Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

पेन्सनमा आयकर कट्टीको विरोध

smaller text tool iconmedium text tool iconlarger text tool icon
विराटनगर, फागुन २७ (नागरिक)- नेपाल ब्याङ्कका सेवानिवृत्त कर्मचारीले पाउँदै आएको पेन्सनमा एक प्रतिशत आयकर काटिएकोमा उनीहरु आक्रोशित छन्।
विश्वमै कहीँ नभएको नियम लागू गरेर सरकारले सेवानिवृत्त कर्मचारीलाई बुढेसकालमा दु:ख दिएको उनीहरुको आरोप छ।

नेपाल ब्याङ्क पूर्व कर्मचारी सङ्घ केन्द्रीय समितिले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै पेन्सनपट्टाबाट सरकारले साउन महिनादेखि काटिरहेको एक प्रतिशत आयकर फिर्ता लिन आग्रह गरेका छन्। ‘शान्तिपूर्ण तवरले शीघ्र आयकर कट्टी फिर्ता हो, अन्यथा बाध्य भई सशक्त आन्दोलनमा जान्छौं’– सङ्घका अध्यक्ष लवकुमार ताम्राकारले भने।

ऐन, नियम र कानुनमा सेवानिवृत्त कर्मचारीले पाइरहेको पेन्सनमा कुनै प्रकारको कर नलाग्ने उल्लेख रहे पनि अर्थ मन्त्रालयले असारको अन्तिम साता सूचना प्रकाशित गरी पेन्सनमा पनि एक प्रतिशत आयकर काट्न थालेको हो। ‘हचुवाको भरमा निवृत्तिभरणमा संसारभर कहीँ कतै नभएको आयकर लागउन पाइँदैन’, ताम्राकारले पत्रकार सम्मेलनमा भने- जीविकोपार्जनका लागि पेन्सन बिल्कुलै अपर्याप्त रहेको बेला कर काटेर सरकारले दु:खमात्र दिन खोजेको हो।

नेपाल ब्याङ्कका देशभरका झण्डै १६ सय पूर्व कर्मचारी सरकारको उक्त निर्णयपछि साउनदेखि पेन्सनमा एक प्रतिशत आयकर काटिएको रकम बुझिरहेका छन्। उनीहरुले तत्कालै आयकर काट्ने काम बन्द नगरिए देशभरका पूर्व कर्मचारी कडा सङ्घर्षमा उत्रने चेतावनी दिएका छन्।

०६४ साउन २३ गते सर्वोच्च अदालतले निवृत्तिभरणलाई आम्दानी नमानेको निर्णय सुनाएकाले नेपाल ब्याङ्कका पूर्व कर्मचारीले वृद्ध अवस्थामा बाँकी जीवन आरामदायीरुपले व्यतीत गर्नका लागि दिइएको पेन्सन रकमलाई आम्दानी मान्न नसकिने कुनै आधार नभएको दाबी गरेका छन्। सर्वोच्च अदालतकै फैसलाअनुसार राष्ट्र ब्याङ्कका पूर्व कर्मचारीलाई पेन्सनमा एक प्रतिशत आयकर नलिएको उनीहरुको भनाई छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

अर्थ

Nagarik Offer