28 Ashad, 2071 |
Menu

कला

फिल्म समीक्षाः नाम साँघुरो, सन्तुष्टि फराकिलो

(0 votes)
फिल्म समीक्षाः नाम साँघुरो, सन्तुष्टि फराकिलो
हिजोआज 'प्रेसर हर्न' बजाउँदै धुमधाम पब्लिसिटीसहित 'सिक्स लेन'को बाटोमा फिल्म रिलिज गर्ने चलन छ। फिल्म 'साँघुरो' भने 'साइकलको घन्टी' बजाउँदै आफ्नै 'ट्रयाक'मा खिरिरी गुड्दै आइपुगेको छ। फिल्मको मुख्य पात्र कृष्ण (सुशांक मैनाली) साइकल चढेर सहर छिचोल्छ। मापसे चेकिङ छल्न वा भुँडी घटाउन साइकल चढ्ने सौखिन भने होइन ऊ। ऊ त चरम गरिबीले साइकलमा हड्डी घोट्न बाध्य छ।
  • फिल्म:  साँघुरो
  • रेटिङ:  रेटिङ
  • निर्देशक:  जोयस पाण्डे
  • लेखक:  विनोद पौडेल
  • निर्माता:  समीर मैनाली
  • कलाकार:  सुशांक मैनाली, दिया मास्के, अरुणा कार्की, दयाहाङ राई, रवि गिरी आदि।

काठमाडौंका धेरैजसो वासिन्दाले पुलमाथिबाट देख्दै आएको सुकुम्बासी बस्तीमा 'साँघुरो' टोलीले क्यामेरा घुसाएका छन्। नेपाली फिल्ममा खासै नसमेटिएका पात्रहरुमै फिल्म केन्द्रित छ। सुकुम्बासीको गरिबी, बेरोजगारी र सानातिना राजनीतिक चलखेललाई 'साँघुरो'ले आख्यानमा बुनेको छ।

पत्रिका बाँड्ने 'साइकल ब्वाई' कृष्ण र घरेलु कामदार केटी कमला (दिया मास्के)बीचको निम्न वर्गीय प्रेमको गुलियो चटाउँदै 'साँघुरो'को कथा फुक्दै आउँछ। 'वर्किङ क्लास'का यी दुई पात्रको लगनगाँठो बिना अवरोध कसिन्छ। तर, सुहागरात मनाउन भने उनीहरुलाई झुपडीको साँघुरोपनले छेक्छ।

कृष्णले पत्रिका पुर्याइउँदै सहरबासीलाई नियमित बौद्धिक खुराक दिइरहेको हुन्छ। ऊ अरुलाई समाचार पढाउँछ। आफू भने पढ्दैन। पत्रिका उसको लागि 'सिंगान' पुछ्ने कागजको खोस्टो मात्र हो। अरु मान्छे पत्रिकाले दिमाग भर्छ। ऊ पेट भर्छ। काठमाडौंमा रहेको 'शैक्षिक विषमता'को उत्कृष्ट उदाहरण हो यो। पत्रिका नपढेरै कृष्ण सोझो छ। त्यहीभएर साथी टिका (दयाहाङ राई) र जँड्याहा बुबा (रवि गिरी) उसलाई ठग्न, धम्क्याउन पछि पर्दैनन्।

सुकुम्बासी बस्तीमा पक्की घर किनेर बस्ने, राजनीतिक पार्टीका लागि केटाहरु पैठारी गर्ने, तासको खालमा दिन कटाउने र साथीभाइसँग दुईचार हजार थुतिहाल्ने स्वभावको हुन्छ टिका। ऊ सहयोगी र स्वार्थी दुवै छ। समाजमा जहीँतहीँ भेटिनसक्ने यसखाले पात्रको रचना गर्नसक्नु 'साँघुरो'का लेखक विनोद पौडेलको सिर्जनशीलता हो। लेखक पौडेलले सबै मान्छेमा 'पापी मन' दबेर रहेको हुन्छ भन्ने तथ्य यस फिल्मका पात्रहरुमार्फत् फेरि प्रमाणित गरिदिएका छन्। पात्रसुहाउँदो संवादले फिल्मको सौन्दर्य बढाएको छ।

कलाकारका रियलिस्टिक अभिनयले फिल्मका पात्रहरु जीवन्त लाग्छन्। सम्बन्धित पात्रको मनोविज्ञानको घेरालाई कलाकारहरुले नाघेका छैनन्। डेब्यु गरेका सुशांकको 'इन्ट्री' स्मरणयोग्य छ। उनले आफ्नो अनुहारको भावलाई अतिनाटकीय हुनबाट जोगाएका छन्। टिकाको भूमिका दयाहाङलाई औधी सुहाएको छ। कथाको परिस्थितिअनुसार राम्रो अनुहार नै चाहिने भएकोले दिया मास्केको उपस्थिति न्यायसंगत छ। अरुणा कार्कीले दुःखी आमाको हाउभाउ हुबहु उतारेकी छन्। अरुणा र रविको मेकअप भने आर्टिफिसियल लाग्छ। उमेर खाएको देखाउन कपाल सेतै पार्नुपर्छ भन्ने छैन।

लक्ष्य, प्वाइन्ट अफ भ्यु, परिवर्तन र एटिच्युडका मामिलामा सबै पात्र स्पष्ट छन्। 'साँघुरो'का पात्रहरु सशक्त हुनुको कारण यही हो। पात्रको 'प्वाइन्ट अफ भ्यु' उसको वर्गीय पृष्ठभूमि अनुसार चुनिएको छ। पात्रलाई सुरुमा जे ठिक लागेको हुन्छ, पछि गलत लाग्छ। पात्रमा आएको परिवर्तन हो यो। कृष्णलाई सुरुमा आमाको उपस्थितिले साँघुरोपन आभास हुन्छ। ऊ आमादेखि पन्छिन निकै प्रयास गर्छ। तर, जब आमा ऊदेखि टाढिन्छे, उसले साँघुरोपन झन् बढेको बु‰छ।

प्रायः नेपाली फिल्ममा काठमाडौंका अग्ला घर र सफा पक्षलाई उजागर गरिन्छ। 'साँघुरो'ले भने सफा र फोहोर, बिल्डिङ र झुपडी दुवै समेटेर काठमाडौंको पूरा अनुहार चित्रण गरिदिएको छ। निर्देशकले मुख्य पात्रको उदासीलाई सपोर्ट हुने गरी काठमाडौंका अधिकांश दृश्य अँध्यारो नै खिचेका छन्।

मुख्य पात्र कृष्णले भोग्ने द्वन्द्व तीन तहमै बाँडिएका छन्। समाज र राज्यसँग गरिबीका कारण उसको (एक्स्ट्रा पर्सनल) द्वन्द्व छ भने परिवारका सदस्य र साथीसँग पनि (पर्सनल) द्वन्द्व रहन्छ। पात्र थोरै हुँदा आफैंसँगको द्वन्द्वले बढी प्रभाव पारिरहेको हुन्छ। कृष्ण पनि आफैंसँगको द्वन्द्वबाट मुक्त छैन। ऊ बाहिरी चाहना र सुषुप्त इच्छाको चेपमा पर्छ।
दर्शकले बु‰दैनन् भनेर धेरैजसो नेपाली फिल्ममा कुनै पनि घटना वा प्रसंगको 'ओभर एक्सपोजिसन' गरिन्छ। दर्शकको क्षमतालाई 'साँघुरो'ले भने सम्मान गरेको छ। यसमा आवश्यक पाटोमात्र 'एक्सपोज' गरिएको छ। सजिलो तर कलात्मक बाटो निर्देशकले अपनाएका छन्।

झुप्पडी, साइकल, दाह्री, खुकुलो खाट, चुहिने छाना आदिको सहाराबाट फिल्ममा कृष्णको 'फिजिकल डिस्त्रि्कप्सन' गरिएको छ। उसको 'इमोसनल डिस्त्रि्कप्सन' चाहिँ तरल छ। घटनाअनुसार बग्दै जान्छ।

फिल्ममा अनावश्यक सबप्लट छैनन्। टिका र जँड्याहा बुबाको मात्र सबप्लट छ। तैपनि त्यतातिर फिल्म बरालिँदैन। मालिक मालिक्नी पात्रहरु आउँछन्। तर, उनीहरुको दुनियाँमा कथा प्रवेश गर्दैन। धनीले गरिबलाई वास्ता नगरेजस्तै गरिबले पनि धनीलाई वास्ता नगरेको प्रतीत हुन्छ।

स्तरीय 'दृश्य विम्ब'हरुले फिल्मलाई कलात्मक उचाइ दिएको छ। टुथब्रस खाँदेको, कृष्णको ढाडमा पानी तप्किएको, आमाको कोकाकोला मोह, साइकललाई लट्ठामा बाँध्नुजस्ता विम्बले फिल्मको भिजुयल ल्यांग्वेज कलात्मक र दरिलो बनाइदिएको छ। एउटै फ्रेममा कंक्रिट र सुकुम्बासी बस्ती अटाएका सटहरु व्यंग्यात्मक छन्।

पात्र र परिवेशको मुड रिफ्लेक्ट हुनेगरी छायांकन गर्ने सुसन प्रजापति कुशल ठहरिएका छन्। कुनै पनि दृश्यमा लाइटिङ कृत्रिम लाग्दैन। सट साइजहरुको छनोट पात्रहरुका संवेदना अनुकूल छ।

फिल्मको ब्याकग्राउन्ड म्युजिक परिपक्व छ। 'आउँदैछु कि जाँदैछु म' गीत मार्मिक र सान्दर्भिक लाग्छ। फिल्मको ध्वनि पक्षमा पनि प्रशस्त मिहेनत सुनिन्छ। 
थोरै पात्र र घटनामा पनि सस्पेन्स घोलिएको छ। दर्शकले वा पात्रले सोचेजस्तो घटना वा दृश्य फिल्ममा छैनन्। मध्यान्तरअघि र अन्तिम दृश्यमा पनि अनुमान विपरीतका क्षणले बाटो छेक्छ।

विषयवस्तुअनुसार फिल्मलाई शालीन बनाउन निर्देशक सफल छन्। उनले फिल्मको कथालाई अतिरञ्जित बनाउने कुचेष्टा देखाएका छैनन्। शीर्षक 'साँघुरो' भए पनि फिल्मले फराकिलो सन्तुष्टि दिन्छ।

दीपेन्द्र लामा

२०५७ सालबाट पत्रकारिता सुरु गरेका दीपेन्द्र लामा नागरिक दैनिकमा स्थापना कालदेखि आवद्ध छन्। उनी नेपाल चलचित्र समीक्षक समाजका उपाध्यक्ष हुन्।

फेसबुक: http://facebook.com/dipendralama

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
व्यवस्थित बन्दै जुम्बा

व्यवस्थित बन्दै जुम्बा

काठमाडौं– सन् १९९० को दशकमा कोलम्बियामा अस्तित्वमा आएको जुम्बा नृत्य शैलीलाई नेपालमा पनि व्यवस्थित गराउने उद्देश्यले प्रशिक्षकहरुको मास्टर प्रशिक्षण आयोजना भएको छ। दुई दिने प्रशिक्षणका क्रममा ३२ जना जुम्बा प्रशिक्षकहरुले...

'चेन्नई एक्सप्रेस'को सिक्वेल नबन्ने

'चेन्नई एक्सप्रेस'को सिक्वेल नबन्ने

मुम्बई-'चेन्नई एक्सप्रेस'जस्तो सुपरहिट फिल्म दिएका निर्देशक रोहित शेट्टी र अभिनेता शाहरुख खानले फेरि सँगै काम गर्ने भएका छन्। तर, स्रोतका अनुसार उनीहरुले 'चेन्नई एक्सप्रेस'को सिक्वेल बनाउन लागेका भने होइनन्।

बन्ने भो 'नभ्य'

बन्ने भो 'नभ्य'

काठमाडौं– नयाँ फिल्म 'नभ्य'को निर्माण घोषणा भएको छ। विप्लब आर पोखरेलको निर्देशन रहने फिल्मबारे निर्माण टोलीले मंगलबार जानकारी गराएको हो।

प्रकाश गुरूङका बाबुछोरीले गाए पलेँटीको दशौं बार्षिकीमा

प्रकाश गुरूङका बाबुछोरीले गाए पलेँटीको दशौं बार्षिकीमा

काठमाडौं- प्रकाश गुरूङले एक समयको आधुनिक नेपाली संगीतमा नयाँपन सहितका चर्चित गीतहरु भित्र्याए। उनकी छोरी रिमा त्यही विधामा भर्खर संघर्षरत् नयाँ पुस्ताको प्रतिनिधित्व गर्छिन्। शुक्रबार पलेँटी दसौं वर्षमा पुग्दाको दोश्रो...

तेरियाको प्रतीक्षा

तेरियाको प्रतीक्षा

बुटवल– सानैदेखि नाच्न भनेपछि हुरुक्क हुने। टिभीमा गीत बज्यो कि नाचिहाल्ने। गाउँमा केही कार्यक्रम भयो कि नाच्न भनेपछि अघि सरिहाल्ने। रुपन्देहीको रुद्रपुर सुनागाभा चोककी १२ वर्षीया तेरिया फौजा मगरको नाच्ने...

यो कथा हो सबैको!

यो कथा हो सबैको!

काठमाडौं– पारिवारिक कथामा निर्माण गरिएको फिल्म 'यो कथा हो तिम्रो मेरो'को गीतिएल्बम विमोचन गरिएको छ। मंगलबार बागबजारस्थित सिटीम्याक्स हलमा फिल्मका कलाकारहरुले संयुक्त रुपमा एल्बम विमोचन गरे।

सय करोड कमायो 'होलिडे'ले

सय करोड कमायो 'होलिडे'ले

मुम्बई, असार– लगभग दुई वर्षपछि अक्षय कुमारको फिल्मले सय करोड भारु कमाएको छ। सन् २०१२ मा अक्षयको फिल्म 'राउडी राठोर'ले सय करोड कमाएको थियो। त्यसयता अक्षयका फिल्म केही फिल्म हिट...

नाटकमा समलिङ्गीको मुद्दा

नाटकमा समलिङ्गीको मुद्दा

पोखरा-लामो समयदेखि पोखरेली रंगमञ्चमा देखिएको रिक्तता पुर्दै सुरु नाटक 'अर्को ओरालो'को मञ्चन सकिएको छ। नयाँ पुस्ताको सक्रियतामा गठित युथ क्रियसन थिएटरले नाटक तीन दिनसम्म मञ्चन गरेको थियो। उनीहरुको प्रयासलाई कलाप्रेमी...