४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

हक्कीमा आर्मी र गण्डकी फाइनलमा

विभागीय टोली आर्मी क्लब र गण्डकी प्रदेश सोमबार छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

काभ्रेको धुलिखेल खेलकुद मैदानमा भएको पहिलो सेमिफाइनलमा आर्मीले मधेस प्रदेशलाई ६–० गोलअन्तरले पराजित गर्‍यो। आर्मीलाई जित दिलाउन सरस्वती तामाङले ह्याट्रिक गरिन्।

त्यस्तै डम्मरा भट्टले दुई गोल गर्दा सीमा खड्काले एक गोल गरे। डम्मराले खेलको पाँचाैं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाइन्। खेलको १०औं मिनेटमा डम्मराले नै ब्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले अग्रता दोब्बर बनायो। आर्मीका लागि २२औं मिनेटमा सीमाले गोल गर्दै टोलीलाई ३–० गोलको अग्रता दिलाइन्। खेलको २३औं मिनेटमा सरस्वतीले आर्मीका लागि चौथो गोल गरिन्।

३९औं मिनेटमा सरस्वतीले ब्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले ५–० गोलको अग्रता बनायो। खेलको ५७औं मिनेटमा सरस्वतीले गोल गर्दै आर्मीलाई ६–० गोलको जित दिलाइन्।

आर्मीलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेकी निर्मला पाण्डे प्लेअर अफ द म्याच चुनिइन्। आर्मीले अब फाइनलमा गण्डकी प्रदेशको सामना गर्नेछ। दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई पेनाल्टी स्टोकमा २–० गोल अन्तरले हराउँदै गण्डकी प्रदेशले फाइनलमा स्थान बनाएको छ। निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीमा भयो, जसमा गण्डकीले बाजी मार्‍यो।

गण्डकीका लागि ज्योति काफ्ले र मेलिना गौचनले गोल गर्दा सीतामाया बल र शिल्पा डंगौराले गोल गर्न सकेनन्। यता सुदूरपश्चिमका चारै जना खेलाडीले गोल गर्न सकेनन्।

 सुदूरपश्चिमका सन्जु चौधरी, पुर्णिमा नेगी, आशिका एसके र जमुना भट्टराईले गोल गर्न सकेनन्। त्यसअघि खेलको १५औं मिनेटमा सीतामायाले गोल गर्दै गण्डकीलाई अग्रता दिलाएकी थिइन्। २४औं मिनेटमा सुदूरपश्चिमका लागि नमिता एसकेले बराबरी गोल फर्काइन्। गण्डकीका लागि खेलको २७औं मिनेटमा गीता पुनमगरले गोल गोल गर्दै टोलीलाई २–१ गोलको अग्रता दिलाइन्।

३१औं मिनेटमा गण्डकीकी सीतामायाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–१ गोलको अग्रता दिलाइन। त्यसपछि सुदूरपश्चिमले लगातार दुई गोल गर्न सफल भयो। ४१औं मिनेटमा पूर्णिमा उराउले गोल गर्दै टोलीलाई ३–२ गोलको अवस्थामा ल्याइन्।

५०औं मिनेटमा पूर्णिमाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई बराबरीमा ल्यएकी थिइन्। खेलको प्लेअर अफ द म्याच सुदूरपश्चिमकी आशिका चुनिइन्। गण्डकीले अब उपाधिका लागि आर्मी क्लबसँग खेल्नेछ। दुई टोलीबीचको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ। त्यसअघि बिहान ८ बजे तेस्रो स्थानका लागि सुदूरपश्चिम र मधेस प्रदेश खेल्नेछन्।

प्रतियोगितामा नेपाल आर्मी, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा पहिलो हुने टोलीले १ लाख पाउँदा दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५० हजार नगद पुरस्कार एवं प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रकाशित: १८ वैशाख २०८१ ०७:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App