Sunday 7 Mangshir, 2071 |
Menu

शुक्रबार

गिद्धेदृष्टिमा चेली

  • २६ श्रावण, २०७०
  • शुक्रवार
  • DISQUS_COMMENTS
(2 votes)
गिद्धेदृष्टिमा चेली
हरेक दिन अखबारमा भयानक र कहालीलाग्दा समाचार आउँछन्। कतै बाबुले छोरीको शरीरमाथि धावा बोलेको हुन्छ, कतै काकाले भतिजीको शिकार गरेको हुन्छ। दुई वर्षकी बालिकादेखि ६५ वर्षकी वृद्धासम्म बलात्कारको घानमा परेका छन्। कता जाँदै छ नेपाली समाज? महिलालाई हेर्ने पुरुषको दृष्टिकोण के हो? किन झन्–झन् असुरक्षित हुँदै छन् नारी? महिलाविरुद्ध हुने हिंसाको सबैभन्दा घिनलाग्दो रूप हो बलात्कार। र, महामारी जसरी बढिरहेको छ यो। शुक्रवारको यस अंकमा संगीता श्रेष्ठले बलात्कारको डरलाग्दो चित्र प्रस्तुत गरेकी छिन्।
–आठ वर्षीया रीता (नाम परिवर्तन) आफ्नै बुवाबाट जबर्जस्ती करणीको शिकार भएकी थिइन्। आमाले छोडेर गएपछि आठ महिनासम्म उनी हरेक रात बुवाबाट बलात्कृत भइन्। अन्तरदृष्टि नेपाल नामक गैरसरकारी संस्थामा रीताले भने अनुसार 'बुवाले मलाई दिनमा चार पटकसम्म माया गर्थ्यो।' ४५ वर्षीय बुवाले उनलाई 'हरेक बुवाले आफ्नो छोरीलाई यसरी नै माया गर्छ' भनी सिकाएका थिए। कक्षामा टोलाएर बस्ने, पढाइमा ध्यान नदिने, साथीहरूसँग घुलमिल हुन नखोज्ने, एक्लै बस्न रुचाउने, भर्यााङका खुड्किला उक्लन नसक्ने देखेपछि स्कुलका शिक्षकले अन्तरदृष्टि संस्थालाई जानकारी गराएका थिए। संस्थाले रीतालाई आफ्नो संरक्षणमा लियो। अहिले उनी १२ वर्षकी भइन् र अहिले पनि अन्तरदृष्टिकै संरक्षणमा छिन्। उनका बुवा जेलमा छन्।

–झापा, खुदुनाबारीमा १० रुपैयाँको लोभ देखाएर आफ्नो घरमा टिभी हेर्न आएकी ११ वर्षीया बालिकालाई भिनाजु पर्नेले बलात्कार गरे। 'कसैलाई भने मारिदिने धम्की' दिएकाले डरत्रासले कसैलाई केही भन्न नसकी यी बालिका गर्भवती भएकी थिइन्। सात महिनामा उनले बच्चा जन्माइन्। बच्चा २० दिनभन्दा बढी बाँच्न सकेन।

–कैलालीको एक सामुदायिक वनमा गाई चराउन गएकी १० वर्षीया बालिकालाई त्यहीँका २७ वर्षीय धनबहादुर बोगटीले बलात्कारपछि निर्घात कुटपिट गरे। टाउकोमा ढुंगा हानेर बेहोस भएकी बालिका मृत भनी छोडे। विक्षिप्त अवस्थामा ती बालिका जंगलमा भेटिइन्। 

आफ्नैको नियत बिग्रेपछि 
हरेक दिन नेपालका विभिन्न ठाउँमा बलात्कारका घटना सार्वजनिक हुने गरेका छन्। महिलाविरुद्ध हुने अपराधको सबैभन्दा डरलाग्दो र घिनलाग्दो रूप हो, बलात्कार। आज देशमा बलात्कार 'आम बात' भइसकेको छ। यहाँ छोरी, बहिनी, बुहारी, आमा कहीँकतै कोही सुरक्षित छैनन्। दाइभाइ, बुवा, काका, मामा वा अन्य कोही पनि शिकारी हुन सक्छन्। यस्तो लाग्छ– पुरुषका लागि महिला उपभोग्य वस्तुबाहेक केही पनि होइन। रगतको नाताको पवित्रता पनि अपमानित भइरहेको छ। जन्मदाता बाबुले नै छोरीको शरीरको भोग गरिरहेका छन्। बाग्लुङमा यस्तै नरपिशाच बाबुको शिकार भइन् सत्र वर्षीया एक किशोर। आमाले अर्को बिहे गरेपछि उनको पालनपोषणका जिम्मा लिएका ५० वर्षीय बुवा उनका लागि हरेक दिन दैत्य बने। उनी बोल्न सक्दिनथिन्। गाउँलेहरूले चाल पाएपछि प्रहरीमा उजुरी गरे र बुवा पक्राउ परे। अहिले ती किशोरी काका–काकीको संरक्षणमा छिन्। गाउँलेका अनुसार पीडक बाबुले आफ्नो छोरीको गर्भपतनसमेत गराएका थिए। 
हेटौँडाकी एक युवती आफ्नै दाइ (ठूलबुवाको छोरा) बाट बलात्कृत भइन्। सुर्खेतका एक जना हजुरबाले पाँच वर्षीया नातिनीलाई जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षको सजाय भोगिरहेका छन्। 
घरभित्रै महिला असुरक्षित छन्। उनीहरूको अस्मितामाथि कहाँ, कसले कतिखेर धावा बोल्ने हो, ठेगान छैन। 

घाती छिमेकी 
चिरपरिचित र छिमेकीबाट पनि छोरीबुहारी त्यति नै असुरक्षित छन्। एक जमाना थियो, कसैकी छोरी गाउँकै छोरी हुन्थी। तर, आज छोरी आफ्नै बाबुबाट सुरक्षित छैन भने छिमेकी वा अपरिचितबाट कसरी सुरक्षित रहन सक्छे? 

पोखराकी १४ वर्षीया एक किशोरी राति सुतिरहेको बेला आफ्नै छिमेकका ४० वर्षीय पुरुषबाट बलात्कृत भइन्। घरमा कोही नभएको मौका छोपेर अछाममा एक ६५ वर्षीया वृद्धालाई ५० वर्षीय डम्बरबहादुर शाहले जबर्जस्ती करणी गरेको घटना हालै सार्वजनिक भएको थियो। 
महिला पुनःस्थापना केन्द्र (ओरेक नेपाल) का अनुसार सबैभन्दा बढी ५७ प्रतिशत बलात्कार छिमेकीबाट हुने गरेको छ। छरछिमेकमा रहेका पीडक पुरुषले बालिका, किशोरी वा महिलाबारे सम्पूर्ण जानकारी राख्छन्। 'कति बेला एक्लै हुन्छे' भनी दाउ हेरिरहेका हुन्छन्। मौका पाउनेबित्तिकै उनीहरूले आफ्नो योजनालाई मूर्त रूप दिन्छन्। जनकपुरकी एक किशोरी राति ९ बजे दिसा बस्न गएकी थिइन्, घरदेखि अलि पर। ती १५ वर्षीया किशोरीको बलात्कारपछि हत्या भयो। भोलिपल्ट उनको शव पोखरीमा भेटियो। 
अपांगमाथि धावा 
सपांगमात्रै होइन, मानसिक र शारीरिक रूपले अपांग महिला पनि बलात्कारीहरूको शिकार बन्ने गरेका छन्। जन्मजात बोल्न र सुन्न नसक्ने रुपन्देही पश्चिम अमुवाकी २८ वर्षीया एक महिला आफ्नै घरमा बलात्कृत भइन्। बलात्कार गर्ने अरू कोही नभएर उनको आफ्नै भतिजा थियो। महिलाको शारीरिक अक्षमताको फाइदा उठाउँदै १८ वर्षीय भतिजाले आफ्ना दुई जना साथीसँग मिलेर उनको सामूहिक बलात्कार गर्यो । यस्तै सुस्त मनस्थिति भएकी १९ वर्षीय अर्की युवती स्याङ्जामा बलात्कृत भइन्। ४० वर्षीय देवेन्द्र थापामागरले घरमा एक्लै भएको मौका छोपी उनको बलात्कार गरे। यसअघि पनि त्यसै गाउँका धर्मराज थापाबाट बलात्कृत भएकी ती युवतीको गर्भपतन गराइएको थियो। देवेन्द्रका बाबु वसन्त थापाले पनि ती युवतीको बलात्कार गरेको आरोप युवतीकी आमाले लगाएकी थिइन्। यसरी गाउँलेहरूबाट सुस्त मनस्थिति भएकी युवती पटक–पटक बलात्कृत हुनुले समाज बर्बर बन्दै गएको प्रस्ट हुन्छ। 
हालै तेह्रथुम, म्याङ्लुङको डेल्टा ल्यांग्वेज इन्स्टिच्युटमा ट्युसन पढ्न आएकी एक अपांग छात्रालाई त्यहाँका प्राध्यापकले यौन दुर्व्यवहार गरेका थिए।
सामूहिक बलात्कार 
सामूहिक बलात्कारका घटना बढ्दै गएका छन्। एक अध्ययनका अनुसार साथीभाइको समूहमा 'सेक्सुअल एग्रेसन' देखाउनका निम्ति पनि सामूहिक बलात्कार हुने गरेका छन्। नेपालमा पनि सामूहिक बलात्कारका घटना दिनानुदिन बढ्दै गएका छन्। जेठ २०६७ देखि असार २०७० सालसम्म दाङमा मात्र १५ वटा सामूहिक बलात्कारका घटना सार्वजनिक भएका छन्। 
पहिला अपहरण र त्यसपछि सामूहिक बलात्कार। आजभोलि धेरै छापिने, पढिने र सुनिने समाचार यही नै हो। सामूहिक बलात्कारकै समाचार बनिन्, नवलपरासीकी एक युवती। कामले बाहिर निस्किएको बेला बाटोबाटै उनको अपहरण गरियो। रुपन्देही, केरवानीका एक युवाले उनलाई जबर्जस्ती नियन्त्रणमा लिई सामूहिक बलात्कार गरेका थिए। हालै दाङ, तुलसीपुरमा १५ वर्षीया किशोरीमाथि जंगलमा बलात्कार भएको घटना सार्वजनिक भएको दुई दिनपछि नै १७ वर्षीया अर्की किशोरीकोे सामूहिक बलात्कार भयो। २०६६ सालमा आफ्नै प्रहरी सहकर्मीबाट सामूहिक बलात्कृत भएकी सुन्तली धामीको घटना पनि सेलाएको छैन। 
कमजोरको शिकार 
मनोविज्ञहरूका अनुसार पीडकले आफ्नो शक्तिको अहंकारमा आफूभन्दा कमजोरलाई शारीरिक र मानसिक रूपले क्षति पुर्यांउन बलात्कार गर्छ। त्यसैले दलित, उत्पीडित, अशिक्षित, एकल महिला, अपांग र बालिकाहरू बढी बलात्कारको चपेटामा पर्ने गरेका छन्। 
हालै बेलबारी, मोरङकी २३ वर्षीया एक दलित युवतीमाथि बलात्कारको प्रयास भएको थियो। बेलुका कामबाट फर्कंदा सोही गाउँका जीवन भेटवालले बलात्कार गर्न खोजेका थिए। सो घटनाको प्रहरीमा उजुरी गर्दा 'दलितले आफूलाई झूटो आरोप लगाएको र सामाजिक बेइज्जती गर्न खोजेको' भन्दै पीडक पक्षले युवतीमाथि कुटपिट गर्नुका साथै उनलाई कालोमोसो र जुत्ताको माला लगाएका थिए। यस्तै काँकडभिट्टा मेचीनगर, घैलाडुब्बामा १३ वर्षीया दलित किशोरी बलात्कृत भइन्। घरनजिकै बाख्रा चराउन गएकी यी किशोरीलाई त्यहाँका ३० वर्षीय दिलिप विष्टले नजिकै चियाबगानमा लगी रुमालले मुख थुनेर बलात्कार गरे। 
निशानामा बालिका 
बलात्कारको शिकार हुनेमा सबैभन्दा बढी १२ देखि १५ वर्ष उमेरका बालिका रहेका छन्। 'यो अपरिपक्व उमेर हो,' बलात्कृत बालिकाहरूलाई उद्धार गर्ने संस्था अन्तरदृष्टि नेपालकी निर्देशक विनिता अधिकारी भन्छिन्, 'आफ्नो कुरा कसैलाई भन्न लजाउँछन्। यस उमेरका बालिकालाई डराई, धम्क्याई आफ्नो वशमा राख्न सजिलो हुने भएकाले पीडकले यसै उमेरका बालिकालाई बढी शिकार बनाउने गर्छन्।' 
यौन शिक्षाको अभावले पनि पुरुषलाई बलात्कारका लागि प्रेरित गर्ने बताउँछन्, त्रिवि शिक्षण अस्पतालका सहप्राध्यापक डा. सरोज वझा। 'कतिपय व्यक्ति कलिला किशोरीसँग सेक्स गर्दा अत्यधिक यौन सन्तुष्टि पाइन्छ भन्ने मनोविज्ञानबाट प्रेरित हुन्छन्,' डा. वझा भन्छन्। ओरेक नेपालको तथ्यांकले पनि यही देखाउँछ। बलात्कार हुनेमा १६ वर्षमुनिका बालिकाको संख्या ४२ प्रतिशत रहेको छ।
महिला नै दोषी रे! 
बलात्कारले महिलाको जीवन नै नष्ट गरिदिन्छ। घरबाट केही समयका लागि पोखरा माइत आएकी एक महिला आफ्नै छिमेकीबाट बलात्कृत भइन्। बलात्कारको घटनाबारे थाहा पाएपछि उनलाई श्रीमान्ले त्यागिदिए। बेइज्जतीको डरले उनी माइतमा पनि बस्न सकिनन्। भौतारिँदै उनी भारतको रेडलाइट एरियासम्म पुगिन्। 
घटना भएपछि पीडितलाई सहारा र भरोसाको आवश्यकता हुन्छ। त्यो अवस्थामा 'सहयोग गर्नुपर्छ' भन्ने भावनाबाट हाम्रो समाज चुकेको देखिन्छ। घरपरिवारदेखि समाजसम्मका सबैले 'तैँले गर्दा नै यसो भा'को' भन्दै महिलालाई नै प्रताडित गर्न थाल्छन्। १२ वर्षीया एक किशोरी तीन वर्षदेखि अन्तरदृष्टिकै संरक्षणमा छिन्। फर्किएर घर जान चाहन्छिन् तर जान सक्दिनन्। 'घर जाँदा सबैले 'तेरै कारणले यस्तो भएको हो', 'ऊ आइहाली' जस्ता नानाथरि कुरा गर्छन्। त्यसैले उ घर जान मन गर्दिन। उसका बुवाले पनि फोन गरेर छोरीलाई त्यहीँ राखिदिनुस् भन्छन्,' अन्तरदृष्टिकी काउन्सिलर रजनी भारती भन्छिन्। कुनै पनि गैरसरकारी संस्थाको सेल्टरमा बलात्कृत छोरीलाई राखेर आमाबुवा ढुक्क बस्छन्। 'आँखा अगाडि पाप हेर्नु परेन भनी ठान्छन्,' रजनी भन्छिन्, 'आफ्नो अगाडि हुँदा समाजले विभिन्न बहानामा बारम्बार छोरीलाई होच्चाइरहने हुँदा पनि आमाबुवा छोरीलाई आफूबाट टाढा राख्न बाध्य भएका छन्।'
बलात्कारका असर 
असामाजिक, कठोर, जिद्दी, अव्यावहारिक, अशिक्षित, लागुऔषध दुर्व्यसनी, विवेकको सही प्रयोग गर्न नसक्ने वा कडा मानसिक रोग भएका व्यक्तिले बलात्कार गर्ने बताउँछन्, डा. सरोज वझा।
जबर्जस्ती करणीबाट पीडित बालिका, किशोरी वा महिलामा कहिल्यै नमेटिने मानसिक चोट लाग्छ। बलात्कृत भएपछि उनीहरू प्रत्येक पल मरेर बाँच्न बाध्य हुन्छन्। 'बलात्कार हुनु कुनै पनि महिलाका लागि ठूलो दुर्घटना हो। रेपपछि निकै तनावबाट महिलाले गुजि्रन पर्छ,' डा. वझा भन्छन्। उनका अनुसार महिलाले अल्पकालीन र दीर्घकालीन गरी दुई किसिमका शारीरिक र मानसिक समस्या भोग्नुपर्छ। अल्पकालीनमा योनीमा इन्फेक्सन, छटपटी, अनिद्राजस्ता लक्षण देखापर्छन् भने दीर्घकालीन समस्यामा डिप्रेसन, एन्जाइटी, पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर आदि पर्छन्। बलात्कारबाट पीडितमध्ये धेरै कमले आफ्नो जीवनमा पूर्ण रूपले यस घटनालाई बिर्सन सक्ने डा. वझा बताउँछन्। 'घटनापछि पीडितको एकाग्रतामा कमी आउँछ, पढाइमा ध्यान जाँदैन, कुनै पनि काममा उसको परफर्मेन्स राम्रो हुँदैन,' उनी भन्छन्, 'पीडित हीन भावनाले ग्रस्त हुन्छ, आत्मविश्वासमा कमी आउँछ र ऊ जीवनप्रति निराश बन्दै जान्छ। कतिपयले आत्महत्याको प्रयास गर्छन् र कतिपयले आत्महत्या गर्छन्।' समयमै काउन्सिलिङ र औषधि गरेमा पीडितमा देखिइएका समस्या ९५ प्रतिशतसम्म कम हुने डा. वझा बताउँछन्।
सहमतिमा टुंगिने मुद्दा 
नेपालमा बलात्कारसम्बन्धी कानुनी व्यवस्थाबारे बेला–बेलामा चर्को बहस हुने गरेको छ। 'नेपालमा जबर्जस्ती करणीबारे कानुन त राम्रो छ,' विनिता अधिकारी भन्छिन्, 'तर, कार्यान्वयन निकै फितलो छ।' बलात्कारविरुद्धका अधिकांश मुद्दा लामो अदालती प्रक्रियाका कारण सहमतिमा गएर टंुगिने गरेका छन्। केही हात्तीका नोटमा महिला अस्मिताको मोलमोलाइ हुने गर्छ। मुद्दा दायर भए पनि सुुनुवाइ ढिलो हुन्छ। 'पीडितले सुरुमै पीडा भोगिसकेको हुन्छ,' विनिता भन्छिन्, 'अदालती प्रक्रियाले उसलाई थप पीडा दिने काम गर्छ। अदालतमा गएका १० प्रतिशत जति मुद्दा मात्र सफल हुन्छन्। बाँकी त अदालत बाहिरै मोलमोलाइमा टुंगिन्छन्।' 
पीडितलाई मुद्दा जिताउन लागि स्वास्थ्य परीक्षण सबैभन्दा ठूलो प्रमाण हो। घटना भएको केही घण्टामै स्वास्थ्य परीक्षण गराइएन भने पछि यकिन प्रतिवेदन नआउन पनि सक्छ। घटना भएलगत्तै प्रहरीमा उजुरी गर्ने वा स्वास्थ्य परीक्षणका लागि जाने पीडित कमै हुन्छन्। सामाजिक लोकलाजका कारण घटना बाहिर ल्याउन पनि उनीहरू डराउँछन्। 
प्रहरीमा उजुरी गर्नका लागि ३५ दिनको भाका राखिएको छ। यो भाका नमिल्दो भएको बताउँछिन् विनिता। '३५ बाट ३६ दिन हुँदा उजुरी गर्न मिल्दैन। ३५ दिनको भाकाले गर्दा पनि धेरै केस दायर हुँदैनन् र ३५ दिनमा दायर गरे पनि यसै अलपत्र पर्छन्,' उनी भन्छिन्।
कति छ सजाय?
मुलुकी ऐनको जबर्जस्ती करणीसम्बन्धी महलले बलात्कारीलाई यस्तो सजाय तोकेको छः 

• दश वर्षमुनिकी बालिका भए १० देखि १५ वर्षसम्म कैद।
• दशदेखि चौध वर्षकी बालिका भए आठदेखि १२ देखि १२ वर्षसम्म कैद।
• चौधदेखि सोह्र वर्षकी किशोरी भए छदेखि १० वर्षसम्म कैद।
• सोह्रदेखि बीस वर्षकी युवती भए पाँच वर्षदेखि आठ वर्षसम्म कैद।
• बीस वर्षभन्दा माथिकी महिला भए पाँचदेखि सात वर्षसम्म कैद। 
• श्रीमान्ले श्रीमतीलाई जबर्जस्ती करणी गरेमा तीन महिनादेखि छ महिनासम्म कैद सजाय हुन्छ।
• सामूहिक रूपमा जबर्जस्ती करणी गर्ने, गर्भवती, अशक्त वा अपांग महिलालाई जबर्जस्ती करणी गर्नेलाई थप पाँच वर्ष कैदको प्रावधान छ।

आफन्तकै डर

पूर्वमा बढिरहेका बलात्कारका घटनामा मुख्यतः आफन्तहरू संलग्न भएको पाइएको छ। आफ्नै बाबु, सानोबुवा र नजिकका नातेदारबाटै महिला बलात्कृत भएका छन्। 
गत असार ४ गते इलामको गजुरमुखीका ४५ वर्षीय होमबहादुर श्रेष्ठलाई आफ्नै छोरीलाई करणी गरेको आरोपमा प्रहरीले पक्राउ गर्योक। त्यसैगरी श्रीमतीको इच्छाविपरीत पटक–पटक करणी गरेको उजुरी परेपछि गत चैत १३ गते सप्तरी, देउरीका ३० वर्षीय विश्वनाथ साहलाई प्रहरीले पक्राउ गर्यो१। इलामकै चुलाचुली–९ का सचिन रसाइलीले गत जेठमा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गर्योा। सचिन बालिकाको सानोबुवा नाता पर्ने व्यक्ति हुन्। यसरी आफन्तबाटै बलात्कार भएका घटना पूर्वका हरेक जिल्लामा पाइन्छन्। 
गत जेठमा सुनसरीको इटहरीमा कहालीलाग्दो घटना सार्वजनिक भयो। इटहरी–२, शान्तिनगर बरगाछीका ५१ वर्षीय सौगात साहले आफ्नै छोरीलाई वर्षौंदेखि बलात्कार गरी गर्भवती बनाई बच्चा समेत भएको उनकै तीन छोरीले सार्वजनिक गरेका थिए। यस्ता घटनाले नेपाली समाज कता जाँदै छ भन्ने विषयमा बहस गर्नुपर्ने अवस्था आइसकेको जनाउँछन्। आफ्नै जेठी छोरीलाई उनले सात वर्षअघिदेखि बलात्कार गरिरहेका थिए। उनीहरूबाट जन्मिएको बच्चा हाल छ वर्षको भएको छ। सौगातले अरू छोरीलाई पनि बलात्कार गर्न खोजेपछि साइँली छोरी प्रीति, काइँली लक्ष्मी र अन्तरी पार्वतीले इलाका प्रहरी कार्यालय इटहरीमा बाबुविरुद्ध किटानी जाहेरी दिएका थिए। 
यति लामो समयसम्म घटना सार्वजनिक नभएको देख्दा प्रहरी पनि चकित भएका थिए। छोरीहरूले उजुरी र बयान दिएपछि सौगातलाई पक्राउ गरी प्रहरीले कारबाही चलाएको छ। महिला अधिकारवादी संघसंस्थाहरू घटना बाहिर आएपछि दोषीलाई कडा कारबाहीको माग गर्दै सक्रिय भए। 

कानुनले गरेको परिभाषा अनुसार कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मञ्जुरी लिई वा नलिई करणी गरेमा निजले जबर्जस्ती करणीको अपराध गरेको मानिन्छ। यस्तो अपराध गर्नेविरुद्ध ३५ दिनभित्र प्रहरी कार्यालयमा उजुरी दिनुपर्छ। 
जबर्जस्ती करणी गर्न खोज्नेबाट फुत्किन खोज्दा वा भाग्न नसक्ने अवस्थामा करणी भइसकेपछि वा करणी प्रयास गर्दागर्दै करणी भएको स्थानमा वा त्यहीँबाट लखेट्दै गई एक घण्टाभित्र हतियार, लाठो, ढुङ्गा चलाई ज्यान मारेको ठहरेमा महिलालाई कारबाही हुँदैन। 

मौनता तोड्दै 
'९ बजे बेडमा गए पनि राति ११/१२ बजेसम्म निद्रै लाग्दैन। छटपटी हुन्छ। यसै पल्टिरहन्छु बेडमा,' गीताले भनिन्। उनकै छेउमा बसेकी सीता चाहिँ एकोहोरिएर टाढा–टाढा हेर्दै थिइन्। बोल्न चाहिराखेकी थिइनन् उनले। त्यसै समूहकी नीता भने बोलेको बोल्यै थिइन् र रीता भने कसैसँग आँखा जुधाएर कुरै गरिरहेकी थिइनन्। कुरा गर्दा यताउता हेरिरहेकी थिइन््। 
प्रत्यक्ष रूपमा कसैले पनि आफ्नो समस्या भनेका थिएनन्। तर, अप्रत्यक्ष रूपमा कुनै न कुनै व्यवहारबाट उनीहरूको पीडा झल्किरहेको थियो। समूहमा भएका नौ जना बालिका अन्तरदृष्टि नेपाल संस्थाको हेटौँडा शाखामा संरक्षित छन्। आफन्त, परिचित, छिमेकी, दाजुभाइ र आफ्नै बाबुबाट बलात्कृत भएर यी बालिका संस्थाको संरक्षणमा पुगेका हुन्। उनीहरूले देखाइरहेका व्यवहार बलात्कारको घटनाका परिणाम हुन्। 'कोही बोल्दै बोल्दैनन् भने कोही बोलेको बोल्यै गर्छन्। विभिन्न तरिकाले यिनीहरूले घटनाका लक्षण देखाइराख्छन्। तर, आफूले के गरिरहेको छु र किन गरिरहेको छु भन्ने यिनीहरूलाई थाहा हँुदैन,' अन्तरदृष्टिकी हेटौँडा सेल्टरकी इन्चार्ज कल्पना शर्माले भनिन्। घटना आलो हुँदा यी बालिकालाई सम्हाल्न निकै गाह्रो हुने पनि उनले बताइन्। 'अहिले त सबै ज्ञानी भएका छन्,' उनले भनिन्, 'सुरुसुरुमा त पीडितलाई सम्हाल्न धेरै गाह्रो हुन्छ। केही सोध्दा टाउको मात्र हल्लाउँछन्। मुखबाट एउटै वाक्य निकाल्दैनन्। कोही बेहोस हुन्छन्। हस्पिटलै लग्नुपर्ने अवस्था आउँछ। कोही रिसाउँछन्, हाम्फाल्न खोज्छन्, कोही हातका औँला पड्काएर बस्छन्।'
पीडितहरूले बेला–बेला घटना सम्झेर पीडा र हीनता महसुस गर्ने र त्यस्ता व्यवहार देखाउने कल्पनाको अनुभव छ। 'पीडित बालिकालाई एकदमै भयानक घटना भयो जस्तो लाग्छ। उनीहरू आफ्नो जीवनप्रति नै विरक्तिन्छन् र आफूलाई सराप्दै बस्छन्,' कल्पनाले थपिन्, 'तर, संस्थामा बसेपछि उनीहरूलाई काउन्सिलिङ गरेर, पढाएर, सीप सिकाएर हामीले 'यो घटना त केही पनि होइन, जीवनमा मैले अगाडि बढ्नुपर्छ' भन्न सक्ने बनाउन खोज्छौँ।' 

संस्थामा संरक्षित बालिकाहरू काउन्सिलिङपछि जीवनप्रति आशावादी भएको कल्पनाले बताइन्। 'म त ठूलो भएर नर्स बन्छु,' सीताले भनिन्। जुरुक्क उठेर गीताले थपिन्, 'म त टिचर बन्छु।' यस्तै कसैको चाहना फुटबल खेलाडी बन्नेछ त कोही समाजसेवी बन्न चाहन्छन्। 

अन्तरदृष्टिको अर्को शाखा पोखरामा रहेको छ। त्यहाँ पनि यस्तै नौ जना बालिका र किशोरी बस्छन्। दुवै ठाउँमा चार वर्षदेखि १८ वर्षसम्मका लगभग अठार जना बालिका र किशोरीलाई यस संस्थाले संरक्षण प्रदान गरिरहेको छ। संस्थामा म्याग्दी, कास्की, मकवानपुर, हेटौँडा, तनहुँ, स्याङ्जा, गोर्खा आदि ठाउँका पीडित बालिका र किशोरीले आश्रय पाइरहेका छन्। सन् २००३ मा 'ब्रेक द साइलेन्स' भन्ने नाराका साथ दर्ता भएको यस संस्थाले सन् २००७ देखि अहिलेसम्म एक सय १६ वटा केस हेरिसकेको छ। यसबाहेक ७६ जनालाई उनकै घरमा गएर काउन्सिलिङ गरेको छ। पत्रपत्रिका, प्रहरी, स्थानीय बासिन्दा र स्कुलका शिक्षकमार्फत घटना र पीडितबारे थाहा पाउने बताइन्, संस्थाकी प्रोजेक्ट म्यानेजर योगिता चापागाईले। 'जे–जसरी घटनाबारे थाहा पाए पनि हामी पीडितको अवस्था हेरेर कसैलाई एकदुई वर्ष त कसैलाई चारपाँच वर्षसम्म पनि संस्थामा राख्छौँ र उनीहरूलाई पढाउनेदेखि लिएर कम्प्युटर टे्रनिङ वा सीपमूलक तालिम दिन्छौँ,' योगिताले भनिन्, 'मुख्य रूपमा हामीले यहाँ काउन्सिलिङ गर्छौं, जसले पीडितलाई घटनाको पीडाबाट बाहिर निकाल्न मद्दत गर्छ। हाम्रोमा आउन अप्ठ्यारो मान्ने, हिचकिचाउने पीडितलाई उसकै घरमा गएर पनि हामीले काउन्सिलिङ गर्छौं।' पीडितलाई काउन्सिलिङ मात्र होइन, पीडकलाई सजायका लागि पनि संस्थाले पहल गर्छ। आफूहरूले गरेका प्रयासमध्ये धेरै केस सफल भएको बताइन्, अन्तरदृष्टिकी निर्देशक विनिता अधिकारीले। 'धेरैले सजाय पाएका छन्। हामीले पीडकलाई यसै कहाँ छोड्छौँ र?' उनले भनिन्। संस्थाकी काउन्सिलर रजनी भारतीले बलात्कार घटना भएमा लुकाउन नहुने बताइन्। 'हाम्रो समाजमा बेइज्जतीको डरले धेरै अभिभावकले छोरीमाथि भएको अन्यायलाई लुकाएर बस्छन्। घटनाको उल्टै दोष छोरीलाई नै दिन्छन्,' उनले भनिन्, 'यसो गर्नु हुँदैन। बच्चाहरूले अभिभावकसँग केही भन्न खोजिरहेका छन् भने बच्चाको कुरा सुन्नुपर्छ। घटना भएमा पीडितलाई तुरन्त काउन्सिलिङका लागि ल्याउनुपर्छ र पीडकविरुद्ध उजुरी हाल्नुपर्छ।'
थाहै नपाई दुइटै फेल

थाहै नपाई दुइटै फेल

काठमाडौँका सडकपेटीमा लाउडस्पिकरबाट याचनाका आवाजहरू गुञ्जिरहेका हुन्छन्। मिर्गाैलाका रोगीका आफन्त कपडा ओछ्याएर मनकारी बटुवाहरूले दिएका पाँच–दश रुपैयाँका नोट बटुलिरहेका हुन्छन्। थाहै नपाई मिर्गौला फेल भएपछि रोगी र उसका आफन्तले धेरै...

गजबकी अभिनेत्री गजबकी आमा

गजबकी अभिनेत्री गजबकी आमा

हालै हलिउड अभिनेत्री एन्जेलिना जोलीले आफ्नो ३९ औँ जन्मदिन मनाइन्। ४ जुन १९७५ मा जन्मिएकी एन्जेलिना विश्वभरिका मानिसले रुचाएकी अभिनेत्री हुन्। जीवनको चौथो दशकमा टेक्न आँटेकी यी अभिनेत्रीको 'चार्म' आफ्ना...

'दुबई नआउनुस्!'

बालबच्चाको भविष्य उज्ज्वल बनाउने सपना बोकी दुबई पुगेका केही युवा बिचल्लीमा परेका छन्। दुबईको अन्सार ग्रुप अफ कम्पनिजको अन्सार मलमा पुगेका युवा यतिखेर कसरी पैसा कमाउने भन्दा पनि नेपालबाट आउने...

इन्काउन्टर भीमढुंगा

इन्काउन्टर भीमढुंगा

प्रहरीको गोलीले कुख्यात गुन्डा दिनेश अधिकारी 'चरी' मारिए। उनको मृत्युले अपराध दुनियाँ मात्रै तरंगित भएको छैन, राजनीति पनि धेरथोर तरंगित भएको छ। उनी आबद्ध पार्टी एमालेका केही नेता उनको गैरन्यायिक...

केही आशा, केही भरोसा

नेपाली राजनीतिमा आशलाग्दा केही युवा अनुहार छन्। नेतृत्व क्षमता, जुझारुपन र इमानदारीका कारण उनीहरू लोकप्रिय छन्। जनतामा 'यसले केही गर्छ है' भन्ने अलिकति आशा र अलिकति भरोसा जगाउने यी राजनीतिकर्मी...

निर्देशक महिला म : दीपा बस्नेत/ फिल्म निर्देशक

निर्देशक महिला म : दीपा बस्नेत/ फिल्म निर्देशक

नेपाली फिल्म निर्देशनमा फाट्टफुट्ट महिला देखिए पनि निरन्तरता दिन सकिरहेका छैनन्। तर, अघिल्लो वर्ष फिल्म 'अन्तराल'बाट निर्देशनमा देखिएकी दीपा बस्नेतले यो इतिहास बदल्ने संकेत गरेकी छिन्। किनभने, उनले निर्देशन गरेको...

एमआरपीका झन्झट

एजेन्ट र म्यानपावरबाट सास्ती भोगेका कामदारहरूले सरकारी सेवाबाट समेत झमेला बेहोर्नु परेको छ। विदेश जान आवश्यक मेसिन रिडवेल पासपोर्ट (एमआरपी) बनाउने बेलामा पासपोर्टमा विभिन्न त्रुटी हुँदा विदेश जाने तयारीमा रहेका...

करकापमा नांगिने हो

करकापमा नांगिने हो

थुप्रै फिल्ममा स्कर्ट लगाएर अभिनय गरेकी अभिनेत्री झरना थापाले 'ओम' लगायत केही फिल्ममा बेडसिनसमेत दिएकी छिन्। बेडसिन दिनेबित्तिकै हिरोइनको आलोचना सुरु हुन्छ भने कतिपय हिरोइनले त्यही आलोचनालाई पनि चर्चामा आउने...