Friday 12 Mangshir, 2071 |
Menu

ब्लग

ज्ञानेन्द्रलाई जेल हाल्ने कि गद्दीमा बसाउने?

  • आइतबार २७ श्रावण, २०७०
  • यम घिमिरे
  • DISQUS_COMMENTS
(0 votes)

नेपालीलाई माओवादीको युद्ध आवश्यक थियो? हिंसाको निरपेक्ष बिरोध गर्नेहरुले नेपालमा १० वर्ष चलेको हतियारबन्द राजनीतिक युद्धको बिना सर्त आँखा चिम्लेर भन्दिनेछन्- पटक्कै थिएन। युद्धको परिणामले आफ्नो वर्गीय स्वार्थमा धक्का पुगेको देख्ने भोग्नेलाई पनि यो आवश्यक थिएन।

दुःखजिलो गरेर खाने तर र युद्धको मारमा परेर आफन्त गुमाएका, अंगभंग पारिएका, बेपत्ता बनाइएका, धम्किधमास र यातनाले पिल्स्याइएका, घरखयाल हड्पेर उठिबास पारिएका कसैका लागि पनि प्रचण्ड र बाबुरामले देश बनाउने भनि गरेको यो युद्ध आवश्यक थिएन। युद्धको आधारभूमिले गद्दीच्युत भएका राजा ज्ञानेन्द्र ४-५ वर्ष नबित्तै फेरि सल्बलाउन थालेका छन्। राजतन्त्र पक्षधरहरुले बडेमाका क्रान्तिकारीहरुलाई औंलो नै ठड्याएर चुनैती दिन सक्ने उर्जा जुटाएका छन्।

नेताले वर्ग समानताका जति नै ठूला गफ गरे पनि हाम्रो समाज र राज्यको चरित्र मालिक र दासको जस्तो हो। शक्तिमा पुगेकाले शक्तिमा नहुनेलाई शासनै गर्ने हो। हामीले दरबारलाई राष्ट्रिय एकताको प्रतिक मानेर २३८ बर्ष बितायौं। दरबारलाई सामयिक सुधार गर्दै लानुपर्छ भनि मुद्दा उठाउने मदन भण्डारीलाई दरबार र उसका भारदारहरुले पटक्कै रुचाएनन्। दरबारले मात्रै होइन जनतन्त्रको सबै भन्दा ठुलो सेवक आफूलाई ठान्ने कांग्रेस शक्तिले पनि नेपाली राजसंस्थाको लोकतन्त्रिकरणका बिषयमा उठाएका भण्डारीका अजेण्डलाई 'कम्निष्टेका अनावश्यक बिलाप' भनेर उडायो। फलस्वरूप नेपालको राजसंथा बेलायत, जापान, थाइल्यान्ड, नर्बेको जस्तो जनताले दिएको खाएर बस्ने सांस्कृतिक मियो बन्ने अवसरबाट बन्चित रह्यो। पूर्व राजाको देश दौडाहा र त्यसप्रति माओवादी नेता बाबुराम भट्टराईको टिप्पणीले ल्याइ देससँग अहिले कहिले नभएको खेलाँची भइरहेको छ। सुनको लङ्का बनाउने भन्दै आगो झोसेर, किल्लाजुइना खुकुल्याएर, प्रेम भातृत्व, एकता भङ्ग गरेर, सिङ्गो देस भन्ने भावना सिध्याएर, आफ्ना माग पुरा गर्न दुई चार ज्यान ढालेर राज्यलाई घुर्की लाउने संस्कृति बसालेर त्यागको मन्चनमा छ क्रान्तियुद्ध अहिले।

बाबुराम भन्दैछन्- ज्ञानेन्द्रलाई जेल्नुपर्छ। ज्ञानेन्द्र त्यति बिधि लोकप्रिय मान्छे होइनन्। आफ्ना दाजुको वंश नाशको आरोप र कठोर शाही शासनका कारण नेपाली माझ उनको छवि राम्रो थिएन। तर राजनीतिक वृतमा ज्ञानेन्द्र फेरि एक पटक केन्द्रमा देखिएका छन्। के ज्ञानेन्द्र साँच्चै गद्दीमा फर्केलान? पाठक समक्ष मेरा ९ बुँदे पेश गर्ने अनुमति चाहन्छु।

१. बाबुराम भट्टराईको ब्यबहारबाट र कामको परिणामबाट उनलाई हेर्ने हो भने रुखोतिखो भाषामा आलोचना गर्ने कुनै अन्य नेताको भन्दा रौँ फरक र राम्रो भन्नुपर्ने ठाउँ उनले छोडेका छैनन्। सांस्कृतिक राजा राख्न सकिन्छ भन्ने उनै भट्टराई हुन्। त्यसैले जेल हाल्नु परे भट्टराईलाई पनि ज्ञानेन्द्रसँगै किन जेल नहाल्ने?

२. नेपाली राजालाई उखेलेर दिल्लीका राजाहरुको अरन खटनमा पार्टी र सरकार चलाउनु नै हो राष्ट्रियता सहितको गणतन्त्र ?

३. राजतन्त्रमा पार्टीले सरकार चलाउदा भारतले सानासाना कुरामा(लोकमानसिंह काण्ड आदि) सातो टिप्ला भनेर यति धेरै डराउनु पर्ने स्थिति थिएन। सत्ताको भोटेताल्चा देसभित्रै थियो।

४. नेपालमा गणतन्त्र वा कुनै तन्त्र नै चाहिन्न विकास गर्नलाई शुद्ध साचो अर्थको प्रजातन्त्र दिने भए जनताले राजालाई नै रोज्छन् दिल्लीका सेठहरूको इसारामा चल्ने पार्टीका नेता भन्दा।

५. नेपालको रास्ट्रियता माओवादी सत्तामा आउन थालेबाट नै बढी कमजोर भएको छ र देशको सर्भौमिकता र अखण्डतामाथि सर्बाधिक खेलाँची पनि यहि बेला भएको छ।

६. राजालाई पनि दल र तिनका नेता जस्तै एउटा राजनीतिक संस्था मान्ने हो भने उसलाई पनि एकपल्ट सुध्रिएर आउने मौका दिनुपर्छ। अरु नागरिकले उपभोग गरेको अधिकार ज्ञानेन्द्रले नपाउने भनेर संविधानमा कतै लेखिएको पनि छैन।

७. जतिसुकै गफ दिएपनि राजाले बाहिरका प्रभुलाई रिझाएर आउन खोजे भने दलका नेतालाई त ०९१ कोडबाट आउने १/२ कल फोनले ठीकमा ल्याइहाल्छ।
८. कुरा अब जनताको रह्यो, उनीहरु गणतन्त्रे तमासा देखेर दिक्क मात्र हैन भित्रभित्रै राजासहितको प्रजातन्त्र नै ठिक भन्ने स्थितिमा पुगेका छन्। यो ज्ञानेन्द्रको लोकप्रियताले हैन नेताहरुको कुबुद्धिले ल्याएको परिणाम हो।

९. ज्ञानेन्द्रको स्वास्थ्यले यसरी नै साथ दिइरह्यो भने ढिलोचाँडो राजालाई फिराउने वा के गर्ने भन्नेसम्बन्धी अन्तिम निर्णय लिन जनमत संग्रहमा नगइ सुखै छैन।