Monday 8 Baishak, 2071 |
Menu

ब्लग

उमा हेरेपछि छिरिङप्रति बढेको सम्मान

(0 votes)
फिल्म धेरै हेर्ने बानी भएपनि नेपाली फिल्म कमै हेर्नेमा पर्छु। अघिल्लो शुक्रबार रिलिज भएको दुई फिल्म उमा र हलिउडको फास्ट एन्ड फ्युरिअसमा मेरो च्वाइस दोस्रोमा थियो। फास्ट एन्ड फ्युरिअस फस्ट डे फस्ट सो भ्याएको चार दिनपछि उमा हेरेँ।
फिल्म हेर्दा हलमा नरुनेहरु कमै छन्। म फरक रहुँ कसरी। केही दृश्यले आँखामा बादलमात्र ल्याएन झरी नै फुटायो। मैले आँखा पुछिरहँदा यताउति हेरेँ। अरु पनि गालातिर हात लगाइरहेका थिए। रुने म मात्र थिइन।
ऋषिकेश दाहाल

२०५७ साल देखि पत्रकारितामा सक्रिय ऋषिकेश दाहाल नागरिक दैनिकको स्थापना कालदेखि नै संलग्न छन्। हाल उनी www.nagariknews.com मा कार्यरत छन्। उनलाई Twitter मा www.twitter.com/rishikeshdahal र Facebook मा www.facebook.com/rishug भेट्न सकिन्छ।

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.

माओवादी 'जनयुद्ध' उत्कर्षतिर उक्लिरहँदा निर्देशक छिरिङरितार शेर्पाले मुकुन्डो बनाएका थिए। पत्रकारिता सुरु गर्दाताका सिनेमाका विषयमा पनि लेखिन्थ्यो। कला पेजका संयोजक लीलाराज खतिवडाले छिरिङरितारलाई भेटाएका थिए। तर यो चिनजान दीर्घकालीन थिएन। उनको फिल्म मुकुन्डो नामी भएर स्थापित भयो- देश, विदेशमा।
दुई साताअघि नागरिकको कार्यकक्षमा नै उनै छिरिङरितार आउँदा मैले चिनिन। उनी हिँडिसकेपछि नचिनेकोमा थकथक लाग्यो। उनको मुकुन्डो फिल्म अहिले पनि मेरो मानसपटलमा प्रस्ट खेल्छ। फिल्म सफल हुनुको यो सबैभन्दा बलियो प्रमाण हो – बनेको दर्जन बढी वर्षहरु वित्दा पनि प्रभाव परिरहेछ।


पहिलो प्राथमिकतामा नपरे पनि उमा हेर्न जानुको पछाडि उनै निर्देशक थिए। त्यसमाथि फिल्म हेर्न जानुअघि दीपेन्द्र लामासँग हुने छलफल मेरा लागि अर्थपूर्ण हुने गर्छ। उसले 'अरुभन्दा फरक छ' मात्रै भन्यो। उसले हेर्नैपर्छ या नहेरे पनि हुन्छ भनेपछि म हलसम्म पुग्ने या नपुग्ने तय हुन्छ। यसपाला उसले कुनै निर्णायक आशय दिएन।


फिल्म र प्रमुख पात्र ऋचा शर्मामाथि सन्तोष रिमालको आलेख र पछि रिभ्यु छापियो। सन्तोषसँग फिल्मबारे केही जिज्ञासा राखेँ। उसले मुकुन्डो 'जेनर'को फिल्म होइन भन्यो। 'केही नाटकीय छ- यसमा तर राम्रो छ,' उसले यस्तै सुनायो।


गणतन्त्र दिवसले टुँडिखेल गुञ्जिरहँदा सिभिल मल टनाटन थियो। टिकट नै नमिल्ला जस्तो। हुलका हुल फर्किँदै पनि थिए। उमा, अर्थात् ऋचा शर्मा पनि त्यतै देखिइन्। लाग्यो, विशेष सो रहेछ र फिल्म हेर्न नपाइने भो। तर, पाइयो। टीन एजरहरु फास्ट एन्ड फ्युरिअसको टिकट नपाएर झोक्किँदै फर्किँदै रहेछन्। उमामा केही कुर्सी खाली रहेछन्। क्युएफएक्सको क्लब मेम्बर कार्ड घोटेर टिकेट किनियो। अघिल्ला दुई लाइनबाहेक पूरै सिट भरिभराउ थिए।

फिल्म सुरु भयो। सुरुमा फिल्मले प्रभाव पार्ला भन्ने लागेन। क्रान्तिकारी कविताका सप्रसंग व्याख्या र कविता पनि दमदार लागेन। तर, बिस्तारै यो प्लट ओझेलमा पर्दैगयो। सिनेमाले गति लिन थालेपछि सुरुको सोच बदलिँदै पूरै फेरियो । फिल्मले एक किसिमले बाँध्न थाल्यो। 


माओवादी हिंसात्मक द्वन्द्वका केही सजीव तस्बिर नाङ्गो आँखाले देखेकाले पनि घटनाक्रमहरु सहज लाग्दै गयो। २०५८ सालमा माओवादी जनसरकार घोषणा गर्ने कार्यक्रममा सुर्खेतदेखि हिँडेर कालीकोटसम्म माओवादी लडाकुको घेरामा रहेरै पुगिएको थियो। उनीहरुसँग दु:ख साटिएको थियो। उनीहरुले सुनाएका घटनाहरु नै फिल्ममा कतै नचुकी देखिन थालेको अनुभूति हुन थाल्यो।


खोज पत्रकारिता केन्द्रबाट माओवादी जनयुद्धमा सुरक्षाकर्मीले कसरी मानिसलाई बेपत्ता, यातना र ज्यानै लिनेसम्म गर्थे भन्नेबारे समाचार तयार गर्दा पनि यो विषयसँग नजिकिँन पुगेँ। त्यसैले युद्धरत दुवै पक्षका राम्रानराम्रा कुराहरु बुझ्ने अवसर मिलेको थियो।


फिल्ममा मानवीय पक्षलाई सबैभन्दा बलियो रुपमा उतारिएकाले द्वन्द्वरत कुन पक्षमा फिल्म छ भन्ने प्रश्न नै उठ्न सक्दैन। तिहारको प्रसंगमा लाइटसँग जसरी खेलिएको छ- नेपाली फिल्ममा स्मरणमा रहने गरी मैले देखेको छैन। निर्देशक शेर्पा आफै सम्पादनमा सक्रिय रहेछन् त्यसैले भिजुअल ल्याङ्वेज कतै हडबडाउँदैन। केही प्राविधिक त्रुटी नभएका होइनन्। तर यी त्रुटी फिल्मकार, फोटोग्राफर र समीक्षकभन्दा अरुले देख्दैनन्। त्यसो त कुनै पनि फिल्म फिल्म बुझ्ने वर्गका लागि मात्र बन्ने होइन।


फिल्मका केही दृश्यले मानवीय संवेदनामा छोइहाल्ने रहेछ। फिल्म हेर्दा हलमा नरुनेहरु कमै छन्। म फरक रहुँ कसरी। केही दृश्यले आँखामा बादलमात्र ल्याएन झरी नै फुटायो। मैले आँखा पुछिरहँदा यताउति हेरेँ। अरु पनि गालातिर हात लगाइरहेका थिए। रुने म मात्र थिइन। फिल्म सकेर भृकुटीमण्डपको बुकफेयरमा भेटिएका पत्रकार सुदीप श्रेष्ठले इन्टरमिसनपछि लगातार रोइरोइ फिल्म हेरेको सुनाएपछि लाग्यो : मलाईमात्र होइन सबैलाई मन परेछ।


हो, फिल्म नाटकीयरुपमा सकिन्छ। अगाडिका प्रसंगहरु माओवादी जनयुद्धका सजीव चित्र हुँदाहुँदै पनि अन्तिम १० मिनेट नाटकीय बन्छ। म सचेत रुपमा फिल्म हेरिरहेको थिएँ- डकुमेन्ट्री होइन। त्यसलै बोझिलो लागेपनि खराब लागेन।


मिथिला शर्माको अभिनय मुकुन्डो र उमा दुवैमा बिल्कुलै फरक। तर, दुवैमा यति सशक्त कि तारिफ गरेर सकिन्न। ऋचा शर्मा र सौगात मल्ल निखारिएका छन्। यिनीहरुमात्र होइनन्, खोट लगाउनुपर्ने अभिनय कसैमा छैन।


फिल्म हेरेपछि छिरिङरितारप्रतिको सम्मान बढेको छ। कलाकार तारिफका लायक छन्। मुकुन्डोबाट चिनेको शेर्पाको उज्यालो निर्देशनकारितालाई यो फिल्मले कायम राख्यो। यो क्रम उनी जति जारी राख्छन् नेपाली सिनेमाको उति श्रीवृद्धि हुनेछ। र, कमै नेपाली फिल्म हेर्ने मजस्ता पनि हलतिर तानिनेछन्।