Friday 7 Kartik, 2071 |
Menu

प्रवास

अमेरिकामा नेपालीहरूका दुई सम्मेलन तयारी

(0 votes)
राजेश कोइराला, न्यु ह्याम्सर - एसोसिएसन अफ नेप्लिज इन मिड-वेस्ट अमेरिका (आन्मा) तथा नेप्लिज एसोसिएसन इन साउद-इस्ट अमेरिका (नासा) ले गर्दै आएको संयुक्त सम्मेलन यस वर्ष साउथ क्यारोलाइनामा हुने भएको छ। आन्मा-नासाको ९ औं सम्मेलन अगस्त ३० देखि सेप्टेम्बर १ मा साउथ क्यारोलाइनाको ग्रिनवर्ग/स्पार्टनवर्गमा हुने भएको छ ।
यस वर्षको सम्मेलन गर्ने जिम्मेवारी साउथ क्यारोलाइना एसोसिएसन अफ नेप्लिज (स्क्यान)ले लिएको छ । गत सालको सम्मेलन इन्डियाना राज्यको इन्डियाना-पोलिसमा भएको थियो ।

सन् १९८२ मा स्थापना भएको आन्मा र सन् १९९१ मा स्थापना भएको नासाको उक्त संयुक्त सम्मेलन अमेरिकी लेबर डे (सेप्टेम्बरको पहिलो सोमबार) मा सकिने गरी आयोजना गरिंदै आएको छ ।

आन्मा, संयुक्त राज्य अमेरिकाको मध्य-पश्चिममा बस्ने नेपालीहरूको संगठन हो । नासाले अमेरिकाका दश राज्य : फ्लोरिडा, जर्जिया, नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना, टेन्नेसी, अलाबामा, मिसिसिपी, अर्कान्सास, लुजियाना र केन्टकीका नेपालीलाई समेट्छ भने आन्माले मध्य-पश्चिमका राज्यमा बस्ने नेपालीलाई समेट्छ ।

उता द एशोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए) को ३१ औं सम्मेलन यस वर्ष न्युयोर्कमा हुने भएको छ । प्रमुख संयोजक समिर महर्जनको संयोजकत्वमा एक प्रारम्भिक चरणको मूल समारोह समितिको गठन भएको छ । उता सन् १९८३ जुलाईमा स्थापित एएनएले अमेरिकी स्वतन्त्रता दिवस (जुलाई ४) मा आफ्नो सम्मेलन गर्दै आएको छ। न्युयोर्कले सन् १९८३, सन् १९८८, सन् १९९२ र सन् २००६ (पहिलो, छैठौ, दशौं र चौबिसौं सम्मेलन) गरेको थियो । धेरै नेपाली समेट्ने एएनएको अघिल्लो सम्मेलन टेक्सस राज्यको डालसमा भएको थियो ।

नासा, अमेरिकामा एनआरएन अमेरिका र 'एएनए' पछि तेश्रो ठूलो र प्रभावशाली नेपाली संस्था हो ।

सन् २०१० को अमेरिकी जनगणनाअनुसार अमेरिकामा ५९ हजार ४ सय ९० नेपाली छन्। तर विज्ञहरू अमेरिकामा २ लाख नेपाली भएको बताउँछन् । उता ६५ हजार नेपाली-भाषी भूटानीहरू अमेरिकामा पुनर्स्थापित भइसकेका छन् । यी नेपाली सम्मेलनहरूले नेपाली-भाषी भूटानीहरूलाई समेट्दैन।