Monday 7 Poush, 2071 |
Menu

कला

प्रियंकाको जम्पकट

(0 votes)
प्रियंकाको जम्पकट
'यहीँ यति राम्रो छ, किन जानुपर्‍यो अमेरिका ?'

जसलाई आफ्नो योजना बताए पनि यस्तै प्रतिक्रिया पाउँथिन्, प्रियंका कार्की । हुन पनि ६ वर्षअघि अमेरिकाको भिसा लाग्दा थुप्रै उपाधि उनको नामसँग जोडिएको थियो — मिस टिनको ताज, चल्तीकी मोडल, टिभी कार्यक्रमकी हिट प्रस्तोता आदि आदि ।


तर, उनले अरूका कुरामा मन डुलाइनन् ।

अलाबामा स्टेट युनिभर्सिटीमा फिल्म पढ्ने योजनामा अडिग रहेकी उनी अमेरिका नपुगुन्जेल सपना हैन, अतितमा हराइन् ।

...

नौ वर्ष छँदा नै आबद्ध हुन पुगेको मनोरञ्जन दुनियाँले उनको ध्यान तानिरह्यो । नारायण पुरीले 'महादेवी'मा सुनील थापाकी छोरी बनाएर खेलाउँदा उनी कत्ति रमाएकी थिइन् ।

'सुटिङभरि घरमै गाडी लिन÷पुर्याउन आउँथ्यो । सेटको तामझाम, डबिङको रमाइलो, आहा !' नेपाल छँदा हेक्का नगरेको विषयले उनलाई तान्यो, 'बालमष्तिस्कमै गढेको रहेछ, कलाकार बन्ने सपना ।'

उनी खुब फिल्म हेर्थिन् । भारतीय अभिनेत्री माधुरी दीक्षित नाचेको देख्दा त्यस्तै नृत्यांगना हुने सपना देख्थिन् । ऐना हे¥यो । लिपस्टिक लायो । नाच्न थालिहाल्यो । फिल्ममा डाक्टर देख्दा त्यस्तै हुन मन लाग्थ्यो । पेट चिर्ने पेसाको हैन, फिल्मको डाक्टर । पार्टीमा कसैले 'नाच न' मात्र भन्नुपथ्र्यो, उनको कम्मर मर्किहाल्थ्यो ।

एयरहोस्टेज आमाको पछि लागेर धापासीका आफन्तको पार्टीमा जाँदा कसैले भन्यो, 'तिमी त कस्तो राम्रो नाच्छौ है ।'

'हो त नि,' जवाफसँगै उनले आफ्नो स्टेप देखाएकी थिइन् ।

पल्लो घरको झ्यालबाट १३ वर्षकी प्रियंकाको प्रतिभा नियालिरहेका रहेछन्, कलाकार सन्तोष पन्तले । उनले स्पटमै 'हिजो आजका कुरा'मा खेल्ने प्रस्ताव अघि सारे । ८ देखि १० कक्षासम्म पढ्दाको बिदा–फुर्सद उनले त्यही सिरियलमा उपयोग गरिन् ।

पढाइ र अभिनय सँगसँगै अघि बढाउन निकै गाह्रो हुँदो रहेछ । पढाइ उकालो लाग्दै गयो, उनी अभिनयबाट टाढिँदै गइन् । रातो बंगला स्कुलमा 'ए' लेभलका होनहार विद्यार्थी हुने होडमा थिइन् ।

'रिवेल क्रियसनले भरत सिटौलाको गीतको भिडियो बनाउँदै छ, तिमी मोडलिङ गर्छौ ?' एक अपरिचित महिलाले सफा टेम्पोभित्रै यस्तो अफर गर्दा उनी झस्किइन् ।

'एक दिनको सुटिङ हो, ल मेरो कार्ड लग र खबर गर,' अब बाल कलाकार हैन, तन्नेरी मोडलको रोलले उनलाई कुरिरहेको थियो ।

'टेम्पोमा भेटिएकी प्रिया दिदीले मेरो घरै पत्ता लगाएर, ममी ड्याडीलाई भेटेर, पकेट मनीको व्यवस्थासहित भिडियो खेलाउनुभयो,' उनी 'माया लाउन त धेरैले खोजे' भन्दै मायाको भिख माग्ने गायक सिटौलाकी मोडलमा दर्ता भइन् ।

त्यसपछि 'ए' लेभलको परीक्षा सकाउनेबित्तिकै 'ट्राई मारेको' मिस टिन प्रतियोगितामा शीर्ष ताज मिल्यो । कार्यक्रमका निर्णायक थिए, भुषण दाहाल र मिस नेपाल प्रिती सिटौला ।

'के बन्ने इच्छा छ ?' निर्णायकको प्रश्नमा उनले दायाँबायाँ नचोसी जवाफ दिइन्, 'टेलिभिजनको होस्ट ।'

कान्तिपुर टेलिभिजनमा आबद्ध दुई निर्णायकलाई प्रियंकाको जवाफ मनप¥यो ।

'मिस टिन भएको १२ दिनमै कान्तिपुर टेलिभिजनमा फिल्म र फेसनको कार्यक्रम सञ्चालन गर्न पाएँ,' उनी ग्राफिक्स डिजाइनर विश्वदीप लामिछानेको सहयोग अहिले पनि सम्झन्छिन् ।

त्यसपछिका दुई वर्ष उनको करिअर खुब फस्टायो । विज्ञापन र म्युजिक भिडियोमा त राज गरेकै थिइन्, आलोक नेम्वाङले 'सानो संसार'मा खेल्ने अफर गरे । एउटा मोडल राम्रो व्यानरको फिल्ममा फड्को मार्न पाउँदा खुसीले उफ्रिनुपर्ने, प्रियंकालाई चिन्ताले समात्यो ।

'ए लेभलको सर्टिफिकेटमै चित्त बुझाएर बसे १० वर्षपछि के होला जिन्दगी ?' हिरोइन नबन्दै उनले 'रिटायर्डरोइन'को जिन्दगी देख्न थालिन् । भाउजू र आमाको रोल गर्ने कलाकार उनको दिमागमा झल्झल्ती घुम्न थाले । त्यतिबेला हुनसक्ने 'फ्रस्टेसन' र पढाइ पूरा नगर्दाको पछुतोले कति पिरोल्ला भनेर गम्भीर बनिन् ।

'सके चार वर्षपछि आएर फेरि जमौंला, नसके यो क्षेत्रलाई बाईबाई ।'

विमान अमेरिकी भूमिमा अवतरण भयो, उनी पुराना तर्कनाबाट वर्तमानमा उभिइन् ।

...

विरानो ठाउँमा पुरानो परिचय बिकेन । नेपाल छँदा टुसाएको 'सेलिब्रेटी भ्रम' त्यहीँ सकियो । फिल्म मेकिङ पढ्न गएकी प्रियंका अरू विद्यार्थीजस्तै संघर्षमा जुटिन् । पढाइ र काम सँगसँगै अघि बढाइन् ।

दुई वर्ष अभिनय र दुई वर्ष निर्देशनको पढाइ पूरा गरुन्जेल आफू निकै 'हम्बल' भएको अनुभव गरिन् । नेपालमा गरेर र अमेरिकामा पढेर बुझेको 'फिल्म मेकिङ'मा ठूलो अन्तर देखिन् । पढेकोमध्ये कुनचाहिँ चिज नेपालमा तुरुन्तै प्रयोग गर्न सकिएला भन्नेले उनको मथिंगल घुमाउँथ्यो ।

नेपालमा डिजिटल फिल्मको विकास देख्दा उनलाई अमेरिका नआएको भए पनि हुन्थ्यो कि जस्तो लाग्थ्यो । 'कागबेनी', 'फस्ट लभ' जस्ता आफ्नै कित्ताका मान्छेले बनाएको फिल्ममा आफूलाई नपाउँदा बेलाबेला छट्पटिन्थिन् । 'पढाइ सकिएपछि झन् तगडा भएर काम गर्छु नि,' केही शान्त हुन्थिन् ।

उनी नेपाल फर्कने 'काउन्ट डाउन'मा लागिन् । 'अमेरिका छाडेर किन फर्कने ?' साथीभाइको जमातले उनलाई फेरि रोक्न खोज्यो । उनी आफ्नो निर्णयमा प्रस्ट थिइन् । फर्किइन् ।

'अब कहाँबाट काम सुरु गर्ने ?' दुई वर्षअघि कन्फ्युज्ड थिइन्, 'फिल्म निर्देशन नै गर्दा ठिक होला कि !'

नजिकका केहीले सल्लाह दिए, 'तिमीले बुझेकोजस्तो छैन फिल्म उद्योग । पहिला यसलाई बुझ अनि फिल्म बनाउन थालौला ।'

अब उनी आफू अमेरिकाबाट फर्किएको जानकारी फिंजाउनतिर लागिन् । र, कम्तिमा एक वर्ष अरूका फिल्म खेलेर उद्योग जान्ने योजना बनाइन् ।

म्युजिक भिडियो खेल्दाका चिरपरिचित क्यामराम्यान विदुर पाण्डेले फिल्म 'मेरो बेस्ट फ्रेन्ड'मा प्रियंकाको सिफारिस गरिदिए । यो फिल्म अझै रिलिज नभए पनि उनको पुनरागमनको जानकारी दिलाउने काम मजैले भयो । सुरेशदर्पण पोखरेल 'थ्री लभर्स'को प्रस्ताव लिएर गए । प्रियंकाले रोल र निर्देशक छानिनन् । 'हुन्छ' भनिन् । त्यसपछि 'कलिउड', 'भिजिलान्ते' र 'झोले'को लाइन लाग्यो ।

उनले यी फिल्मलाई उद्योग जान्ने अवसरका रूपमा मात्र लिइन् ।

छैठौं फिल्म 'सुन्तली'ले भने उनलाई निकै आशावादी तुल्याएको छ । त्यसमा शीर्ष भूमिका मिलेकाले मात्र उनलाई त्यस्तो लागेको होइन । 'मैले सिकेको फिल्म मेकिङको फ्लेवर यसमा छ,' उनी भन्छिन् ।

सातौं फिल्म 'आवरण'पछि त उनी अभिनयमा निकै रत्तिन थालेकी छिन्, जसले उनको निर्देशक बन्ने योजना नै पर धकेलेको छ ।

'निर्देशनमा लागेपछि कसैले हिरोइन खेलाउलान् जस्तो लाग्दैन,' उनले उद्योगको मनोविज्ञान राम्रैसँग बुझिछन्, 'कत्ति न निर्देशक भई खा कि, आफैंले बनाएको फिल्ममा खेलोस् न भन्छन् । त्यसैले पाउन्जेल अभिनय नै गर्ने हो ।'

'निर्देशक बन्न ढिलो हुँदैन, उमेर ढल्केपछि हिरोइन भइन्न,' उनको निष्कर्ष छ ।

...

फिल्म क्षेत्रलाई 'अनपढहरूको भीड' ठान्ने जमातसँग प्रियंकाको पनि चिनजान छ । उनी नपढेकाले भन्दा अन्त असफल भएर आएकाले उद्योग ओगट्दा गलत सन्देश गएको ठान्छिन् । कलाकारले 'ए फर एक्टिङ' भनेरै पढ्नुपर्छ जस्तो पनि लाग्दैन उनलाई । कोही अभिनयलाई 'गड गिफ्ट' मान्छन् भने उनीहरूलाई सुझाव दिन्छिन्, 'तपाईंले सैद्धान्तिक ज्ञान पनि लिनुभयो भने त झन् सबैलाई पछि पार्नुहुन्छ ।'

लुगाको साइज छोट्याएर हिरोइन बन्ने र पैसा हालेर हिरो बन्नेसँग उनको गुनासो छ । उद्योगमा 'युजलेस' मान्छेले समस्या पारेको उनले देखेकी छन्, केही विकृति र विसंगतिको राम्रै चाल पाएकी छन् ।

हिरोइनमाथि होलसेलमा गरिने टिप्पणीसँग भने उनी पटक्कै सहमत छैनन् ।

'निर्मातासँग रात बिताएर फिल्म खेल्ने र कास्टिङ काउच बन्न तयार हुनेहरू हलिउड र बलिउडमा पनि छन् । नेपालमा त्यसको प्रभाव नै परेको छैन भनेर म दाबी गर्दिन । तर, चरित्र कस्तो बनाउने भन्ने व्यक्तिमा भर पर्छ । आफूमा क्षमता र आत्मविश्वास छ भने फिल्म खेल्न कसैसामु समर्पण हुनुपर्दैन,' उनी भन्छिन्, 'कुनै निर्माता मसँग हिँड भन्न आएका छैनन् । कसैले त्यस्तो भन्छ भने म त सिधै बंगारा झार्दिन्छु होला ।'

नाम चलेका धेरै हिरोइनको दुःखदायी अन्त्यको कथा उनले पढेकी छन् । नेपालमा पनि त्यस्तो नमूना देखेकी छन् उनले ।

'बाटोमा पानीपुरी खाँदै हिँडेको भोलिपल्टै, अझ भनौं रातारात कोही सफलताले आकास छोएको पाउँछन् भने त्यसलाई ह्यान्डिल गर्न गाह्रो हुन्छ । झन् हिरोइनहरू त कुन बेला सफलताको शिखरबाट भुइँमा आइपुग्छन् पत्तो हुँदैन,' त्यो अवस्थालाई यथार्थ ठानेर अपनाउनसक्ने खुबी हिरोइनमा हुनुपर्ने तर्क गर्छिन् उनी ।

'संसारमा मजस्ता राम्री केटी अरू पनि छन् भनेर बुझ्नेहरू हिरोइन जीवन सकिएपछि सहज बाँच्छन्,' भन्छिन् २५ वर्षीया प्रियंका ।

नेपाली फिल्ममा देखिने र सुनिने विकृतिले उनलाई चिन्तित तुल्याएको छैन ।

'मैले सुनको संसार ठानेर यो क्षेत्रमा प्रवेश गरेको होइन । नेपाली फिल्मलाई अस्करमा पु¥याउने असाइन्मेन्ट बोकेर आएको पनि होइन,' राम्रो टिम र राम्रो फिल्म प्रियंकाको प्राथमिकतामा छ ।

'प्रियंका निर्देशक भएपछि कस्तो फिल्म बनाउलिन् ?'

'चेन्नाई एक्सप्रेस जस्तै ।'

नेपालबाट करोडौं कमाउने यस्तो फिल्मलाई हेपेको उनलाई मन पर्दैन र नेपाली दर्शक प्रयोगात्मक फिल्मका लागि तयार भइसकेको पनि ठान्दिनन् ।

दर्शकका लागि पाँचवटा फिल्म बनाउन सके आफ्नो लागि एउटा फिल्म बनाउने योजना तय गरिसकेकी छन् उनले ।

'फिल्म निर्देशन नफापे के गर्ने ?'

'आफूलाई जान्ने ठाने पनि यो काम मेरो लागि होइन रहेछ भन्ने सम्झने, अमेरिकाको बाटो तताउने । यहाँ डिप्रेस्ड भएर नबस्ने,' ग्रिनकार्ड होल्डर प्रियंका भन्छिन्, 'पहिला प्याजको बोक्रा छोडाउने, गुदीको खोजी गर्ने । केही नभेटिए विकल्प अपनाउन नहिच्किचाउने ।'

प्रियंकाको फिटनेस फर्मुला

– सानो स्केलमै भए पनि आफूलाई दर्शकको रोलमोडल ठान्ने हो भने अनुशासनमा बस्नै पर्छ । खाँदा, हिँड्दा, लगाउँदा सचेत नभए 'स्टार पावर' टिक्दैन ।

– हिरोइनहरू फिट सेपमा रहनैपर्छ । फिल्मको रोलअनुसार मोटाउने दुब्लाउने बाहेक दर्शकलाई 'छि यस्को त कस्तो टायर जस्तो जीउ' भन्ने मौका दिनु हुँदैन ।

– म बिहान जुम्बा गर्छु । थोरै खान्छु, पटकपटक खान्छु । भातको पहाड लगाएर खाँदा त फिट भइन्न नै, नखाएर पनि हुँदैन । डाइट चार्टमा अडिन सक्नुपर्छ । 'हेल्दी इटिङ'मा सचेत हुनुपर्छ ।

– कहिलेकाहीँ कपाल मिलाउन, मेकअप गर्न मन लाग्दैन । त्यस्तो बेला घरमै बस्नुस, भुत्ल्याए जस्तो अनुहार बनाएर ननिस्कनुस् ।

– धेरै ड्रिङ्स नगर्नुस् । जात्रा देखाउने गरी पिउँदा इमेज र अनुहार बिग्रिन्छ । स्वस्थ हुने र स्किन नबिगार्ने हो भने चिल्लो पदार्थ धेरै नखानुस् ।

– शरीरमात्र फिट राखेर हुँदैन, दिमाग पनि शान्त राख्नुपर्छ । आँखा बन्द गरेर सफ्ट म्युजिक बजाउँदै त्यसको भावअनुसारको तालमा विस्तारै शरीर चलाउँदा स्ट्रेसबाट तुरुन्तै छुट्कारा पाएको अनुभव गर्छु । यसो गर्दा मेडिटेसनकै आनन्द मिल्छ ।

– क्वालिटी टाइम पाउन महिनाको तीन दिन, जरुरी काम नभएको बेला मोबाइल अफ गरेर घरमै बस्छु, सुत्छु, लभस्टोरी पढ्छु र डिटक्सिफाइङ भएको अनुभव गर्छु । बनावटी 'हाई !' र प्रोफेसनल स्माइलबाट पनि बेलाबेला छुट्कारा लिनुपर्छ ।
सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

काठमाडौं– निर्देशक सहारा शर्माको फिल्म 'इन्द्रेणी खोज्दै जाँदा'ले अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाएको छ। बुधबार राजधानीको नेपाल भारत पुस्तकालयमा आयोजित सिनेमाण्डुमा 'इन्द्रेणी खोज्दै जाँदा' फिल्म समेत प्रदर्शन गरियो। फिल्म प्रदर्शनसहित फिल्म...

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

पोखरा-स्वास्थ्य तथा जनसंख्यमन्त्री खगराज अधिकारी संविधानसभाको दोस्रो चुनावमा प्रत्यक्ष उम्मेदवार बनेनन्। समानुपातिकतर्फ नाम भए पनि सभासद बन्न पाएनन्। मन्त्री भने बन्न पाए। तर भर्खरै भएको एमाले महाधिवेशनमा पनि चुनाव हारे।...

बिपीका फोटो प्रदर्शनी

बिपीका फोटो प्रदर्शनी

काठमाडौं – पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्म शताब्दीको अवसरमा तस्बिर प्रदर्शनी शनिबार नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ।

बिदा भए रबिन विलियम्स

बिदा भए रबिन विलियम्स

क्यालिफोर्निया– अमेरिकी अभिनेता तथा कमेडियन रबिन विलियम्स सोमबार उत्तरी क्यालिफोर्नियास्थित आफ्नै निवासमा मृत्त फेला परेका छन्। ६३ वर्षे उनले आत्महत्या गरेको प्रारम्भिक अनुमान छ।

कानुनी उपचार खोज्छौं : सुरज—सहाना

कानुनी उपचार खोज्छौं : सुरज—सहाना

काठमाडौ- टेलिभिजन पर्सनालिटी सुरज गिरी र साहना बज्राचार्यले आफूहरुले 'जवानी नबिसाएको र जवानी नविर्सिएको' प्रष्टिकरण दिएका छन्। केही मिडियामा आफूहरु बारे आएको खबरले व्यक्तित्वमा क्षति पुर्‍याएको भन्दै कानुनी उपचार खोज्ने...

महजोडीले सातवर्षपछि पोखरा हँसाए

महजोडीले सातवर्षपछि पोखरा हँसाए

पोखरा-सात वर्षको अन्तरालमा मह (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जोडीले फेरि पोखरा हँसाएका छन्। टुबोर्ग महजात्रा हास्य महोत्सव लिएर आएका उनीहरुले शुक्रबारदेखि हँसाउन थालेका हुन्। महोत्सव सोमबारसम्म चल्नेछ।