आन्तरिक उडान गर्ने निजी क्षेत्रका अन्य वायुसेवा कम्पनीका पाइलटका तुलनामा निगमका पाइलटले 'असाध्यै कम' सेवा सुविधा पाइरहेका कारण बाध्य भएर आन्दोलन गर्नुपरेको निगमका पाइलटहरूको संगठन नेपाल एयरलाइन्स पाइलट्स एसोसिएसन (नापा) का अध्यक्ष क्याप्टेन वाइके भट्टराईले जानका दिए। निगम व्यवस्थापनलाई पाइलटको माग पूरा गर्न आगामी फागुन ३ सम्म 'अल्टिमेटम' दिएको उनले बताए।
'माग पूरा नभए फागुन ४ देखि जहाज उडाउन बन्द गर्छौं,' क्याप्टेन भट्टराईले भने, 'व्यवस्थापनले एक वर्षदेखि हामीलाई गर्छौं, गर्छौं भन्दै आएको छ। तर, माग पूरा भने भएको छैन।' यसअघि व्यवस्थापनले अन्य देशका र निजी क्षेत्रका कम्पनीका दाँजोमा आफ्ना पाइलटको सेवा सुविधा के कस्तो छ, अध्ययन गर्न एउटा समिति गठन गरे पनि माग पूरा नभएको उनले बताए। पाइलटको पदोन्नति नौ तहबाट माथि जान रोकिएको उनको भनाइ छ।
'निजी कम्पनीमा आन्तरिक उडान गर्ने पाइलटको भन्दा निगममा अन्तर्राष्ट्रिय उडान गर्ने पाइलटको सेवा सुविधा कम छ,' भट्टराईले भने, 'हामीलाई मासिक न्युनतम ८० घन्टा ग्यारेन्टी आवर चाहिन्छ। त्यो नभए पैसा दिनुपर्छ।' आन्तरिक निजी कम्पनीमा भने मासिक ८० घन्टा 'ग्यारेन्टी आवर' हुने गरेको उनले जानका दिए। पाइलटले प्रतिघन्टा ग्यारेन्टी आवरबराबर न्यूनतम ३ हजार रुपैयाँ पाउने गरेको उनको भनाइ छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार महिनामा १ सय घन्टा ग्यारेन्टी आवर उडान गर्न पाइन्छ।
क्याप्टेन भट्टराईका अनुसार निजी कम्पनीका पाइलटले तलब, भत्ता, ग्यारेन्टी आवरलगायत ग मासिक ३ लाखदेखि ४ लाख रुपैयाँसम्म पाउने गरेका छन्। तर, निगमका वरिष्ठ पाइलटले भने मासिक अधिकतम ५० हजार रुपैयाँ पाउँछन्। वरिष्ठ पाइलटको 'बेसिक' तलब मासिक २५ हजार रुपैयाँ छ। सबै सुविधासहित पाएको रकममा २६ प्रतिशत कर कट्टी हुन्छ।
'हाम्रो माग सम्मानित सेवा सुविधा हुनुपर्छ भन्ने हो। यसमा सबै पाइलटको समर्थन छ,' उनले भने, 'हाम्रो जागिर पनि चौबीस घन्टे हो।' व्यवस्थापनले बुधबार वार्तामा बोलाएको जानका उनले दिए। उनका अनुसार निगममा आन्तरिक उडान गर्ने पाइलट अभाव छ। निगमले केहीअघि २० पाइलट माग गरेको तर एउटामात्र दर्खास्त परेको उनले बताए। 'सेवा सुविधा कम भएपछि किन आउने निगमका जहाज उडाउन?,' उनले भने।
आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्न निगममा करिब ६० पाइलट छन्। दुवै उडान गर्ने पाइलट छजना रहेको क्याप्टेन भट्टराईले जानका दिए। 'एउटै पाइलटले आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्नु सुरक्षाका दृष्टिले पनि खतरनाक हो,' उनले भने, 'हाम्रो बोइङको उडान गति ट्वीनअटरको भन्दा चार गुणा बढी छ।' जहाज थप्नुपर्ने र व्यवस्थापन सुधार गर्न पहिल्यैदेखि भन्दै आएको उनले बताए।
निगम व्यवस्थापनका एक उच्च अधिकाले पाइलटहरूको मागसम्बन्धमा कुराकानी भइरहेको जानका दिए। 'उनीहरूको माग जायज छ,' उनले भने, 'जहाज थपिएमा माग पूरा नहुने कुरै छैन।' उनका अनुसार अन्तर्राष्ट्रिय उडानमा दुई जहाज उडेका बेला पाइलटले मासिक ७० घन्टा उडाउन पाए डेढ लाख रुपैयाँसम्म तलब पाउँछन्।
निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई बोइङ ७५७ र आन्तरिकतर्फ चार ट्वीनअटर जहाज छन्। तीमध्ये एउटा बोइङ एक महिनादेखि नियमित मर्मतसम्भार (सिचेक) मा इजरायलको एलाल एयरलाइन्समा रहेको छ। अन्तर्राष्ट्रियतर्फ निगमले नयाँदिल्ली, हङकङ, बैंकक, दुबई, मलेसिया र दोहा तथा आन्तरिकतर्फ २६ गन्तव्यमा उडान गरिरहेको छ।


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



