Wednesday 3 Baishak, 2071 | April 16, 2014
Menu

स्वास्थ्य

पक्षाघात के हो?

  • २५ जेष्ठ, २०७०
  • डा. प्रवीण श्रेष्ठ
  • DISQUS_COMMENTS
(0 votes)
पक्षाघात के हो?
मस्तिष्क मानव शरीरको महत्त्वपूर्ण अंग हो। यसलाई गाडीको इन्जिनसँग दाँजेर हेर्न सकिन्छ। मस्तिष्कमा पर्याप्त रगत, पोषण तत्त्व र अक्सिजनको आपूर्ति हुनु जरुरी छ। एकछिन मात्र यसमा रगत र अक्सिजनको कमी भएमा कोषिकाहरू क्रमशः सुक्दै गएर तन्तुको मृत्यु हुन जान्छ। यदि मस्तिष्कको तन्तुको मृत्यु भएमा यसका विभिन्न भागले काम गर्न छोड्छन्; फलस्वरूप पक्षाघातको समस्या हुन्छ। 

पक्षाघातबाट शरीरको एक भाग वा दायाँबायाँ नचल्ने, मुख बांगिने समस्या हुन्छ। यो समस्यालाई स्ट्रोक पनि भनिन्छ। मस्तिष्कको सानो भागबाट सुुरु भई बिस्तारै बढ्दै जाने लक्षण देखा पर्छ। समयमै उपचार नभए एकापट्टिको मस्तिष्कमा असर पर्न सक्छ।

पक्षाघातको कारण 
स्ट्रोकको प्रमुख कारण मस्तिष्कमा आवश्यक रगत र अक्सिजनको कमी हुनु हो। रक्तनली जाम भएर रगत बग्ने बाटो बन्द हुँदा रक्तसञ्चारको कमी हुन्छ। आवश्यक रक्तसञ्चार नहुँदा मस्तिष्क सुकेर जान्छ। रक्तनली जाम हुनुका कारण नली खुम्चिएर रक्तप्रवाह राम्रोसँग नहुनु अथवा रक्तनलीमा जम्मा भएका अनावश्यक रक्तकणले रक्तनली बन्द गराउनु हो। रक्तसञ्चार कम भएर नै स्ट्रोक (पक्षाघात) हुन सक्छ। 

मस्तिष्कमा रक्तश्राव (ब्रेन हेमरेज)
ब्रेन हेमरेज भनेको मस्तिष्कमा रक्तश्राव हुनु अथवा रगत जम्नु हो। योस्ट्रोकको ठीक उल्टो अवस्था हो, जसमा रक्तसञ्चार अत्यधिक भएर रगत जम्छ। ब्रेन हेमरेजले पनि मस्तिष्कलाई क्षति पुर्‍याएर पक्षाघातको समस्या निम्त्याउन सक्छ। 

स्ट्रोकका अन्य लक्षण
बिरामी अचानक बेहोस हुने अथवा अर्धचेत अवस्थामा पुग्ने, टाउको दुख्ने, आँखा धमिलो हुने, एकपाखो हात/खुट्टा लुलो भई प्यारालाइसिस अथवा पक्षाघात हुने, छारेरोग वा शरीर कम्पन हुने स्ट्रोकका लक्षण हुन्। स्ट्रोक भएको एकदुई हप्तासम्म मस्तिष्क सुन्निएर आउँछ र मस्तिष्कको प्रेसर (इन्ट्रा क्रेनियल प्रेसर) बढाएर थप क्षति पुर्‍याउँछ। त्यसैले स्ट्रोकको बिरामी केही हप्तासम्म नाजुक हुँदै जान्छ र अन्तिममा मृत्यु पनि हुन सक्छ।

स्ट्रोकको उपचार
स्ट्रोकका बिरामीलाई केही घन्टाभित्रै उपचार सुरु गर्न सकिएमा बन्द भएका नशा खुली मस्तिष्कमा स्थायी असर पर्नबाट जोगाउन सकिन्छ। यसको उपचार औषधिको प्रयोग नै हो, न कि शल्यक्रिया। औषधिको प्रयोग गरी पर्याप्त मात्रामा मस्तिष्कमा रक्तसञ्चार गराउने, अक्सिजनको सञ्चार गराउने, छाती तथा मुटुको अवस्थालाई स्थिर बनाउने गरेमा बिरामीलाई बचाउन सकिन्छ। 

कहिलेकाहीँ मस्तिष्कको इन्ट्रा क्रेनियल प्रेसर अत्यधिक बढ्दा शल्यक्रियाको आवश्यकता पर्छ। बिरामीको अवस्था नाजुक भएमा भेन्टिलेटर (कृत्रिम श्वासप्रश्वास गराउने यन्त्र) मा राख्नुपर्ने हुन्छ।

अरू सम्भावित समस्या
स्ट्रोक भएको बिरामी केही हप्तासम्म हलचल गर्न नसक्ने हुन्छ। धेरैलाई हुने समस्या छातीको खराबी (चेस्ट इन्फेक्सन) हो। छातीमा कफ जमी अवस्था बिग्रँदै जान सक्छ। यसो भए एन्टीबायोटिकबाहेक भेन्टिलेटरको आवश्यकता पनि पर्न सक्छ। 

पाँचसात दिनभन्दा धेरै समय बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्‍यो भने छाती झन् खराब हुन सक्छ। कफ निकाल्न र श्वासप्रश्वासलाई सजिलो बनाउन घाँटीको शल्यक्रियाबाट श्वासनलीमा सानो प्वाल बनाई सास फेर्ने पाइप राखिन्छ, जसको माध्यमबाट छातीको कफ निकालिन्छ। अर्को समस्या हात खुट्टाको रक्तनली जाम हुनु हो, जसलाई डिपभेन थ्रम्बोसिस भनिन्छ। यसले छाती र मुटुमा जटिलता निम्त्याउँछ।

शरीरलाई अत्यावश्यक पौष्टिक तत्व, प्रोटिन आदिको कमी हुनु अर्को समस्या हो। यस्ता समस्या लामो समयसम्म भइरहे हात/खुट्टामा घाउ (बेडसोर) हुन सक्छ। पछि मृगौला, कलेजो आदिले काम नगर्न सक्छन्।

के स्ट्रोक पूरा निको हुन्छ?
स्ट्रोकको प्रकार, उपचार प्रविधि, बिरामीको उमेर, अन्य शारीरिक समस्या वा रोगका आधारमा यसको उपचार निर्भर रहन्छ। स्ट्रोकले मस्तिष्कको ठूलो भागमा क्षति पुर्‍याएको छ भने बिरामीलाई अपेक्षाकृत राम्रो नहुन सक्छ। अरू थप समस्या आएन भने र केही हप्ता बिरामीलाई बचाउन सकिएमा क्रमिक सुधार आउने सम्भावना हुन्छ। बिरामी लौरोको सहाराले हिँड्न सक्ने भएपछि पूर्णरूपमा पहिलेकै अवस्थामा फर्कन सक्ने सम्भावना पनि हुन्छ। तर यस्ता बिरामीमा जीवनभर लौरोको सहाराले हिँड्नुपर्ने या ह्वीलचेयरको सहारामा बाँच्नुपर्ने अवस्था अवस्था आउन सक्छ। स्ट्रोक भएका बिरामीमा केही हदसम्म लुलो, लंगडो, अपांग र शारीरिकरूपमा दुर्बल हुने सम्भावना देखा पर्छ। 

तपाईको सहयोग
बिरामीको उपचार मेडिकल टिम (डाक्टर, नर्स, फिजियोथेरापिस्ट, स्पिच थेरापिस्ट्स) को प्रयासले मात्र सम्भव हुँदैन। परिवारका अन्य सदस्यको सहयोगको उत्तिकै आवश्यक पर्छ। सबैभन्दा पहिले रोगको प्रकृतिबारे बुन आवश्यक हुन्छ। त्यसको लागि डाक्टरसँग सल्लाह लिनुपर्छ। बिरामीलाई उपचार गर्ने एक जना मुख्य डाक्टर भए पनि अरू डाक्टर तथा नर्स पर्दापछाडि हुन्छन्। यदि मुख्य डाक्टरलाई भेट्नुभएन भने पनि आत्तिनु पर्दैन। बिरामीको हौसला बढाउनु, स्याहारमा सहयोग पुर्‍याउनु, उपचारको प्रविधि जस्तैः नर्सिङ केयर, फिजियोथेरापी आदिमा सहभागी हुनु बिरामीको आफन्तको कर्तव्य हो। अनावश्यक भीड नगर्नु, मोबाइलमा ठूलो स्वरमा कुरा नगर्नु, ठूलो आवाजले म्युजिक नसुन्नु, अरूलाई बाधा नपुर्‍याउनु पनि तपाईको कर्तव्य हो। 

'डाक्टर देउता त होइन तर यमराज पनि होइन।' डाक्टरले बिरामीका लागि सयमा सय मेहनत गर्छन्। नतिजा त ईश्वरले दिने हुन्।