15 Kartik, 2071 |
Menu

स्वास्थ्य

दुःख दियो थाइराइडले

(0 votes)
काठमाडौं - गल्फुटारकी सुलोचनालाई अनौठौ समस्या देखियो। परिवारका अन्य सदस्य सामान्य रूपमा बस्दा उनलाई खपि नसक्नु गर्मी हुन्छ। अरु आफन्त जाडो बढ्यो भन्दै बाक्ला लुगा लगाएर हिँड्दा सुलोचनालाई चाहिँ गर्मी महसुस हुन्छ। कतै दुखेको छैन, खान पनि रुचेकै छ। तर, उनी अस्वाभाविक रूपमा दुब्लाउँदै गएकी छन्। उनको कपाल विस्तारै झर्दै गएको छ।
'समस्या छ भनौं भने के भएको भन्नू? केही भएको छैन भनूँ मन आत्तिएको छ,' उनले भनिन्, 'धेरै समयसम्म आफ्नो समस्या कसैलाई नभनी बसेँ। छटपटी बढेपछि शिक्षण अस्पताल आएकी हुँ। शिक्षण अस्पतालका चिकित्सकले विभिन्न परीक्षणको रिपोर्ट हेरेपछि भने, 'तपार्इंलाई थाइरोइडको समस्या छ।' पहिलोपटक थाइरोइडबारे सुनेकी उनलाई चिकित्सकले जति लक्षण र कारण बताउँदै गए रोग उत्ति अनौठौ लाग्यो। चिकित्सकका अनुसार अधिकांश रोग मानिसको आनीबानीका कारण हुने भए पनि थाइरोइड शरीरको आफ्नै कारणले हुने (अटो इम्युन) रोग हो। रोग प्रतिरोधात्मक क्षमता ह्रास हुने अन्य रोगसँगै यो देखिन सक्छ। 

सुलोचनाजस्तै धेरै महिला मन बेचैन गराउने थाइरोइड समस्याबाट पीडित छन्। 'केही वर्षअघिसम्म नेपालमा थाइराइड परीक्षण गर्ने व्यवस्था थिएन, धेरैजसो बिरामी रोग पहिचान नगरिकन बस्थे।' नर्भिक अस्पतालकी थाइरोइड रोग विशेषज्ञ ( इन्डोक्राइनोलोजिस्ट) डा. दीना श्रेष्ठले भनिन्, 'अहिले धेरै ल्याबमा यसको परीक्षण गर्न थालेपछि नेपालमा यो रोगले विकराल रूप धारण गर्दै छ। 

रोग प्रतिरोध क्षमतामा हुने गडबढी भएमा यो रोगले महिलालाई बढी आक्रमण गर्छ। यो रोग १० जना महिलामा देखिँदा बल्ल एकजना पुरुषमा देखिन्छ। ३५ देखि ५५ वर्षभित्रका महिलामा यो रोगको समस्या अत्यधिक पाइएको छ। वंशाणुगत कारणले बालबालिकालाई हाइपो थाइरोडिजम् रोग लाग्नसक्ने डा. श्रेष्ठको भनाइ छ। उनले भनिन्, 'बालबालिकामा यो रोग लागेमा मस्तिष्कको विकास रोकिएर सुस्त मनस्थितिका हुन पुग्छन्।' 
चिकित्सकका अनुसार थाइराइड कम हुने र बढी हुने दुवै अवस्थामा शरीरमा असन्तुलन हुन्छ। यो ग्रन्थिको काममा गडबडी पैदा हुँदा अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन हुन्छ। थाइराइड घाँटीको अघिल्लो भागमा रुद्र घन्टीको तल रहने एक प्रकारको ग्रन्थि हो। यो ग्रन्थिले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनिन (टी–४) हर्मोन उत्पादन गर्छ। थाइराइडको खास काम शरीरको गति नियन्त्रण (मेटाबोलिजम्) गर्ने हो। यसलाई शरीरको 'एक्सिलेटर' पनि भन्ने गरिन्छ।
चिकित्सकका अनुसार हर्मोन बढी उत्पादन हुनुलाई 'हाइपर थाइरोइडिजम्' र हर्मोन कम उत्पादन हुने अवस्थालाई 'हाइपो थाइरोडिजम्' भनिन्छ। 'हाइपर थाइरोइडिजम् २ वर्ष औषधी सेवन गरे निको हुनसक्छ, हाइपो थाइरोडिज्म्मा चाहिँ जीवनभर नै औषधी सेवन गर्नुपर्छ,' डा.श्रेष्ठले भनिन्। 
करिब ७/८ वर्षअघिसम्म नेपालमा थाइराइडको परीक्षण सहज थिएन। अहिले यसै विषयमा विशेषज्ञता हासल गरेका ११ जना विशेषज्ञ छन्। 'यो शरीरले आफैं सिर्जना गर्ने (अटोइम्युन) रोग हो,' डा. श्रेष्ठले भनिन्, 'यसमा उमेरको सीमा हुन्न र रोक्न पनि सकिन्नँ। लक्षण थाहा पाउनेबित्तिकै उपचार सुरु गरिहाल्नुपर्छ।' थाइराइडको निदान नभएसम्म यसका विविध लक्षणले जीवनशैलीलाई असहज बनाउँछ। हाइपर थाइराइडिजम्ले दीर्घकालीन रूपमा हडी खिइने र मुटुको चालमा गढबडी भई 'हार्टफेल' हुनसक्छ। हाइपो थाइराइडिजम् हुँदा मानिस कोमामै पुग्न सक्छ। 
गर्भवती भएको अवस्थामा महिलामा थाइराइडको समस्या भए बच्चामा सर्ने जोखिम बढी हुने भएकोले बच्चा जन्मेको एक हप्ताभित्र थाइराइड परीक्षण गर्नुपर्ने चिकित्सक बताउँछन्। डा. श्रेष्ठका अनुसार १३ देखि १४ वर्षका युवतीमा महिनावारी गडबडी भए थाइराइड परीक्षण गराउनुपर्छ। 

यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई काम गर्न दिँदैन। कहिलेकाहीँ रुघाखोकी वा घाँटी दुख्ने समस्या भए र कतिपय अवस्थामा सुत्केरी समयमा पनि थाइराइड हर्मोनको गडबडी हुनसक्छ। तर, केही समयपछि यो समस्या आफैँ निको भएर जान्छ। कसैलाई मुटु र डिप्रेसनको औषधीका कारण पनि थाइराइडको समस्या हुनसक्छ। चिकित्सकका अनुसार वृद्ध अवस्थामा देखिने सबक्लिनिकल हाइपोथाइरोडिजम्ले भने दीर्घजीवनमा सहयोग पुर्याकउने चिकित्सकको भनाइ छ।
हाइपो थाइराइडिजम्मा महिनावारी नियमित नहुने, मोटोपना, अल्छी लाग्ने, शरीर सुन्निने, दिक्क लाग्ने, अनावश्यक जाडो हुने, प्रजनन् क्षमतामा कमीसमेत हुन्छ। कसैकसैलाई कपाल झर्ने लक्षण पनि देखिन्छन्। हाइपर थाइराइडीजम्मा मानिस एकदमै दुब्लाउने, मुटुको धड्कन बढ्ने, शरीरको तापक्रम बढ्ने, भोक बढी लाग्ने तर दुब्लाउने, दिसा बढी लाग्ने, महिनावारी गडबडी हुने, मन आत्तिने र मानसिक तनाव बढी हुन्छ। 


'युवाहरुमा हाइपर थाइराइडको समस्या भएमा केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्छ।' डा.श्रेष्ठले भनिन, 'शरीरमा पोटासियम कम भएर यस्तो अवस्था देखिएको हो।' मधुमेह भएका बिरामीले वर्षको एकपटक थाइराइडको पनि परीक्षण गनुपर्ने डा.श्रेष्ठ बताउँछिन्। कहिले काहिं हाइपर थाइराइडिज्म्मा मधुमेह रोग पनि देखिन सक्ने भएकोले परीक्षणगरि थाइराइड निको हुनासाथ मधुमेह पनि आफै निको भएर जान्छ। चिकित्सकहरुका अनुसार थाइराइड अटो इम्युन रोग भएकाले खाना बार्नु पर्दैन।