Wednesday 7 Shrawn, 2071 |
Menu

प्रवास

टोरन्टोमा नेपाली फिल्म फेस्टिभल हुने

(0 votes)
यम घिमिरे, टोरन्टो, (क्यानाडा), फागुन २१ - टोरन्टोमा टोरन्टो नेपाली फिल्म फेस्टिभल हुने भएको छ। मार्च ८ र ९ क दिन टोरन्टो विश्वविद्दालयको सभाकक्ष इन्निस टाउन हलमा हुने फेस्टिभलको चौथो संस्करणमा यसपालि संस्कृति, प्रबिधि, राजनीति, समाज, क्षेत्रिय जीवनशैली लगायत विभिन्न विधा र सारका लामा छोटा फिल्महरु छनोट गरिएको टोरन्टो नेपाली फिल्म फेस्टिभलले जनाएको छ।
दुई दिन सम्म चल्ने फेस्टिभललाई चार खण्डमा बाँडेर नेपाली फिल्मकर्मीका १० वटा नयाँ पुराना नेपाली फिल्महरु प्रदर्शन हुने फेस्टिभलका निर्देशक सुरेन्द्र लावतीले बताए। सन् २०१० देखि सुरु गरिएको टोरन्टो नेपाली फिल्म फेस्टिभल टोरन्टोमा बस्ने नेपाल र नेपालीप्रेमीको स्वयंसेवाबाट स्थापित आफैंमा एउटा स्वतन्त्र र गैरनाफामुखी संस्थागत अस्तित्व हो। ‘नेपाली सिनेमा निर्माणको उद्योगलाई अन्तरास्ट्रिय क्षेत्रमा प्रवर्द्धन गर्न र नेपाल र नेपालीपनको विशिष्टतालाई टोरन्टोको बहुसांस्कृतिक घोलनमा एउटा आवाज बनाएर सुनाउनु फेस्टिभलको उद्देश्य हो' लावतीले फेस्टिभलको महत्व प्रष्ट्याउदै भने.
फेस्टिभलको पहिलो खण्ड मार्च ८ साँझ ७.०० बजे सुरु हुनेछ जसमा मनोज पण्डित निर्देशित नेपाली कम्युनिस्ट नेता मदन भण्डारीको मृत्युको बिषयमा बनेको ‘दासढुंगा'प्रदर्शन गरिनेछ।

फेस्टिभलको दोस्रो तथा अन्तिम दिन दोस्रो, तेस्रो र चौथो खण्डमा सिनेमाहरु देखाइने छ। पहिलो खण्डको प्रदर्शनीमा ४ वटा छोटा फिल्महरु देखाइने छ. दिउसो १.१५ बजे बाट हुने यस खण्डमा मिनबहादुर भामको ‘बान्सुली', लाजिम बुद्ध र राजेन्द्र बुद्ध मगरको ‘भुतहरुको दुस्मन', फूलमान बलको ‘सेलफोन', भाष्कर ढुंगानाको ‘फल्स स्प्रिंग' र सरोज महतोको ‘धुलो' देखाइने छ। तेस्रो खण्डमा अपरान्ह ४ बजेबाट आलोक तुलाधर र रजनी श्रेष्ठको ‘योमरी या बखां', रमेश खड्काको ‘काठमान्डू' र जस कुमार राइको ‘छिन्तांग डजन्ट बिलिभ इन टियरज' देखाइने छ। फेस्टिभलको मैजारो हुनेछ चौथो खण्डमा साँझ ६.०० बजेबाट देखाइने छिरिंग रितार शेर्पाको १०५ मिनेटको ‘मुकुण्डो' बाट।


सन् १९९९ देखि २०१२ सम्ममा बनेका फेस्टिभलमा देखाइने सबैजसो फिल्महरु यसघि नै कुनै न कुनै राष्ट्रिय वा अन्तरास्ट्रिय फिल्म उत्सवमा सभागिता जनाइसकेका नै परेका छन्। प्रदर्शनीमा उत्कृष्ट ठहरिएका दुई फिल्मले ‘जुरी च्वाइस अवार्ड' र ‘अडियन्स च्वाइस अवार्ड' शीर्षकमा नगद पुरस्कार पाउने आयोजकले बताए।