Friday 6 Bhadra, 2071 |
Menu

शुक्रबार

'पुर्जा ढिला छ'

  • आइतबार ३० असार, २०७०
  • शुक्रवार
  • DISQUS_COMMENTS
(0 votes)
'पुर्जा ढिला छ'
मान्छेहरू बेचैन छन्, अशान्त छन्, तनावग्रस्त छन्। आफूलाई नियन्त्रण गर्न नसकेपछि उनीहरू बर्बराउन थाल्छन्, असामान्य व्यवहार देखाउन थाल्छन्। र, उनीहरूलाई समाज बौलाहा, पागल, खुस्केड, क्य्राक, मेन्टल, साइको, आइसी उडेको आदि नामले बोलाउने गर्छ। मानसिक सन्तुलन गुमाएका मान्छेहरूको संख्या डरलाग्दो गरी बढिरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२० मा मानसिक असन्तुलन नम्बर एक रोग हुनेछ। यसपटक नेपालीको मानसिक स्वास्थ्यको खबर लिएकी छिन् संगीता श्रेष्ठले।
काठमाडौँ, डिल्लीबजारमा लगभग ४० वर्ष जतिका एक जना पुरुष कराउँदै हिँडिरहेका हुन्छन्। उनी फर्र अंगे्रजी बोल्छन्। गाली पनि अंग्रेजीमै गर्छन्। नेपाली पनि त्यस्तै राम्रो बोल्छन्। डिल्लीबजारमा उनी आफ्नो घरपरिवारसँगै बस्छन्। उनका छिमेकीका अनुसार उनी धेरै पढ्ने र प्रतिभाशाली विद्यार्थी थिए। अमेरिका पढ्न जाँदा त्यहाँ दुर्घटनामा परेपछि उनको दिमागी सन्तुलन बिग्रेको हो। उनलाई अमेरिकाबाट नेपाल फर्काइयो। त्यतिबेलादेखि उनको अवस्था यस्तै छ।
पुतलीसडकमा एक जना पुरुष जति बेला पनि हात हल्लाउँदै बस्छन्। शंकरदेव क्याम्पस नजिक एक महिला अनुहारमा रातो रङ पोतेर गीत गाउँदै बस्छिन्। घण्टाघरतिर एक पुरुष सलाईका खोस्टादेखि पसलेले फालेका कार्टुनको भारी पिठ्यूँमा बोकेर हिँड्छन् भने चाबहिलमा एक जना महिला यताउता हिँडिरहेका पुरुषहरूलाई जिस्काउँदै बस्छिन्। यस्ता खाले दृश्य काठमाडौँ तथा शहरबजारमा धेरै देखिन थालेका छन्। विक्षिप्त महिला र पुरुष बजारमा निकै भेटिन्छन् आजभोलि।
हाम्रो समाजमा यस्ता व्यक्तिका लागि बौलाहा, पागल, खुस्केड, पुर्जा ढिला भएको, दिमाग खुस्केको, आइसी उडेको, साइको, क्य्राक, मेन्टल आदि अपमानजनक संज्ञा प्रयोग गरिन्छन्। मानव अधिकारवादीहरू यस्ता शब्दको प्रयोग गर्नुलाई मानव अधिकारको हनन मान्छन्। त्यसैले चिकित्सा विज्ञानको भाषामा उनीहरूलाई मानसिक सन्तुलन गुमाएका महिला वा पुरुष भन्ने गरिन्छ। दिमागले काम गर्न छाडेपछि मानिसले मानसिक सन्तुलन गुमाउँछ। आफूमा नियन्त्रण नभएपछि मानिस घरबाट भाग्ने, जंगलतिर जाने, सडकमा विक्षिप्त अवस्थामा घुम्ने, आत्महत्याको प्रयास गर्ने वा कतिपयले आत्महत्या पनि गर्ने गर्छन्। मानसिक सन्तुलन गुमाउने व्यक्तिले सुरुआतमा एकोहोरो टोलाउने, अरूले सुन्दै नसुनेको आवाज सुन्ने, हरेक कुरामा भ्रमपूर्ण सोचाइ राख्नेजस्ता क्रियाकलाप गर्ने बताउँछन्, काठमाडौँ मोडल हस्पिटलका वरिष्ठ मनोचिकित्सक कपिलदेव उपाध्याय। 
त्रिवि शिक्षण अस्पतालका सहप्राध्यापक डा. सरोजप्रसाद वझाका अनुसार बाल्यावस्था, युवावस्था वा वृद्धावस्था जुनसुकै उमेरमा पनि मानिसले मानसिक सन्तुलन गुमाउन सक्छ। तर, बाल्यावस्थादेखि मानसिक असन्तुलनका लक्षण देखिए पनि यसको सुरुआत भने टिनएजपछि मात्र हुने उनी बताउँछन्। 'पन्ध्र वर्षको उमेरपछि मस्तिष्कको विकास हुने भएकाले टिनएजमा यो समस्या बढी बल्भि्कन्छ,' उनी भन्छन्। 
विश्व स्वास्थ्य संगठनले विश्वभरि अस्पतालमा आउनेमध्ये २० प्रतिशतलाई मानसिक स्वास्थ्यको समस्या देखिने बताएको छ। कुल जनसंख्याको तीन प्रतिशतलाई मानसिक रोग लाग्ने गरेको देखिएको छ। नेपाल पनि यही हाराहारीमा छ। स्वास्थ्य सेवा विभागको १० वर्षे तथ्यांकअनुसार सन् २००१ मा १२ हजार रहेको मानसिक रोगीको संख्या सन् २०१० मा ३६ हजार पुगेको थियो।
एक अध्ययनअनुसार कम्तीमा १० नेपालीमध्ये एक नेपाली कुनै न कुनै मानसिक रोगको चपेटामा परेको देखिन्छ। मुख्य रूपमा डिप्रेसन, चिन्ता, फोबिया, बाइपोलर डिसअर्डर, स्ट्रेस, मानसिक थकान, यौन समस्या, लागुऔÈध दुर्व्यसन तथा सिजोफ्रेनिया आदिबाट नेपालीहरू पीडित छन्। माओवादी सशस्त्र द्वन्द्वका कारण पोस्टट्रमाटिक स्ट्रेस डिसअर्डर (पिटिएसडी) का रोगीको संख्या पनि धेरै छ।
चिकित्सा विज्ञानले 'यही कारणले मानसिक सन्तुलन बिग्रेको हो' भन्न सक्ने अवस्था नभए पनि साधारणतया आनुवंशिक, जैविक, रासायनिक, मनोसामाजिक, मद्यपान तथा लागुऔÈध दुर्व्यसन, दीर्घ र जटिल रोगका कारण मानसिक रोग लाग्ने गर्छ। अभिभावक मानसिक रोगी छ भने बच्चा त्यस्तै वातावरणमा हुर्किन्छ। 'म पनि पागल हुन्छु कि?' भन्ने डरबाट छोराछोरी त्रसित हुन्छन्। त्यही भयले पनि उनीहरूलाई मानसिक रोगी बनाउन सक्ने बताउँछन्, डा. कपिल। भन्छन्, 'अभिभावकलाई छ भन्दैमा सबैलाई हुने होइन तर १० देखि १५ प्रतिशतसम्ममा हुने सम्भावना रहन्छ।' पढाइमा राम्रो गर्न नसक्दा, प्रेममा धोका पाउँदा, करिअरमा असफल हुँदा, बेरोजगार हुँदा, रक्सी वा ड्रग्सको सेवनले मानसिक असन्तुलन हुनेको संख्या बढ्दै गएको मनोचिकित्सकहरू बताउँछन्।
भ्रमको जालो, बदनामीको डर
म शब्दलाई देख्दछु! 
दृश्यलाई सुन्दछु!
बास्नालाई स्वाद लिन्छु!
आकाशभन्दा पातला कुरालाई छुन्छु!
ती कुरा
जसको अस्तित्व लोक मान्दैन 
जसको आकार संसार जान्दैन!
महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने झैँ मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई जे भ्रम हुन्छ, उसका लागि त्यही नै सत्य हुन्छ। ऊ त्यसमै बाँच्न चाहने बताउँछन्, डा. कपिल। भन्छन्, 'मानसिक रोगीले आफूलाई बिरामी ठान्दैन। रोगी नभएको भ्रम भएकाले ऊ आफ्नो उपचार गराउन पनि चाहँदैन।' 
हाम्रो समाजमा अहिले पनि मानसिक रोगलाई भूतप्रेत, पूर्वजन्मको पाप, टुनामुना तथा ग्रहदशाका कारण भएको मानिन्छ। नेपाली समाजमा त झन् मानसिक रोग लुकाउने–छिपाउने प्रवृत्ति विद्यमान छ। लोकलाजका कारण घरपरिवारले पनि मानसिक असन्तुलन भएको कुरा लुकाउने गर्छन्। तर, रोगलाई लुकाउँदा रोग झन् बढेर जाने बताउँछन्, डा. कपिल उपाध्याय। 'मानसिक समस्या भएका बिरामीले लगातार औषधि सेवन गरेमा समस्या समाधान हुन्छ। त्यसैले रोगका लुकाउनुभन्दा उपचार गर्नु जाति,' उनी भन्छन्। 
प्रेममा पागल
बुटवलका २९ वर्षीय विपिन शर्मा विगत छ महिनादेखि लखनखेलस्थित मानसिक अस्पतालको एउटा सानो कोठामा एक्लै बर्बराइरहेका छन्। अस्पतालको त्यो कोठामा उनी अधिकांश समय एक जना केटीको नाम लिइरहेका हुन्छन्। केटीको नाम लिँदै कहिले एक्लै हाँस्छन्, कहिले निन्याउरो अनुहार बनाउँछन्। केटीको नाम कहिले भुइँमा त कहिले भित्तामा हातका औँलाले लेख्दै, मेटाउँदै गर्छन्। उनी मानसिक अस्पताल पुग्नुकोे कारण थियो– पाँच वर्षे प्रेम सम्बन्ध टुट्नु। अस्पतालका चिकित्सकका अनुसार उनलाई मानसिक समस्या साइकोसिस भएको छ। चिकित्सकहरूले आफन्तबाट लिएको जानकारीअनुसार विपिनले माया गर्ने बुटवलकै शारदाले पाँच वर्षे लामो प्रेम सम्बन्धलाई छोडेर अर्कै केटासँग विवाह गरेपछि उनले एकाएक फरक व्यवहार देखाउन थालेका थिए। 
अस्पतालका निर्देशक डा. सुरेन्द्र शेरचनका अनुसार साइकोसिसको समस्या भएको व्यक्तिको दिमागमा कुनै एउटा कुरा गहिरोसँग गडेको हुन्छ। विपिनलाई पनि त्यस्तै भएको उनको अनुमान छ। 

मानसिक अस्पतालमै केही हप्ताअगाडि मात्र सबनम नाम गरेकी एक जना २३ वर्षीया युवतीलाई उपचारका लागि ल्याइएको छ। डिप्रेसनबाट ग्रसित भएपछि आफन्तले उनलाई उपचारका लागि अस्पतालमा ल्याएका हुन्। उनको समस्याको जड पनि प्रेम नै हो। काठमाडौँ निवासी ती युवती तीन वर्षदेखि एक पुरुषसँगको प्रेम सम्बन्धमा थिइन्। डेढ वर्षअघि अस्ट्रेलियामा अध्ययनका लागि गएका सबनमका प्रेमीले अस्ट्रेलियाबाट सुरुसुरुमा फोन गर्ने गरे पनि केही समयपछि वास्ता गर्न छाडे। आफ्नो प्रेमीले फोन पनि नगर्ने, सामाजिक सञ्जालबाट समेत हटाएको, यताबाट फोन गरे पनि हत्तपत्त नउठाउने र उठाइहाले पनि बारम्बार फोनमा गाली गर्ने, आफू अर्कैसँग प्रेममा परेको बताउने गरेपछि सबनम डिप्रेस्ड भएकी हुन्। उनले दुई पटक ब्लेडले नाडी काट्ने प्रयास पनि गरिसकेकी छिन्। औषधि उपचारपछि उनको स्वास्थ्यमा केही सुधार आएको छ।
लगनखेलस्थित मानसिक अस्पतालमा विपिन र सबनमजस्तै प्रेममा 'पागल' भएर उपचार गराउन आउनेको संख्या दिनहुँ बढ्दै गएको छ। मन मस्तिष्क र सम्पूर्ण जीवन नै आफ्ना प्रेमीलाई दिएका ती 'पागल' प्रेमीका कथा लगभग उस्तै छन्। अस्पतालमा भर्ना गरिएका र जटिल समस्या भोगिरहेका तथा भर्ना गर्नुपर्ने अवस्थामा पुगेका 'पागल' प्रेमीहरूको अवस्था छोटो समयसम्म देखिने मानसिक समस्याका बिरामीको तुलनामा निकै दयनीय छ। उनीहरू परिवारका लागि पीडा भएका छन्। मानसिक समस्या लिएर अस्पतालमा आउनेमा अविवाहितभन्दा विवाहितको संख्या बढी भएको अस्पतालका निर्देशक डा. शेरचन बताउँछन्। 
चिकित्सकका अनुसार विपिनलाई भएको 'साइकोसिस' कडा मानसिक रोग हो। साइकोसिसलाई बोलिचालीको भाषामा पागलपन पनि भन्ने गरिन्छ। यस्ता रोग लागेकाले सामाजिक परिप्रेक्ष्यमा अमिल्दो व्यवहार गर्ने, कुराकानीमा पनि गडबडी भेटिने, आफू के गरिरहेछु र के बोलिरहको छु भन्ने थाहा नहुने, कुनै एउटा कुरा दिमागमा गढेको छ भने त्यही कुरालाई व्यवहारमा उतार्ने, कुनै आधारबिना गलत विश्वासमा अडिग रहने, बाहिर आवाज नआईकन आवाज सुन्ने, नभएको कुरा देख्ने, लक्ष्यहीन तथा दिशाहीन क्रियाकलाप गर्ने, अर्थहीन बोलिरहने, एउटै कुरामा एकोहोरो लागिरहने, एउटै व्यवहार देखाइरहने लगायत व्यवहार देखाउने चिकित्सक बताउँछन्।
सबनमलाई भएको डिप्रेसनको समस्या भने अधिकांशमा देखिने समस्या हो। डिप्रेसनमा मानिस उदास हुने, सोचिरहने, कुरा खेलाइरहने जस्ता समस्या देखिन्छ। चिकित्सकका अनुसार डिप्रेसनमा मन ज्यादै दुःखी हुनु, कुनै कुरामा रुचि नहुनु, थकाइ बढी लागेको अनुभूति हुनु, मनमा नकारात्मक कुरा मात्र बढी आउनु, भोक र निद्रा पनि गडबडी हुने हुन्छ। निर्देशक शेरचनका अनुसार पछिल्लो समयमा अस्पतालमा डिप्रेसनका बिरामीको संख्या ह्वात्तै वृद्धि भएको छ। डिप्रेसनका बिरामीमा आत्मविश्वास पनि कम हुने, पश्चात्ताप लाग्ने र मनमा छटपटी हुने गरेको उनको भनाइ छ। डिप्रेसनको समस्या लिएर आउने अधिकांश युवायुवतीमा प्रेमको असफलता, वैवाहिक जीवनमा मनमुटाव, बेरोजगारी, मनमा चोट परेका, बढी महŒवकांक्षालगायत कारण रहेका छन्। चिकित्सकका अनुसार डिप्रेसनको समस्याले सताएका बिरामीलाई क्रमिक रूपले जिन्दगी नै बेकार भएजस्तो लाग्ने र त्यसपछि आफ्नो 'काल आइदिए हुन्थ्यो' जस्तो लाग्ने पनि हुन जान्छ। रोगको तीव्रता बढ्दै गएमा मर्ने चाहना उत्पन्न हुन थाल्छ र चरम सीमा आत्महत्यासम्म पुग्न सक्छ। पछिल्ला समयमा प्रेमका कारण आत्महत्या बढ्नुको कारण पनि डिप्रेसनको समयमा नै उपचार नहुँदा भएको चिकित्सकहरूको भनाइ छ।

विदेशमा गुम्यो सन्तुलन 

घरेलु कामदारका रूपमा कुवेत पुगेकी सिन्धुपाल्चोक, स्याउलेकी २२ वर्षीया सम्झना तामाङ केही महिनाअघि मानसिक सन्तुलन गुमाएर घर फर्किइन्। पौरखी नेपाल नामक संस्थाले उनलाई त्रिभुवन विमानस्थलबाट उद्धार गरी उपचारमा राखेको थियो। बर्बराइरहने सम्झना कहिले होसमा हुन्थिन्, कहिले बेहोसीमा। उनको उपचारमा संलग्न डा. शिखरबहादुर स्वाँरले उनलाई गहिरो मानसिक रोग भएको बताएका थिए। यहाँ आउनासाथ अरेबियन, नेपाली र तामाङ भाषामा उनले केही बेर कुरा गरेकी थिइन्। आफूले यातना पाएको उनले बताएकी थिइन्। चिकित्सकहरूले शारीरिक र मानसिक यातनाका कारण उनको यो अवस्था भएको बताएका थिए। 
भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा साउदी अरब पुगेकी अनिता चौधरी मानसिक सन्तुलन गुमाएर नेपाल फर्किएकी थिइन्। पाँच महिनामै नेपाल फर्किएकी उनी अहिले मानसिक रोगको उपचार गराइरहेकी छिन्। नवलपरासी धर्कैया–७ की चौधरीलाई एनआरएन साउदी अरबले सहयोग गरी नेपाल फर्काएको थियो। 
कतार, साउदी अरब, कुवेत, युएई, लेबनान, बहराइनलगायत मुलुकबाट उद्धार गरेर ल्याइएका २ हजार ८ सय २२ जना नेपाली महिलामा ४ सय १५ जनाले मानसिक सन्तुलन गुमाएका थिए। 
सामान्यतया रोजगारीका क्रममा यातना सहनुपर्ने, कडा काम गर्न नसक्ने भएपछि महिलाहरूले मानसिक सन्तुलन गुमाउने गरेको घटनाहरूले पुष्टि गरेका छन्।
चितवन भण्डारा–२ का तिलक थापाले मानसिक सन्तुलन गुमाएर २०६७ सालमा लेबनानबाट फर्केकी पत्नी विनिताको उपचारमा धेरै ऋण बोकेका थिए। त्यसबेला उनी निकै पीडामा थिए। वैदेशिक रोजगारमा गएर विभिन्न रोग र मानसिक सन्तुलन गुमाएर फर्किनेहरूको आधिकारिक तथ्यांक सरकारी निकायले राखेको छैन। 
पछिल्लो समय इपिएस प्रणालीबाट दक्षिण कोरियामा काम गर्न पुगेकाहरूमध्ये केहीले मानसिक सन्तुलन गुमाउन थालेका छन्। कामको चापका कारण नेपालीहरूले मानसिक सन्तुलन गुमाउन थालेको बताइएको छ। 
(फिचरमा उल्लेखित मानसिक रोगीका नाम परिवर्तन गरिएका छन्। प्रवीण ढकाल, अम्मर जिसी र डी विनोदको सहयोगमा)

'मानसिक रोगीलाई हेला गर्नु अपराध हो'

डा. रवि शाक्य 
मानसिक विभाग प्रमुख, पाटन अस्पताल 
विश्वमा मानसिक रोगीहरूको संख्या बढ्दो छ। विश्व स्वास्थ्य संगठनका अनुसार करिब १५ प्रतिशत मानिस कुनै न कुनै प्रकारको मानसिक समस्याबाट पीडित छन्। मानसिक रोगलाई 'मनोरोग' भनिन्छ। मनोरोग अन्तर्गत अति सामान्य समस्या 'टेन्सन हेड्याक' देखि अति कडा रोग सिजोफ्रेनियासम्म पर्छन्। विश्वमा करिब ५० करोड मानिस कुनै न कुनै प्रकारको मनोरोगबाट पीडित छन्। विश्वका १० खतरनाक रोगमध्ये मानसिक रोग दुई नम्बरमा पर्छ। सन् २०२० सम्ममा यो रोग पहिलो नम्बरमा पर्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ। डिप्रेसन, मेनिया, सिजोफ्रेनिया, दुर्व्यसनी र डिमेन्सिया कडा खालका मानसिक रोग हुन्। डिप्रेसन रोग सबैभन्दा बढी पाइने मनोरोग हो। 
सामान्य खालका मनोवैज्ञानिक समस्या २५ देखि ३० प्रतिशतसम्म मानिसको जीवनमा विभिन्न समयमा पाइन्छ। खासगरी समस्यासँग जुध्न नसक्दा मानसिक रोग लाग्न पुग्छ। तर, वंशानुगत रूपमा पनि मानसिक रोग लाग्ने सम्भावना देखिन्छ। मेहनत गर्न नछोड्ने, अनावश्यक कुरामा बारम्बार एकोहोरो नसोच्ने, लागुपदार्थ सेवन नगर्ने, मनमा रहेको समस्या अरूलाई बा“ड्ने गर्नाले मानसिक रोग लाग्ने सम्भावना कम भएर जान्छ।
सामान्य खालका मानसिक रोगमा डर लागिरहने, मुटु ढुकढुक गर्ने, हात हल्लने, टाउको दुख्ने, अचानक डराउने आदि पर्छन्। औÈधि सेवन र साइकोथेरापी गरेपछि यस्ता रोग निको हुन्छन्। अचानक हातखुट्ट नचल्ने, सास फेर्न गाह्रो हुने, उल्टो कुरा गर्ने, काम्ने आदि लक्षण भएमा त्यसलाई कन्भर्सन डिसोसिएटिभ डिसअर्डर भनिन्छ। यो पनि सामान्य मानसिक रोग हो। 

डिप्रेसन मध्यम खालको मानसिक रोग हो। यो रोगका बिरामी निराश हुने, दिक्क हुने, बारम्बार रुने गर्न सक्छन्। हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने पनि हुन्छ उनीहरूलाई। डिप्रेसनका कतिपय बिरामीले आत्महत्यासम्म गर्न पुग्छन्। यो उपचार गरे निको हुने रोग हो।
लागुऔÈध र रक्सीका कारण पनि मानसिक समस्या देखा पर्छन्। बढी रक्सी सेवन गर्ने व्यक्तिमा छारे रोग लाग्न सक्छ। छारे रोग पनि मध्यम खालको मानसिक रोग हो। यो रोग लागेमा लामो समयसम्म औÈधि सेवन गर्नुपर्छ। सुस्त मनस्थिति पनि मध्यम खालको मानसिक रोग हो। उपयुक्त उपचार पाए यसको बिरामी निको हुन सक्छ। 
बाइपोलर इफेक्टिभ डिसअर्डर कडा खालको मानसिक रोग हो। यो पटक–पटक दोहोरिने भएकाले यसलाई मनोचिकित्सकहरू पटके रोग पनि भन्छन्। 
सिजोफ्रेनिया पनि कडा खालको मानसिक रोग हो। यो यस्तो रोग हो जसमा बिरामीलाई आफू बिरामी भएको थाहा हु“दैन। बिरामी एक्लै बस्दा कानमा आवाज आउ“छ। ऊ अरूलाई शंका गर्न थाल्छ। साथीभाइको संगत छाड्छ र एक्लै बस्न रुचाउँछ। दैनिक काममा ध्यान दिँदैन। सफासुग्घर गर्न छाड्छ। घरबाट भाग्छ। 
यीबाहेक पनि मानिसक रोगका थुप्रै प्रकार हुन्छन्। मानसिक रोगी थरी–थरीका हुन्छन्। जसले रुल र रेगुलेसन मान्दै–मान्दैन र तोड्नुपर्छ मात्र भनिरहन्छ, ऊ पनि मानसिक रोगी हो। 
मानसिक रोगीलाई हेला गर्नु, असम्मान गर्नु अपराध हो। अमानवीय काम हो। 
(कुराकानीमा अधारित)

दाइजोका लोभीहरू 'जोइल' जान्छन्!

भाषा मानवको सम्पत्ति र परिचय भएकाले यसमा मानवीय परम्परा अन्तर्निहित हुन्छ। भारततिर विवाहिता महिलाहरू पनि 'ससुराल' जान्छन्। किनभने भारतमा पुरुषहरूले महिलालाई सम्पत्तिमा अधिकार दिएका रहेनछन्। यो कुरा 'ससुराल' शब्दबाट सहजतापूर्वक...

बर्थडेमा विदेशबाट केक

बर्थडेमा विदेशबाट केक

कार्यक्रम सञ्चालिकाबाट लोकगायनमा प्रवेश गरेकी सुनिता दुलालले अघिल्लो हप्ता मात्रै चौधौं गीति संग्रह 'मायालाई के दिऊँ म' बजारमा ल्याएकी छिन्। मायाप्रेमका रमाइला गीत गाउने उनीसँग उनको प्रेमजीवनमै केन्द्रित भएर धनबहादुर...

किशोर कुमारका किस्सा

किशोर कुमारका किस्सा

गायक, संगीतकार, अभिनेता, निर्माता र लेखक किशोर कुमारका अनेक रूप थिए। गायक र अभिनेताका रूपमा उनी बढी चर्चित थिए। संगीतको तालिमबिना नै बलिउड संगीतमा उनले आफ्नो छुट्टै पहिचान बनाए। हालै...

घरसँग बार जोड्ने कहिले?

घरसँग बार जोड्ने कहिले?

चर्चित हास्यअभिनेत्री दीपाश्री निरौलाले घर जोडेकी छिन्। 'नेपालमा कलाकारितामा लागेर केही छैन' भन्नेका लागि मेहनतको फल पाइन्छ भन्ने उदाहरण पनि हो यो। लामो समय भाडाको घरमा बिताएकी उनी शुक्रवारदेखि आफ्नै...

दुब्लाएको दसैँ !

'लाहुरे दाइ आए। क्यानाम, दो महिनेके छुट्टी मनानेके लिए!' दिल्ली नदेखेको र लाहुर नटेकेको भए पनि लामो समय हराएर फर्किएका सिल्लीलाई समेत लाहुरे भन्ने चलन थियो। फुली पनि नपाएर बुच्ची...

खुश्‍बुको एक्सन गर्ने रहर

अचेल अभिनेत्री खुश्बु खड्का नियमित किक/बक्सिङ सिकिरहेकी भेटिन्छिन्। पूर्व खेलाडीसमेत रहेकी उनलाई फेरि त्यतैतिर लाग्ने रहर जागेको भने होइन।

भिड्न तयार नेहा (साथमा फोटो फिचर)

भिड्न तयार नेहा (साथमा फोटो फिचर)

टेलिफिल्म 'आफन्त'मार्फत ग्ल्यामरको रंगिन दुनियाँसँग जोडिन पुगेकी नेहा अचार्य यो क्षेत्रमा आफन्त नभएकै कारण पछि परेको गुनासो गर्छिन्। उनी भन्छिन्, 'आफ्नो मान्छे भएन भने त कामै नपाइँदो रहेछ।' सानैदेखिको रहर...

'यौनप्यासी' सुमिना

'यौनप्यासी' सुमिना

फिल्म 'दुलही'मा घुम्टो ओढेर फिल्म क्षेत्रमा भित्रिएकी सुमिना घिमिरेको पहिरन उतार्ने क्रम जारी छ। यसअघि फिल्म 'नाइन ओ क्लक'मा बोल्ड रूपमा प्रस्तुत भएकी उनी फिल्म 'लभ फरेभर' मा झन् बोल्ड...