Wednesday 4 Bhadra, 2071 |
Menu

गाउँ पस्दै सहरका ठिटा

  • ८ भाद्र, २०७०
  • स्वरूप आचार्य
  • DISQUS_COMMENTS
(0 votes)
गाउँ पस्दै सहरका ठिटा
काठमाडौं  - यो अभियानको सुरुवात झन्डै सात वर्षअघि भएको हो। शिशिर खनाल र स्वस्तिका श्रेष्ठ अमेरिकाको विस्कनसिन विश्वविद्यालयमा पढ्थे। पढाइकै सिलसिलामा माया बस्यो। उनीहरू एकअर्कासँग गाँसिए। र, सँगसँगै गाँसिए, 'सर्वोदय श्रमदान' नामक अन्तर्राष्ट्रिय अभियानसँग।

महात्मा गान्धीको सिद्धान्तमा आधारित सर्वोदय श्रमदान शिशिर र स्वस्तिकालाई यति जच्यो, उनीहरूको मुटुमै टाँस्सिएर नेपालसम्मै आइपुग्यो।
उनीहरूले त्यसैको नेपाली संस्करण सुरु गरे– सर्वोदय श्रमदान नेपाल।
दुवै गाउँ–गाउँ जान्थे। गाउँलेहरूसँगै उठबस गर्थे। जानेबुझेको सिकाउँथे। थाहा नपाएको आफैं सिक्थे। एउटा खुला विश्वविद्यालयजस्तै भए ती भ्रमणहरू। भर्खर उड्न सिकेको चराले खुला आकासमा पखेटा फिँजाएजस्तै।
सोध्नेहरू त सोध्थे, फिरन्ते हुँदै उकाली–ओराली गरेर के पाउँछौ? खुरुक्क अमेरिकामै नबसेर के दुःख बिसाउन नेपाल आएका तिमीहरू?
उनीहरू चुप्पै रहन्थे।
जवाफ मनभरि थियो– यो उकाली–ओरालीले हाम्रो आँत रसाउँछ। र, त्यही पसिनाले पूरा ज्यान रसिलो भएर आउँछ। शीतल भएर आउँछ। अमेरिकामा आराम त प्रशस्तै पाइन्थ्यो होला, तर सन्तोक हामीलाई यही उकाली–ओरालीले दिएको छ। त्यहाँ हामीजस्ता लाख छन्, यहाँ हामी नै लाख बराबर हुन सक्छौं।
भित्रैदेखि निस्केको यही 'आत्माको आवाज'ले उनीहरूलाई आजसम्मै डोर्‍याइरहेको छ।
यही क्रममा एकदिन ‘टिच फर अमेरिका’ भन्ने कार्यक्रमबारे उनीहरूले थाहा पाए। सहरमा राम्रो शिक्षा पाएका युवाले दुर्गम गाउँ गएर पढाउने यो कार्यक्रमले फेरि एकचोटि उनीहरूलाई भित्रैदेखि हल्लाइदियो। सहरमा पढेलेखेकाहरू स्वयंसेवक भएर गाउँ जान र उतैका स्कुलमा पढाउन राजी भए नेपाली शिक्षा क्षेत्रको कायाकल्प हुनसक्छ भन्ने विश्वास जागेर आयो।
सर्वोदय श्रमदानमा लाग्दालाग्दै जागेको स्वयंसेवाको तिर्खाले नयाँ सागर खोजिसकेको थियो।
अगस्ट, २०१२।
शिशिर, ३४ र स्वस्तिका, ३२ को जोडीले नयाँ कार्यक्रम घोषणा गर्‍यो– टिच फर नेपाल।
'टिच फर नेपाल (टिएफएन) को उद्देश्य नेपालका उच्चशिक्षा प्राप्त युवाहरूलाई कम्तिमा दुई वर्ष विकट गाउँका स्कुलमा पढाउन पठाउने हो,' त्रिपुरेश्वरस्थित अफिसमा आफ्नो सपनाको गाँठो फुकाउँदै शिशिर भन्छन्, 'गाउँ पुगेका युवाले त्यहाँको शैक्षिक गुणस्तरमा मात्र सुधार ल्याउँदैन, सामाजिक परिवर्तनमा पनि योगदान गर्न सक्छ।'
'ठुल्ठूला भाषणले मात्र केही हुन्न, हामीजस्ता शिक्षित युवाहरूको सानो प्रयासले नै नेपाली समाजबाट शिक्षाको विभेद अन्त्य गर्नसक्छ।'
...

जंगलमा डढेलो लाग्न सलाइको एउटै काँटी भए पुग्छ। परिवर्तनको सुरुवात पनि एकजनाबाटै हुन्छ।
कोही त्यस्तो एकजना, जो आफ्नो आँखा अगाडिको बेथिति टुलुटुलु हेरेर बस्न सक्दैन। जो सपना देख्ने आँट गर्छ। सपनाको बाटोमा आउने काँडाहरू पन्छाउन अघि सर्छ।
र, जो जिम्मेवारी बोध गर्छ, समाज बदल्ने।
शिशिर र स्वस्तिकाले पनि जुन बाटो आफ्नो निम्ति रोजेका थिए, शैक्षिक परिवर्तनको जुन सपना देखेका थिए र शैक्षिक बेथिति बदल्ने जुन जिम्मेवारीबोध गरेका थिए, आज त्यही अभियानमा दर्जनौं युवा जोडिन आइपुगेका छन्।
र, नयाँ इँटा थप्दैछन्।
टिफएन अभियानअन्तर्गत ३२ जना युवा हालै ललितपुरका विकट गाउँ छिरे, त्यहाँका रुग्ण स्कुलमा आफ्नो ज्ञान छर्न। त्यसमा ११ जना महिला छन्।

प्रवीण निरौला, उमेर ३० वर्ष।
ओलखढुंगामा जन्मिएका प्रवीणको प्रारम्भिक शिक्षा इनरुवामा भयो। उनी कक्षा १ सकेर आमाबुवाको हात समात्दै काठमाडौंतिर डोरिए। यतै पढे। यतै हुर्के।
'परिवारको इच्छाअनुसार' साइन्स पढे। इन्जिनियरिङ गर्न पुल्चोक क्याम्पस भर्ना भए। सिभिल इन्जिनियरिङ सकेपछि राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को ग्रामीण ऊर्जा प्रबर्द्धन परियोजनामा जागिर खान थाले।
दुई वर्ष युएनडिपीमै बित्यो। उनलाई नपुग्दो केही थिएन, तैपनि लाग्थ्यो मनको कुनै कुना रित्तो छ। त्यही रित्तोपन भर्न विदेश जाने योजना बनाए। टोफल दिए। जिआरई पास गरे। अगाडिको बाटो उनी प्रस्ट देखिरहेका थिए, तर गन्तव्यमा आँखा परिरहेको थिएन। निकै दिन भुट्भुटिरहे। विदेश बसाइबाट पनि मन तृप्त होला भन्ने उनले पत्याउनै सकेनन्।
बल्ल निष्कर्षमा पुगे — 'मेरो खाँचो विदेशलाई होइन, नेपाललाई नै छ।'
उनलाई गाउँमा गएर पढाउने इच्छा जाग्यो। त्यही भएर गाउँगाउँ घुम्ने र त्यहाँका स्कुलमा पढाउने 'ट्रेक टु टिच' नामक कार्यक्रमसँग जोडिन पुगे। यसको सदस्यता लिएका मात्र थिए, उनलाई ‘टिच फर नेपाल’ले आकर्षित गर्‍यो।
उनी अहिले ललितपुरको लेले, टिकाभैरवस्थित बुद्ध माध्यमिक विद्यालयमा पढाइरहेका छन्।
'इन्जिनियर पढेको छोरो गाउँमा पढाउन जानेभन्दा सुरुमा त आमाबुवाले नाक खुम्च्याउनुभयो,' उनी भन्छन्, 'अहिले म यसमा रमाएको देखेर उहाँहरू खुसी हुनुहुन्छ।'

रामआशिष चौधरी, उमेर २८ वर्ष।
महोत्तरीका रामआशिषले पहाडी गाउँ कहिल्यै देखेका थिएनन्। चारैतिर हरियोपरियो, उकाली–ओराली र शान्त–सुन्दर पहाडी गाउँको तस्बिर उनले टेलिभिजनमा मात्रै देखेका थिए।
बिजलपुरा गाउँमा जन्मे–हुर्केका उनी एसएलसीपछि क्याम्पस पढ्न जनकपुर आए। श्री रामस्वरुप सागर बहुमुखी क्यामपसबाट अंग्रेजीमा स्नातकोत्तर गरे। उनलाई सुरुदेखि समाज बदल्ने रनाहा थियो। गाउँमै छँदा बरालिएर हिँडेका युवालाई एकीकृत गर्न आफ्नै पहलमा ‘शान्ति र विकासका लागि युवा सञ्जाल’ गठन गरेका थिए। यो संस्थाले बाटो बिराएर भूमिगत समूहमा लागेका र लाग्न खोजेका धेरै युवालाई समेट्यो। स्वरोजगार तालिम दियो। करिब सयजना युवा लाभान्वित भए। महोत्तरीका ५२ गाविसका युवा क्लबहरू अझै यो सञ्जालमा आबद्ध छन्। सामाजिक काममा रमाउने चौधरीले महोत्तरीका महिलालाई आत्मनिर्भर बनाउन मिथिला कलाको तालिमसमेत सञ्चालन गरेका छन्।
यसैबीच फेसबुकबाट टिच फर नेपालबारे थाहा पाएपछि रामआशिष आकर्षित भए। सोचे, 'शिक्षित समाजले मात्र परिवर्तनको बिगुल फुक्नसक्छ।'
उनी अहिले ललितपुरपूर्वको मनिखेलस्थित श्री बुद्ध भगवान माविमा पढाउँदै छन्।

सितु शाक्य, उमेर २४ वर्ष।
ललितपुर, कुपण्डोलकी सितु बज्रबाराहीको ज्योतिदय सहकारी माध्यमिक विद्यालयमा पढाउँछिन्।
सेन्ट जेभियर्स कलेजबाट समाजसेवामा स्नातक गरेकी उनी त्रिचन्द्र कलेजमा समाजशास्त्रमा स्नातकोत्तर पढ्दैछिन्। सानैदेखि उनलाई शिक्षिका हुने रहर थियो। त्यो पनि सहरका बोर्डिङ स्कुल वा कलेजमा होइन, गाउँका स्कुलहरूमा। उनले सुनेकी थिइन्, गाउँका स्कुलमा पढाउन जान कोही तयार हुँदैनन्। भएका शिक्षकलाई पनि विद्यार्थीको पढाइभन्दा पार्टी राजनीतिकै बढ्ता सुर्ता हुन्छ। सहरको सुविधासम्पन्न माहोलमा लेखपढ गरेकी उनलाई गाउँको यस्तो टिठलाग्दो अवस्था सुन्दा धमिराले काठ चपाएजस्तो भित्रभित्रै कोतरिएको भान हुन्थ्यो।
स्नातकोत्तर गर्दागर्दै जब उनले टिच फर नेपाल अभियानबारे थाहा पाइन्, उनका पाइला एकछिन अडिएनन्। सुरुमा त उनको परिवार मानेको थिएन। छोरीको इच्छा बुझेपछि रोकतोक पनि भएन।
'पढाउने चाहना पहिल्यैदेखि थियो। टिएफएनले त्यो अवसर जुराइदिएपछि म निकै खुसी छु,' उनी भन्छिन्, 'म सधैं यहीँ पढाएर त बस्दिनँ होला, तर शिक्षा क्षेत्रमै सधैं लागिरहनेछु।'
...

सहरमा शिक्षित भएर गाउँ पसेका प्रवीण, रामआशिष र सितुजस्ता ३२ युवाले अहिलेलाई आफ्ना सारा योजना थाती राखेका छन्। एउटै ध्याउन्ना छ, कम्तिमा आफूले पढाइरहेको स्कुल सुधार्ने। तीन महिनादेखि उनीहरू यसैमा दिलोज्यानले समर्पित छन्।
रामआशिषले पढाउने स्कुल पुग्न गाडीबाट ओर्लिएर करिब ४५ मिनेट हिँड्नुपर्छ। सुरुमा त उनलाई 'त्यस्तो अनकन्टार ठाउँमा बेकारमा गइएछ' भन्ने लाग्यो। तराईका फाँटमा फुक्काफाल हुँदै हुर्किएका उनलाई पहाडको गोडा बिझाउने उबडखाबड बाटोमा अड्कली–अड्कली पाइला चाल्नुपर्दा आफैंदेखि टिठ लागेर आयो। काठमाडौंबाट निक्लिँदाको जोस त्यसै हरायो। दुई दिनमै उनी फर्किने मुडमा पुगिसकेका थिए। त्यसमाथि परिचयात्मक कार्यक्रममा उनको मधेसी लवज सुनेर स्कुलका विद्यार्थी गलल्ल हाँसेपछि उनलाई एकछिन त्यहाँ बस्न मन लागेन।
'न संस्कृति मिल्ने, न रहनसहन, झन् मैले नेपाली बोलेको सुनेर विद्यार्थीहरू हाँसेपछि त मैले हरेसै खाएँ,' रामआशिष तीन महिनाअघिको घटना सम्झन्छन्।
यति टाढा आएपछि केही दिन बस्नैपर्छ भन्ने भावनाले मात्रै उनलाई चुम्बकजस्तो तानिरह्यो। जति दिन बित्दै गयो, त्यहाँको वातावरण नै उनको निम्ति चुम्बक बन्न थाल्यो। गाउँमा घुलमिल हुँदै जाँदा गाउँलेको सोझोपनाले मन छोएको उनी बताउँछन्।
‘तराईको मान्छेसँग सय रुपैयाँ सापट माग्नुस्, दिनलाई नै दस दिन लगाउँछ। सय रुपैयाँ सापट दिनुस्, सकेसम्म फिर्तै गर्दैन, गरे पनि महिनौंदिन झुलाउँछ,' उनले आफ्नो मनको कुरा खुलस्त भने, 'यहाँका मान्छे यति सोझा छन्, जसले जे भने पनि पत्याउँछन्।’
रामआशिषलाई आफ्ना विद्यार्थीको अबोधपनले पनि छोएको छ।
एकपटक उनलाई विद्यार्थीहरूले ‘हिन्दी बोल्नुस न सर’ भनेछन्। उनले 'आउँदैन' भन्ने जवाफ दिए। त्यसपछि विद्यार्थीले भने, ‘इन्डियन भएर पनि हिन्दी आउँदैन, सर भएर झुठो बोल्ने?’
‘म त जनकपुरको हुँ नि,’ रामआशिषले जवाफ दिए।
फेरि विद्यार्थीले भनेछन्, ‘जनकपुर भनेको इन्डिया त हो नि।’
यस्ता प्रसंग सम्झँदा उनी आफैं जीउ हल्लाउँदै हाँस्छन्। र, भन्छन्, 'यही अज्ञानता दूर गर्न त हामी यहाँ आएका हौं।'
दुई वर्ष गाउँमा बसेर पढाउँदासम्म यस्ता सारा अज्ञानता हटाउन सकिएला र आफूले पनि गाउँले जीवनबाट धेरैथोक सिक्न पाइएला भन्ने टिच फर नेपालका 'फेलो' शिक्षकहरूलाई विश्वास छ।
'यो रातारात देखिने परिवर्तन होइन,' प्रवीण भन्छन्, 'तर, यस्ता सानासाना कुराले परिवर्तनमा ठूलो अर्थ राख्छ।'
प्रवीणकै स्कुलमा पढाइरहेका कुशल पोखरेल त 'युवाहरू गाउँमा बस्न तयार नभएसम्म देशको विकासै हुँदैन' भन्ठान्छन्। 'सहरमा बसेर रिपोर्ट तयार पार्दैमा विकास हुन्न,' डेभलपमेन्ट स्टडिजमा स्नातकोत्तर कुशल भन्छन्, 'गाउँमै जानुपर्छ, त्यहीँ भिजेर काम गर्नुपर्छ, अनिमात्र विकास हुन्छ।'
ललितपुरकै भट्टेडाँडामा पढाउन पुगेका जीवनाथ तिमिल्सिनाको अनुभव भने अरूको भन्दा अलि फरक छ। रसायनशास्त्रमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गरेका तिमिल्सिनालाई स्कुलको भौतिक अवस्थाले बढ्ता पिरलेको छ। स्कुल भिरमा हुँदा डाँडाबाट भेल आए सोझै छिर्छ। उनको आफ्नै बस्ने ठाउँ पनि बाढीको धरापमा छ।
उनी पुगेकै दिन त्यहाँका स्थानीयले भनेका थिए रे, 'तपाईं स्कुलमा नबस्नुस्, पहिरोले बगाउला।'
उनले गाउँलेको कुरा पत्याएनन्। एकदिन थकाइको सुरुमा मस्त निदाएका बेला झ्याल र भित्ताबाट रसाएर भेल पसेछ। रातभरि अरू शिक्षकले ढोका ढक्ढकाएर उठाउन खोजेछन्। फोन गरेछन्। उनको निद्रा टुटेन। बिहान खाटबाट ओर्लिंदा त घुँडाघुँडासम्म पानी।
'अनि पो मेरो सातो गयो,' उनी भन्छन्, 'अहिले केही तल स्रोत केन्द्रको घरमा शरण लिएको छु।'
यस्ता दुःखकष्ट सहेर बस्दा पनि कतिपय ठाउँमा स्कुलका शिक्षकबाटै सहयोग नपाएको केही 'फेलो' शिक्षक बताउँछन्। पुराना शिक्षकले अनाहक दागा धरेकोमा उनीहरू चित्त पनि दुखाउँछन्।
'हामी विद्यार्थीलाई किताबी ज्ञानभन्दा प्रयोगात्मक तरिकाले सिकाउन खोज्छौं, उहाँहरूलाई भने नाटक गरेजस्तो लाग्छ,' एक फेलो शिक्षकले भने।
...

परिवर्तनको हिस्सेदार बन्दा कसले के सोच्छ भन्दा पनि कस्तो परिणाम देखिँदैछ भन्ने महत्वपूर्ण कुरा हो।
यी 'फेलो' शिक्षकहरूले पढाउन थालेको तीन महिनामै लेलेको बुद्ध माविका प्रधानाध्यापक रघुनाथ बानियाँले 'धेरै परिवर्तन' देखिसकेका छन्। 'सरहरू आउनुभएपछि विद्यार्थीमा पढाइप्रति रुचि बढेको छ,' उनी भन्छन्।
तेह्र वर्षदेखि पढाइरहेका स्थानीय शिक्षक दिपकसिंह बानियाँ त अझ उत्साही छन्। 'मैले यो गाउँका धेरै विद्यार्थीलाई पढाएको छु,' उनी भन्छन्, 'विद्यार्थीहरूमा अहिलेजस्तो आत्मविश्वास पहिले कहिल्यै देखेको थिइनँ।'
विद्यार्थीमा आएको परिवर्तनको प्रत्यक्ष साक्षी स्वयं फेलो शिक्षकहरू नै हुन्।
सितुको अनुभवमा पहिलो दिन उनी कक्षाकोठाभित्र छिर्दा विद्यार्थीहरू चन्द्रमाबाट ओर्लेको 'एलियन'लाई देखेजस्तो झस्किएका थिए। कति दिनसम्म त तर्किएरै हिँडिरहे। विस्तारै घुलमिल हुँदै गयो। अहिले उनलाई शिक्षिका हैन, साथीजस्तो व्यवहार गर्छन्।
'टिचर भनेपछि तीन मिटर परदेखि भाग्नेहरू अहिले हामीसँग झ्याम्मिएका छन्,' उनी भन्छिन्, 'सबभन्दा ठूलो कुरा भनेकै शिक्षकहरूप्रति उनीहरूले पाल्दै आएको डरलाई भगाउनु हो, पढाउने कुरा त त्यसपछि स्वतः अघि बढिहाल्छ।' अहिले विद्यार्थीहरू आफूले नजानेका कुरा धक नमानी सोध्न थालेको र यसले पढाइमा अन्तर्क्रियाको माहोल विकास भएको उनी बताउँछिन्।
यति कम समयमै स्थानीय स्कुलहरूबाट पाएको यस्तो प्रतिक्रिया सुन्दा शिशिरका आँखा रसाउँछन्। किनकि, यो सफलता ती शिक्षकको मात्र होइन, शिशिरले देखेको सपनाको पनि हो। र, उनको आत्मविश्वासको हो।
'सहरका नामीनामी स्कुलमा पढेका युवाहरूले जुन उत्साहसाथ यसमा भाग लिए, त्यही दिन मेरो आधा सपना पूरा भइसकेको थियो,' शिशिर भन्छन्, 'उनीहरू विदेश जाने, उच्चशिक्षा पढ्ने वा अरू तमाम योजना थाती राखेर गाउँमा बस्न राजी भए। योभन्दा ठूलो त्याग अर्को के हुन्छ?'
यसले अर्को एउटा कुरा पनि उजागर गरेको छ– आजका युवा धेरैले सोचेजस्तो लापरवाह र जिम्मेवारहीन छैनन्। परिवर्तनको बारुद भरिएको छ उनीहरूमा, खालि एउटा झिल्कोको खाँचो छ। त्यो झिल्को जुनसुकै रूपमा आउनसक्छ।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा टिएफएनलाई 'सराहनीय युवा अभियान' बताउँछन्। 'यसले वास्तवमै शिक्षा क्षेत्रको विभेद हटाउन मद्दत गर्छ,' उनी भन्छन्, 'राम्रो शैक्षिक योग्यता भएका युवाहरू गाउँमा गएर पढाउँदा त्यहाँका विद्यार्थीमा स्वाभाविक रूपले सकारात्मक असर पर्छ।'
देशको शैक्षिक गुणस्तरमा सुधार ल्याउन सबभन्दा पहिला सरकारी स्कुल सुधार्नुपर्ने माथेमाको राय छ। यसको निम्ति टिच फर नेपालजस्तो युवा अभियान सफल हुनुपर्ने उनी बताउँछन्। 'एउटा जिल्ला होइन, पूरा देशभरि यस्तो सञ्जाल फैल्याउनुपर्छ,' उनी भन्छन्।
टिच फर नेपालको लक्ष्य पनि यही हो। यस वर्ष नमूनाका रूपमा ललितपुरबाट थालेको कार्यक्रमलाई अर्को वर्ष धनुषा र सिन्धुपाल्चोकका गाउँमा विस्तार गर्ने योजना छ। यसमा अंग्रेजी, गणित र विज्ञान विषयलाई बढी प्राथमिकता दिइन्छ। एसएलसीमा गाउँका विद्यार्थी बढी फेल हुने विषय यिनै हुन्। विस्तारै अरू विषय समेट्दै जाने सोचाइ छ।
'अब यो अभियान मेरो र स्वस्तिकाको मात्र रहेन, हामी सबैको भइसक्यो,' शिशिर भन्छन्।
...




हेलम्बुमा तीस वर्ष

बक्समा राख्ने
पूर्ण गौतम १७ वर्षको उमेरमा पहिलोपटक हेलम्बु टे्रकिङमा गएका थिए। त्यतिबेला उनी भर्खरै पुल्चोकको इन्जिनियरिङ क्याम्पसमा भर्ना भएका थिए। ट्रेकिङकै क्रममा हेलम्बुको तिम्बु गाउँले उनलाई यस्तरी बाँध्यो, उनले इन्जिनियरिङ छाडेर त्यहीँ बस्ने निर्णय गरे।
२०४१ सालदेखि उनी त्यही गाउँमा पढाइरहेका छन्।
उनी त्यहाँ पुग्दा स्कुल नै थिएन। गाउँलेले बस्न दिएको घरमै केही स्थानीय केटाकेटी बटुलेर पढाउन थाले। 'पहिलो केही महिना त धेरै गाह्रो भयो, मैले बोलेको उनीहरू नबुझ्ने, उनीहरू बोलेको म नबुझ्ने,' उनले भने, 'विस्तारै त्यहाँको भाषा सिकेँ। उनीहरूको रहनसहन सिकेँ। घुलमिल हुँदै गएपछि सजिलो भयो।'
उनी स्थानीयसँग घुलमिल हुन हरेक बिहान गुम्बामा बौद्ध धर्मका तौरतरिका सिक्न जान्थे। बौद्ध धर्मग्रन्थ पढ्न र मन्त्रोचरण गर्न पनि सिके।
सरकारले २०४५ सालमा तिम्बुमै मेलम्ची ग्याङ माध्यमिक विद्यालय खोलेपछि उनले त्यहीँ पढाउन थाले। अहिले त्यो स्कुललाई जिल्लाकै नमूना मानिएको छ। एक सय ५० जना विद्यार्थी होस्टलमा बसेर पढ्छन्। खाएको, बसेको, पढेको शुल्क महिनाको १ हजार ३ सय २५ रुपैयाँ।
गौतमका अनुसार उनले पढाएका विद्यार्थी कान्छाबाबु शेर्पाले हालै बेलायतको म्यानचेस्टर विश्वविद्यालयबाट चिकित्साशास्त्रको अध्ययन पूरा गरे। मेलम्चीमै घरबार गरेर बसेका गौतम कान्छाबाबुको उपलब्धिलाई आफ्नो जीवनकै ठूलो पुरस्कार मान्छन्।
'टिनएजमा यहाँ आइपुगेको ठिटोले केही गर्न सक्छ भन्ने कसैलाई लागेको थिएन,' उनी भन्छन्, 'समाज परिवर्तनका लागि ठूलो काम गर्नुपर्दैन। सानो काम गरे पुग्छ, तर मन दिएर गर्नुपर्छ।'
कहिले आउला राहत!

कहिले आउला राहत!

नेपालगन्ज-बाढीमा परेर बाँच्ने आधार गुमेपछि होलिया–३, चौफेरीकी अनितादेवी यादवले गाँसबास खोज्दै घर छाडिन्। उनी राप्ती नदीबाट करिब ५ किलोमिटर वारि बेतहनीको सामुदायिक वनमा आश्रय लिन आइपुगेकी छन्। शरीर ढाक्ने कपडाबाहेक अनितासँग...

सुनकोसी विपत्तिः केटाकेटी टोलाइरहे, शिक्षक हेरिरहे

सुनकोसी विपत्तिः केटाकेटी टोलाइरहे, शिक्षक हेरिरहे

सिन्धुपाल्चोक- ४२ दिन लामो बर्खे बिदा सकिएको सातापछि सोमबार वनसाँघु मावि खुल्दा पहिलेजस्तो उत्साह थिएन। शिक्षक मलिन थिए, विद्यार्थी टोलाई मात्र रहे। पुनर्मिलनको कुनै भाव थिएन न त खुसीको गुन्जायस।...

माइतीघर–तीनकुने सडक,पहिलो बर्खा'नि थेगेन

माइतीघर–तीनकुने सडक,पहिलो बर्खा'नि थेगेन

काठमाडौं-करिब ५० करोड रुपैयाँ लागतमा निर्माण भएको देशकै चौडा माइतीघर–तीनकुने सडकले पहिलो बर्खा पनि थेग्न सकेन। मनसुन सकिएको छैन तर सरकारलाई हस्तान्तरण गरिएको पाँच महिना नबित्दै २.६ किलोमिटर लामो यो...

'सुख खोज्दा सर्वश्व गुम्यो'

'सुख खोज्दा सर्वश्व गुम्यो'

सुर्खेत- डेढ वर्षअघि जाजरकोटबाट सुर्खेत झर्दा जैसरा सुनारले भविष्यको मीठो कल्पना गरेकी थिइन्। बालबच्चा पढाउने, व्यापार व्यवसाय गर्ने र पैसा कमाउन सकियो भने राम्रो ठाउँमा जग्गा किन्ने उनको योजना थियो।...

मधेशमा मिलजुल

मधेशमा मिलजुल

विराटनगर -  'हामी हतियार बुझाउन तयार भयौं, अब शान्तिपूर्ण राजनीति गर्छौं,' मधेशको भूमिगत संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका संरक्षक 'कौटिल्य' भनिने संजयुकमार गुप्ताले घोषणा गरेका छन्, 'भएका सात थान हतियार...

बाढीले विस्थापितको बेहाल, थप २८ को मृत्यु

बाढीले विस्थापितको बेहाल, थप २८ को मृत्यु

सुर्खेत-तीनदिने झरीका कारण आएको बाढीपहिरो विपत्तिमा थप २९ को मृत्यु भएको छ। प्रकोपमा २२ हजारभन्दा बढी विस्थापित भएका छन् भने अझै सयभन्दा बढी बेपत्ता छन्। शनिबार बिहानबाट वर्षा थामिएपछि विभिन्न जिल्लामा...

एप्समा चल्छ जिन्दगी

एप्समा चल्छ जिन्दगी

काठमाडौं– कुलेश्वरका रवि सिंघलको दिनको सुरुवात स्मार्ट फोनको ‘अर्लाम' सँगै हुन्छ। ब्युँझनासाथ उनी खाटैमा बसीबसी विभिन्न ‘न्युज एप्स' खोल्छन्। देश–विदेशका खबर पढ्छन्। चियाको चुस्कीसँगै ‘वाट्स वैदर' बाट मौसमी गतिविधि बुझ्छन्।...

प्रचण्डलाई भनें- इन्द्रको आसन पनि चाहिएन

प्रचण्डलाई भनें- इन्द्रको आसन पनि चाहिएन

काठमाडौं- अमेरिकाको न्युयोर्कमा एक कार्यक्रममा भाग लिन पुगेका श्रीमान र श्रीमती कार्यक्रमस्थलसम्म पुग्दा थकित र असिनपसिन भए। श्रीमानले खुइऒ्ढय गर्दै पसिना पुछे। श्रीमतीले भनिन्, 'त्यसबेला तीन महिना बाँकी भएको जागिर...