१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

नेपालले सेमिफाइनलमा यूएईसँग खेल्ने

अपराजित नेपालले एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्ने भएको छ।

ओमानमा जारी प्रिमियर कपमा नेपाल अपराजित टोली हो। लिगको अन्तिम खेलअगावै नेपाल समूहविजेता बन्ने पक्का थियो। त्यसैले नेपाल दोस्रो चरण (सेमिफाइनल) को प्रतिद्वन्द्वीका लागि ओमान र कुवेतबीच नतिजाको पर्खाइमा थियो।

ओमानले कुवेतविरुद्ध ४६ रनको जित निकाल्यो र युएई समूह उपविजेता बन्दै अन्तिम चारमा पुग्यो। यो खेलसँगै जारी प्रिमियर कपको सेमिफाइनल समीकरण पूरा भयो। जितसँगै चार खेलबाट आठ अंकसहित ओमान समूह ‘बी’ को विजेता बन्यो। युएई ६ अंक जोडेर दोस्रो स्थानमा रह्यो।

त्यससँगै नेपालले सेमिफाइनलमा युएई प्रतिद्वन्द्वी पाएको हो। गत संस्करणको एसिसी प्रिमियर कपमा नेपालले युएईलाई नै हराउँदै एसिया कपमा स्थान बनाएको थियो। यस पटक पनि नेपाल उपाधि जोगाउने लक्ष्यमा छ।

ओमानले समूह ‘बी’ को उपविजेता हङकङको सामना गर्नेछ। नेपाल र युएईबीचको पहिलो सेमिफाइनल शुक्रबार हुनेछ। सोही दिन ओमान र हङकङ पनि भिड्नेछन्। समूह ‘ए’ मा नेपालले चार खेलबाट आठ अंक जोड्यो। हङकङको चार अंक रह्यो।

समान चार अंक भए पनि कतार नेट रनरेटका आधारमा तेस्रो भयो। हङकङको नेट रनरेट –०.१२८ र कतारको –०.४५३ रह्यो।

प्रकाशित: ५ वैशाख २०८१ २१:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App