Friday 13 Chaitra, 2071 |
Menu

शुक्रबार

HUB

'दर्शकको नापतौलमा व्यस्त हामी'

  • २६ श्रावण, २०७०
  • शुक्रवार
  • DISQUS_COMMENTS
(0 votes)
'दर्शकको नापतौलमा व्यस्त हामी'
'हिरो'को परम्परागत फिल्मी फ्रेममा दयाहाङ राई अटाउँदैनन् किनभने उनको न लामो कपाल छ, न सुगठित जिउडाल छ र न चकलेटी अनुहार छ। तर, नयाँ र पुराना निर्देशकले उनलाई मुख्य भूमिकामा अभिनय गराएका छन्। फिल्म 'लुट'मा निर्वाह गरेको गोफ्लेको भूमिकाले दयाहाङलाई एकखाले 'स्टारडम' दिलायो। स्तरीय अभिनयका लागि चिनिने दयासँग धनबहादुर खड्काले गरेको अन्तरंग कुराकानीः
तपाईं पनि 'हिरो' बन्नुभयो है? 
म कलाकार हुँ। तपाईंले भन्नुभए जस्तो हिरो भएको छैन। 
फिल्म 'झोले'मा हिरोइन प्रियंका कार्कीसँग रसिलो गीतमा छमछमी नाच्नुभएको छ त?
त्यहाँ पनि म आममान्छेको प्रतिनिधिमात्रै छु। फिल्मको एउटा गीतमात्रै सार्वजनिक भएकाले त्यस्तो लागेको हो। तर, त्यो सामान्य मान्छेले देखेको सपना हो। 
टिनएजमा हुँदा हिरोइनसँग नाच्ने सपना देख्नुभएको थियो?
सपना देख्न पनि आधार चाहिन्छ। मसँग त्यो थिएन। कहिल्यै कुनै हिरोबाट प्रभावित भइनँ। बरु केही साहित्यकार मेरा रोलमोडल थिए। अरूले लेखेका, आमाले भनेका कथाबाट प्रभावित भएर कथा लेख्ने प्रयास गर्थें। अरूलाई देखाउन लाज लाग्ने भएकाले त्यसै थन्क्याएर राख्थेँ।
काठमाडौँ आउनुको उद्देश्य के थियो?
म उपन्यास लेख्न खोजिरहेको थिएँ। त्यसका लागि मेरो दिमागमा एउटा थिम थियो। शहरलाई आधार बनाएर लेखिएका उपन्यास धेरै पढेको थिएँ। मेरो उपन्यास थिममा पनि गाउँ र शहर जोडिएको थियो। त्यो उपन्यासको पात्रलाई गाउँबाट शहर पुर्यागएर त्यहाँको संघर्ष चित्रण गर्ने योजना थियो। त्यही योजना पूरा गर्न काठमाडौँ आइपुगेँ। 
उपन्यास लेख्ने योजना कहाँ पुगेर तुहियो?
काठमाडौँ आएपछि म गन्तव्यविहीन भएँ। त्यो उपन्यासको पात्र कहाँ छुट्यो र उपन्यासकार बन्ने मेरो योजना कहाँ तुहियो, पत्तो पाइनँ। 
कलाकार बन्ने रहर चाहिँ कसरी पलायो?
कलाकार होइन, नाटक निर्देशक बन्ने रहर पलाएको थियो। गाउँमै दाइहरूले गर्ने फिल्म प्रभावित नाटक हेरेको थिएँ। त्यसैले अलिअलि रहर थियो। मनबहादुर मुखियाका नाटक पढेको थिएँ। तीबाट पनि प्रभावित थिएँ। दुई वर्ष काठमाडौँमा नाटक फेस्टिभल हेरेपछि मलाई पनि जान्न मन लाग्यो। नाचघरमा छ महिने कोर्स पढ्न पाइन्छ भन्ने थाहा पाएँ, तर म ढिला भएछु। पछि सकिन लाग्दा २० दिनको वर्कसप हुन्छ। अरूले पनि भाग लिन पाउँछन् भन्न थाहा पाएँ। हरिहर शर्मालाई निवेदन लेखेँ। म छानिएँ। अनुप बरालले क्लास लिनुभएको थियो। 
त्यही वर्कसपपछि कलाकार बन्ने रहरले पालुवा हालेको थियो?
मलाई त डर पो लाग्यो, हौ। त्यो वर्कसपपछि सरुभक्तको 'सिरुमा रानी' नाटक गर्नुपर्ने भयो। अनुप सरलाई अभिनय गर्दिनँ, सेटमा अरू बन्दोबस्तीका काम गर्छु भनेको थिएँ। उहाँले 'सानो भए पनि गर्नैपर्छ' भन्नुभयो। नाटकभरिमा भएको सबैभन्दा छोटो रोल छानेर गरेँ। राम्रो भएछ। नाटक हेर्नेले दुई वर्षसम्म मेरो प्रशंसा गरिरहे। त्यति बेला साथी सुदर्शन थापाले पनि वर्कसपमा भाग लिएको थियो। उसले सिरियल गरिरहेको रहेछ। भेट्न बोलायो। लेखक तेजेन्द्र शेरचनले अडिसन लिनुभयो। त्यो सिरियलमा मेजर रोल पाएँ। दश दिन सुटिङ गर्यौँे। टेलिभिजनले पास गरेन। त्यो डमीमा सीमित भयो। त्यसपछि अनुप सरले नै निर्देशन गर्नुभएको टेलिफिल्म 'दलन'मा काम गरियो। यही टेलिफिल्म सुटिङका बेला अनुप सरले एक्टर्स स्टुडियोको कन्सेप्ट सेयर गर्नुभएको थियो। मलाई पनि अब अभिनय सिक्नुपर्छ र गर्नुपर्छ भन्ने लागेको थियो। तर, 'अनागरिक' भन्ने फिल्मको सुटिङका कारण थर्ड ब्याजमा मात्रै भर्ना हुन पाएँ। 
दर्शकको आँखामा चाहिँ 'लुट'मा अभिनय गरेपछि मात्रै परियो?
फिल्म 'मेरो एउटा साथी छ', 'दासढुंगा', 'मेरो लभ स्टोरी' लगायतमा काम गर्दा पनि केही दर्शकले नोटिस गरिसक्नुभएको थियो। 'लुट'मा अभिनय गरेपछि कामको चाप बढ्यो र धेरै दर्शकमाझ पुगियो। 
हिट कलाकार भएपछि धेरै कुरा प्राप्त गर्नुभयो होला, नाम, पैसा आदि। कुनै कुरा गुमाएको पनि महसुस हुन्छ?
मुख्य कुरा परिवार र आफन्त छुटे। हिट हुनुअघि हप्तामा अर्थात् दिनदिनै भेट हुनेसँग महिनौँ भेट्न पाइँदैन। समाज र जीवन झन् पर पुगे। पपुलर नहुँदा ट्याम्पू, नेपाल यातायात, माइक्रो खुब चढ्थेँ। जीवनका विविधता भेटिन्थे। ती जीवनसँग साक्षात्कार गर्नुको आनन्द छुट्टै थियो। अचेल सार्वजनिक यातायातमा चढ्दा त्यो स्वतन्त्रता छैन। मलाई पनि बाध्यता छ, आमदर्शकका लागि दुर्लभ हुनुपर्छ। 
बाल्यकालमा फिल्म कत्तिको हेर्नुहुन्थ्यो?
पहिलोपल्ट कक्षा ७ मा पढ्दा भोजपुरमा राजेश हमालको फिल्म 'कसम' हेरेको थिएँ। मलाई कथा र अभिनयभन्दा पनि फिल्म देखाउने प्रविधिले तानेको थियो। मैले फिल्म देखाउने तरिका राम्रोसँग नियालेको थिएँ। मसँग घुमाई–घुमाई तस्बिर हेर्ने क्यामेराजस्तो खेलौना थियो। त्यसलाई फुटाएर टर्चद्वारा नेगेटिभमा लाइट दिएर भित्तामा सिरकको खोल टाँसेर ठूला तस्बिर देखिने बनाएको थिएँ। साथीहरू मिलेर सबैका बाआमासँग त्यो हेरेको पाँच रुपैयाँ उठाएका थियौँ। त्यसपछि पनि केही हेरियो होला। 
रहर त कलाकार होइन, फिल्म प्राविधिक हुने खालको रहेछ?
प्रविधिक कामपट्टि आकर्षित थिएँ। यसका साथै मेरो सामान साथीहरूको भन्दा फरक हुनुपर्थ्यो। स्केल पनि मैले आफैँले काठको बनाउथेँ। खेलौना पनि आफ्ना लागि आफैँ बनाउँथेँ। 
स्वभाव चाहिँ अहिलेको जस्तै शान्त थियो? 
कहाँ हुनु? चञ्चले थिएँ। त्यो उमेरमा गरिने धेरै कुरा गरियो। पढ्न छाडेर फुटबल र भलिबल खेलियो। ग्याङ बनाएर झगडा पनि गरियो। 
राम्री केटीलाई 'आई लभ यू' पनि भनियो कि...
त्यस्तो भन्न चाहिँ सकिएन। दश कक्षा पढ्दा एकजना मन पर्यािथ्यो। त्यो बेला केटीसँग बोल्नु पनि ठूलै इतिहास रच्नुजस्तै थियो। त्यसैले त्यस्तो भन्नै सकिएन।
त्यो अवसर पनि काठमाडौँ आएपछि मात्रे जुरेको हो त?
लभ त गरियो। तर, मुखले नभनेरै दुवैले मनमनमै बुझ्यौँ।
प्रेमका संकेत के–के थिए? 
बेनुका र म साथीमात्रै थियौँ। एक दिन म बिरामी भएकाले ओछ्यानमै पत्रिका पढिरहेको थिएँ। गायिकाका रूपमा संघर्ष गरिरहेकी बेनुकाको अन्तरवार्ता पनि छापिएको थियो। त्यही बेला उनको फोन आयो। त्यो एउटा संयोग थियो र प्रेमको संकेत पनि। मैले नढाँटेर तिम्रो अन्तरवार्ता पढ्दै थिएँ, सम्झना आइरहेको थियो भनेँ। उनले 'कीर्तिपुरमा हुने साकेलामा आऊ है' भन्न फोन गरेकी रहिछन्। म बिरामी भएको थाहा पाएपछि सञ्चो हुन शुभकामना दिएर फोन राखिन्। तर, ओछ्यानमा बस्ने मनै भएन। उनी गएकी होलिन् भनेर कीर्तिपुर पुगेँ। उनी त म बिरामी भएकाले आइनछन्।
साथीकै नाताले बेनुकालाई मेरी काकीलाई भेटाएँ, बेनुकाले दिदी भेटाइन्। पछि बिस्तारै परिवारले थाहा पायो। हामीले हाम्रो सम्बन्ध के हो भन्ने बुझेका थिएनौँ। तर, घरपरिवारले भने 'प्रेममा मात्र नएकोहोरिनू, करिअरलाई पनि ध्यान दिनू' भन्न थाले। भेटेको तीन वर्षपछि एक दिन मैले जोक गरेको थिएँ, हाम्रो सम्बन्ध के हो जस्तो लाग्छ? भनेर। उनले उल्टै प्रश्न गरिन्, 'तिमीलाई चाहिँ के हो जस्तो लाग्छ?' यिनै प्रश्नमा 'आई लभ यू र सेम टू यू' थिए कि?
पहिलोपल्ट बेनुकालाई कहाँ भेट्नुभएको?
काठमाडौँ, रत्नपार्कको पुलकै आडमा रातो घर थियो। पहिलो भेट त्यही रातो घरअगाडि भएको थियो। हामी दुवै आ–आफ्ना साथी कुरिरहेका थियौँ। तर, संयोगले दुवैले कुरेको साथी एउटै परेछ। त्यहीँ चिनजान गर्यौँक। फोन नम्बर आदानप्रदान भयो। 
तपाईं रंगमञ्चमा नदेखिएको त निकै भयो नि?
अभिनय नगरेको तीन वर्ष भयो। केही समयअघि मात्रै मण्डला थिएटरमा मञ्चित 'माइला डटकम' र 'डिग्री माइलो' निर्देशन गरेको थिएँ। 
दुबै नाटकको कथा पनि आफैंले लेख्नुभएको थियो। दुवैमा 'माइला' जोड्नुको कुनै कारण छ?
नेपाल अहिले 'माइला'कै अवस्थामा गुजि्ररहेको छ। न अघि बढिरहेको छ, न पछि नै धकेलिएको छ। त्यसैले यही अवस्थाको चित्रण गर्नका लागि 'माइला' जोडिएको हो।
नाटक हेर्ने दर्शक बढिरहेका छन्?
गुरुकुलको स्थापनापछि नाटकका दर्शक बढिरहेका छन्। मण्डलामा पनि 'डिग्री माइलो' प्रदर्शन गर्दा दर्शक निकै आएका थिए। डेढ महिना चलेको नाटकमा एकैदिन १ सय ९८ जनासम्मले हेरेका छन्। 
तपाईंका नाटकमा दर्शक छन्। तर, तपाईंका फिल्ममा चाहिँ दर्शक किन नबढेका होलान्?
फिल्म हेर्ने कल्चरको विकास गर्न सकेका छैनौँ। हामी फिल्मका कथामा रुमलिरहेका छौँ। राम्रो बनाउनेतिर भन्दा दर्शकलाई यो मन पर्छ र यो पर्देन भनेर उनीहरूको मनको नापतौल गरिरहेका छौँ। यसैमा व्यस्त छौँ। यो धार र त्यो धार भनेर एक अर्कालाई धारे हात लगाइरहेका छौँ। यसैगरी श्रीमती, आमा र बच्चालाई हेराउन मिल्ने फिल्म बनाइरहेका छैनौँ कि! मुख्य कुरा हामी फिल्मकर्ममै रहेकाले एकअर्काका कामलाई 'रेस्पेक्ट' गर्न जान्दैनौँ। नयाँ सिर्जना गर्नभन्दा अर्काको कुरा काट्न समय खेर फाल्छौँ। मलाई लाग्छ, एक लाख दर्शक हलमा ल्याउन सके सबै नेपाली फिल्मले लगानी उठाउँछन्। तीमध्ये ५० हजार हामी फिल्मकर्मी नै छौँ। हामी आफैँले एकअर्काका कामलाई रेस्पेक्ट गर्ने हो भने लगानी उठाउन गाह्रो छैन। 
यतिबेला तपाईंलाई मुख्य भूमिकामा अभिनय गराउने बढेका छन्। तपाईंको लोकप्रियता र व्यस्तता बढ्दो छ। यस्तो अवस्थामा के कुराले झस्काइरहन्छ?
अहिले मेरो व्यस्तता बढेको छ। स्वाभाविकै हो, आर्थिक अवस्था पनि मजबुत हुँदै गएको छ। मलाई सधैँ एउटै कुराले झस्काइरहन्छ– कतै पैसा खेलाउने बानी त पर्दैन? सधैँ सजग भइरहन्छु– पैसाले मलाई नलोभ्याओस् र मैले गलत काम गरेर बेइमान हुन नपरोस्।
फिल्म हेरेर रुन्छु: अनमोल केसी

फिल्म हेरेर रुन्छु: अनमोल केसी

अभिनेता भुवन केसीका छोरा हुन् अनमोल। तर, अब उनलाई भुवनको नामले चिनाइरहनु पर्दैन। 'होस्टेल' र 'जेरी' जस्ता फिल्मले उनलाई अभिनेताका रूपमा स्थापित गराइसकेको छ। 'साथी म तिम्रो' फिल्मबाट डेब्यू गरेका...

गाउँदागाउँदै 'इमोसनल' भइन्छ

गाउँदागाउँदै 'इमोसनल' भइन्छ

पन्ध्र वर्षको उमेरमै सोलो एल्बम 'परी' ल्याएर नेपाली संगीत क्षेत्रमा प्रवेश गरेकी रजिना रिमाल अहिले पार्श्वगायिकाका रूपमा स्थापित छिन्। फिल्म र कलेक्सन एल्बममा गरी आठ सयभन्दा बढी गीत गाइसकेकी उनले...

आइटममा अर्चना

आइटममा अर्चना

फिल्म 'लुट'को आइटम डान्स 'उध्रेको चोली' हिट भएपछि नेपाली फिल्ममा आइटमको भेल आएको थियो। आइटमका लागि उध्रेको चोलीमा नाचेकी सुषमा कार्कीलाई अफरको ओइरो पनि लाग्यो। उनका अरू आइटमले कमाल नदेखाएपछि...

किन कसैले मृत्यु रोज्छ ?

जानी–जानी आफ्नो जिन्दगी अन्त्य गर्ने कार्यलाई आत्महत्या भनिन्छ। मर्छु नै भनेर आफूलाई खत्तम गर्ने काम आत्महत्या हो। मर्ने इच्छा नराखी अरू नै उपलब्धिका निम्ति जानाजान आफूलाई चोटपटक लगाउनु आत्महत्या नभएर...

यस्तो छ पशुपति शर्माको विवादित गीतको कथा

गायक पशुपति शर्माको 'हामी नेपाली हौँ' बोलको गीतबारे मिश्रित प्रतिक्रिया आएपछि जागरण मिडिया सेन्टरले यो गीतप्रति विभिन्न व्यक्तिका धारणा संकलन गरेको थियो। शर्माले यो गीत बन्द गर्ने घोषणा गरिसकेका छन्।...

शुक्रबार सम्पादकीय : कठ्याङ्ग्रिएको सहमति

राजधानी मीन पचासको ठन्डीमा कठांग्रिएको छ। देशका अन्य भागमा पनि ठन्डीले जनजीवन प्रभावित भइरहेको समाचार आइरहेका छन्। बढ्दो चिसोसँगै राजनीतिको तापक्रम पनि क्रमशः घट्दै गएकाले जनता थप ठन्डी महसुस गर्दैछन्।

शिकारी अप्सरा

शिकारी अप्सरा

पुरुषलाई बलात्कार गर्ने महिला ग्याङस्टरको कथा उठाएपछि अचेल फिल्म 'ब्ल्याक नाइट'को राम्रै चर्चा भइरहेको छ। यसका पोस्टर र केही गीत सार्वजनिक भएपछि 'बास्न लागेको भाले शिकार' गर्ने 'पोथी'हरू पनि दर्शकको...

लिभरपुललाई गिज्यायो बसेलले

लिभरपुललाई गिज्यायो बसेलले

स्विस फुटबल क्लब एफसी बसेल च्याम्पिन्यस लिगको प्री–क्वार्टर फाइनलबाट अघि बढ्नसकेको छैन। दुई वर्षअघि प्री–क्वार्टर फाइनलबाट बाहिरिएको बसेल यो पटक पनि प्री–क्वार्टर फाइनलमा पुगेको छ।