Wednesday 4 Bhadra, 2071 |
Menu

अन्तरिक्ष यात्रीका रोचक अनुभूति : बहुरंगी देखिन्छ पृथ्वी

  • मङ्गलबार १० बैशाख, २०७०
  • मणि दाहाल
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं - 'हेर्नासाथ तासकन्द (उज्बेकिस्तानको राजधानी) को त्यो चोक ठम्याइहालेँ। एकदमै नजिक देखेँ,' चोरऔंला भुइँतिर देखाउँदै उनले भने, 'तुरुन्तै हामफालूँजस्तो लाग्यो।' ७१ वर्षे रुसी अन्तरिक्षयात्री भ्लादिमिर झानिबेकोभका आँखामा पृथ्वीबाट निकै पर अन्तरिक्षबाट बाल्यकाल बिताएको उही तासकन्द नियाल्दाका दृश्य झलझली आए।
अघिल्लो साता काठमाडौं भ्रमणमा आएका उनले अन्तरिक्ष यात्राको रोचक अनुभूति बाँडे, नेपाली विद्यार्थी, वैज्ञानिक र खगोल विषयका पारखीसँग। अन्तर्राष्ट्रिय अन्तरिक्ष दिवस अवसरमा नेपाल खगोल समाज तथा नेपाल-रुस विज्ञान तथा सांस्कृतिक केन्द्रको निम्तोमा काठमाडौं आएका झानिबेकोभले आफ्ना यात्रानुभूति मात्र होइन, खगोल विज्ञानका थुप्रै रोचक तथ्य बाँडे।
रुसमा अहिले पनि उनी अन्तरिक्ष यात्राका नायक भनेर चिनिन्छन् जसले पाँचपटक गरी उनले १ सय ४५ दिन १५ घन्टा ५६ अन्तरिक्षमा बिताएर थुप्रै अनुसन्धान गरेका छन्। उनले अन्तरिक्षमा यानबाट निस्केर भ्रमण (स्पेस वाक) समेत गरेका छन्।
हवाइजहाजजस्तो अन्तरिक्ष यानमा किन सजिलै चढ्न नसकिएको होला? चन्द्रमामा मानिस पुगेकै छैन, त्यो केवल अमेरिकी र रुसी 'स्टन्ट' मात्र हो भन्ने सन्देह निवारण गर्न उनले यात्राक्रममा निकै कोसिस गरेका थिए।
'अन्तरिक्ष पुग्दा शरीर प्रत्येक अंग र हड्डीले समेत फरक महसुस गर्छ,' उनले भने, 'अन्तरिक्षमा रहेको मानिसका अनुहार डम्म परेको देख्नुभएकै होला। त्यो धेरै पानी खाएर त्यस्तो भएको होइन। रगतको प्रवाह टाउकोतिर बढी हुने भएकाले त्यस्तो देखिएको हो।'
'अन्तरिक्षमा पुग्नेबित्तिकै यात्रीको शरीरमा नुनको मात्र होइन, अन्य कुराको सन्तुलनमा समेत गडबडी उत्पन्न हुन थाल्छ,' उनले सुनाए।
अन्तरिक्ष यात्रा किन? आमजिज्ञासा मेट्ने उनको जवाफ थियो, 'मानिसलाई आफूजस्तै मानिस कोही अन्तरिक्षमा पुगे रे भन्ने सुन्दै त आनन्द आउँछ भने पुग्दा...!' उनी बोल्दाबोल्दै रोकिए। किनभने, अन्तरिक्ष यात्राको त्यो आनन्द उनी कसरी शब्दमा बाँड्न सक्थे र?
५२ वर्षअघि युरी गार्गिन अन्तरिक्ष पुग्दा भौतिकशास्त्रको अध्ययन छाडेर १९ वर्षे झानिबेकोभले पाइटल पढ्न थालेका थिए- अन्तरिक्ष पुग्ने सपना पूरा गर्न।
२०१८ चैत ३० मा पृथ्वीको चौघेरो नाघ्दै गार्गिनले पहिलो मानवका रुपमा अन्तरिक्ष चुमेका थिए।
'गार्गिनको अन्तरिक्ष यात्राले मानिसलाई पृथ्वीबाहिरको सभ्यतासँग परिचित बनायोे,' उनले सम्भि्कए, 'अन्तरिक्षमा पनि मानिस बाँच्न सक्छ भन्ने प्रमाणित गर्यो ।'
अन्तरिक्ष खोज तथा यात्राको सधैँ प्रशंसा मात्र हुने गर्दैन, आलोचक पनि उत्तिकै छन्। भारतले केही वर्षअघि चन्द्रयान पठाउँदा पनि ठूलै आलोचना भयो।
३३ प्रतिशत जनता चर्को गरिबीसँग लडिरहेको देश भारतले चन्द्रमाको अनुसन्धानमा अर्बौं रुपैयाँ किन खर्चियो भन्दै त्यसको औचित्यमाथि नै प्रश्न उठाइयो।
झानिबेकोभले त्यसको खन्डन गर्दै भने, 'अन्तरिक्षले आविष्कारका लागि अवसर जुटाइदिन्छ।' पाँचपटक यात्रा गरेका उनले पनि थुप्रै अनुसन्धान गरे। 'मैले अन्तरिक्ष केन्द्रमा अंकुरण गराएर ल्याएको कपासका बिरुवाबाट ७५ मिलिमिटरको धागो निस्क्यो,' उनले सुनाए, 'संसारको सबैभन्दा राम्रो दाबी गरिएको इजिप्टमा उत्पादन हुने कपासका ४५ मिलिमिटरमात्रै थियो।'
६ अर्बभन्दा बढी जनसंख्या भएको विश्वबाट झानिबेकोभसहित ३८ देशका ५ सय ३१ ले मात्रै अन्तरिक्षमा अवसर प्राप्त गरेका छन्।
दक्षिण एसियाबाट भारतीय र अफगानी मात्र अन्तरिक्ष पुगेका छन्।
यानमा हालेर मानिसलाई नै अन्तरिक्षमा पुर्यारउने क्षमता रुस, अमेरिका र चीनसँग मात्रै छ।
उत्तर कोरियाले गत वर्ष आफ्नै यानबाट भूउपग्रह राख्न सफल भएपछि पृथ्वीको कक्षमा यान पुर्यागउन क्षमता विश्वका ११ वटा देशमा पुगेको हो।
तर अन्तरिक्ष कार्यक्रम सफलता-असफलताको सम्भावना भने आधाआधा मात्रै हुन्छ- गाई कि त्रिशूल गर्दाजस्तै।
अर्थात् सफल भइए हिरो, असफल भइए पृथ्वीबाट गएको गयै।
अन्तरिक्ष जान डर लागेन? 'किन डराउनू?,' उनले उल्टो प्रश्न गरे, 'परिवार र पत्नीलाई देशले जिम्मा लिइहाल्थ्यो। मानिस पैसा तिरेर अन्तरिक्ष जान तँछाडमछाड गर्छन्, मैले त उल्टो पैसा पाउँथे।' रुसी वायुसेनाका जागिरे जो थिए।
सबैभन्दा पहिले सन् १९७८ मा उनले अन्तरिक्ष चुमे। रातको समयमा 'पामिर माउन्टेन' कलसाइनको उनको मिसनरी यान अन्तरिक्षतर्फ हान्निएको थियो।
'सूर्याेदय हुँदा पृथ्वीको दृश्य त साँच्चै अद्भूत देखियो,' पहिलोपटक अन्तरिक्षबाट मानवगुँड चियाउँदा उनले देखे, 'पृथ्वी त बहुरंगी पो रहेछ।' समुद्रको लहराउँदाको दृश्य झन् मोहक देखिने उनले सुनाए।
अन्तरिक्षबाट हेर्दा पृथ्वीमा मानवसिर्जित भौगोलिक सीमा देखिँदैनन्। यद्यपि, नेपाल कहाँ पर्छ भनेर स्पष्टसँग चिनिने उनले बताए। 'नेपाल सानो भए पनि हिमशृंखलाका कारण यो कहाँ पर्छ भनेर स्पष्टसँग छुट्टिन्थ्यो,' उनले भने, 'हिमालकै कारण अन्तरिक्षबाट सबैभन्दा नजिक देखियो।'
झानिबेकोभको अन्तरिक्ष अभियान सन् १९८६ सम्म जारी रह्यो। तेस्रोपटकको यात्रामा भने साँच्चै अप्ठ्यारोमा परे उनी।
'यानको सोलार प्यानल बिग्रेको थियो,' उनले भने, 'यानभित्र तापक्रम माइनस ७ डिग्रीसम्म झर्यो , त्यो क्रम सात दिनसम्म रह्यो।' टोलीले निकै जोखिम मोलेर त्यसको मर्मत गर्योर।
'सबै कुरा चिसो भएको थियो। खानेकुरा सिरानीमुनि राखेर तताउने कोसिस गथ्यर्ौं,' उनले सम्भि्कए, 'तातो कफी पिएको त सपनामात्र देख्थेँ।'
अन्तरिक्षमा त युएफओ (उडन तस्तरी) हुन्छन् रे, तपाईंले देख्नुभो? उनले भने, 'मैले त देखिनँ, तर अन्य अन्तरिक्ष यात्रीले देखेको बताए।'
'अन्य साथीले यात्राको क्रममा सिलिन्डरजस्तो कुरा अन्तरिक्षमा देखेको बताएका छन्,' उनले भने।
उनी यो ब्रह्माण्डमा मानिसजस्तै वा मानिसभन्दा पनि विकसित कुनै जीव होला भन्ने ठान्छन्। निकै खोज गरिए पनि त्यसबारे अहिलेसम्म पत्ता लाग्न सकेको छैन।
'उनीहरु कतै बसेर हामीलाई चियाइरहेका छन् कि जस्तो लाग्छ,' उनले कल्पिए।
झानिबेकोभको समयमा अन्तरिक्ष यात्रामा
रुसले अन्तरिक्षमा पहिलोपटक मानिस पुर्याछए पनि तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनडीले साठीको दशकको अन्त्यसम्म वा सत्तरी दशकको सुरुमै अमेरिकाले चन्द्रमा मानिस पुर्या उने घोषणा गरे। साठीको दशकको अन्त्यमै अमेरिकीहरु चन्द्रमा पाइला राख्न सफल पनि भए। तर षड्यन्त्रको सिद्धान्तमा विश्वास गर्नेहरुले अहिले पनि चन्द्रमामा मान्छे पुगेकै छैन भन्ने सन्देह उठाउने गरेका छन्।
'यसमा शंका नगरौं,' उनले भने, 'मैले पनि चन्द्रमाबाट फर्केकाहरुसँग भेटेको छु।'
त्यतिबेला रुस र अमेरिकाबीच अन्तरिक्ष यात्राको होड थियो।
रुसले १९५७ मा 'स्पुतनिक' भूउपग्रह अन्तरिक्ष पुर्याफएपछि अमेरिकालाई लाग्यो- लौ हामी बर्वाद भयौं, पछि पर्ने भयौं।
अमेरिकाका राजनीतिज्ञमात्र होइन, जनताले पनि विज्ञान तथा प्रविधिको क्षेत्रमा आफू पछि परेको ठान्न थाले र त्यसपछि अमेरिकामा विज्ञान र प्रविधिको क्षेत्रमा रुसलाई जित्नै पर्छ भन्ने लहर नै चल्यो जुन 'स्पुतनिक मुभमेन्ट' को रुपमा चिनिन्छ।
रुस र अमेरिकाले अन्तरिक्ष अनुसन्धान अहिले पनि छाडेका छैनन्। तर पछिल्लो समय अन्तरिक्ष अभियानमा छिमेकी चीन र भारत पनि देखिएका छन्। दुवै त्यस क्षेत्रमा ठूलो धनराशि खर्चँदै छन्। चीन मानवसहितको अन्तरिक्ष यात्रा सञ्चालन गर्ने रुस र अमेरिकापछि तेस्रो मुलुक बनेको छ। भारत पनि चन्द्रमा कक्षमा आफ्नो अन्तरिक्ष यान पुर्या उन सफल भएको छ जसले चन्द्रमामा पानी रहेको संकेत भेट्यो।