Friday 3 Ashwin, 2071 |
Menu

ब्लग

संवेदनाहीन स्कुप

(0 votes)
विमानस्थलको आगामन कक्षमा भक्कानिँदै श्रीमती जुना।  तस्विरः विजय गजमेर विमानस्थलको आगामन कक्षमा भक्कानिँदै श्रीमती जुना। तस्विरः विजय गजमेर
भनाइ छ, 'एउटै तस्बिरले हजार शब्द बोल्छ।' तस्बिरको महŒव यही वाक्यले प्रष्ट्याउँछ। तर, सधैं त्यसो हुँदैन। सबैतिर तस्बिरमात्रै पर्याप्त नहुन सक्छ। फोटोग्राफी मेरो नशा हो। केवल जागिर होइन। फोटोग्राफी भनेको क्यामेराको लेन्सअगाडि जे आउँछ त्यो मात्र खिच्नु पनि होइन। फोटो पत्रकारको पेसासँगै ठूलो जिम्मेवारी गाँसिएको हुन्छ। तर, केहीले यसको महत्व र संवेदनशीलतालाई नबुझ्दा फोटो पत्रकारलाई रमितेका रूपमा पनि हेर्न थालिएको छ।
विजय गजमेर

विजय गजमेर नागरिकका फोटो पत्रकार हुन्।  Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
केही दिनअघि म अफगानिस्तानमा जेल परेर नेपाल फर्किएका तिलकबहादुर थापाको फोटो खिच्नका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थिएँ। थापा अफगानिस्तानमा जासुसीको आरोपमा २० वर्षका लागि जेल परेका हुन्। दुई वर्ष जेलमा बसिसकेका उनको कैद सजायलाई अफगान राष्ट्रपतिले माफ गरिदिएपछि उनी नेपाल फर्किन लागेका थिए।

यस्ता विषयको फोटो खिच्दा मलाई अहिले पनि 'नर्भसनेस' हुन्छ। यस्तो विषयमा मान्छेको प्रगाढ भावना गाँसिएको हुन्छ। नेपालमा फोटो पत्रकार हुनुको अर्को रमाइलो पाटो पनि छ। हामीलाई केवल आधा कुराको मात्र जानकारी दिइएको हुन्छ। धेरैजसो समय हामी आफैंमा पत्रकारभन्दा पनि संवाददाताको सहायकमात्र हुन्छौं। यहाँको मनोविज्ञान यही छ।

यसपटक पनि त्यस्तै भयो । मलाई अफिसबाट 'उनी ६:१० को उडानमा दुबईबाट नेपाल आउँदै छन्। फोटो खिचेर लिएर आउनू,' भनिएको थियो। उनलाई कसरी चिन्ने म अनभिज्ञ थिएँ। यस्तोमा फोटो पत्रकारले आफ्नो सुझबुझको प्रयोग गर्नुपर्छ। त्यो भीडमा कसै न कसैले त उनलाई चिन्छ। त्यसपछि उनीहरूकै पछि लाग्ने। मसँग अरू विकल्प थिएन।

उक्त समाचार संकलनका लागि खटिएका संवाददाता र म विमानस्थलको आगमन कक्षअगाडि उभिएर कसरी पहिचान गर्ने भनेर सोच्दै थियौं। आगमनमा उभिएका मान्छेलाई क्रमैसँग सोध्न थाल्यौं। अन्त्यमा परिवारका सदस्यसँग भेट भयो। अब भने तिलकको पहिचानका लागि कुनै समस्या रहेन। विमान निर्धारित समयभन्दा केही ढिला गरेर अवतरण भयो। त्यो बीचमा संवाददाता परिवारका सदस्यसँग कुराकानी गर्न थालिसकेका थिए। म भने केही पर बसेर उनीहरूको फोटो खिच्न थालें।

तिलककी श्रीमती जुना दुई छोराका साथ त्यहाँ आएकी थिइन्। उनीहरू मेरो संवाददाता साथीसँग कुरा गर्दै थिए। तर, आँखा र ध्यान भने आगमन कक्षतर्फ नै थियो। निर्धारित समयभन्दा विमान २३ मिनेट ढिला गरी अवतरण भयो। आगमन कक्षमा रहेको स्क्रिनमा पनि विमान 'ल्यान्डेड' भन्ने देखायो। तिलकका परिवारका लागि मानौं समयको चक्र रोकियो। मैले उनीहरूको मुखाकृतिमा त्यही देखें।

उनीहरूलाई नियालिरहँदा ममा निराशा छायो। सोच्न थालें, 'कसरी प्रस्तुत होलान् ? रोलान् कि खुसीले हाँस्लान् ? या त, सबैले एकैसाथ अंकमाल गर्लान् ? म कहाँ उभिँदा ठिक होला, लाइट कताबाट आइरहेको छ, 'सुपरवाइड लेन्स' बोकर किस नै खाउँला गरी विषयको नजिक टाँसिन पुग्ने फोटो पत्रकारहरूलाई कसरी छल्न सकिएला!'

तिलककी श्रीमती जुना आफूले लगाएको हरियो सलले मुख छोपेर रुन थालिन्। उनले लगभग ३० मिटर पर आफ्नो श्रीमान्‌लाई ठम्याइसकेकी थिइन्। उनलाई जेठो छोराले सम्झाउन खोज्दै थिए।

केही पत्रकार साथी उनलाई आगमन कक्षको ढोकासम्म नै पछ्याउने निधो गरेर अघि बढिसकेका थिए। जहाँसम्म मात्र पत्रकारलाई क्यामेरा बोकेर जान अनुमति थियो। म अब उनीहरू कसरी प्रस्तुत होलान्, भन्ने सोच्दै थिएँ। एक संवाददाताले तिलकलाई बीचमै समातेर कुनातिर लिएर गए, र कुरा गर्न लागे। मानौं 'स्कुप'को खोजीमा उनीबाट मानवीय संवेदना हराइसकेको थियो। उनी आफ्नो काममा 'अब्बल' हुन चाहन्थे। त्यसपछि त्यहाँ एक प्रकारको तमासा खडा भयो। त्यहाँ उपस्थित सुरक्षाकर्मीले हामीलाई पार्किङ लटमा गएर कुरा गर्न आग्रह गरे। हामी त्यतैतिर सोझियौं।

वर्षौंपछि परिवारसँगको मिलनको पर्खाइमा रहेका तिलक र परिवारबीच अब ठूलो पर्खाल खडा भयो, पत्रकारहरूको। पत्रकारले घेरिएका तिलकमाथि प्रश्नहरू बर्सिन थालिसकेको थियो। त्यसपछि अर्को घेरो बन्यो, फुर्सदिला रमितेहरूको। उनको परिवार भने मिलनको पर्खाइमा केही पर कुनामा उभिइरहेको थियो। छोराहरू निन्याउरो मुख लगाएर रुन थालिसकेका थिए। उनीहरू बुवा फेरि एकपटक घेराबन्दीमा परेका थिए। यो पर्खाइ उनीहरूका लागि झन् लामो लागिरहेको हुनुपर्छ। तिलक आँखाअगाडि नै भए पनि उनीहरूले अंगालो हाल्न पाएनन्। पत्रकारले मानवीय संवेदनाको ख्यालै नगरी आफ्नो स्वार्थ केन्द्रित भएको देख्दा म पनि उद्वेलित भइरहेको थिएँ। उनीहरूको परिवारले एकअर्कासँग मिलनको त्यो क्षणलाई आफ्नै प्रकारले कल्पेका थिए होलान्। जसमा हामी पत्रकारले तुषारापात गरिदियौं। समाचार संकलन उनीहरूको मिलनपछि पनि हुन सक्थ्यो। उनीहरूको सुखद मिलनको पहिलो दृश्यले समाचारमा झनै महत्व राख्न सक्थ्यो। तर, कसैको ध्यान गएन।

समाचार संकलनको औपचारिकता पूरा भएपछि सबै आफ्नो बाटो लागे, म भने कुरेर बसिरहें। जब पत्रकारहरू फर्किए, तब मात्र उनीहरूको मिलन सम्भव भयो। मैले सोचेजस्तो उनीहरूले केही गरेनन्। सबै ट्याक्सी चढे। ट्याक्सीभित्र श्रीमती र जेठो छोरा उनको काँधमा टाउको राखेर रुँदै थिए। कान्छो छोरा अगाडिको सिटमा थियो। ट्याक्सी गन्तव्यतर्फ मोडियो। एकछिनपछि म पनि।