घर आसपास शंकास्पदलाई २४ घन्टाभित्र गरिने उपचारले संक्रमण दर घट्दै गएको महाशाखाको दाबी छ। तर हिमाली र पहाडी जिल्लामा समेत नयाँ रोग फेला पर्दै गएकाले नयाँ चुनौती थपिएको अधिकारीहरू बताउँछन्।