4 Ashwin, 2071 |
Menu

फिल्ममा क्लिक रिभोलुसन

  • मङ्गलबार १० बैशाख, २०७०
  • विष्णु शर्मा
  • DISQUS_COMMENTS
(0 votes)
नेपालमा अहिले तीन ‘स'को हल्ला छ –साझा बस, सुनको मूल्य र संविधान। हल्लाको यो डिस्नेरीमा अर्को एउटा ‘स' थप्नुपर्ने देखिन्छ, त्यो हो– सोसल मिडिया अर्थात् इन्टरनेटको सामाजिक सञ्जाल। यो क्लिक रिभोलुसन अहिले सरकार ढाल्ने, राजनीतिक समीकरण बदल्ने र लोकतन्त्रको पण्डित्याइँ गर्नमा मात्र सीमित रहेन, मनोरञ्जनको शैली परिवर्तनमा व्यस्त छ। इन्टरटेनमेन्टको स्वाद, रुचि र छनौट गर्ने नेपाली समाजको आनीबानी फेरिँदा छन्।

इन्टरटेनमेन्टको नयाँ परिभाषा गर्दैछन् नेपाली नेटिजन जो ट्वीटर, फेसबुक, ब्लग र युट्युबका भित्तामा पोखिएका छन्। मुलुकको कुल जनसंख्याको २२ प्रतिशत इन्टरनेटको पहुँचमा छ र त्यसको २५ प्रतिशतले सोसल साइटमा खाता खोलेका छन्। यो समूह अहिले क्लासिकल मनोरञ्जनको तरिकाविरुद्ध उभिएको छ। सामाजिक सञ्जालको यस्तो लाभ उठाउनेमा संगीत, नाटक र फेसनभन्दा फिल्म एक स्टेपले अगाडि छ। लाभसँगै सोसल मिडिया ठूलै चुनौती बनेर तेर्सिएको छ, जसले अबको दसक विश्व फिल्मका लागि अस्थिर दसक बन्नेछ।

संगीत र फेसनभन्दा फिल्मका लागि सामाजिक सञ्जाल बाध्यता र अवसर दुवै देखिन्छ। बाध्यताकै कारण हुनुपर्छ, विश्व फिल्ममा यतिबेला एउटा स्टेटमेन्ट चर्चित छ –’फिल्मको बक्सअफिस भविष्य फेसबुक र ट्वीटरले बनाउन र बिगार्न सक्छ।' एउटा ट्वीटले हलिउड बक्सअफिसको अंकगणितलाई अप–डाउन गराइदिएका घटना पछिल्लो समय बढ्न थालेका छन्। यसले फेसबुक र ट्वीटर फिल्म निर्माताका दुस्मन बनेका छन् र सहायकसिद्ध पनि। नेपाली फिल्म पनि सोसल मिडियाको यस्तो प्रभाव र असरबाट मुक्त छैन।

हलिउडमा सोसल नेटवर्कको प्रभाव छ वर्षपहिले सुरु भएको हो। बक्सअफिसमा १५० मिलियन डलर कमाएको ‘प्यारानर्मल एक्टिभिटी'ले पहिलोपटक सोसल मिडियालाई प्रवर्द्धन क्याम्पेन माध्यमको रूपमा चलायो। सोसल साइट प्रमोटले फिल्मलाई हिट पनि बनायो। निर्माण कम्पनी प्यारामाउन्ट पिक्चर्सले स्थानीय हलमा समेत फिल्म प्रदर्शन गर्न इभेन्ट म्यानेजमेन्ट कम्पनीसँग मिलेर फेसबुक अभियान थाल्यो। रोचक कुरा– फेसबुक क्याम्पेन गर्नुपछाडि दर्शकलाई मनोवैज्ञानिक रूपमै फिल्मप्रति अपनत्व दिलाउने स्वार्थ लुकेको थियो।

लगत्तै, हलिउडको अर्को बिग ब्यानर वार्नर ब्रोजले सोसल मिडियाबाट आफ्नो फिल्म ‘इन्सेप्सन'को भाइरल मार्केटिङ गर्‍यो। अर्को निर्माण कम्पनी डिज्नेले ‘टोय स्टोरी ३' र ‘ट्रोन लिगेसी'को पब्लिसिटी फेसबुक, ट्वीटर र युट्युवबाटै आक्रामक ढंगले गर्‍यो। यसरी हलिउडको मार्केटिङ र प्रवर्द्धनका रणनीति सोसल मिडियामैत्री हुन थाले। ‘हलिउड रिपोर्टरडटकम'का अनुसार हलिउड बक्सअफिसको दुई तिहाइ हिस्सा सामाजिक सञ्जालको मार्केटिङबाट पूर्ति हुने गरेको छ। अमेरिकी संगीत र अश्लील चलचित्र उद्योगको बजारीकरण सामाजिक सञ्जालका वेगमा निर्भर हुनुपरेको अहिलेको यथार्थ हो। यसको सिको गर्दै युरोप, पूर्वी एसिया र दक्षिण एसियाली मुलुकमा बन्ने स्वतन्त्रदेखि ब्लकबस्टर सम्मका फिल्मले सामाजिक सञ्जाल मिडिया मार्केटिङको अवधारणा पछ्याउँदै उत्पादनलाई बजारमा पुर्‍याइरहेका छन्।

सोसल मिडियाले फिल्मका लागि व्यवसायिक अवसर सिर्जना गरेको छ, जसलाई दैत्य मान्ने फिल्ममेकर मनग्गे लाभ पनि उठाउँदै छन्। फिल्म प्रचारप्रसारको शास्त्रीय शैलीलाई सामाजिक सञ्जालले विस्थापन गर्न थालेपछि पब्लिसिटी खर्च बचत हुन थालेको छ। ठूला स्टारको टाउको राखिएको पोस्टर पर्खाल र बिजुलीको खम्बामा टाँस्ने, अखबार, रेडियो र टेलिभिजनमा फिल्मको विज्ञापन छाप्ने तथा बजाउने पद्दती पुरानो विश्वसँग थियो। तर, आधुनिक विश्व फिल्मसँग फेसबुक, ट्वीटर र स्मार्टफोन छन् जसको माध्यमबाट ऊ उत्पादन र उपभोक्ताबीच अन्तक्रिया गराउँछ।
अहिले बलिउड फेसबुक र ट्वीटरबाटै टिकट बेच्छ। मुम्बई फिल्म उद्योगले सोसल मिडियालाई कन्जुमर र कस्टुमरबीच ब्रान्डको बजारीकरण गर्ने माध्यमको रूपमा प्रयोग गरेको छ। भारतीय मल्टिप्लेक्सले सोसल मिडिया उपभोक्तलाई लक्षित गर्दै अनलाइन टिकट सेलिङलाई सुलभ बनाएका छन्। उसको फिल्मी वृत्त डायस्पोरासम्म विस्तार भएकाले सामाजिक सञ्जालको प्रयोग र प्रतिक्रिया पनि वृहत छ। भारतीय फिल्मको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक मूल्य निर्माण भइसकेकाले बलिउडले सोसल मिडियालाई अन्तक्रिया र बजारीकरणको अभिन्न अंग मानेको छ। भारतीय गाउँमा तीव्र विस्तार भइरहेको इन्टरनेट सेवाले फिल्म र सोसल मिडियाको सम्बन्धलाई सघन बनाउँदैछ। ऊ अमेरिका र ब्राजिलपछि सबैभन्दा बढी सामाजिक सञ्जाल प्रयोगकर्ता भएको मुलुक हो। जसका कारण बलिउडसँग उत्पादनलाई लक्षित वर्गसम्म पुर्‍याउन सजिलो भएको छ। उत्तर छिमेकी चीनले गुगल, फेसबुक र ट्वीटरलाई मुलुकभित्र प्रतिबन्ध लगाएकाले हलिउडले चिनियाँ माइक्रोब्लगिङ साइट ‘वेइबो'बाटै फिल्मको प्रवर्द्धन गर्छ। यस्तो गर्न निकै कठिन भएपनि चीन जापानपछिको तेस्रो ठूलो बजार हो।

नेपाली फिल्ममा सामाजिक सञ्जालले मार्केटिङ र पब्लिसिटीको शैलीलाई पछिल्लो वर्षमा चुनौती दिएको छ। यद्यपि, पुरानै बजारीकरणको शैलीमा विश्वास गर्ने मुलुक हो नेपाल। व्लकबस्टर ‘लुट'बाट थालनी भएको सोसल मिडिया क्याम्पेन पछिल्ला फिल्ममा व्यापक छ। स्टोरी टेलिङले मात्र ‘लुट' हिट रहेन, अनलाइन मार्केटिङमा पनि अब्बल देखियो। यसले नेपाली डायस्पोरामा समेत नेपाली फिल्मको बजार सिर्जना गरिदियो। ‘चपली हाइट' र ‘सायद' हिट हुनुमा ‘लुट' शैलीको सामाजिक सञ्जाल व्यापार मुख्य थियो।

‘लुट'पछि रिलिज भएका फिल्मले सोसल मिडियालाई पब्लिसिटीको वाहक बनाए। ‘लुट' र ‘पल' फिल्मका पोस्टर पर्खालमा टाँसिएनन्। ‘पल' निर्देशक तथा निर्माता कर्ण शाक्यले काठमाडौं सहरलाई हरियाली बनाउने अभियानको थालनीका रुपमा भर्चुअल पब्लिसिटीको मद्दत लिए। यतिबेला नेपाली फिल्ममा सामाजिक सञ्जाल मार्केटिङको ट्रेन्डलाई लिएर द्वन्द्व देखिन्छ। पुराना निर्माता परम्परागत शैलीलाई चटक्कै छाड्ने मुडमा छैनन्। नयाँ पुस्ता न्यु मिडिया मार्केटिङमा सक्रिय छ।

अहिले प्रत्येक फिल्मका सोसल साइट खाता छन्। सामाजिक सञ्जालले फिल्म निर्माणमा खर्च कम, पब्लिसिटी किफायती, अन्तक्रियाको बाक्लोपन, मिडिया कभरेज र प्रिमियर तथा प्रेसमिट आयोजनाको दिग्दारीबाट मुक्त गरिदिएको छ। स्वदेशी फिल्मलाई सोसल नेटवर्कको सर्वाधिक ठूलो फाइदा उत्पादनको अन्तराष्ट्रियकरण हो। फिल्ममेकिङमा विषयवस्तुको स्रोत पनि बनेको छ सामाजिक सञ्जाल। हलिउडमा फेसबुकमाथि ‘द सोसल नेटवर्क' र ‘एलेभेन्थ आवर' बने। नेपालमा फेसबुकमाथि ‘फेसबुक' फिल्म बन्यो। सुरज सुब्बा निर्देशित फिल्मले नेपाली समाजमा फेसबुक प्रयोगका राम्रा– नराम्रा पाटालाई समेट्यो तर फिल्मले कन्टेन्टको उठानलाई गहिराइमा पस्कन सकेन। फिल्म ‘बधशाला'ले फेसबुक एप्लिकेसन नै बनायो। नेपाली फिल्ममा एप्सको यो पहिलो प्रयोग थियो।

बितेका वर्ष लगानी रिकभर गरेका र हिट भएका फिल्मको सफलतासँग सोसल नेटवर्क मार्केटिङ गाँसिएको थियो। वितरकले बक्सअफिस नतिजामा क्लिकलाई पनि व्यापारको मापदण्ड मान्न थालेका थिए। तर, सोसल मिडियामा हाइप बटुलेका आशातीत फिल्म पनि धमाधम फ्लप बन्न थालेपछि भने वितरक तर्सिए। ‘हाइवे', ‘भिजागर्ल', ‘धन्दा', ‘अपवाद'ले सोसल मिडियाका भित्तामा साम्राज्य जमाएको देख्दा लाग्थ्यो, फिल्म ब्लकस्टर बन्नेछन्, जब फिल्म रिलिज भयो अनि फिल्म सिसाको महलजस्तै गर्ल्याम–गुर्लुम। तर, ‘छड्के'का दर्शक मिडिया हाइपले नै सप्ताहन्तसम्म हलमा ओइरिए। यहाँनेर, फिल्म हलमा टिक्ने वा नटिक्ने (होल्डओभर) अवधि सामाजिक सञ्जालकै भित्तोमा निर्भर देखियो।

गतमहिना हलिउड रिपोर्टरले फिल्ममा सामाजिक सञ्जालको प्रयोगबारे सर्वेक्षण गरेको थियो। १३ देखि ४९ वर्ष उमेरका सोसल मिडिया प्रयोगकर्तासँग गरिएको कुराकानीमा १० मध्ये ९ ले सोसल नेटवर्किङ साइट मनोरञ्जनका नयाँ माध्यम भएको उत्तर दिएका थिए। आधाभन्दा बढीले कस्तो मनोरञ्जन हेर्ने र किन्ने भन्ने निर्णय सोसल साइट प्रयोगपछि विचार गर्ने बताए। जसमा ७९ प्रतिशत उपभोक्ताले टेलिभिजन हेरिरहँदा फेसबुक भिजिट गर्ने गरेको बताए। कमेडी टिभी रियालिटी सोहरूले संसारभरी नै सोसल मिडियाबाट फाइदा लिएको सोधमा छ। अधिकांश सोसल साइटमा हरर र योङ्गर स्क्विीङ जनराका फिल्म रुचाइने अध्ययनमा छ। ५५ प्रतिशतले फिल्म हेरिरहँदा स्टाटस पोस्ट गर्ने गरेको र त्यसलाई आधार मानेर वितरकले फिल्मको व्यापार आँकडा निकाल्ने गरिएको सर्वेक्षणमा उल्लेख छ।

फेसबुकभन्दा ट्वीटरमा सेलिब्रिटी र फ्यानबीच बढी अन्तक्रिया हुने गरेको पाइयो। मनोरञ्जनको सोसल साइटमा ट्वीटर भर्सेज फेसबुक नै देखिए। सामाजिक सञ्जालको युद्धमा फेसबुकको हात माथि नै छ। सर्वेक्षणमा सहभागि ९८ प्रतिशतले फेसबुक र ५६ प्रतिशतले ट्वीटर चलाउने बताए।

सामाजिक सञ्जाल प्रयोगका हिसाबले संसारमा ६४ औं स्थानमा रहेको नेपालमा बढ्दो इन्टरनेट घनत्व र फिल्म कल्चरका कारण सोसल मिडिया र मनोरञ्जन उद्योग एउटै चराका दुई पखेटाजस्ता देखिन्छन्। एउटा पखेटा काटेमा चरा नै उड्न नसक्ने स्थितीजस्तै छ यी दुईबीचको सम्बन्ध।

सोसल साइट शब्दचित्रमा नेपाल

फेसबुक : – कुल फेसबुक प्रयोगकर्ता – २०,९४,१००
 विश्व पोजिसन– ६४
अनलाइन पपुलेसन – २२Ü (कुल जनससंख्याको)
फेसबुक प्रयोगकर्ता– ८८.२२ Ü
रुचाइएका पाँच पेजमध्ये –जुम टिभी/सकिरा/सलमान खान
रुचाइएका सेलिब्रिटी– सकिरा (२,१९,६४१) लोकल फ्यान
     सलमान खान (१,९०,७८०)
     हरिवंश आचार्य (१,८६,७९७)
    एकोन (१,८४,८७०)
    टेलर स्वीफ्ट (१,८१,७४६)

रुचाइएका उत्कृष्ट इन्टरटेनमेन्ट पेज :  टाइटानिक (१५८०७२)
     थ्री इडियट्स (१३४७७९)
     टम एन्ड जेरी (१०५९९६)
     म्यान भर्सेज वाइल्ड (९५३८४)

ट्वीटर :  नम्रता श्रेष्ठ (फलोअर ५१४४)
    आस्था तामाङ मास्के (२०७४)


स्रोत :  सोसल ब्यकर्स (२०१३ अप्रिल तेस्रो सातासम्म)