Sunday 7 Mangshir, 2071 |
Menu

वैदेशिक रोजगारमा जाने १६ प्रतिशतले बढे

mynepal
(0 votes)
काठमाडौं- वैदेशिक रोजगारमा जानेको संख्यामा करिब १६ प्रतिशतले वृद्धि भएको छ। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा २०६९ सालमा ६२ हजार २ सय बढी नेपाली वैदेशिक रोजगारमा गएका छन्।


२०६८ सालमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जानेको संख्या ३ लाख ९८ हजार ३ सय ५८ रहेको थियो। २०६९ मा यो संख्या १५ दशमलव ६१ प्रतिशतले वृद्धि भई ४ लाख ६० हजार ५ सय ५८ पुगेको छ।

वैदेशिक रोजगारमा जानेमध्ये अघिल्लो वर्षझंै २०६९ मा पनि सबैभन्दा ठूलो संख्या मलेसिया, साउदी अरब, कतार र युनाईटेड अरब इमिरेट्स (युएइ) गरी चार मुलुकमा पुगेका छन्। सानो संख्यामा कामदार कुवेत, बहराइन, ओमन, दक्षिण कोरिया, लेवनान, इजरायल, अफगानिस्तान, जापान लगायतका राष्ट्रमा पुगेको विभागको तथ्यांकले देखाएको छ।

विभागका अनुसार गत बर्ष सबैभन्दा बढी कामदार असोज महिनामा वैदेशिक रोजगारमा गएका छन्। असोजमा ४७ हजार ६७ कामदार विभिन्न मुलुक पुगेका थिए। वैदेशिक रोजगारमा सबैभन्दा कम कामदार वैशाखमा गएका थिए। कूल २९ हजार एक सय २३ जना कामदार वैशाखमा विदेश गएका थिए।

तथ्यांकअनुसार २०६९ सालमा मासिक औसत ३८ हजार ३ सय ७९ जना कामदारले वैदेशिक रोजगारका सिलसिलामा देश छोडेका थिए भने प्रति दिन औसतमा विदेशिने कामदारको संख्या १२ सय ६१ रह्यो। जबकि अघिल्लो वर्ष २०६८ मा यो संख्या मासिक औसत ३३ हजार १ सय ९६ र औसत प्रति दिन एक हजार ९१ थियो।

बितेका दुई वर्षको तथ्यांकलाई तुलना गर्दा २०६८ मा भन्दा २०६९ सालमा मासिक औसत वैदेशिक रोजगारमा जानेको संख्यामा ५ हजार १ सय ८३ ले वृद्धि भएको छ भने प्रति दिन औसत संख्या एक सय ७० जना बढेका छन्।

२०६९ सालको पहिलो तीन महिना (वैशाख, जेठ र असार) मा अघिल्लो वर्षको तुलनामा वैदेशिक रोजगारमा जानेको संख्यामा गिरावट आएको थियो। साउनबाट वैदेशिक रोजगारमा जानेको संख्यामा वृद्धि भएको थियो। गत बर्षको पुस महिनामा अघिल्लो वर्षको भन्दा झण्डै दुगुना बढी कामदार वैदेशिक रोजगारमा गएका थिए।

वैदेशिक रोजगारमा जानेको आँकडा

महिना २०६८ साल २०६९ साल

वैशाख २९,२७१ २९,१२३

जेठ ४०,४६१ ३७,०५०

असार ४४,७१५ ३४,५८१

साउन ४५,१६५ ४५,४१७

भदौ ३७,८०८ ३८,२९७

असोज २६,५८१ ४७,०६७

कात्तिक ४७,१७६ ३४,९९०

मंसिर १८,७७८ ३४,९४७

पुस २१,७५६ ४०,८६४

माघ २६,६१६ ३७,४८१

फागुन २६,१७२ ३९,१०१

चैत ३३,८५९ ४१,६४०

जम्मा ३,९८,३५८ ४,६०,५५८