Thursday 3 Poush, 2071 |
Menu

शुक्रबार

ड्रग्सको विनाशमार्ग

  • शुक्रबार १८ श्रावण, २०७०
  • शुक्रवार
  • DISQUS_COMMENTS
(1 Vote)
ड्रग्सको विनाशमार्ग
एक सर्को चुरोटबाट सुरु हुन सक्छ, ड्रग्सको डरलाग्दो दलदलतिरको यात्रा। अभिभावकले छोराछोरी सातआठ कक्षामा पुग्नासाथ सजग भइहाल्नुपर्ने देखिन्छ। हजारौँ नेपाली युवाको भविष्य ड्रग्सले ध्वस्त भएको छ। विशेष बन्ने ध्याउन्न र देखासिकीमा धेरै युवा लागुऔषधको दुर्व्यसनी भएका छन्। नेपाली लागुऔषध प्रयोगकर्ताले वर्षमा ३१ अर्ब रुपैयाँको ड्रग्स किन्ने गरेका छन्। विनाशको यो व्यापार बर्सेनि बढ्दो छ। दुर्व्यसनीलाई सुधार्न खडा भएका पुनःस्थापना केन्द्रहरू व्यापारिक अखडाजस्ता भएका छन्। गोपाल दाहाल र अम्मर जिसीले ड्रग्सको नेपाली दुनियाँको यथार्थ चित्र प्रस्तुत गर्ने प्रयत्न गरेका छन्।
भनिन्छ– सन् १९६० को दशकमा हिप्पीहरूसँगै नेपालमा लागुऔषधको समस्या भित्रिएको हो। उनीहरूले ल्याएका लागुऔषध नेपालीहरूले पनि प्रयोग गर्न सिकेका थिए। नेपालमा लागुऔषधसम्बन्धी पहिलो पटक अनुसन्धान गर्ने फादर ग्याफ्नेका अनुसार नेपालमा सन् १९७८ मा ५० जना लागुऔषध प्रयोगकर्ता थिए। त्यसको तीन वर्षमा प्रयोगकर्ताको संख्या एक हजार पुग्यो। सन् १९८८ मा २५ हजार पुगेका प्रयोगकर्ता २००१ मा आइपुग्दा ४० हजारभन्दा बढी भए। गृह मन्त्रालयले हालै गरेको सर्वेक्षण प्रतिवेदनअनुसार नेपालमा ८५ हजार २ सय ४ पुरुÈ र ६ हजार ३ सय ३० जना महिला गरी लागुऔÈध प्रयोग गर्नेको संख्या ९१ हजार ५ सय ३४ छ। 
कोलर नामका जर्मनीका नेत्र चिकित्सकले सन् १९४८ मा कोकिनको प्रशोधन गरी चिकित्सा क्षेत्रमा प्रयोग गरेका थिए। खानी तथा सुरुङमा काम गर्ने दक्षिण अमेरिकाका कामदार पीडा र खतरा बिर्सिन कोकाको पात चपाएर काममा जाने गर्थे। त्यसो त भारतमा ब्रिटिस उपनिवेश हुँदा ब्रिटिस सैनिक अफिम प्रयोग गर्थे। ब्रिटिसले चीनमा अफिमको व्यापार गरेपछि त्यसविरुद्ध चीनले अफिम युद्ध गरेको थियो। सन् १९३० को दशकमा अमेरिका र युरोपका माफियाले हेरोइनको व्यापार सुरु गरेका थिए। भारत र नेपालमा पहिलेदेखि नै जोगीहरूले गाँजा तान्ने गरेको पाइन्छ। 

लागुऔषधको कारोबार 
सन २००९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सेतो हेरोइनसहित भारतीय नागरिक रविकुमार रंगस्वामी पक्राउ परे। यो हिरोइन भारतीय बजारबाट इन्डोनेसियातर्फ लगिँदै थियो। अन्तर्राष्ट्रिय बजारमा निकै महँगो पर्ने हेरोइनको यति ठूलो परिमाण समातिएको यो पहिलो घटना थियो। ओसारपसारका क्रममा बर्सेनि हजारौँ केजी गाँजा र चरेस बरामद हुँदै आएका छन्। लागुऔषधको बढ्दो करोबारसँगै नेपालमा यसका दुर्व्यसनी पनि बढिरहेका छन्। 

लागुऔषध नियन्त्रण कानुन कार्यान्वयन एकाईले चलाउने गरेका विभिन्न अपरेसनअन्तर्गत पक्राउ पर्ने अधिकांश लागुऔषधका भरियामात्रै हुन्छन्। दुई वर्षअघि पक्राउ परेका देवेन्द्र छपाली मगर लागुऔषधका ठूला कारोबारी थिए। उनले अर्बांै रुपैयाँ बराबरको सम्पत्ति लागुऔषधको कारोबारबाट जोडेका थिए। उनी करिब ३२ बर्षदेखि लागुऔषधको कारोबारमा संलग्न थिए। 

लाघुऔषध कारोबारमा संलग्नले नयाँ–नयाँ तरिका प्रयोग गरिरहेका हुन्छन्। लागुऔषध नियन्त्रण ब्युरोका डिसपी प्रवीण धिताल लागुऔषधको ओसारपसारमा अन्य अपराधमा भन्दा बढी नै नयाँ 'प्रविधि' प्रयोग भइरहेको बताउँछन्। हालसालै नेपालबाट जटासहितको नरिवलभित्र चरेस भरेर कुरियरमार्फत हङकङ पठाउन लागिएको चरेस प्रहरीले बरामद गरेको थियो। अघिल्लो वर्ष ग्यास सिलिन्डरभित्र लुकाएर ल्याएको लागुऔषध बरामद भएको थियो। कारखाना नै बनाएर कुरियरमार्फत निकासी गर्नेहरू पनि पक्राउ परेका छन्। 
लागुऔषध बरामदमा प्रहरीको सक्रियता जति नै भए पनि यसको कारोबारमा कमी आएको छैन। यसको नियन्त्रणमा खटिएका प्रहरी नै यसको पूर्ण रोकथाम असम्भवप्रायः भएको बताउँछन्। प्रहरीका अनुसार आपूर्तिको १० प्रतिशतभन्दा बढी लागुऔषध बरामद गर्न नेपालमात्र होइन, संसारका कुनै पनि देश सफल छैनन्। 

लागु औषध नियन्त्रण ब्युरोमा १३ वर्ष काम गरेका डिआइजी हेमन्त मल्ल ठकुरी लागुऔषध प्रयोगकर्ता नघटाउँदासम्म यसको करोबार नियन्त्रण गर्न नसकिने बताउँछन्। कुनै पनि व्यक्ति कुलतमा फसेपछि त्यसलाई बाहिर निकाल्न मुश्किल पर्ने बताउँदै ठकुरीले भने, 'माग भएपछि त्यो ठाउँमा आपूर्ति कुनै न कुनै रूपमा भइरहन्छ।' लागुऔषधको ओसारपसार र पक्राउको शृंखला हेर्दा मल्लको तर्क सही साबित हुन्छ। मागअनुसारको लागुऔषध नेपाल भित्रिएकै छ। केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालमा बर्सेनि ११ दशमलव ३६ प्रतिशतका दरले दुर्व्यसनी बढिरहेका छन्। 

किन फस्छन् तन्नेरी? 
युवायुवतीमा आफूलाई अरूभन्दा भिन्न देखाउने चाहना बढी नै हुन्छ। के गर्दा अरूभन्दा फरक र 'स्मार्ट' देखिन सकिन्छ भनेर उनीहरू खानपानदेखि गेटअपसम्म विशेष केही गर्न खोजिरहेका हुन्छन्। यही मेसोमा उनीहरू कुलतमा फस्न पुग्छन्। साथीले 'एक सर्को त हो नि तान् न' भन्दै दिएको चुरोटको सर्कोले उनीहरूलाई बिस्तारै कुलतको महासागरमा पुर्याथएको हुन्छ। कुलतमा लागेका अधिकांश साथीसंगतकै कारण आफू बिग्रेको बताउँछन्। ९० प्रतिशत दुर्व्यसनीहरूले साथीका कारण खान सुरु गरेको बताउने गरेका छन् भने ७० प्रतिशतभन्दा बढी दुर्व्यसनीले लागुऔषध प्रयोग गर्ने साथीहरूबाटै प्राप्त गर्दै आएको तथ्यांक छ। 
त्रिवि शिक्षण अस्पतालका मनोरोग विशेषज्ञ डा. सरोज ओझा किशोरावस्थामा देखासिकी गर्ने होडबाजीका कारण तन्नेरीहरू दुर्व्यसनमा फस्दै गएको बताउँछन्। 'कसैले केही राम्रो वा नराम्रो नयाँ काम गर्नेबित्तिकै त्यसकै नक्कल गर्न थालिहाल्छन्,' उनी भन्छन्, 'रहरमा सिकेको त्यही बानी पछि गएर कुलत बन्छ। 'कस्तो हुन्छ चाखिहालौँ न' भन्ने वाक्यबाट सुरु भएको दुर्व्यसनको लत नियन्त्रणबाहिर जान्छ।' 
'आफ्ना छोराछोरीका गतिविधि 'वाच' नगर्ने आमाबाबु पनि उत्तिकै दोषी हुन्छन्,' अर्का मनोचिकित्सक डा. रवि शाक्य भन्छन्, 'दुर्व्यसनमा फस्दै गएको लक्षण थाहा पाउन धेरै समय कुर्नुपर्दैन तर अधिकांश अभिभावक समाजमा अरूले थाहा पाउँछन् कि भनेर आफ्ना छोराछोरीका नराम्रा बानीको ढाकछोप गर्छन्। यसले कुलतलाई झन् विकराल बनाउँछ।' 
डिआइजी हेमन्त मल्ल दुर्व्यसनबाट किशोरकिशोरीलाई जोगाउन सबैभन्दा पहिले अभिभावक नै सचेत हुनुपर्ने सुझाव दिन्छन्। 'आठदेखि १२ कक्षाका किशोरकिशोरीलाई कुलतबाट जोगाउन सकियो भने उनीहरू दुर्व्यसनमा फस्ने 'चान्स' निकै कम हुन्छ,' मल्ल भन्छन्, 'जुन समयममा अभिभावकको निगरानी बढी चाहिन्छ, त्यही बेला केटाकेटीलाई फ्री छोडिदिनाले समास्या बढिरहेको छ।' 
सम्भव छ उपचार 
लागुऔषध प्रयोग गर्नु कानुनअनुसार अपराध हो तर विश्व स्वास्थ्य संगठनले यसलाई रोग भनेको छ। नेपालको कानुनले त लागुऔषध प्रयोगकर्तालाई अनुसन्धानका लागि नै ९० दिनसम्म थुनामा राख्न पाउँछ। यो ज्यानमारालाई भन्दा बढी समय हो।
लागुपदार्थ दुर्व्यसनबाट मुक्ति पाउने उपायबारे राम्रो ज्ञान नभएर पनि कतिपय दुर्व्यसनी तथा अभिभावक समस्यामा छन्। दुर्व्यसनको पनि उपचार छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। लागुपदार्थ सेवनको 'मेडिकल टि्रटमेन्ट' सम्भव छ। 
लागुपदार्थ सेवनकर्ता भएको थाहा पाउनेबित्तिकै कुनै मनोचिकित्सककहाँ लैजानुपर्छ। मनोचिकित्सकले उसको मनोभाव बुझ्ने प्रयास गर्छन्। पहिला दुई हप्ताको छोटो समयका लागि कुनै खास औषधि प्रयोग गर्न दिइन्छ। पछि त्यसको प्रभावबारे बुझेर मनोचिकित्सकले थप उपचार थाल्छन्। 
'लागुपदार्थमा फस्यो भन्ने थाहा पाउनेबित्तिकै उसलाई पुनःस्थापना केन्द्र दौडाइहाल्ने चलन छ,' डा. ओझा भन्छन्, 'त्यसो गर्नु राम्रो समाधान होइन। पुनःस्थापना केन्द्र त उपचार सम्भव नभएपछि उसको बानीबेहोरा परिवर्तन गराउन अन्तिममा लैजाने हो। मेडिकल टि्रटमेन्ट सफल भएपछि धेरैलाई रिहाब सेन्टर जानु नपर्ने पनि हुनसक्छ।' 
सानैदेखि नकारात्मक कुरामा ध्यान दिने, मांसाहारी, रेस्लिङजस्ता खेल मन पराउने, मनोरञ्जन, विलासिता मन पराउने, ढाँट्ने, छल्ने र सानो कुरामा बढी खुसी वा बढी दुःखी हुनेहरू लागुऔषधमा फस्ने लागुऔषध छाडेर सामान्य जीवन बिताइरहेका दिनेश राईको अनुभव छ। उनी आमाबाबुले घरमा कपडा धुँदा गोजीमा चुरोटका ठुटा छन् कि भनेर जाँच्नुपर्ने र स्कुलमा पनि शिक्षकले याद गर्नुपर्ने सुझाव दिन्छन्। भन्छन्, 'सबैभन्दा महŒवपूर्ण कुरा युवाहरूलाई यो खराब हो भन्ने चेतना दिन सक्नुपर्छ। त्यसमा परिवारको सबैभन्दा महŒवपूर्ण हात हुन्छ।'
लागुऔषध नियन्त्रणको क्षेत्रमा १८ वर्षदेखि काम गरिरहेका कमल तिगेला बेरोजगारी, पारिवारिक तनाव, बढी उत्साहजस्ता भावनात्मक विचलनले युवाहरू दुर्व्यसनमा फस्ने गरेको बताउँछन्। फसिसकेपछि शारीरिक, मानसिक, सामाजिक र पारिवारिक समस्या सुरु हुन्छ। यही कारणले ब्रोङ्काइटिस, हेपाटाइटिस बी/सी, एचआइभी एड्ससम्म हुनसक्छ। सुधार केन्द्रहरूमा ९० दिनको उपचार कोर्स हुन्छ। त्यसमा पाँच दिन शारीरिक र ८५ दिन मनोसामाजिक उपचार गरिन्छ। तिगेला भन्छन्, 'भर्खर गाँजा, गोटीसम्म खाने त सुधार केन्द्र नबसे पनि ठीक हुन सक्छन्।'

पैसामात्र असुल्छन् रिहाब सेन्टर 
दुर्व्यसनीलाई सुधार्न पुनःस्थापना केन्द्रमा राखिन्छ। तर, कतिपय अवस्थामा केन्द्रबाट फर्केपछि दुर्व्यसनीको व्यवहार झन् डरलाग्दो हुने गरेको उदाहरण पनि भेटिन्छ। आर्थिक अवस्था राम्रो भएका परिवारका दुर्व्यसनीलाई पुनःस्थापना केन्द्रका नाममा खोलिएका संस्थाले अपहरण शैलीमा लैजाने र विभिन्न प्रकारका यातना दिने गरेका छन्। रिहाब सेन्टरहरूले अभिभावकलाई 'तपार्इंको सन्तान हामीसँग छ, हामी सुधार्छौं तर महिनावारी यति रकम चाहिन्छ' भनेर फिरौती मागेसरह मोटो रकमको बार्गेनिङ गर्ने गरेका छन्। 

पुनःस्थापना केन्द्र चलाउनेहरू अधिकांश पूर्वदुर्व्यसनी नै हुने गरेका छन्। विगतका दिनमा राम्रा टि्रटमेन्ट दिने र उपचार गर्ने पुनःस्थापना केन्द्र भए पनि हाल आएर गल्ली–गल्लीमा संस्थाका रूपमा खोलिएका यस्ता केन्द्रहरूमा अपहरण शैलीमा दुर्व्यसनीलाई ल्याएर यातना दिने गरिएको भेटिन्छ। दुर्व्यसनी बस्ने स्थान पत्ता लगाएर केन्द्रका सञ्चालकलाई खबर दिएबापत खबरीले समेत पाँचदेखि १० हजार रुपैयाँसम्म कमिसन पाउने गरेका छन्। 
रविन खड्का २८ वर्षका भए। उनी २० पटकभन्दा बढी पुनःस्थापना केन्द्रमा बसेर फर्केका छन्। मध्यम वर्गीय परिवारका हुन् उनी। उनका अभिभावकले महिनाको १५ हजार रुपैयाँ बुझाउने गर्थे। 'म पटक–पटक घरबाटै अपहरित हुन्थेँ,' उनी भन्छन्, 'क्लियर भिजन, उपकार नेपाल नामक केन्द्रहरूले कुलत नछुटेको भन्दै मलाई पटक–पटक घरबाटै उठाएर अपहरणको शैलीमा केन्द्र पुर्यावएका थिए। आमा र बहिनीलाई अर्को कोठामा थुनेर ओछ्यानबाट नै लछारपछार गर्दै मलाई जबर्जस्ती लगे उनीहरूले। मरुञ्जेल नपिटे सुधि्रँदैन भनेर दैनिक त्यहाँ पिट्ने पनि गरिन्थ्यो। राम्ररी सुत्न त के राम्ररी टाउको ठड्याउन पनि नमिल्ने कुकुरका लागि बनाइएको बक्सामा सात दिन सात रात राखेका थिए।'

सुविन पनि उपकार नामक पुनःस्थापना केन्द्रमा अपहरण शैलीमै पुर्यासइएका थियो। उनले त्यहाँ थर्ड डिग्रीको यातना पाएका थिए। पुनःस्थापना केन्द्रमा गएर फर्कंदा सुधि्रएर फर्कनुपर्नेमा उनी झन् मानसिक रूपमा विक्षिप्त भएर फर्केका थिए। 

उपत्यकामा सञ्चालित करिब ६० वटा पुनःस्थापना केन्द्रमध्ये मुश्किलले १० प्रतिशत केन्द्रमात्र सही ढंगले सञ्चालन भइरहेको तथ्यांक लागुपदार्थविरुद्ध कार्यरत एक संस्थाको तथ्यांकले देखाएको छ। काठमाडौँभित्र नाम चलेका नार्कोनन् नेपाल, क्लियर भिजन, उपकार नेपाललगायत पुनःस्थापना केन्द्रका नाममा चलेका संस्थाले दुर्व्यसनीलाई यातना दिने गरेको भेटिएको छ। 

केन्द्र दर्ताका लागि न्यूनतम शर्तका रूपमा चार रोपनी जग्गामा केन्द्र स्थापना भएको हुनुपर्ने र ३० जनाभन्दा बढी दुर्व्यसनी राख्न नपाइने नियम छ। तर, जिल्ला प्रशासन कार्यालयमा संस्थाका रूपमा दर्ता गरेर न्यूनतम मापदण्ड नै पूरा नगरी केन्द्रका रूपमा सञ्चालन हुने गरेका छन्। यसरी नेपालमा सञ्चालित ८० प्रतिशतभन्दा बढी केन्द्र नियम विपरीत सञ्चालित छन्। 
कति छन् प्रयोगकर्ता? 
लागुऔषध प्रयोगकर्ताको सख्ंया यति नै छ भनेर किटान गर्न मुश्किल छ। केन्द्रीय तथ्यांक विभागले गत वर्ष प्रकाशित गरेको आँकडाअनुसार नेपालमा एक लाख व्यक्ति कडा खालको लागुऔषध प्रयोगकर्ता छन्। 

कडा खाले लागुऔषध प्रयोगकर्ताको संख्या सानो देखिए पनि उनीहरूले दैनिक प्रयोग गर्न लागुऔषधको परिमाण र खरिद मूल्यको आकार भने निकै ठूलो छ। प्रयोगकर्ताको यकिन संख्या, उनीहरूले दैनिक प्रयोग गर्न डोज र प्रति डोज मूल्यका आधारमा कति मूल्य बराबरको लागुऔषध खपत भइरहेको छ भन्ने निकाल्न सकिन्छ। गृह मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाले तथ्यांक विभागसँग मिलेर गरेको सर्वेक्षणअनुसार नेपाली प्रयोगकर्ताले मात्रै न्यूनतम वार्षिक ३१ अर्ब रुपियाँभन्दा बढीको लागुऔषध खरिद गर्छन्। 

प्रहरीका अनुसार प्रतिडोज इन्जेक्सन सरदर पाँच सय र हेरोइनलाई आठ सय रुपैयाँ पर्छ। लागुऔषको मूल्य हेरफेर भइरहन्छ। दुई वर्षअघिसम्म मुखबाट लिने लागुऔषधकोे प्रतिडोज छ सयदेखि एक हजार रुपैयाँ पर्थ्यो। तर, अहिले बढेर आठदेखि १५ सयसम्म पुगेको छ। यसरी प्रयोगमा ल्याइने कडाखाले लागुऔषधको आयात भारतबाट हुने गरेको छ। नेपालबाट लागुऔषध खरिदकै लागि मात्र बर्सेनि अर्बौं रुपैयाँ विदेश गइरहेको छ। 

प्रयोगकर्ता र कारोबारीलाई कस्तो कारबाही? 
नेपालमा एक सय ग्रामदेखि माथि हेरोइन बोक्नेलाई २० वर्षम्म कैद र २५ लाख रुपैयाँसम्मको जरिवाना गर्न सकिने कानुुनी व्यवस्था छ। तर, सिंगापुरमा सात ग्रामभन्दा बढी हेरोइन बोकेको अवस्थामा गोली हान्न सक्ने अधिकार सुरक्षाकर्मीलाई दिइएको छ। इन्डोनेसिया र मलेसियामा लागुपदार्थ कारोबार गर्नेलाई मृत्युदण्ड दिने व्यवस्था छ। सयौँ वर्ष जेल सजाय सुनाउने देश पनि छन्। थाइल्यान्डमा अहिले पनि ३० वर्षदेखि ५० वर्षसम्मको जेल सजाय भोगिरहेका थुप्रै नेपाली छन्। अन्य देशको तुलनामा नेपालको कानुन फितलो लाग्छ। कतिपय अवस्थामा त अदालतले समेत लागुऔषध ओसारपसारमा संलग्नहरूलाई सफाइ दिने गरेका छन्। 


दुर्व्यसनीका लक्षणः 
• खान मन नगर्ने 
• मरन्च्याँसे देखिने 
• फुङ्ङ उडेको अनुहार 
• आँखा नशालु देखिइने 
• सीधा सूर्यको प्रकाशतिर हेर्न नसक्ने 
• शरीरका विभिन्न भागमा सुईका दागहरू 
• जिउमा जतासुकै पाकेका घाउ हुनु 
• फोहरी बस्ने 
• अल्छी र सुताहा 
• गर्मीमा पनि बाक्लो लुगा लगाउने 
• ओठ सुक्खा हुने 
• एकान्तप्रेमी 
• अरूको कुरा नसुन्ने वा मन नपराउने 
• घरपरिवारको वास्ता नगर्ने 
• बढी खर्चालु हुने 
• साथमा लागुऔषध बोक्ने 
• डढेको नोट, मैनबत्ती, सलाई, झिलझिले कागज साथमा बोक्ने।

(डी विनोद र अञ्जान स्वीकृतिको सहयोगमा) 

दुर्व्यसनीकी आमाको वयान

अष्टमाया महर्जन- मेरो पहिलो सन्तान छोरी जन्मेको केही महिनामै बिती। त्यसपछि तीन छोरा जन्मिए। जेठो छोरो मोटरसाइकल दुर्घटनामा बित्यो। 
मेरा दुई छोरा जाँडरक्सी खान्थे। नेवारी समुदायमा यो सामान्य नै हो। छरछिमेकीले मेरो माइलो छोराले अरू नै के–के जाति खाएको भन्दै कुरा गर्न आउँथे। मैले उल्टै उनीहरूलाई मेरो छोरा त्यस्तो छैन भन्दै झपारेर पठाउँथे। मेरो माइलो छोरा असाध्यै नक्कले थियो। उसलाई चस्मा लगाएर, कपाल मिलाएर, पर्फ्युम लगाएर बाइकमा हिँड्नुपर्थ्याे। एकदिन मैले उसका आँखा असाध्यै लट्ठ परेका देखेँ। सोध्दा 'होइन कि होइन' भन्यो। तर, बिस्तारै मैले थाहा पाउने गरेर नै लागुपदार्थ खाएर आउन थाल्यो। पढाइमा पनि राम्रो उसले त्यसरी खाएर हिँड्छ भनेर सोचेकै थिइनँ। बिबिएस पास गरेको ऊ बैंकमा जागिरे थियो। 

माइलो छोरो त बिग्रि नै हाल्यो, कान्छो छोराले पनि लागुपदार्थ खान थालिसकेको थाहा पाउँदा म छाँगाबाट खसेजस्तो भएँ। कान्छाले त दिनु दुःख दियो। घरका गतिला सामान उडाइहाल्थ्यो। चरेसका थाल, करुवा त छिनको छिनमा गायब हुन्थे। पैसा त कान्छोले कति चोर्योक कति! पैसा माग्दा नदिए झ्यालको सिसा फुटाएर रगतपच्छे भएर बसेको हुन्थ्यो। हस्पिटल लगेर टाँकैटाँका लगाएर पठाइदिन्थ्यो। यति हुँदासम्म पनि मैले बाउलाई छोराहरूको बेहोरा लुकाएकी थिएँ। तर, एकपटक कान्छोले पैसा नदिएको झोँकमा तीन तलाबाट हाम्फालेपछि भने बाउलाई पनि थाहा भयो, छोराहरूको कर्तुत। 

कताकताबाट पुनःस्थापना केन्द्रबारे थाहा पाएपछि हामीले कान्छोलाई केन्द्रमा राखिदिने निर्णय गर्यौँो। अस्ट्रेलिया पठाउन लागेको भन्दै केन्द्रमा पठायौँ। २० वर्ष पनि नकटेको मेरो कान्छो छोरा केन्द्रमा राखे पनि भागेर आइरहन्थ्यो। त्यसपछि बिहे गरेर सुधि्रन्छ कि भनेर उसैले भनेको केटीसँग बिहे गरिदियौँ। बिहेपछि पनि उसलाई पुनःस्थापना केन्द्रमा पठायौँ। आठ पटक ऊ केन्द्रमा बसिसकेको छ। पैसाको त खोलै लाग्यो नि। अहिले भने कान्छो अलिकति सुधि्रएको हो कि जस्तो भा'को छ। जेठोको ताल उस्तै छ। 
आफूलाई मार्न खोज्ने दुश्मनका सन्तानले पनि लागुऔषध नखाऊन्!
ग्ल्यामर जगतमा नयाँ नाम

ग्ल्यामर जगतमा नयाँ नाम

हालसालै सम्पन्न 'मिस पूर्वाञ्चल २०१३' ले नेपाली ग्ल्यामर जगत्लाई नयाँ सुन्दरी दिएको छ- नेहा बजाज। उनी विराटनगरस्थित एक कलेजमा सीए पहिलो वर्षमा अध्ययनरत छिन्। विद्यार्थीबाट एकैपटक 'पब्लिक फिगर' बनेकी नेहाको...

मोदीसँग टेबुलमा बस्नुअघि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बहुप्रतीक्षित नेपाल भ्रमणलाई कसरी उपलब्धिमूलक बनाउने भन्नेमा मुख्य तीन दलका बीच विचारविमर्श जारी छ। भारतसँग यसपटक हुने द्विपक्षीय सम्झौतामा नेपालको हात तल नपरोस् भनेर राजनीतिक तहमा...

बदमासीका ती दिन

बदमासीका ती दिन

एउटा उचाइमा पुगेपछि आफ्नो विगतलाई बडो सुन्दर ढंगले प्रस्तुत गर्नु मानवीय स्वभाव हो। हास्य अभिनेताका रूपमा चर्चित दीपकराज गिरीलाई भने आफ्ना विगतका तीतो र मीठा दुवै सत्य प्यारा छन्। आफ्ना...

पार्टीपिच्छे फरक शहीद

'पुरानो नेपाल'को भित्तेपात्रोमा रातो मसी लगाइएका थुप्रै तिथिमिति नयाँ नेपालको पात्रोमा भेटिन छाडेका छन्। सट्टामा नयाँ–नयाँ मितिका महल रंगाइएका छन्। एउटा दिवस भने यथावत् छ। शहीद दिवस नामको यो मितिको...

स्वर्ग खोज्दै नर्क पुग्नेहरू

स्वर्ग खोज्दै नर्क पुग्नेहरू

धरान- धरानकी मञ्जिला लिम्बू रमाइलो गर्न भनेपछि ज्यानै फाल्न तयार हुन्थिन्। बाबु हङकङ लाहुरे भएकाले उनलाई पैसाको समस्या थिएन। उनको संगत आफूभन्दा जेठा दाइदिदीसँग थियो। उनीहरूले बुङ्बुङ्ती चुरोटको धुवाँ उडाएको देखेपछि...

अपराधीलाई रोल मोडल बनाउने?

अपराधीलाई रोल मोडल बनाउने?

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख पुष्कर कार्कीसँग चरी मारिएको घटनाबारे गरिएको कुराकानी–   दिनेश अधिकारीको घटना के हो? यसभन्दा अगाडि घटनाबारे प्रहरीबाट जे सार्वजनिक भएका छन्, त्यही हो।   भन्नाले? आपराधिक गतिविधिमा सक्रिय व्यक्तिहरू उपत्यकामा सक्रिय...

निराश नीता

निराश नीता

बजार आशलाग्दो नभए पनि ऊर्जावान् नवप्रवेशीका कारण नेपाली फिल्म क्षेत्र जिउँदै छ। फिल्म क्षेत्रमै केही गर्ने उद्देश्यले प्रशस्त ऊर्जा लिएर लागिरहेकी अभिनेत्रीमध्ये नै पर्छिन्, नीता ढुंगाना। त्यही ऊर्जाका कारण एक...

म सबैको किशोर दाइ

म सबैको किशोर दाइ

पुस्तक अंश : मेरो समय किशोर नेपाल चार दशकदेखि पत्रकारिता र साहित्यमा सक्रिय छन्। राजनीतिक विश्लेषणमा पनि उनको दक्खल छ। आइतवार उनको संस्मरणात्मक किताब 'मेरो समय' बजारमा आउँदै छ। त्यही किताबको...