Wednesday 4 Bhadra, 2071 |
Menu

प्रवास

डेनमार्कबाट ‘प्रजातन्त्रका लागि अपहरण’ सुरु

  • बुधबार १६ श्रावण, २०७०
  • शशि ढकाल
  • DISQUS_COMMENTS
(0 votes)

कोपनहेगन — पत्रकार जगत नेपालले तीन वर्ष लगाएर बनाएको ‘प्रजातन्त्रका लागि अपहरण’ नामक वृत्तचित्र डेनमार्कबाट सार्वजनिक प्रदर्शन सुरु गरेका छन्। बेल्जियमबाट प्रदर्शन थाल्ने भने पनि प्राविधिक कारणले सम्भव नभएपछि उनी डेनमार्क आइपुगेका हुन् । कांग्रेसीहरुले २०३० साल जेठ २८ गते  विराटनगरबाट नेपाल राष्ट्र बैंकको भारु ३० लाख लिएर काठमाडौं उडेको विमान अपहरण गरी भारतको फारवेसगन्ज पु¥याएर पैसा लुटेका थिए । उक्त अपहरणका मुख्य योजनाकार पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला थिए। विमान अपहरणताका एक तोला सुनको बजार मूल्य नेरु २९४ रहेको वृत्तचित्रमा विगतको सम्झना गर्दै भूतपूर्व प्रधानमन्त्री कितिनिधि विष्टले बताएका छन्।  

अपहरणमा परेको तात्कालीन शाही नेपाल वायु सेवा निगमको नाइन एन एबीबी विमान त्यस दिन पाइलट आरके मानन्धर र को–पाइलट श्रीदेव वैद्यले उडाएका थिए । विराटनगरबाट उडेको जहाज फारवेसगन्ज पुगेर विराटनगर फर्किन जम्मा २७ मिनेट लागेको थियो । दुई भागमा विभाजित वृत्तचित्रको पहिलो भागमा विमान अपहरण कसरी भयो, देखाइएको छ। दोस्रोमा अपहरणसँग सम्बन्धित व्यक्तिसँगको कुराकानी रोचक ढंगमा प्रस्तुत गरिएको छ। वृत्तचित्रका माध्यमबाट इतिहासमा लुकेका कतिपय तथ्य बाहिर ल्याउन पत्रकार नेपाल सफल छन् । कांग्रेसीसँग मिलेर जहाज अपहरण गरायो भन्ने आरोप खेप्दै आएका को–पाइलट श्रीदेवको अपहरणमा मिलोमतो नरहेको वृत्तचित्रले पुष्टि गरेको छ।


अपरहणसम्बन्धी केही रोचक घटनामा बिपीपुत्र प्रकाश कोइरालाको प्रत्यक्ष संलग्नतामा अपहरण गर्न लागिएकोमा विमानमा उनका भाइ (काकाका छोरा) शेखर कोइराला काठमाडौं उड्दै थिए। अन्तिम समयमा प्रकाशकै अग्रसरतामा शेखरको टिकट रद्द गरिए पनि शेखरलाई अपहरणबारे जानकारी नभएको वृत्तचित्रले देखाउँछ। विराटनगरका विनोद अर्यालले फारवेसगन्जमा उतारिएको विमानको पैसा सुरक्षित स्थानमा लैजाने जिम्मेवारी पाएका थिए। विराटनगरस्थित राष्ट्र बैंकका कर्मचारी उनकै भाइ मदन अर्यालले बैंकबाट कुन मितिमा कति पैसा काठमाडांै जाँदैछ भन्ने सूचना अपहरणकारीलाई उपलब्ध गराएका थिए। तर विनोदलाई भाइ मदनले अपहरणमा सहयोग गरिरहेकोबारे थाहा थिएन।


मुख्य अपहरणकारी दुर्गा सुवेदी, वसन्त भट्टराई र नगेन्द्र ढुंगेलले त्यसयता तीनैजना एकै ठाउँमा जुटेर अझसम्म कुराकानी नगरेको खुलासा गरेका छन् । अपहरित विमानका एक यात्रु जया अधिकारीको प्रसंग झन् रोचक छ । काठमाडौं रक्तकालीकी स्थायी वासिन्दा अधिकारीले अपहरणमा परेको ३० वर्षपछि मात्र श्रीमान्को करबलमा जहाज चढेको बताएकी छिन् । अहिले पनि उनलाई जहाज देख्दा डर लाग्छ रे।


वृत्तचित्र युरोपका विभिन्न मुलुकमा प्रदर्शन गर्ने पत्रकार नेपालले जानकारी दिए । डेनमार्कमा प्रदर्शन गर्न नेपाली जनसम्पर्क समितिले सघाएको थियो । डेनमार्ककका लागि नेपाली राजदूत मुक्तिनाथ भट्ट, एनआरएन डेनमार्कका अध्यक्ष मोहन मिश्रलगायत यहाँ रहेका नेपालीले वृत्तचित्र हेरेका थिए ।