Monday 3 Kartik, 2071 |
Menu

ब्लग

बाबुरामको अर्को 'स्टन्ट'

(0 votes)
२०६८ भदौमा बाबुराम भट्टराई प्रधानमन्त्री भए। शान्ति र संबिधान लेखनको यात्रामा बाबुरामबाट कुनै पनि लछारपाटो लाग्दैन भन्ने निश्चितै थियो। तर पनि प्रधानमन्त्री चयनको लागि १७ पटकसम्म भएको चुनावको नौटंकी बन्द भएर मुलुकले त्यसबाट त निकास पाउने अपेक्षा धेरैको थियो।
रामचन्द्र भट्ट

bhattarc@gmail.com Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
बाबुराम प्रधानमन्त्री हुने वित्तिकै नेपालमै एसेम्बल गरिएको 'मुस्ताङ म्याक्स' गाडी रोजेको खबर आयो। उनीभन्दा अघिका प्रधानमन्त्रीका लागि शपथग्रहण अघिनै प्रधानमन्त्री कार्यालयबाट विद्युत प्राधिकरणमा आदेश आउँथ्यो–'चमेलिया जलविद्युत आयोजनाका लागि ल्याइएको महंगो टोयोटा ल्याण्डक्रुजर गाडी तम्तयार हालतमा राख्नु।' तर बाबुरामले त्यो परम्परालाई लात्तीले हान्दै मुस्ताङ म्याक्स चढ्ने निर्णयले हलचली मच्यायो।

मुस्ताङ म्याक्स चढ्ने निर्णयले जीवन र मरणको संघारमा पुगेको हुलास मोटर्सलाई मात्र नभै राष्ट्रिय अर्थतन्त्रमा समेत निकै ठूलो प्रभाव पार्ने भएपछि आर्थिक पत्रकारको नाताले बढ्ता चासो लाग्नु स्वभाविकै थियो। नागरिक दैनिकको सम्पादकीय बैठकमा तत्कालिन सम्पादक नारायण वाग्ले (नारन दाइ) ले यो विषयमा खुल्ला बहश गराउनुभयो। धेरैको धारणा बाबुरामको कदम राम्रो र सराहनीय भन्ने रह्यो। अलिकति कमजोर भएपनि सम्पादकीय विभागका केही साथीहरुले बाबुरामको यो कदमलाई नौटंकीको रुपमा टिप्पणी गरे।

समाचार बनाउने जिम्मा अर्थ व्यूरोमा आइपर्‍यो। म लगायत नारायण सापकोटा, विज्ञान अधिकारी लगायतले यो विषयलाई सकारात्मक कोणबाट समाचार तयार गर्‍यौं। अरु मिडियाले पनि यो विषयलाईनै प्राथमिकता दिए।

बिराटनगरमा गोल्छा परिवारले सञ्चालन गरेको हुलास मोटर्सले बनाएको मुस्ताङ म्याक्स पूर्बतिर कच्ची सडकमा निकै दौडिने गर्छ। काठमाडौंमा एकाध व्यापारिक गृहहरुले सामान ढुवानीमा प्रयोगमा ल्याएको देखिन्थ्यो। एक पटक कार्यक्रममा आफ्नो संस्थाको बारेमा परिचय दिने क्रममा गोल्छा समूहकै शेखर गोल्छाले कुनै दुर्गम गाउँमा कच्ची सडक पुगेपछि मुस्ताङ गाडीलाई पूजा गरेको तस्विर सहितको समाचार देखाएका थिए। त्यो बाहेक मुस्ताङ गाडीले खासै ठूलो बजार लिन सकेको थिएन।

'प्रधानमन्त्रीज्यूले नेपाली सामानलाईनै प्रोत्साहन दिने आशय व्यक्त गर्नुभएपछि मैले उहाँका निकटवर्तीहरुसँग सल्लाह गरेर मुस्ताङ प्रयोग गर्ने प्रस्ताव राखेको हुँ,' तत्कालिन प्रधानमन्त्री कार्यालयका सचिव (हाल मुख्यसचिव) लिलामणि पौडेलको भनाई थियो।

बालुवाटारस्थित डेराबाट रिपोर्टिङमा निस्कदा, नागरिक दैनिकको कार्यालयमा आउँदा जाँदा बेलाबखत बाबुरामको मुस्ताङ म्याक्ससँग जम्काभेट भैरहन्थ्यो। अगाडि पछाडि स्कर्टिङ गर्ने गाडीहरु करोड रुपैयाभन्दा माथिका हुन्थे। उनका सचिवालयका मान्छेमात्र होइन पत्नी हिसिलाले समेत करोडभन्दा बढी मूल्यका गाडी चढ्थे। बाबुराम चढ्ने हुलास मोटर्सले बनाएको मुस्ताङ म्याक्सलाई भने अगाडि र पछाडिकासँग तालमेल मिलाएर दौडिनै गाह्रो।

एअरकण्डिसन समेत नभएको गाडीमा पछि हुलास मोटर्सले प्रधानमन्त्रीका लागि भनेर विशेष सुविधा थपेर नयाँ ल्यायो। पुरानो गाडी बाबुरामले राज्यमन्त्री शुस्मा शर्मालाई दिए।

एक पटक मुस्ताङ सडकमै बिग्रियो। प्रधानमन्त्रीले सुविधायुक्त अर्को गाडी चढे। सडकमार्गबाट राजधानी बाहिर जानुपर्दा मुस्ताङले जाने अवसर पाउँदैनथ्यो। त्यतिखेर करोडकै गाडी चाहिन्थ्यो। कालान्तरमा मुस्ताङ म्याक्सको उत्पादक र बाबुराम निकट व्यक्तिहरुको सौदावाजीका बारेमा बजारमा बिभिन्न टिकाटिप्पणीहरु चले। किनकी बाबुराम मुस्ताङ म्याक्सका लागि 'मोडल' नै भए। लामो समयसम्म चर्चामा आउन नसकेको यो गाडी एकाएक मिडियामा छाएपछि करोडौं रुपैयाँको विज्ञापनले पनि नपाइने 'माइलेज' हुलास मोटर्सले पायो।

मुस्ताङ म्याक्स र प्रधानमन्त्री निकटसँग जोडिएर अनेकथरि टिका–टिप्पणी आउन थालेपछि बाबुरामको 'स्टन्ट' भित्रको पर्दा उघि्रन थाल्यो। 'बरु दुई करोडको गाडी चढ्, तर देशको विकास, जनतालाई सुशासन दिएमा त्यहीनै उपलव्धी हुन्छ, यो सब बाबुरामका नाटक हुन्, हेर्दै जाउँ,' नागरिकका एकाध साथीहरुले भन्थे। यो विषयमा निकै चर्को वहशै हुन्थ्यो। आर्थिक व्यूरोका साथीहरु एक भएर उनीहरुलाई 'नकारात्मक रोगबाट ग्रशित' सम्म भन्थ्यौं। लामो समयसम्म यस्तो वहश भइनै रहन्थ्यो विशेषगरि त्यतिखेर अनलाइनमा रहेका रघुनाथ लामिछाने, ऋषिकेश दाहाल र राजनीतिक व्यूरोका तिलक पाठकसँग। उनीहरु बाबुरामको धेरै कार्यलाई स्टन्टनै हो भन्दै कडा रुपमा प्रस्तुत हुन्थे।

–०–

प्रधानमन्त्री भएपछि बाबुरामले अर्को एउटा कार्यक्रम ल्याए–'हरेक महिना गाउँमा गएर बस्तुस्थिती बुझ्ने, जनताका पीडा र समस्यासँग साक्षात्कार गर्ने।' यो कार्यक्रमले अलिकति मनमा चिसो पस्यो। 'ए भैरे, बाबुराम कुन ग्रहबाट झरेका हुन् र नेपाली गाउँको परिवेश, समस्या बुझ्न उही पुग्नुपर्ने?' मेरो मनले यसको जवाफ खोज्यो। गोर्खाको गाउँमा जन्मेर त्यहीबाट एसलसी गरेर शहर पसेका बाबुराम माओवादीको ध्वंसात्मक गतिविधि चलाउन्जेलसम्म गाउँमै बसेका हुन्। अनि गाउँको समस्या बुझ्ने नाममा सारा लावा लस्कर अघि पछि लगाएर गाउँमै पुग्नुपर्ने कस्तो नाटक?

काठमाडौं नजिकको काँठबाट सुरु गरिएको यो कार्यक्रम कहिले चितवनको विकट पहाडी भेग, कहिले तराई हुँदै जुम्लाको राँका गाउँसम्म पुग्यो। त्यसबाट भएको उपलव्धी चाँही केही सुन्न र देख्न पाइएन। तराईमा एक गरीबको घरमा बास बस्दा त्यो परिवारलाई लागेको ऋणले थला परेको खबर बरु आयो। अनि जुम्लामा बास बसेर फर्कदा मानसिंह दमाईको घरको छाना बाबुराम चढेको हेलिकोप्टरको हावाले उडायो।

बाबुराम गाउँमा जाने भएपछि राजधानीबाट प्रकाशन, प्रशारण हुने मिडियाका प्रतिनिधि छुट्दैनथे। किनकी उनले खोजेको गाउँलेको समस्या सुन्ने र समाधान गर्ने भन्दा पनि प्रचार थियो।

ठ्याक्कै संख्या त याद भएन तर प्रधानमन्त्री पदमा रहुन्जेलसम्म उनले झण्डै आधा दर्जन पटक गाउँ गए रातै विताउनेगरि। त्यसमा केही नभएपनि केही करोड रुपैयाँ मुलुकको लगानी भयो। जुम्ला जाँदा उनको टीमको खर्चमात्र २८ लाख रुपैयाँ भएको थियो। तर त्यसबाट मुलुकले यही उपलव्धी हाँसिल गर्‍यो भन्ने फेहरिस्त कसैले देखाउन सक्नेवाला छैनन्। किनकी यो स्टन्ट मुलुकको उपलव्धीका लागि छँदैथिएन त कसरी देखाउनु?

बाबुरामको अर्को स्टन्ट थियो विदेश भ्रमणमा हवाइ जहाज चढ्दा इकोनमी क्लासमै बसेर यात्रा गर्ने। यो पनि कति कार्यान्वयन भयो भएन उनै जानुन्। सारा लावा लस्करलाई बिजनेस क्लासमा चढाएर आफु इकोनमी क्लासमा बस्नुको स्वाङ अर्थात ढोङको पनि कुनै अर्थ रहेन। मुख्यसचिव, सचिव, मन्त्रीहरुतिर खोजीनीति नगर्दा पनि हुन्छ, उनकै पार्टीका कार्यकर्ता दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्य विदेश यात्रामा जाँदा बिजनेश क्लासको टिकट र बिल अनुसारको होटल देखि लिएर मसाज गरेको बिल समेत पेश गरेर भुक्तानी लिन्थे। सञ्चार मन्त्रालयले आँखा चिम्लेर भुक्तानी सदर गर्थ्यो।

प्रधानमन्त्रीको एकल बिजनेश क्लास टिकटको यात्राले मुलुकमा सुशासन दिन सकेको सुन्न पाइएन। बाबुरामले इकोनमी क्लासमा यात्रा गरेर यति रकम मुलुकलाई वचत भयो भन्ने खबर पदबाट बाहिर निस्कने बेलामा सुन्न पाउने आशा राखेको थिए त्यो कहिल्यै पूरा भएन।

–०–

स्टन्टप्रेमी बाबुरामले अघिल्लो साता एकीकृत माओवादीको उपाध्यक्ष पदबाट राजिनामा दिए। उनले किन राजिनामा दिए त्यो रहस्य अहिलेसम्म बाहिर आउन सकेको छैन। सतहमा आए अनुसार उनले पार्टीभित्र बढ्दो पदलोलुपता विरुद्ध राजिनामा दिएका रे।

नागरिक दैनिकका प्रधान सम्पादक प्रतीक प्रधानसँगको अन्तर्वार्तामा उनले भनेको कुरालाई विश्वास गर्ने हो भने साधारण सदस्य रहेर पार्टीमा उनको कृयाशीलता जारी रहनेछ। उनले अन्तरवार्ताको क्रममा पार्टी अध्यक्ष नबन्ने संकेत गरेपनि प्रधानमन्त्री बन्दिन भनेर कतै भनेका छैनन्। तर जनता र कार्यकर्ताले विश्वास गरेर कार्यकारी पदमा पुर्‍याएमा अस्विकार नगर्ने भन्दै दोहोरो चरित्र प्रस्तुत गरेका छन्। माओवादीका निम्ति 'जनता' भन्ने शव्द बडो अजीव छ। जे जति धुन्धुकारी काम हुन्छन् उनीहरुका शव्दमा ती सबै 'जनता' बाट र 'जनता' कै लागि हुन्छन्। माओवादीको परिभाषामा 'जनता भनेका आम जनता होइनन्, ती माओवादीका 'क्याडर' हुन्। बाबुरामले फेरिपनि जनताको नाम पुकार्दै परिआए पदमा बस्ने संकेत गरेका छन्।

प्रचण्ड प्रधानमन्त्री भएको समयमा बाबुराम अर्थमन्त्री भए। उनलाई समयले साथ दियो। राजश्व उठ्तीपुठ्ती राम्रो भयो। अर्थव्यबस्था अलिकति राम्रो भयो। त्यसले गर्दा उनलाई प्रधानमन्त्रीका रुपमा एउटा समूहले देख्न चाहेको थियो। यद्यपी माओवादीभित्रकै प्रचण्ड लगायतको खेमाले बाबुरामलाई प्रधानमन्त्री हुन दिन चाहेको थिएन। तरपनि समयले साथ दिएपछि २०६८ भदौमा उनी प्रधानमन्त्री भएपनि। प्रधानमन्त्री भएपछि सुरुमा उल्लेख भएझै मुस्ताङ म्याक्सबाट उनको स्टन्ट सुरु भयो।

प्रधानमन्त्री पदबाट २०६९ फागुनमा हट्दा बाबुरामसँग नत जनयुद्धकालको साख रह्यो, नत अर्थमन्त्री हुँदा कमाएको ख्याति नै। बरु उनको शासनकालमा मुलुकमा कुशासन, अनियमितताले सीमा नाध्यो। नीति, नियमलाई लात्तीले हान्दै सरकारले मनलाग्दी कामहरु गर्न थाल्यो त्यो पनि प्रधानमन्त्रीकै निर्देशनमा। प्रधानमन्त्री पदबाट बाहिर निस्कदा बाबुरामसँग नत पार्टीका कार्यकर्तानै थिए, नत जनतानै। बाबुराम पदबाट निस्कदा कलंकको भारी बोकेर बाहिरिएका थिए।

त्यही कलंकलाई धुँदै आफूलाई सदाचारी र पदलोलुप नभएको देखाउन उनले अहिले उपाध्यक्ष पदबाट राजिनामा दिएका छन्। किनकी मंसिर ४ को लागि फेरि पनि संबिधान सभाको निर्वाचन मिति तोकिएको छ। त्यतिखेर अवश्य पनि जनताले बाबुरामलाई प्रधानमन्त्री हुँदा देश र जनताको लागि गरेको कामको फेहरिस्त माग्नेछन्। त्यसको अपजशबाट अलिकति भएपनि यो राजिनामाले उनलाई हल्का बनाउन सक्छ। शायद त्यही आशले उनले पदत्यागको घोषणा गरेका हुनसक्छन्। यद्यपी उनको यो परिदृश्य पनि प्रधानमन्त्री हुँदाका स्टन्टमात्र हो। केही हप्तामै उनी पूर्बवत् पुरानै पदमा फर्केको खबर सञ्चारमाध्मयले अहिलेदेखिनै तयार गरेर राख्दा पनि फरक पर्नेछैन। उनी चर्चाका लागि यस्ता स्टन्ट दिइरहने राजनीतिज्ञ हुन् ।