Friday 13 Bhadra, 2071 |
Menu

ब्लग

अचम्मको परिचय

(0 votes)
अचम्मको परिचय

२०६१ सालतिरको कुरा हो। लक्ष्मीपुर–४, डाँडागाउँस्थित वसन्तपुर सामुदायिक वनको सदस्य भएकी थिएँ। म आफैं सदस्य हुन नगए पनि मलाई सदस्यमा राखिदिएका थिए। एक जना भए पनि थारुको सहभागिता गराउने भनेर छलफल भएपछि मलाई समितिमा बस्ने प्रस्ताव आएको थियो। प्रस्तावअनुसार मैले सहमति जनाएकी थिएँ। त्यतिबेला म जमिनदारकै घरमा कमलरी थिएँ। बैठकका बेला समितिको छलफलका लागि समय जुटाउन हम्मेहम्मे पर्थ्यो। जमिनदारकै सहमतिमा सदस्य भएकी थिएँ, त्यसैले काम सकेर बैठकमा जान रोकतोक थिएन। 

 

शान्ता चौधरी

चौधरी पूर्व कमलरी तथा पूर्व सभासद् हुन्। Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
एक दिन समितिको पहिलो बैठक बस्दा परिचयात्मक कार्यक्रम थियो। उपस्थित सबै जनाले आ–आफ्नो परिचय दिन थाले। मलाई परिचय भन्ने कुरा नै थाहा थिएन। उपस्थित सबैले परिचय दिँदै आएपछि मेरो पालो आयो। मनमा सोंचे 'यो परिचय भन्ने के होला?' मेरो अगाडिको एकजनाले आफ्नो परिचय यसरी दिएका थिए– 'नमस्कार! म प्रेमप्रकाश देवकोटा, घर डाँडागाउँ, वसन्तपुर।' उनको पछाडि मेरो पालो आयो। छेउकाले 'लौ तेरो पालो आयो' भनेपछि म पनि जुरुक्क उठें। एक छिन टोलाएँ। मनमा के भन्ने होला भन्ने लाग्यो। अकस्मात मैले पनि भनिदिएँ– 'म प्रेमप्रकाश देवकोटा, घर डाँडागाउँ, वसन्तपुर।' सबैजना गलल्ल हाँसे। किन हाँसे होलान्? मैले जानिनँ कि क्या हो भनेर सोचें। 'तेरो नाम भन न तेरो नाम' भनेर छेउकै अर्काले सिकायो। अनि मैले आफ्नो नाम भनेर परिचय दिएँ। यसरी म पहिलो चोटी परिचय दिँदा फसादमा परेकी थिएँ।


कमलरीलाई हेरिने दृष्टिकोण
बिहे गर्नुअघिसम्म त यौन दुर्व्यवहारको दृष्टिले हेरे, हेरे। कतिपय घरमा त बिहे गरिसकेपछि पनि यस्तो दृष्टिले हेर्ने क्रम रोकिएन। रेवती यस्तो मामलामा कमजोर थिए। उनकी श्रीमतीलाई यसबारे बताएँ पनि। यस्तो व्यवहार अन्यत्र पनि भएको छ। श्रीमतीहरूलाई भनेपछि उनीहरू श्रीमान्लाई हप्काउन त हप्काउँथे तर किन कुरा लाइस् भनेर फेरि उल्टै हामीले नै गाली र धम्की खानुपर्थ्यो। 'दुर्व्यवहार सहन तयार रहनुपर्ने तर कसैलाई भन्न नपाइने' गजवको प्रचलन थियो कमलरी प्रथाभित्र। धान निफन्न बस्दा होस् वा घाँस ल्याइरहेका बेला, मेलापात जाँदा होस् वा भाँडा माझिरहेका बेला, यस्तो दुर्व्यवहारका थुप्रै प्रयास भए। तर कुनैलाई पनि सफल हुन भने दिइन। जुन मेरा लागि निकै ठूलो सफलता हो।
कमलरीका लागि छुट्टै कोठा वा सुरक्षित स्थान हुँदैनथ्यो। प्रायः सबै ठाउँमा हामीलाई भर्यानङमुनि सुताइन्थ्यो। कि त सामान राखेको ठाउँ (स्टोर) मा सुत्न लगाइन्थ्यो। कहीँ कहीँ भने गोठमा पनि सुतियो। यस्ता कुनै पनि ठाउँ सुरक्षित नहुने भएकाले उमेर बढ्दै जाँदा झन् झन् डर लाग्दै जान्थ्यो। घरकै मानिसबाट खतरा त छ नै, साथै यस्ता ठाउँमा बाहिरी मान्छे पनि सहजै आउन सक्ने भएकाले त्यसको जोखिम पनि उत्तिकै हुने गर्छ। धन्न, मेरा थुप्रै कमलरी साथीलाई यस्तो बेलामा समस्या आइपरे पनि मलाई भने त्यस्तो सामना गर्नुपरेन।
खानेकुरामा पनि विभेद हुन्थ्यो। कोहीकोहीले मात्र आफ्नै भान्साको खानेकुरा दिन्थे। धेरैले चाहिँ हामी कमलरीका लागि खाना नै छुट्टै पकाउँथे। मानौं, हामीले गतिलो र मीठो खान हुँदैन। चामल पखालिदिने, मसला पिँधिदिने, तरकारी केलाइदिने, पानी ठीक पारिदिने जस्ता सबै काम मैले गरिदिनुपर्थ्यो। यसरी सबै ठीकठाक पारिदिए पनि पकाउन भने उनीहरू आफैं अघि सर्थे। किनकि हामी थारु जातका भएकाले उनीहरू छोएको खाँदैनथे। तर अचम्म, गाउँमा यसरी हामीले पकाएको नखाए पनि बजारमा भने चल्थ्यो। खेतुलालको घर बजारमा थियो, त्यसैले त्यहाँ भने पकाएको पनि चल्थ्यो। गाउँमा नचल्ने, अरुले देख्नेगरी खान नहुने तर बजारमा चाहिँ कसैले नदेख्ने भएकाले चल्ने, गजवकै बानीबेहोरा थियो जमिनदारहरूको। 
२०६० सालमा बल्ल कमैयाबाट मुक्त भएपछि श्रीमान्ले बालुवा, गिटी बोक्ने, घर बनाउने क्रममा मजदूरी गर्ने काम गर्नुभयो। एकातर्फ ज्याला नै निकै कम दिन्थे। दिनभरको ८० देखि १०० रुपियाँसम्म दिन्थे, त्यो पनि काम गरेको धेरै समयपछि। अर्कोतर्फ कतिले त काम गरेको पैसै नदिने। यो तालले खानै पनि पुगेन। बडो मुस्किल भयो जिन्दगी। खानै नपुग्ने भएपछि यसरी काम गर्नुको औचित्यमाथि नै प्रश्न खडा भयो। यो अवस्थाले हामी दुवैलाई निकै चिन्तित पनि बनायो। के गर्ने, के गर्ने भन्ने दोधार उत्पन्न भयो।

थुप्रै गरियो उटुङ्ग्या काम
उटुङ्ग्या काम पनि थुप्रै गरिएको छ कमलरी बस्दा। जमिनदारका छोराछोरीले आफूभन्दा सानो भए पनि बाबुआमाको साथ पाएर मलाई पिट्थे। दुर्व्यवहार गर्थे। म घरमा त केही गर्दिनथें। आमाबाबुकै अगाडि उनीहरूलाई केही गर्न सक्ने कुरा पनि भएन। तर गोठालो जाँदा उनीहरूलाई पनि फकाएर लैजान्थें र अघिको रिस पोख्थें। खोलामा गहिरो ठाउँमा लगेर डुबाइदिन्थें। केही न केही निहुँ झिकेर पिट्थें पनि। त्यतिमात्र हैन, मैले यसरी पानीमा डुबाएको, पिटेको कुरा घरमा बाबुआमालाई भनिस् भने भोलि पनि यसै गर्छु भनेर थर्काउँथें। उनीहरू घरमा गएर बाबुआमालाई कुरा लगाउने आँट नै गर्दैनथे। केहीले आँट गरिहाले पनि मेरो मुखतिर हेर्थे, जब म आँखा तरिदिन्थें डराएर भन्नै सक्दैनथे। यसरी पनि धेरै पटक मैले आफूलाई कुटपिट गर्ने आफूभन्दा साना भाइबहिनीलाई पैंचो तिरेकी छु। आखिर बच्चा बुद्धि न हो, मसँग यसबाहेकको पैंचो तिर्ने उपाय पनि के नै थियो र?
अहिले जमिनदारका छोरीहरूले फोन गरेका बेला त्यो कुरा सम्झन्छन् र जिस्कँदै भन्छन् पनि– ओइ शान्ता, तैंले पानीमा डुबाएका बेला हामी मरेको भए के गर्थिस् भन त! जे होस्, अचेल पनि फोनमा यस्तै रमाइला कुरा गर्छौं हामी। तर हामी दुवै पक्षबीच न कुनै रिसराग छ, न त्यतिबेलाको पैंचो तिर्ने भावना नै। म पनि उनीहरूलाई भनिदिन्छु कि 'तिमीहरूले किन मैले काम छलेको कुरा बाबुआमालाई लगाइदिएको त?, कुरा नलगाइदिएको भए के हुन्थ्यो नि?' अनि हामी दुवैथरी मजाले हाँस्छौं र त्यतिबेलाको कुरा सम्झेर निकै रमाइलो पनि महसुस गर्छौं।
जमिनदार घरमा नभएका बेला लिची र आँप टिपेर बारमा लुकाउँथे। अनि गोठालो जाँदा खान्थें। अरु काम गर्दा भन्दा गोठालो जान मजा आउँथ्यो। किनकि गोठालो जाँदा चोरेर फलफूल खान पाइन्थ्यो। खोलामा माछा मारेर पनि खाइन्थ्यो। काँक्रा पनि धेरै चोरेर खाइयो। गोठालामा सबै साथी आफूजस्तै कमलरी हुने भएकाले दुःखसुख साट्न पनि पाइन्थ्यो। पानी खाने निहुँले नजिकैको कसैको घरमा दुई तीन जना मिलेर जाने गर्थ्यौं, एउटाले पानी मागेर घरको मान्छेलाई अल्मल्याउने गरिन्थ्यो भने बाँकीले फलफूल चोर्ने काम पनि हुन्थ्यो। जुन गाईवस्तु भएको ठाउँमा लगेर बाँडिचुँडी खाने गर्थ्यौं।
यसरी गोठालो जाँदा अर्को फाइदा पनि थियो। यतिबेला केही फुर्सद हुने भएकाले जङ्गलमा पात टिपिन्थ्यो। दुई मुठा पातको एक रुपियाँ आउँथ्यो। यसरी टिपेको पात चराउन लगिएको वस्तुसँगै जमिनदारको घरमा लग्यो भने उनीहरूले नै राखिहाल्थे। त्यसैले म गाईवस्तु फर्काउनुअघि नै पात आमालाई दिएर आउँथे। उहाँले बेचिदिनुहुन्थ्यो। यसरी जम्मा भएको आम्दानीबाट मन लागेको खानेकुरा खाइन्थ्यो भने धेरैचाहिँ फिल्म हेरेरै सिध्याइन्थ्यो।
(साउन २ गते कमैया मुक्ति दिवसका दिन एमाले अध्यक्ष झलनाथ खनालबाट विमोचन हुने शान्ता चौधरीको किताब 'कमलरीदेखि सभासद्सम्म' को एक अंश। शान्ता आफैं १८ वर्ष कमलरी (जमिनदारको घरमा काम गर्न नोकर बस्ने) बसेकी थिइन्।)