6 Baishak, 2071 |
Menu

ब्लग

क्यासिनो कथा

(0 votes)
'ल डन आए।'
सँगै रहेका मित्रले सेतो सर्टमा ढलक–ढलक ढल्कँदै आएका लगभग पाँच फुट सात इञ्चको मान्छेतिर संकेत गरे। कुनै फिल्मको हिरोझैँ चिटिक्क परेका उनी हामी भएतिरै आए। परिचितसँग हात मिलाए। लाग्यो कुनै फिल्ममा डनको भुमिका निभाएका अभिनेता पो हुन् कि?
मित्रले परिचय गराए, 'उहाँ बलराम सापकोटा।'
केपी ढुंगाना

२०५८ बाट पत्रकारिता सुरु गरेका ढुंगाना सुरक्षा र संगठित अपराधको विषयमा दख्खल राख्छन्। २०६९ मा प्रकाशित उनको पुस्तक ओपन सेक्रेट 'बेस्ट सेलर' बनेको छ। 

ट्विटरः @hamroblog

फेसबुकः facebook.com/kpdhungana

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
ज्या...! चलचित्रको पर्दाको डन भन्ठानेको त क्यासिनोतिर हल्लिने छोटा डन पो परेछन्।
'अनि, उनी केपी,' मित्रले मेरो परिचय दिए। उनले मलाई नियाल्दै भने, 'ए तपाईँ! मेरोबारे खुब समाचार लेख्नुहुन्छ है,' म फिस्स हाँसे। 
उनी अझै बोल्ने मुडमै थिए, 'लेख्नुस्, लेख्नुस्, मेरो समाचार नलेखी पत्रिकै बिक्दैन भन्ने सुनेको छु। लेख्नुस्। बिकाउनुस्।' उनी बोलिरहँदा म दुवै हात पेटमाथि राखेर 'प्रचण्ड–शैली' मा बुढी औंला घुमाइरहेको थिएँ।
खास नामले भन्दा 'बले' टाइटलले परिचित यी हुन् काभ्रेका युवा। फ्रेस परिचय– काठमाडौंका नवधनाढ्य। हिजो गाउँमा बलेका रुपमा परिचित उनी, अहिले भने 'हेलिकोप्टरे बले'का रुपमा परिचित छन्।
नाम फेरिनुको तथ्य रोचक छ।
उनीसँग राम्रै उठबस भएकाले भनेका थिए, 'बिहेमा गणेश लामाहरूसहितको जन्ती हेलिकोप्टरमै आका थे गाउँमा।' बिहे होस् या चण्डी पुजा, जे काममा पनि गाउँको बारीको पाटामा हेलिकोप्टरले धुलो उडाउँदै गाउँ जाने उनको सोख हो। त्यसैले उनको नाम बलेबाट हेलिकोप्टरे बले बनेको रहेछ। 
परिपक्व जानकारी नभए पनि उनको अहिलेको आर्थिक अवस्था पुस्तौनी वा उनको मिहेनतको कमाई होइन भन्न कुनै आधारको चाहिन्न। क्यासिनोमा जुवा खेल्न आउने जुवाडेलाई चर्को ब्याजमा पैसा दिने, बाहुबलको आधारमा साँवाभन्दा ब्याज बढी असुलेर उसको सर्वस्वहरण गर्ने, उनको फस्टाएको व्यवसाय यही हो भन्नेमा न उनी भ्रममा छन् न उनीबारे परिचित।
उनको लुकाएका आर्थिक स्रोतमध्ये थुत्दाथुत्दै भेला भएका एक चौथाई आम्दानी विवरण नै अवैध देखियो। केन्द्रीय अनुसन्धान ब्युरोले तयार पारेको सम्पत्ति विवरणको फाइलमा उनको सम्पत्ति विवरणको बैध स्रोत नखुलेको उल्लेख हुनुले नै उनको विगत र अहिलेकोे आर्थिक हैसियतको रहस्य प्रष्ट्याउँछ नै। 
चार–पाँच वर्षदेखि समाचारका विषय बनेका उनीसँग त्यस्तै पाँच दिन अगाडि नयाँ बानेश्वरतिर यसरी नै भेटाइदियो दैवले।
... 
यो फ्ल्यासब्याकको कुरा भयो। वर्तमानमै फर्किऊँ।
बलराम उर्फ बले अर्को मित्रतिर मोडिए। 'अहिले कता हो नि?' मित्रको प्रश्नसँगै घाँटीमा अड्काएको रेवनको शानदार चश्मा हातको औलामा अड्काएर नचाउँदै उनले भने, 'के गर्ने, नेपालका क्यासिनोमा ट्याक्सी ड्राइभर भात खान मात्र आउन थाले, व्यापार सुक्यो, त्यसैले म अहिले गोवा र सिंगापुरतिर छु।'
'ए गोवा, गोवातिर पनि क्यासिनो छ नि, त्यतै जमेको होै' तित्राझैे बानी परेको मेरो मुख के चुप बस्थ्यो, तित्रिक्क गरिहाल्यो। तर, उनले मतिर ध्यान दिएनन्। उतै गफिए 'सिंगापुरमा विजनेस सेटल गर्दै छु, मिडिया र पुलिस मिलेर धेरै पेले यहाँ, अब नेपालमा बस्दिनँ।'
उनका कुरा सुनेर मेरो मुख चिलाइरहेथ्यो, 'कहाँ त्यस्तो कुरो गरेको बलरामजी, तपाई सिंगापुरमा बसेपछि हामीले कसको समाचार लेख्ने? अनि पत्रिका कसरी बिकाउने? हामीलाई बेरोजगार नबनाउनुस् न।' 
उनी बल्ल मतिर फर्किए। सँगैका मित्र फिस्स हाँसे। बलराम मौन। 
... 
चर्को घाममा राप्पिएर कार्यालयको कुर्सीमा बसेको मात्रै थिए, कार्यालयको फोन चिच्च्यायो। 'हलो..।'
फोनकर्ताको रोजाई मै रहेछु।
बालाजुमाथितिर बस्ने हिजोका करोडपतिको फोन रहेछ। नागरिकमा प्रकाशित 'एक लाख ऋणको ब्याज दैनिक ५० हजार' शीर्षकको क्यासिनो सम्बन्धी समाचारले गद्गद् भएर फोन गरेका रे।
'तपाईसँग म प्रत्यक्ष परिचित चैं छैन, नियमित पाठक हुँ, तपाईको समाचार पढेर मन थाम्न सकिनँ। फोन गरेको,' उनी भन्दै गए 'म पनि क्यासिनोपीडित हुँ, हिजो करोडपति थिएँ, अहिले क्यासिनोले रोडपति बनायो।'
'अहिले हजारको नोट देख्न पनि मुस्किल छ' उनको स्वरमा पश्चात्ताप र ग्लानि मिश्रित थियो, 'क्यासिनो भन्ने कस्तो मसानघाट खोलेछ सरकारले।' 
रहरै रहरमा क्यासिनो छिर्दा हारेको पैसा उठाउँछु भन्दाभन्दै काँठतिरको आफ्नोसँगै पुस्तौनी सम्पत्ति नै स्वाहा भएछ। त्यस्तै तीन करोड रुपैंया स्वाहा भयो रे उनको। 
'त्यो क्यासिनो खेलेर कंगाल भयो, अहिले पाटीको बास छ, क्यासिनोले अर्कोको घर नै भताभुङग बनायो, बेपत्ता भएकै पनि वर्ष वित्यो।' उनी आफूजस्तै लतमा फसेका परिचितहरूको अवस्था बताउँदै गए, 'फलानोको आफ्नै चिल्लो कार थियो अहिले अर्काको ट्याक्सी चलाउँछ।'
जुवाडे बनेकोमा उनमा पछुतो र आत्मग्लानि जति थियो राज्य संयन्त्रप्रति घृणा पनि उत्तिकै देखिन्थ्यो। क्यासिनोको खालमा हारेको रकमभन्दा ५० लाख बढी सम्पत्ति बले जस्तै क्यासिनोमा अबैध लगानी गरेर चर्को व्याज असुल्न दिनेश अलकत्रेले चप्काएका रहेछन्। 
'व्याज भन्दै ५० लाख बढी असुले' विद्यालयको पैसा चुक्ता गर्न नसक्दा छोरा/छोरीको पढाई विचैमा छुट्ने भन्दै पिरलिएका उनले भने, 'क्यासिनोमा हारेर मात्रै हैन, त्यही बहानामा लुट्नेहरूले पनि धेरैलाई कंगाल बनाए।'
समस्यै समस्या बोकेर महानगरिय प्रहरी आयुक्त कार्यालय पुग्दा त्यहाँका प्रमुख नवराज ढकालले खर्च भनेर एक हजार रुपैंया दिएको सम्झदै उनले भने, 'हजारको नोट हातमा पर्दा तुरुक्कै आँसु चुहियो, कस्तो थियो जीवन, अहिले कस्तो भयो।'
... 
विद्यमान कानुनअनुसार क्यासिनोमा नेपाली नागरिकको प्रवेश पूर्ण प्रतिबन्धित हो। पर्यटन मन्त्रालयले दिने क्यासिनो सञ्चालनको अनुमतिपत्रमा नेपाली प्रवेश गराई जुवा खेलाए अनुमतिपत्र रद्द हुने कडा सर्त छ। तर, अहिलेसम्म कुनै क्यासिनोको इजाजत रद्द भएको छैन, नेपाली छिराएर जुवा नखेलाउने क्यासिनो पनि छैन।
क्यासिनो सञ्चालक हाकाहाकी नै भनिरहेछन्, 'नेपाली नछिराई क्यासिनो चल्दैन, त्यसैले प्रहरीलाई छापा हान्न नपठाउ।' वास्तविकता पनि यही हो। जसलाई लक्षित गरेर नेपालमा क्यासिनो खोलिएको हो अब उनीहरू नेपाल आउँदैनन्। 
दक्षिण एसियामा क्यासिनो खोल्ने नेपालमा निजी विमान लिएर क्यासिनो खेल्न पर्यटक आउने हिजोको वास्तवीकता अहिले कथा बनिसक्यो। भारतीय नोटको बिटा सुटकेसमा लिएर पाँच रातसम्म क्यासिनो नछाड्ने भारतीय पर्यटक अहिले शुन्य बराबर हो। 
फाट्टफुट्ट झुक्किएर छिर्ने पर्यटकले क्यासिनोको सञ्चालन खर्च धान्दैनन्। नेपाली जुवाडेविना आठ वटा हैन, एउटा क्यासिनो चल्न मुस्किल छ। कर्मचारीको आवरणमा सबै क्यासिनो कुनै न कुनै दलको कब्जामा छ। सञ्चालकले क्यासिनो बन्दै गर्छु भने पनि बन्द हुने अवस्था छैन। क्यासिनोका कर्मचारी मिलेर क्यासिनो चलाइदिन्छन् भन्ने उदाहरण नेपाल क्यासिनोले कुनै समय स्थापित गरेको हो। 
त्यसैले क्यासिनो सञ्चालकहरूले कानुन अवज्ञा गर्र्दै नेपाली नछिराई क्यासिनो चल्दैन भन्नु सत्य नै हो। त्यो नीति निर्माण तहमा बसेकाहरूलाई पनि जानकारी छ। 
व्यक्तिको आर्थिक ल्याकत अनुसार नेपाली नागरिकलाई पनि क्यासिनो छिर्न पाउने कार्ड वितरण गर्ने कि? 
क्यासिनो पनि चल्ने, मध्यमवर्ग टाट पनि नपल्टने उपायको खोजीमा यस्ता विकल्प चर्चामा नआएका हैनन्। विदेशमा क्यासिनोमा करोडौं उडाउने नेपालीको संख्या सुन्य छैन। विदेश सयर गर्नसक्ने ल्याकत भएका नेपालीमध्ये क्यासिनोकै लागी दुबई, सिंगापुर, अमेरिकाको लासभेगास पुगिरहेका छन्। उनीहरूलाई नेपालमै अड्काउन माथिको विकल्प चर्चामा आएको हुनसक्छ। तर गम्भीर छलफल हुन सकेन।
जिम्मेवार निकायका अधिकारी मौन छन्। उनीहरू न विद्यमान नियम कानुन कडाइका साथ पालना गराउँन सक्रिय छन्, न परिस्थितिअनुसार परिमार्जनमा उदार नै। क्यासिनोमा नेपाली छिराएर जुवाको लत लगाउने क्यासिनो बन्द गराउने हिम्मत पनि छैन उनीहरूमा, न प्रष्ट नीति बनाएर सहज वातावरणको निर्माणमा क्रियाशील देखिन्छन्। 
उनीहरूको यही 'चलाखी मौनता'ले हजार हार्दा गाँस काटिनेहरू क्यासिनोका सहज सिकार बनिरहेका छन्। सरकारको निष्त्रि्कयता र व्यवसायीको बाध्यताबीच खेल्न पल्किएका बलराम सापकोटा, दिनेश अधिकारी उर्फ चरी, मिलन सापकोटा, अरुण सेढाई, सञ्जीव स्याल, पञ्चे लामा, दावा लामा, विष्णु लामा, निरज लामा, जोग गुरुङ, मिलन कार्की, सोभित सिलवाल, कविन शाक्य, पूर्ण गुरुङ, रमेश सुनुवार, दिनेश अलकत्रे, विनोद ओली, राजु बोगटी, गोकुल कु“वर र विराट प्रधानजस्ता विचौलिया रातारात नवधनाढ्य बनिरहेछन्।
व्यवयासी र विचौलिया दुबैलाई दुहुनो गाई बनाउन खप्पिस राज्य संयन्त्रका सदस्य उनीहरूवाट चुहिएको हन्डीमा मस्त छन्। कानुन कार्यान्वयन गराउने दायित्व पाएको सुरक्षा संयन्त्रका हाकिम छापा मार्दै जुवाडे समात्नुलाई नै बहादुरीको सूचीमा राखेर गमक्क छन्। 
बलरामहरू निरन्तर हेलिकोप्टर बलेमा प्रमोशन भइरहेछन्, क्यासिनोका पञ्जामा फसेकाहरू रोडपतिमा झरिरहेछन्, राज्य कानुनको ठेली देखाएर दलालीमा मस्त छ, प्रहरी प्रशासन दुबै हातमा लड्डु पाएर मख्ख छ।