Sunday 6 Poush, 2071 |
Menu

स्वास्थ्य

डाक्टर खोज्दाखोज्दै मर्छन् बिरामी

  • बुधबार २६ असार, २०७०
  • दीपक दाहाल
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं - कट्टेल थरका चितवनका एक व्यक्ति अचानक बेहोस भएपछि स्थानीय चिकित्सकले काठमाडौं लैजान सल्लाह दिए। हतारमा एम्बुलेन्स खोजेर हान्निएका आफन्तले ठूलो आशाका साथ बिरामीलाई वीर अस्पताल पुर्यामए। वीरमा आकस्मिक कक्षका स्वास्थ्यकर्मीले 'रेडिमेड' जवाफ दिए, 'भेन्टिलेटर छैन, अन्तै लैजानुस्।'
शिक्षण अस्पतालबाट पनि उस्तै जवाफ आयो। 
विपत्तिमा परेको हतास परिवार बिरामी कुदाउँदै चारवटा निजी अस्पताल चहार्यो। अन्तमा थाहा भयो टाउकोमा रगत जमेकाले तत्काल शल्यक्रिया गर्नुपर्ने रहेछ। बिरामीलाई माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल पुर्यातइयो। चिकित्सकले सिटी स्क्यान रिपोर्ट हेर्दै भने, 'शल्यक्रिया गर्नुपर्छ। ढिला भइसकेकाले बाँच्ने सम्भावना पाँच प्रतिशत छ।' पाँच प्रतिशतको आश पछ्याउँदै परिवारले शल्यक्रियाको अनुमति दियो, तर बिरामीको सास सकियो अनि त्यतिन्जेल पैसा पनि निकै सकियो। 
अन्नपूर्ण अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. वसन्त पन्तका अनुसार प्रत्येक दिनजसो अस्पतालमा यस्ता 'केस' भेटिन्छन्। 'केही दिनअघि एक उच्च सरकारी अधिकारीलाई थुप्रै अस्पताल घुमाएर यहाँ ल्याइएको थियो, ढिला भएर बचाउन सकेनौं,' उनले सुनाए।
गम्भीर अवस्थाका बिरामीलाई रोगअनुसार रेफर गरिने वैज्ञानिक प्रणाली नहुँदा राजधानीमा चिकित्सक र अस्पताल खोज्दाखोज्दै बिरामीको ज्यान जाने गरेको छ। अझ कतिपय चिकित्सक र अस्पतालले अमानवीय ढंगले बिरामीलाई रेफर गर्नुको सट्टा आफ्नै अस्पतालको भेन्टिलेटरमा राखेर कंगाल र मर्ने अवस्था भएपछि अन्त रेफर गर्ने गरेका छन्। मस्तिष्कघात, गम्भीर खालको चोटपटक र हृदयघातका गम्भीर बिरामीको उपचारमा प्रत्येक मिनेटको महत्व हुन्छ।
डाक्टरी भाषामा यसरी बिरामी मर्ने अवस्थामा मात्र अन्त रेफर गर्ने कामलाई डम्प गर्ने वा डम्पिङ भनिन्छ। नर्भिक अस्पतालका एक वरिष्ठ चिकित्सक आफूले धेरै 'डम्प केसेज' हेरेको र बचाउन गाह्रो केसमा बिरामीका आफन्तलाई सम्झाउन गाह्रो भएको बताउँछन्। 
'हाम्रो अध्ययनले विशेषज्ञ उपचार आवश्यक पर्ने ८० प्रतिशत बिरामी गलत चिकित्सककहाँ पुगेका छन्,' डा. पन्तले थपे, 'मेरो ओपिडीमा ८० प्रतिशत नआउनुपर्ने बिरामी आउँछन्।' 
यस्तो गलत 'रेफरल सिस्टम' ले बिरामीको ठूलो धनराशि खर्च गराइरहेको मात्रै होइन, बाँच्ने सम्भावना भएका बिरामीहरूको समेत ज्यान गइरहेको छ। 
विशेषज्ञका अनुभवमा टर्सरी (बहुविशेषज्ञ) सरकारी अस्पतालमा उपचार सेवा सीमित हुनु र अधिकांश निजी अस्पतालमा गम्भीर रोगका विशेषज्ञ अभावले उपचार नपाएर हुने मृत्यु बढ्दै गएको छ। 
चिकित्सक र स्वास्थ्यकर्मीमा बढ्दो अनुशासनहीनता, पैसा मोह र सरकारी अस्पतालको कमजोर व्यवस्थापनले यो प्रवृत्ति मौलाएको शिक्षण अस्पतालका पूर्व निर्देशक डा. महेश खकुरेल बताउँछन्। 'सबै चिकित्सक त्यस्ता हुँदैनन् र सबै ठाउँमा गलत नियत हुन्न,' उनले थपे, 'तर कमिसनको चक्करले धेरै बिगारेको छ।'
सरकारी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले कमिसनको लोभमा निजीमा पठाउने र निजीले उपचारै गर्न नसक्ने बिरामीलाई पनि 'होल्ड' गर्ने प्रवृत्ति छ।
शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. भगवान कोइराला सबै डाक्टरले गलत रेफर गर्छन् भन्न नमिल्ने जिकिर गर्छन्। रेफरल सिस्टममा ठूलो समस्या रहेको भने उनी स्विकार्छन्। शिक्षण अस्पतालले केही महिनादेखि आफूसँग बेड नभएको अवस्थामा सकेसम्म सरकारी र सरकारी नभए मेडिकल कलेजमा रेफर गर्ने नीति लिएको उनले बताए। 
डा. पन्तका अनुसार संसारका धेरै देशमा बिरामी रेफर गर्नेले खामबन्दी चिट्ठीसहित पठाउने चलन छ। उपचारपछि विशेषज्ञले पनि रेफर गर्ने चिकित्सकलाई त्यसरी नै बिरामी फिर्ता गर्छ। 'खाम खोलेर हेरेपछि के गर्न बाँकी रहेछ, थाहा पाउँछ,' उनले भने, 'अझै इथिकल्ली व्यवहार गर्ने हो भने त पठाउने चिकित्सकले फोनै गरेर मैले पठाएको बिरामीको अवस्था के छ भनेर सोधखोज गर्नुपर्छ।'
अनुभवी चिकित्सकका अनुसार अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका र भेन्टिलेटर आइसियुको व्यापार गरिरहेका अस्पतालले बिरामी ल्याइदिने एम्बुलेन्स ड्राइभरलाई समेत कमिसन दिन्छन्। अधिकांश निजी अस्पतालले वीर, टिचिङ, कान्ति अस्पतालकै चिकित्सकलाई काम दिएर तिनै अस्पतालमा 'दलाल' राख्ने गरेका छन्।