Wednesday 22 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

काठमाडौंलाई चिन्नै कठिन

(0 votes)
काठमाडौंलाई चिन्नै कठिन
काठमाडौँसँग दुखिरहेका बेला, काठमाडौँसँग सङ्घर्ष गरिरहँँदा वा काठमाडौँमा अस्तव्यस्त भइरहँदा एकाएक सम्झनाको आँधी चल्छ मनमा। त्यो माटो जहाँ म जन्मेँ, ५/६ वर्षको उमेरसम्म लडिबुडी खेलेँ। त्यो भाषा जसको सहाराले आमालाई पहिलो पटक पुकार्न सिकेँ। त्यो प्राकृतिक सौन्दर्य जसको काखमा उन्मक्त ढङ्गले रमाएँ। अनि ती चाडपर्व जसको सौन्दर्य र आभालाई हृदयभित्र सजाएँ। अनगिन्ती छन् सम्झनाका तरेलीहरू, ज्ाो आज एकाएक सौँराई(सम्राई/सम्झना) लगाइरहेछन्।
nepalipatr-april
किशोरावस्थामा जङ्गलमा तरुल कोर्दा त्यो अवनीमा बनेका खाडलझैँ आज सम्झनाको भुमरीमा यादका ठूल्ठूला खाल्डा परेका छन्। अनेकौँ घुम्ती टल्किरहेका छन् अनि झम्झमाइरहेका छन् जिन्दगीका कुइनेटा। काठमाडौँ जहाँ दिनको १० घण्टा जागिरको नाममा गुटमुटिएँ। जिन्दगीलाई कतै कार्यालयका फाइलभित्र थन्काएँ त कतै कक्षाकोठामा चकसँगै घोटिरहेँ। नाङ्लाको बिस्कुन पोखिएझैँ पोखिएँ– कहिले गीतका पङ्क्तिहरूमा त कहिले कविताका हरफमा।

न यो काठमाडौँ छोड्न सकेँ न त जन्मभूमिको सौँराई नै भेटाउन सकेँ। झन्झन् बढिरह््यो यादको धरहरा। हुलाकीले झैँ काँधमा झोला भिरेर सडक पेटी नापिरहँदा, जिन्दगीका पदचापहरू एकतमासले अगाडि बढाइरहँदा बाटोमा कतिले प्रश्न तेर्स्याए– घडेरी किनिस्? मुसुक्क मुस्कुराउँदै मौनताका पाइला अगाडि बढाइरहेँ। भौतिकवादी सोचमा जकडिएका नर–नारीहरूसँग धेरै कुरा गर्नुभन्दा मुसुक्क मुस्कुराएर केही नबोलीकनै बाटो लाग्नु उचित हुन्छ, स्वास्थ्यका लागि पनि। त्यसैले आफ्नै धुनमा हिँडिरहेँ। न यो काठमाडौँले मलाई चिन्यो न मैले नै यसलाई चिन्न सकेँ। कारण म एक गाउँले हुँँ अझै भन्नुपर्दा म सुदूरपश्चिमको गाउँले हुँ त्यसैले केही बुझ्न सकिनँ।

केही साथीहरूले काठमाडौँलाई चिने र चिन्यो काठमाडौँले पनि उनीहरूलाई। कारण तिनीहरूले निकै होसियारीपूर्वक आफ्नो असली परिचय लुकाए र आफूलाई चिनाए कसैले तराईको जमिनदार भनेर त कसैले काठमाडौँमै घर, घडेरी भएको भनेर। कसैले ठूलाबडासँग साइनो गाँसेर, कसैले समय अनुकूल मुखुण्डो बदल्दै विभिन्न राजनीतिक पार्टीका ध्वजापताका र आलमहरू बोकेर त कसैले आफ्नो हुँदै नभएको पद झल्किने भिजिटिङ कार्ड तेर्स्याएर, आत्मश्लाघा बनेर।

मेरो माटो, मेरो भूगोलको सौन्दर्य र म निरीह बन्यौं, हाँसोका पात्र बन्यौँ, ठूलाबडाको व्यङ्ग्यमा लुट्पुटियौँ। कहिले आफै उपेक्षित बन्यौँ, कहिले सिंहदरबारले उपेक्षा गर्यो । फर्केर हेरेनन् त्यहाँबाटै आएर काठमाडौँमा सयर गर्ने ठूलाबडा भनाउँदाहरूले पनि, आफैले आफैलाई विद्वान्को पगरी पहिराउनेहरूले पनि। त्यो शक्तिशाली डोटीराज्यको यथार्थता बोकेको लिखित इतिहास अवतरित हुन सकेन। नेपाली भाषाको प्रारम्भिक रूप भएको त्यो डोटेली भाषा लिखितरूपमा आउन नसकेकै कारण भाषिका बन्न गयो।

यहाँका झोलाभरि आफ्नो परिचयका पानाहरू बोकेका ठूलाबडाहरूले च्याउ उमारेझैँ विकासे संस्था उमारे। अनि, सभ्यता सिकाउने शिक्षित तुल्याउने विकास गर्ने नाराको गरुङ्गो भारी बोकेर यात्रामा टल्किए– विकासे संस्थाका कारिन्दाहरू। तिनले विदेशी डलर मात्रै पचाएनन्, झन् बेकारका महŒवाकाङ्क्षा पाल्न लगाई अल्छी बनाए मान्छेलार्ई। सभ्यता र संस्कृतिको खिल्ली उडाए, नारा र जुलुसमा सहभागी हुन सिकाए। तारे होटलमा गोष्ठी चलाए, भाषा संस्कृति र सभ्यताको मर्म बुझ्न चाहेनन्। पुराना मूल्य–मान्यतालाई, चाल–चलनलाई समयअनुसार परिमार्जन गरेर आत्मसात् गर्नुको साटो जरै उखेलेर फ्याँक्न लगाए। संवेदनशीलता, स्वाभिमानीपन, आपसी प्रेम कला र संस्कृतिका पाटा हेर्न सिकाएनन्। विदेशीको नक्कल गर्दै देखासिकीमै एक्काइसौँ सताब्दीको डम्फू हल्लाइरहे।

मेरो माटो मेरो प्रकृति सबै खिन्न छन् एक्काइसौं शताब्दीको प्यालाको गन्ध बढेर उकुसमुकुस भएको सभ्यताको नाममा धुलो धँुवा उडेको देखेर। कला संस्कृति जीर्ण भइरहेछ सम्भार गर्ने हात नपाएर, महत्व बुझ्ने मन नदेखेर। वर्षौं पुरानो दोबाटोको चौतारो एकतमासले हेरिहेछ एक्काइसौं शताब्दीको रसहीन जिन्दगीलाई। पिँडीमा बसेर बरबर्ती आँसु झार्न बाध्य छन् आफ्नैबाट अपहेलित बृद्धबृद्धाहरू। वरिपरि घाँस उमार्दै भित्ताभरि लेउ जमाउन बाध्य छन् पुर्खाको चिनो बनेका ती मठमन्दिरहरू। गुञ्जिएको छैन जीवनको बाँसुरी कुनै वसन्तमा पनि अतीतको स्मृति दिलाउने गरेर। जसरी पहिले जात्रामा चौलो (नाङ्गा तलबार हातमा लिएर दमाहा र ढोलकको तालमा नाचिने नाच) खेलिन्थ्यो त्यस्तै गरी आज मान्छेको मनभित्र अहङ्कारको चौलो चल्दैछ।

तीर्थस्थलको गरिमा बढाउने जात्रा–पर्वहरू हिजो आज तारे होटलको गरिमा बढाइरहेका छन्। पुराना स्वस्थकर बनेका परिकारहरू, पहिरन र भाषा सबै बासी, परम्परावादी र काम नलाग्ने बनेका छन्। संवेदना, माया र सद्भाव पलाउने मनका चौखटहरू कुँजा भइसके। यसरी एकतिर लोप भइरहेको संस्कृति र सभ्यता छ, अर्कोतिर एक्काइसौँ शताब्दीको डमरु बेतालमा बजिरहेछ। पैसाको लागि जे पनि गर्न तयार यत्रतत्र छरिएका मन भ्ाौँतारिएकै छन्।

लेकमा ढकमक्क गुराँस फुल्ने, नयाँ पालुवाहरूको आगमन हुने यो मौसम, नयाँ वर्षको उपलक्ष्यमा घर छिप्न रातो माटो र कमेरो बोक्दै होलान् गाउँघरमा। प्रेमका सुसेलीहरू सुसेल्दै होलान् रानीवनमा। कला, संस्कृति र सभ्यताका पाटा नै हाम्रो जिन्दगीका आधार हुन्। आस्था र निष्ठाका खम्बा हुन्। मान्छेमा अलिकति पनि संवेदना छ भने हृदयभित्र माटोको सुवास र सौन्दर्य बोकेका बुट्टा कोरिन्छन्। ती बुट्टामा रङ भर्न थाल्छन् सम्झनाका ती तरेलीहरूले अनि चियाउन खोज्छन् आकाशका जून ताराले।

तिनै जूनताराहरूले धेरै पछि आज एकान्तमा सोच्न लगाए— सम्झनाका गौँडाहरूलाई मन मस्तिष्कमा टलक्क टल्काएर। तन काठमाडौँमा भए पनि मन पूरै सुदूरपश्चिममा बिछ््याइरहेका अमर शाहीले सम्झनाको आगोमा तेल थपिरहे भेट हुँदा डेउडा गीतका एल्बमहरू बजाएर। उनी अहोरात्र खटिरहेका छन् सुदूरपश्चिमको पर्यटकीय विकासमा टेवा पुर्या उन। रुख रोपिरहेका छन् पर्यावरण बचाउन। यतिखेर सम्भि्कन मन लाग्छ स्व. देवकान्त पन्तलाई जसले डोटेली लोकसाहित्यलाई पहिलो पटक २०३२ सालमै लिखितरूपमा पाठक समक्ष पुर्या ए। नेपाली साहित्यको भण्डारभित्र यसको स्थान बनाए। त्यस्तै अर्को नाम हो डा. हेमराज पन्त— जसले काठमाडौँले दिन सक्ने र दिएका कैयौँ अवसरलाई लत्याएर कैलालीको जङ्गलमा एक पवित्र आत्माले पवित्र काम गरे। कैलाली क्याम्पसलाई पब्लिक क्याम्पसको सूचीमा अग्रस्थानमा ल्याइपुर्यारए। सुदूरपश्चिमेलीहरूका लागि उच्च शिक्षा अध्ययनको ढोका खोलिदिए। एकातिर यस्ता समाजसेवी, विद्वान्हरू छन् अर्कोतिर आफूलाई अरूसँग तुलना गरेर पैसा र पदका लागि दौडिरहेका अवसरवादीहरू छन्।

मान्छेले हरेक पाइलामा स्वार्थको भारी उचालिरहेको छ परिणाम सुनिन्छ श्रीमान् श्रीमतीबीच पारपाचुके, दाजुभाइमा कलह, हत्या, हिंसा, बलात्कार, चोरी, डकैती आदि। यो सबै उचित शिक्षाको अभाव हो। आजको शिक्षा आजको युग केवल सर्टिफिकेटमुखी बन्यो, मात्र बुद्धि तिखार्ने बन्यो, हृदय माँझ्ने हुन सकेन। आन्तरिक हृदयमा सौन्दर्य र सुवास भर्न सिकाएन, शिष्टता र सहनशीलता उमार्न सिकाएन परिणामस्वरूप चारैतिर अशान्ति र कलह मच्चिन थाल्यो।

कला–संस्कृति र पर्यावरणको धनी मेरो सुदूरपश्चिम पनि त्यही रोगको शिकार बनिरहेछ। दुई पैसा हुनेहरू तराईका फाँट नाप्न थाले। चार पैसा हुने काठमाडौँ हानिए। त्योभन्दा बढी हुने अमेरिका पुगे, जापान पुगे, अस्ट्रेलिया पुगे, बेलायत पुगे। गाउँमा आफ्नै पौरखमा रम्न सक्ने र रमाइरहेकाहरू पनि कोही खाडी मुलुकतिर बरालिए त कोही भारततिर भौँतारिए। बुद्धि भएका युवा–युवती पलायन हुन थाले हृदय भएका वृद्धवृद्धाहरू गराको डिलमा बसेर एक तमासले टोलाइरहे। कला, संस्कृति र सम्पदाको धनी त्यो माटो बाँझै रह्यो। विभिन्न अधिकारका नारा लगाउनेहरू, राजनीतिक दलका रथी महारथीहरू सदरमुकामसम्म पुगे, गोष्ठी चलाए भाषण गरे र फर्किए। मिडियाहरूले छाउपडी देखे, एड्स देखे, भोक देखे झुप्रा देखे, विकट देखे, रातदिन छापामा तिनै कुराहरू पोखे। झुपडी भित्रको प्रेमपूर्ण पवित्र हृदय देखेनन्, पर्यटन तान्ने सौन्दर्य देखेनन्, त्यो माटोको सौर्य र सुवास बुझ्न सकेनन्। नोकर र मालिकको बीचमा खासै फरक नभएको एउटै शब्दले सम्बोधन गर्न सक्ने (जस्तै तमी) प्रजातान्त्रिक भाषा बुझेनन् अझ माया–प्रीतिका प्रसङ्गमा त झन् त्यो भाषामा कति आत्मीयता र अन्तरङ्ग छ त्यो बुझ्न सकेनन्।

त्यति मात्र होइन, सदरमुकामका कार्यालयहरू देखे टबुलमुनिबाट चल्ने कारोबार देखेनन्। शिक्षा, स्वास्थ्य र विकासका नाममा गएको एकमुठी बजेटमा समेत चुहावट भएको देखेनन्। त्यो माटोमा लुकेर रहेका बहुमूल्य खनिज पदार्थहरूको अध्ययन–अनुसन्धान गर्न सकेनन्। वर्षौसम्म भारतमा चौकीदारी गरेर घर फर्केको लाहुरेले काँधमा बोकेर ल्याएको टेप रिकर्डरमा घन्केको आवाजको आयतन र खुसी बुझ्न सकेनन्। एक्काइसौँ शताब्दीको सहरमुखी र सुविधाभोगी मान्छेले बुझ्न सक्दैन त्यो पहाडको कन्दरामा फुल्ने प्रेम र सद्भाव। बोक्न सक्दैन ती गिरि, पर्वत, लता, लहराहरूले जस्तो धैर्य सहनशीलता र स्वाभिमानीपन। अनि देख्न सक्दैन, फलाउन सक्दैन ती घर रुङ्दै र काल पर्खदैै गरेका वृद्धवृद्धाका जस्ता सुन्दर र पवित्र सपना।

यतिखेर सपनाको प्रसङ्ग उठ्ने बित्तिकै स्मृतिपटलमा झुल्किसक्यो केही वर्ष अगाडि गुरुकुलमा कर्नालीवासीले देखाएको नाटकको दृश्य। सुमन मल्लद्वारा लिखित एवं सुनिल पोख्रेलद्वारा निर्देशित 'सुइना कर्नालीका' नाटकमा एक वृद्धले सुइना देख्छन् युरोपेली मुलुकबाट कर्नालीको जडीबुटीको अत्यधिक माग आएको, कर्नालीमा कम्प्युटरदेखि अनेक उपकरण बनाउने कम्पनी भएको, बढी भएको बिजुली विदेशमा बेचेको। इमानदार, कर्तव्यनिष्ठ मन्त्रीहरू भएको र उच्च ओहोदाका व्यक्तिहरूले आफ्नै भाषा पहिरन र चालचलनलाई महŒव दिएको। सिँजा विश्वविद्यालय खुलेको। एक समृद्ध कर्नाली राज्य जहाँ ऋण माग्न नेपाल (काठमाडौँ) बाट प्रधानमन्त्री आउँदा कर्नाली राज्यले उदार दिलले मागेकोभन्दा केही बढी अनुदान दिएर पठाएको। निद्रा खुलेपछि सपना भङ्ग हुन्छ। हजुरबुबा नन्दप्रसाद खत्रीको काखमा भोकले सुस्ताएकी १० वर्षिया नातिनीले इरानी सुन्दरी भामले गाएको डेउडा गीतका पङ्क्ति अझै कानमा भिजेकै छन् :

पिउनु छैन घुट्को पानी खानु छैन गास

भारी बोक्दै लौरी टेक्दै टुटी गयो आस

त्यो आशा राज्यप्रतिको थियो, सिंहदरबारप्रतिको थियो जुन कर्नालीवासीले हिजो–आज तोडिसके। सपना त सिंहदरबारले पनि देख्दो हो–केवल कुर्सीको, कमिसनको र विदेश भ्रमणको। ती कर्नालीवासीले देखेको जस्तो, मेरो भूगोलको जस्तो मित्रताको, सिर्जनात्मक जिन्दगीको, धैर्यको, स्वाभिमानको, आफ्नोपनको निस्वार्थ सपना देख्न सक्दैन। हिजो आज कता–कता मनमा अनेकौँ प्रश्नहरू उब्जिन्छन् — मेरो पहाडमा ती जिन्दगीका आयामहरू बोक्ने झुपडीमा प्रेमिल सपनाहरू उमि्रन्छन् या उमि्रदैनन्? तेलेको लेकमा भैंसे घाणो बजिरहेको छ या छैन? माघ महिनामा चेलीबेटीलाई कोसेली लगिदिने कोही भेटियो या भटिएन? जाँत(जात्रा), पुसपन्ध्र, भूवाः पर्वहरू मनाए या मनाएनन्?

विगतको सम्झना प्रीतिकर बनिरहेछ। खोला, नाला, झरना, वनजङ्गल सबै सिनेमाको रिलझैँ दिमागमा फन्को मारिरहेछन्। बजाइ बर्या तमा मुधुर हृदयस्पर्शी धून गुञ्जाउने सौनाई, नरसिंहा र हुड्कोको याद तीव्रतासित आइरहेछ। यो मौसममा एकान्तमा वर्षैंपछि भावविह्वल भएर सम्भि्करहेछु जन्मभूमिलाई। युगौंदेखि दुर्लभ संस्कृतिका अनेकौँ पाटाहरू बोकेको त्यो सौन्दर्य र सुवासलाई। यतिखेर भुवन दाहालले गाएका यी दुई पङ्क्ति गीत गुनगुनाउन मन लाग्छ :

घाम लाग्यो पाइलका डाँडा सिमलपूले लोली

उसोइ छ कि अनुहार उसोइ छ कि बोली

यो गीतले कसैलाई आफ्नी बाल्यसखा प्रियतमाको अनुहार र बोली सम्झाउला र कालिदासको मेघदूतमा यक्षले विलौना गरेझैँ विलौना गर्लान् — श्रीमान्को, श्रीमतीको, छोराको, छोरीको या कसैको। तर म यतिखेर त्यो बोली सम्भिँ्कदै छु जसले कतै जाँदा बाटोमा कुहूँ कुहूँ गरेर सोध्दथ्यो। त्यो अनुहार सम्भिँ्कदै छु जहाँ अनुपम आनन्द सौन्दर्य र सुभाष भेटिन्थ्यो। जुनेलीको घुम्टोमा सजिँदाको सौन्दर्य होस् या इन्द्रेणीले पहाडको शिरमा सिन्दुर ढालेझँा गरी टल्किँदाको सौन्दर्य होस्। पञ्चेबाजाको धूनसँगै हल्लिएका बाटो किनारका तरुलताहरू हुन् या बटुवा र घाँस दाउराको भारी बिसाएर युवा युवतीले सुइय सुस्केरा हाल्दै थकाइ मार्ने ती चौतारी हुन्, यतिखेर ती सबै सम्झनाका भोजपत्रहरू बनेर मस्तिष्कमा सल्बलाइरहेका छन्।

अनुप्रास मिलाउन प्रयोग गरिएका ती फुलेका सिमल जिन्दगीका प्रतीक पनि हुन्। वसन्त ऋतु आगमनका सूचक पनि हुन्। आज यो सहरमा ऋतु परिवर्तन भए नभएको थाहा पाउन भित्ताको कयालेन्डर पल्टाउनुपर्छ। जिन्दगीको प्रतीक खोज्न त निकै परको कुरा भइसक्यो। विज्ञानको दुनियाँमा मान्छेले निकै ठूलो उथल पुथल ल्याइसक्यो महिना दिन हिँड्नुपर्ने बाटो एक घण्टामै नाप्न सक्यो। चन्द्रमामा पुग्यो, आकाशमा चराझैँ उड्यो, सजिलै समुद्र पार गर्योे तर पनि सधैँ असन्तुष्ट रहिरह्यो। सधैँको प्यासी, सधैँको अधैर्य, सधैँको असन्तुष्ट यो दुःखी प्राणीलाई देखेर यही गीतको माध्यमबाट कला, संस्कृति, माटो र प्रकृतिले एकै स्वरमा भनिरहेझैँ लाग्छ :

लेक पाती झुप्झुपानि औल पाती टुसाई

रोप्या खेत पहेला भैगे तेरा दुःख उसाई

आषाढको भेल बगे जस्तो कैयौँ चिजको मातमा उन्मक्त भएको आजको मान्छे जब चैतको खडेरी जस्तो जिन्दगी लिएर गोधूलिको घाम हेर्न बाध्य हुन्छ बलौटे बगरको नजिक जब जिन्दगीले दृष्टि पुर्याजउँछ तब सम्झनाका तरेलीहरूले बस्ती बसाल्छन् स्मृतिपटलमा र हफिज जालान्धरीका यी पङ्क्तिहरूमा तादात्म्य राख्दछ –

हमी मे थी न कोइ बात याद न तुमको आ सके

तुमने हमे भुला दिया हम न तुमे भुला सकेँ...।

(जिजोडामाडौँ– २,डोटीका हेमन्त काठमाडौंमा प्राध्यापन गर्छन।)

Leave a comment

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

काठमाडौं- नयाँ संविधानको उत्साहमा सरकार यस वर्ष साबिकभन्दा छिटो वार्षिक बजेट ल्याउने तयारीमा छ। बजेट बनाउन व्यस्त अधिकारी भने दिनहुँ सरकार परिवर्तनको 'हल्ला'ले तर्सन्छन्। किनकि, छिट्टै सरकार फेरिए उनीहरूलाई कम्तीमा...

लामो खडेरीले किसानलाई सकस

लामो खडेरीले किसानलाई सकस

काठमाडौं- लामो खडेरीले खाद्यान्न, तरकारी, फलफूल र नगदे बालीमा क्षति पुग्दा किसानलाई करिब ११ अर्ब रुपैयाँ क्षति पुगेको छ। हजारौं हेक्टर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट भएको छ भने उत्पादनमा भारी...

६० हजार युवायुवतीको कोरिया सपना

६० हजार युवायुवतीको कोरिया सपना

काठमाडौं- बिबिएसमा ५७ प्रतिशत अंक ल्याएपछि काभ्रेकी प्रमिला लामाले जिन्दगीमा ठूलो उपलब्धि हासिल गरेको ठानिन्। अधिकांश साथी–भाइ, आफन्तले स्नातक तहमा राम्रै अंक ल्याएकाले जागिर पाउन कुनै अप्ठेरो नहुने भन्दै लामालाई फुरुंग...

खडेरीले खेतबारी खङ्ग्रङ्ग

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला...

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...

पूर्वाधार बैंक खोल्ने तयारी

पूर्वाधार बैंक खोल्ने तयारी

काठमाडौं–नेपाल राष्ट्र बैंकले 'राष्ट्रिय पूर्वाधार बैंक'लाई अनुमति दिन आवश्यक नीति बनाउन कार्यदल गठन गरेको छ । जलविद्युत, सडक तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले बैंक गठनको तयारी भइरहेको...

अभावको मौका छोपेर दोब्बर मूल्य

अभावको मौका छोपेर दोब्बर मूल्य

काठमाडौं–सुक्खायामको मौका छोप्दै खानेपानी ट्यांकर व्यवसायीले पानीको मूल्य दोब्बर बढाएका छन् । पानीको हाहाकार बढ्दै जाँदा उपत्यकामा चल्ने खानेपानी ट्यांकरले दोब्बरभन्दा धेरै मूल्य बढाउँदै कालोबजारी गरिरहेका छन्।