
आठ महिना अघि 'डिभोर्स' गरेका निर्देशक श्याम भट्टराई र अभिनेत्री रञ्जना शर्माको पुनर्मिलन भएको छ। बुधबारदेखि यी दुई सँगै बस्न थालेका छन्। साढे तीन वर्षअघि उनीहरुको विवाह भएको थियो।
हो, हामी बुधबारदेखि सँगै बस्न थालेका छौं। मलाई फेरि विवाह गरेको जस्तो अनुभूति भइरहेको छ। हाम्रो डिभोर्स भएको पनि हैन र ठूलो झगडा परेर छुट्टिएको पनि होईन। घर छोड्ने घुर्की लगाएको श्यामजीले 'ल, हेरौं न त' भन्नुभो। त्यही झोंकमा हिंडेको पुनर्मिलन हुन आठ महिना लाग्यो। तर, मिडियामा डिभोर्स भएको भन्ने समाचार आउँदा दुःख लाग्यो।
कस्तो रह्यो अलग बस्दाका आठ महिना?
एकदमै पीडादायी। मेरो घर बिग्रिन लाग्यो भनेर माइतीलाई निकै पीर पर्यो। जिन्दगीबाट हारेको जस्तो पनि लाग्यो। कहिलेकाहीँ केही गरेर देखाउनु पर्छ भन्ने उत्साह पनि जाग्थ्यो। मुखले जे बोलेर निस्किएपनि मनबाट श्यामजीलाइ हटाउन सकिन। आफ्नो जीवनमा अरु पुरुषको कल्पना गर्न सकिन मैले। आठ वर्ष अघि उहाँसँग चिनजान भएको हो। यो आठ महिना त्यही 'फ्ल्यास ब्याक'मा बित्यो।
पुनर्मिलनको प्रस्ताव कसले राखेको नि?
हामी दुबै उस्तै अवस्थामा गुज्रिएका रहेछौं। लक्ष्मी पूजाको दिन अकस्मात श्यामजीको फोन आयो। अघिल्ला वर्ष बुढाबुढी मिलेर लक्ष्मीपूजा गरिन्थ्यो। यसपाली एक्लै हुँदा उहाँले मलाई खुब 'मिस' गरेको बताउनु भयो। मलाई पनि एकपटक उहाँसँग भेट्न मन लाग्यो। त्यो भेटमा हामी पाँच घण्टा रोयौं। एक पटक भेट्छु अनि कहिले पनि भेट्दिन भन्ने सोचेर गएको म उहाँसँग छुट्टिएर बाँच्न नसक्ने अनुभूति गरेर फर्किएँ। त्यसपछि दुबै पक्षको परिवार बसेर पुनर्मिलनको कुरा टुंग्याईदिए।
अब यो सम्बन्ध दीगो हुन्छ त?
यो बिछोडले हामी दुबैलाइ परिपक्व बनायों। एक अर्काप्रति अझै विस्वास बढेको छ। छुट्टै बस्दा एक अर्काको बिकल्पको कल्पना गर्न सकेनौं। सच्चा प्रेमले नै हामीलाई फेरि मिलाएको छ। यो घटनाले केही राम्रो पनि भयो। एक अर्कालाई अझ राम्रोसँग चिन्न पाइयो।
फिल्म क्षेत्रमा त स्क्याण्डल भइरहन्छ। तपाईंहरुले पनि त्यसको सिको गर्नु भएको हो कि?
आफ्नो निजी जिन्दगीलाई 'स्क्याण्डल' बनाउने कुनै रहर छैन मलाई। म त यी कुराहरु मिडियामा नआओस् भन्ने चाहन्छु। त्यसैले अचेल मोबाइल पनि अफ गरेको छु।


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook





