Tuesday 8 Poush, 2071 |
Menu

विदेशभन्दा कम छैन गाउँको कमाइ

  • बुधबार २५ बैशाख, २०७०
  • ध्रुव दंगाल
  • DISQUS_COMMENTS
(0 votes)
सिन्धुपाल्चोक‍- तीन वर्ष दुबइ बसेर फर्केकी हिमाली गाउँ बरुवाकी डोल्मा लामा अहिले गाउँमै गलैंचा बुनेर आम्दानी गर्न थालेकी छन्। विदेश जत्तिकै आम्दानी हुन थालेपछि उनी फेरि देश नछोड्ने निर्णयमा पुगेकी छन्। गाउँमा सडक पुगेसँगै सवारीसाधन गुड्न थालेपछि २७ वर्षीया यी युवतीले गाउँमै भविष्य देखेकी हुन्।


'घरमै बसीबसी महिनामै १० हजार रुपैयाँ कमाउन थालेकी छु,' डेढ वर्षदेखि घरमा तान राखेर गलैँचा बुन्न थालेकी डोल्माले भनिन्। गाडी गुड्न थालेपछि उत्पादित गलैँचाले सहज बजार पाएकाले निर्णय बदलेर गाउँमै रमाउन थालेको उनी सुनाउँछिन्। 'राम्रोसँग काम गर्न सकेे विदेशमा हुने कमाइ गाउँमै हुँदो रहेछ,' उनले अनुभव सुनाइन्, 'घरमै बसेर राम्रो आम्दानी हुने भएकाले विदेश जाने सोच त्यागिदिएँ।'

दिनरात नभनी गाउँलेले खनेको सडकमा यातायातको साधन चल्न थालेपछि गाउँमा घरेलु उद्योगको रुपमा गलैंचा बुनेर जीविका टार्नेको संख्या बढ्दो छ। गलैंचा किन्न ग्राहक घरमै आउन थालेपछि गाउँले हौसिएका छन्। यसले विदेशिने लहरलाई ह्वात्तै घटाइ दिएको छ। बरुवा वैदेशिक रोजगारमा धेरै संलग्न हुने गाविस हो। केही परिवारले मात्र विगतदेखि नै गलैँचा बुन्दै आए पनि सडक पुगेपछि 'एक घर, एक गलैँचा उद्योग' हुन पुगेको छ। यो गाविसका पाँचवटा वडाबासी घरमै बसेर पनि विदेशमा जत्तिकै कमाइ गर्न सकिन्छ भन्ने विश्वाससाथ व्यवसायमा होमिएका छन्।

डोल्माका अनुसार अर्डर दिनेहरूले धागो लगायतका सामान समेत ल्याइदिने भएकाले लगानी नै नगरी राम्रो आम्दानी गर्न सकिन्छ। ५–९ वडाका बासिन्दा घरमै बसेर प्रति परिवार मासिक १२ हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन्। केही घरमा विगत देखि नै गलैंचा बुन्ने चलन भएपनि सडक निर्माणपछि यसले तीव्रता पाएको स्थानीय शिक्षक कृष्णबहादुर बिष्टले बताए। सडकपछि व्यवसायिक रूपमै गलैंचा बुन्न थालिएको उनले जानकारी दिए। 'सडक विस्तारसँगै बढेको गलौंचा उद्योगले राम्रो आम्दानी दिन थालेपछि अहिलेका युवायुवतीमा विदेशिने सोच बदलिएको छ,' उनले भने।

स्थानीय विद्यालयको कक्षा नौमा पढ्ने १५ वर्षीया सुम्जो लामाले फुर्सदको समय घरको तानमा गलैंचा बुनेर बताउँछिन्। यसबाट उनले आफ्नो पढाइ खर्च मात्र धानेकी छैनन्, घर खर्च पनि जुटाएकी छन्। फुर्सदको समय मात्र काम गरेर महिनामा झन्डै ५ हजार रुपैयाँ कमाउने उनी बताउँछिन्। सुम्जोकी साथी शान्ति लामा पनि बिहान–बेलुकाको फुर्सदमा गलैँचा बुनेर आफ्नो पढाइ खर्च आफैं जुटाउँछिन्।

दुई वर्षदेखि गाउँमा नियमित गाडी चल्न थालेको हो। केही महिलाले सुरु गरेको यो व्यवसाय यतिबेला सिंगो गाउँमा विस्तार हुने क्रममा छ। गाउँमा उत्पादित गलैँचा राजधानीमा खपत हुन्छ। हिमाली भेग भएकाले उत्पानले तीन महिना पनि खान नपुग्ने र भएका उत्पादन पनि जंगली जनावरले नास गर्दिने भएकाले गाउँबाट रोजगारीको खोजीमा विदेश पलायन हुने क्रम छ। गलैंचा व्यवसायको लागि सहज रुपमा ऋण र सहुलियतको व्यवस्था हुन सके वैदेशिक रोजगारीका कारण युवायुवती विहिन बन्न लागेको गाउँ फेरि भरिभराउ हुने शिक्षक बिष्टको आसा छ।