Monday 16 Bhadra, 2071 |
Menu

प्रवास

एनआरएनए डेनमार्कका उम्मेदवारलाई प्रश्‍नको वर्षा

  • आइतबार २० श्रावण, २०७०
  • शशि ढकाल
  • DISQUS_COMMENTS
(0 votes)
कोपनहेगन (डेनमार्क)- गैरआवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कको चुनावलाई लक्षित गर्दै नेपाल पत्रकार महासंघ युरोप महाशाखाले कोपनहेगनमा चुनावी अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पाँच प्रतिस्पर्धीलाई यहाँ बसोबास गर्ने नेपालीले कार्यक्रममा थुप्रै प्रश्न् सोधे।

कार्यक्रम थालनी गर्दै नेपाल पत्रकार महासंघ युरोप महाशाखाका महासचिव प्रकाश ढकालले प्रतिस्पर्धी उम्मेदवारलाई एकै मञ्चमा ल्याएर अन्तर्क्रिया गराइ मतदातालाई उम्मेदवार छनोट सजिलो बनाइदिन अन्तर्क्रियाको उद्देश्य रहेको बताए। 


विभिन्न दलका भ्रातृसंस्थाले चुनावका लागि आ–आफ्ना प्यानल मैदानमा उतारिसकेको बेला अन्तर्क्रियाका अधिकांश सहभागीले एनआएनएमा राजनीतिक खिचातानीको विरोध गरे। 'राजनीतिक परिधिबाट टाढा रहेर पनि के नेपाल र नेपालीको सेवा गर्न सकिँदैन र?' अध्यक्षका उम्मेदवारलाई सहभागीको प्रश्नल थियो। 


आसन्न चुनावको लागि स्वतन्त्र उम्मेदवार पनि मैदानमा उत्रेका छन्। राप्रपा नेपालको विदेशस्थित भ्रातृसंस्था प्रवासी नेपाली एकता समाजले भने आफ्नोतर्फबाट कुनै पदमा उम्मेदवारी नदिने बताएको छ। संस्थाका अध्यक्ष विनोद कोइराला, उपाध्यक्ष गणेश खड्का र महासचिव रमेशराज बास्तोलाद्वारा जारी विज्ञप्तिमा संस्थाको तर्फबाट कुनै पनि पदमा उम्मेदवारी नदिने तर बाहिर रहेर सहयोग र समर्थन गर्ने उल्लेख छ। 


लोकत्रान्त्रिक मञ्च डेनमार्कले जयलाल न्यौपानेलाई अध्यक्षको उम्मेदवार बनाएको छ। जनसम्पर्क समितिबाट त्रिलोचन सापकोटा र जनप्रगतिशिल मञ्चबाट दिपक तिवारी मैदानमा छन्। स्वतन्त्रमा हेमप्रसाद अर्याल र दिपक सापकोटाले उम्मेदवारी दिने तयारी गरेका छन्। अन्तर्क्रियामा अध्यक्षका उम्मेदवारहरुले प्रस्तुत गरेका एजेन्डामा उपस्थित नेपालीले 'यो त दलहरुको पूरा नहुने घोषणापत्रजस्तै भयो' भन्दै पूरा हुने वाचामात्र गर्न सुझाएका थिए। 


कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएन) डेनमार्कका अध्यक्ष मोहन मिश्रले सगंठन अब ठूलो भइसकेकोले फुर्सदमा मात्र समय दिएर नपुग्ने भन्दै पूरा समय दिन नसक्नेले सगंठनको कार्यकारी पदमा बस्न नहुने बताए। 


कार्यक्रममा डेनमार्कमा कार्यरत विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, विभिन्न दलका भ्रातृसंस्थाका प्रतिनिधि र नेपालीको उपस्थिति थियो।