Monday 8 Baishak, 2071 |
Menu

इजरायलमा सिकेर गाउँमै खेती

  • आइतबार २७ श्रावण, २०७०
  • रामेश्वर कार्की
  • DISQUS_COMMENTS
(0 votes)
टमाटर टिप्दै केशव रुपाखेती टमाटर टिप्दै केशव रुपाखेती

धादिङ — इजरायलको अरावा प्रान्तस्थित अरावा इन्टरनेसनल सेन्टर फर एग्रिकल्चर ट्रेनिङ (आइक्याट) मा १० महिनासम्म कृषि विषयमा सैद्धान्तिक ज्ञान हासिल गरी सोही स्थानका मरुभूमिमा खेती गर्ने तरिका सिकेर आएका गोगनपानीका केशव रुपाखेती अहिले गाउँमै गोलभेंडा उत्पादन गरिरहेका छन्। सुक्खा मरुभूमिमा इजरायलीले भिजाएको पसिनाबाट उत्पादित वस्तु युरोपका बजारमा निर्यात गरी मनग्गे आम्दानी गरेको प्रत्यक्ष देखेका उनी आफ्नै आँगनमा सीप तिखार्दै छन्।

स्वदेश फकर्नासाथ उनले आफ्नै जमिनमा तीनवटा प्लास्टिक टनेल निर्माण गरी बेमौसमी गोलभेंडा लगाएका छन्। यतिबेला उत्पादन सुरु भएको गोलभेंडाको बजार भाउ पनि राम्रो रहेको उनी बताउँछन् । प्रति किलो ५० रुपियाँमा बिक्री गर्दै आएका उनी बेमौसमी उत्पादन गर्न सके कृषिबाटै मनग्गे आम्दानी लिन सकिने बताउँछन्। खुला आकास मुनी लगाइएको गोलभेंडा प्रति बोट ३ देखि ५ किलोमात्र उत्पादन हुन्छ भने प्लास्टिक हाउसभित्र कम्तीमा १० किलो उत्पादन हुने उनी बताउँछन्।

इजरायली दूतावासको समन्वयमा दुई वर्षअघि आइक्याटमा कृषि अध्ययन गर्न गएका उनी फर्किएपछि पाएको ज्ञानलाई व्यवहारमा उतार्दैछन्। उनी इजरायल जानुअघि पनि कृषि पेसामै थिए। खुला आकाशमुनि मौसमअनुसारको परम्परागत खेती तरकारी तथा अन्नबाली लगाउँथे। नेपाली कृषकले एकै सिजनमा खेती गर्ने हुँदा उत्पादनले उचित बजार भाउ नपाउने समस्या विद्यमान छ। जलवायु परिवर्तनका कारण विभिन्न रोग किराले सताउने हुँदा चर्को मेहनत तर आम्दानी थोरै हुन्थ्यो। एकैपटक धेरै उत्पादन हुँदा लगानी उठाउने त परको कुरा काठमाडौंसम्म पुर्‍याउन पनि गाडी भाडा नउठ्दा कयौं पटक पाकेका गोलभेडा खेतमै छाड्नुपरेको अनुभव छ उनीसँग।

देशको जम्मा ३ प्रतिशत कृषक कृषि पेसामा आबद्ध भएको इजरायलले उत्पादित वस्तु स्वदेशमा खाएर बढी भएको युरोपमा निर्यात गर्छ। खेतीका लागि उपयुक्त जमिन र सिञ्चाइको कहालिलाग्दो अवस्थाबाट गुज्रिएको मुलुकले प्रविधि र मेहनतको संयोजनले कृषिमा फड्को मारेको रुपाखेती बताउँछन्। अरावा प्रान्तको अधिकांश भूभाग मरुभूमि हो। समुद्री किनारमा रहेको सो स्थानमा बालुवामाथि थोरै माटो राखेर खेती गरिएको छ । समुद्रको नुनिलो पानी खेतीका लागि उपयुक्त नहुने हुँदा १५ सय मिटर तलबाट भूमिगत पानी तानेर थोपा सिञ्चाइको माध्यमबाट खेती गरिन्छ । यसरी श्रम र लगानी गरेर उत्पादित वस्तुले (विशेष गरी फूल र तरकारी) युरोपेली बजारको ठूलो हिस्सा ओगटेको छ।

नेपालमा ८१ प्रतिशत जनता कृषिमा आबद्ध भए पनि हरेक वर्ष खाद्य संकट भएर खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ। यो समस्या रहिरहनुमा आवश्यक सीप र प्रविधिविनै परम्परागत खेती प्रणालीलाई निरन्तरता दिएकाले हो भन्छन् उनी।

थोपा सिञ्चाइको सुरुवातकर्ता मानिएको इजरायल अर्गानिक उत्पादनमा पनि निकै अगाडि बढेको इजरायबाटै कृषिमा विद्यावारिधि गरेका इजरायली संस्था न्याइक संसारका कार्यकारी निर्देशक डा.विष्णु चापागाईं बताउँछन् । चापागाइँ भन्छन्, 'इजरायलको प्रविधि र मेहनत सिकेर यहाँ काम गर्ने हो भने नेपालको पनि कृषिमा राम्रो भविष्य रहेको छ तर नेपालमा मालिकले काम गर्दैनन्।'

परम्परागत कृषि पेशामा रमेका उनीजस्तै युवा किसानले पेशालाई व्यसायीकरण गर्न र संस्थागत रुपमा अघि बढ्न २०६६ मा महादेवबेसी बजारलाई केन्द्रविन्दु बनाई अर्गानिक कृषि सहकारी संस्था स्थापना गरेका थिए। सहकारीको स्थापनादेखि नै अध्यक्ष रुपाखेती स्वयं छन् । सहकारीले अर्गानिक कुरिलो उत्पादन गर्दै आएको छ । सहकारीमार्फत् ३८ जनाले बेमौसमी खेती सुरु गरेका छन्।

आफूसँग जमिन र सिञ्चाई नहुँदा पनि खेती गरेर संसारलाई चकित तुल्याएको इजरायली दूतावासले त्यहाँका इन्टिच्युटसँगको समन्वयमा नेपाली युवालाई सीप सिकाएर नेपाल फर्काउँदै आएको छ । नेपालको जमिन खेतीका लागि उपयुक्त देखेकाले विगत केही वर्षदेखि वार्षिक ५० युवा लैजान थालेकोमा यो वर्ष दुई सयजना युवायुवती इजरायली कृषि प्रणाली सिक्न जाँदैछन् । यो वर्ष दूतावासको समन्वयमा साना किसान विकास बैंकमार्फत धादिङ र मकवानपुरबाट ५५ जना, चितवन र नवलपरासीका ५५ जना र विराटनगर तथा धरानबाट समेत गरी दुई सय जनालाई विद्यार्थी भिसामा लैजान लागिएको साना किसान विकास बैकका अध्यक्ष खेम पाठकले जानकारी दिए ।
Our website is protected by DMC Firewall!