×

Warning

JUser: :_load: Unable to load user with ID: 895

JFile: :read: Unable to open file: /var/www/html/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Tuesday 8 Poush, 2071 |
Menu

ब्लग

यो गाउँको हैजा अरुतिरै लैजा…

  • बुधबार २ श्रावण, २०७०
  • DISQUS_COMMENTS
(0 votes)

हिजो साउने संक्रान्ति। यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ। हिजोबाट गर्मीको अन्त्य र जाडोको सुरुवात हुन्छ भन्ने मान्यता पनि छ। हिजोकै दिनबाट सूर्य कर्कट रेखाबाट मकर रेखातर्फ लाग्छ भन्ने ज्योतिषी मान्यता छ। यो दिनलाई नेपाली हिन्दू धर्मावलम्वीहरुले ठाउँ अनुसार फरक फरक ढंगले मनाउने गर्छन्।

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.

भौगोलिक भाषामा साउने संक्रान्तिलाई कर्कट क्रान्ति भने पनि खासगरी गाउँघरतिर लुतो फाल्ने दिन भनेर चिनिन्छ। 'एउटा गाउँको लुतो अर्को गाउँमा लैजा' भनेर रात परेपछि ठूलो स्वरले करायो भने त्यो गाउँका मानिसलाई वर्षभरी लुतो लाग्दैन भन्ने जनविश्वास छ।

सानो हुँदा हामीलाई यो पर्वको खुवै चासो रहन्थ्यो। त्यसैले लुतो फाल्ने दिनको प्रतीक्षामा रहन्थ्यौं। 

प्राय गाउँमा मध्य असारदेखि खेत रोपाइँ सुरु हुने भएकोले स्कुलमा बर्खे बिदा हुन्थ्यो । सक्ने ठूलाहरु बिदा भरी खेतमा काम गर्थे हामी साना केटाकेटी भने गोरु र बाख्रा चराउन खट्टिन्थ्यौँ ।

हामी तीन भाइ (दुई दाइ) ले दुई हल गोरु र लगभग ५० वटा बाख्रालाई दिनभरी पहरा दिन्थे। जता जता गोरु र बाख्रा जान्थे हामी त्यतै।
बर्खा मास आँप पाक्ने मौसम भएर पनि होला हामी गोठालो जाने भनेपछि मख्ख पर्थ्यौ। उसो त गोठालो गएपछि पढ्ने टन्टा पनि हुन्नथ्यो। गाइबाख्रा फुकाएर वन पुर्‍याएपछि हाम्रो काम भनेकै आँपको रुख हेर्दै हिँड्ने। कुन रुखमा आँप पाकेको छ, कुनमा कति फलेको छ? यसरी रुखको टुप्पो हेर्दै हिँड्दा कतिचोटी लडेर घुँडामा घाउ समेत लाग्थे।

सानो बेला बारीमा केही फलेको देख्यो कि मुखबाट पानी आइहाल्थ्यो । मनमनै लाग्थ्यो 'टिपेर खान पाए कस्तो मज्जा हुन्थ्यो।' त्यही भएर हजुरआमाले हामीलाई भन्नुहुन्थ्यो 'खानाका काल।'

हाम्रो बारीमा नभएका फलफूल कमै थिए। बोटभरी बेलौती, नास्पाती, रुख कटहर, भुइँ कटहर, सुन्तला, कागती, अनार, भोगटे, जुनार लगायतका सबै । तर, ती हामीले चाहेको बेला र मन लागेको बेला सजिलै खान पाउँदैन थियौँ । यसको लागि साउने संक्रान्ति पर्खनै पर्थ्यो । साउने संक्रान्तिपछि चाहिँ हजुरआमाले 'खाओ' भनेर स्वीकृति दिएपछि मात्रै खान पाउँथ्यौँ।

असारतिरै खान खोज्यो भने हजुरआमाले भन्नुहन्थ्यो, 'साउने संक्रान्ति नै आ'छैन खान हुन्न।'

'किन नि आमा ?'

'लुतो फालेसी मात्रै खाने,' हजुर आमाको उत्तर हुन्थ्यो।

अनि हामी त्यही दिनको प्रतीक्षामा ‌औंला गनेर बस्थ्यौ।

जब साउने संक्रान्तिको दिन आउँथ्यो हामी बिहानैदेखि खुशी हुन्थ्यौँ। हामीमा चमकधमक नै बेग्लै हुन्थ्यो। 'ल गोठालो जाँदा लुतो फाल्ने सबै कुरा ल्याओ है,' हजुरआमाको उर्दी हुन्थ्यो।

फलफूल खाने धोकोलाई पोको पारेर बसेका हामी आजैको दिन देखि धित मर्ने गरी फलफूल खान पाइन्छ भनेर चाँडै नै खाना खाइवरी गाइबाख्रा फुकाएर वन छिर्थ्यौ। 

वनमा पुगेपछि तीन जनाले लुतो फाल्न चाहिने कुकर डाइनो, पानी सरो, भलायोको पात, अनि सुकेको पातीको सिठो खोज्न व्यस्त हुन्थ्यौँ।

लुतो फाल्ने भएर होला हामीले घरमा चाँडै गाइबाख्रा लगे पनि गाली खादैनथ्यौँ यो दिन। 

गोठालोबाट घर फर्केपछि खाजा खाइवरी फेरी हाम्रो काम भनेको बारीमा भएजति फलफूलको जोडी खोज्ने काम सुरु हुन्थ्यो ।

नासपाती, अमिलो (निबुवा), कागती, सुन्तला, भोगटे, जुनार, अनार लागयतका फलफूलका जोडी र केराको पात। लुतो फाल्न चाहिने आवश्यक सामग्री जोहो गरिसकेपछि तुलसीको मठ नजिकै केराको पात माथि राख्थ्यौँ ।

जब झिसमिसे साँझ हुन्थ्यो हजुरआमाले दियो बालेर मठमा ल्याउँदै भन्नुहुन्थ्यो, 'ल है लुतो फाल्ने बेला भयो आओ।'

हामी हस्याँङफस्याँङ गर्दै मठछेउ जान्थ्यौँ ।

हजुरबाले मन्त्र पढ्दै पुजा गर्न थाल्नुहुन्थ्यो अघि बटुलेर ल्याएको सामाग्रीलाई। हामी पातीको सिठा बाल्न थाल्थ्यौँ। हजुरबाले पुजा गरिरहँदा हामीलाई कतिखेर लुतो फालुम्ला भन्ने लाग्थ्यो। यती नै बेला वल्लोगाउँ पल्लो गाउँमा पनि लुतो फाल्ने तयारी हुन्थ्यो। हरेक गाउँलेको घरमा जुनकिरीको पिलिकपिलक बत्ति जस्तै घरको मठमा दियो बलेका हुन्थे।

हाम्रो घर पारी ठ्याक्कै धादिङको ढोला र खाल्टे गाउँ थियो । हजुरबाले ल अब लुतो फालो भनेर भन्नुभएपछि हामी जोडले कराउँथ्यौँ, 'गाउँको हैजा ढोलालीलाई लैजा। वा अरु कुनै गाउँको नाम लिएर झन् जोडले चिच्याउँथ्यौँ। चुनाव हुने वर्ष वा चुनाव हुँदैछ भने त हामी मन नपर्ने दलको ठूलै नेताको नाम लिएर समेत यो पालीको हैजा ….नेतालाई लैजा भनेर नामै तोकेर भन्थ्यौँ। फेरी अर्को गाउँबाट हामीतिर लक्षित गरेर त्यसको जवाफ आउँथ्यो।

लुतो फालेर साँच्चै हैजा जाने हो हैन अहिलेसम्म मलाई थाहा छैन तर पनि आफ्नो गाउँघरतिरको यो चलन अहिले हराउँदै गएको छ। साउने संक्रान्तिको दिन घरमा फोन गरेको हजुरबाले लुतो फाल्नको लागि सबै तयार पार्नु भएको रहेछ । एक्कासी लाग्यो : अब घर गएको बेला सबैखाले फलफूल खान पाइन्छ।