१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विराटनगर झडप: १२ वर्षीय बालक सहित ५ प्रहरी घाइते, ३ पक्राउ (अपडेट)

स्थिति नियन्त्रण लिन ७ राउण्ड हवाई फायर, २७ सेल अश्रुग्याँस प्रहार

विराटनगर महानगरपालिका वडा नम्बर-१५ र १७ मा बुधबार दिउँसो दुई समुदायबीच भएको दोहोरो झडपमा १२ वर्षीय एक बालक सहित ५ प्रहरी घाइते भएका छन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

दुई समुदायबीच दोहोरो झडप हुँदा रानी क्षेत्र तनावग्रस्त बनेपछि स्थितिलाई नियन्त्रणमा लिन ७ राउण्ड हवाई फायर र २७ सेल अश्रुग्याँस प्रहार गरिएको मोरङ प्रहरीले जनाएको छ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुपरेको बताउँदै, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने, ‘झडपलाई नियन्त्रणमा लिन हवाई फायर, अश्रुग्याँस प्रहार गर्नुका साथै लाठी प्रहार गरेर स्थितिलाई नियन्त्रणमा लिनु परेको हो। अहिले त्यस क्षेत्रमा नेपाल र सशस्त्र प्रहरी व्यापक रुपमा परिचालन गरिएको हुँदा स्थिति नियन्त्रणमा आइसकेको छ। झडपका क्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन्।’

रामनवमीको अवसरमा निकालिएको र्‍याली रानी क्षेत्रमा पुगेपछि तनावको स्थिति सिर्जना भएको थियाे। र्‍याली घुमेर रामजानकी मन्दिरमा कोणसभा गर्न जाने क्रममा दुई पक्षबीच विवाद बढ्दै गएपछि झडपको स्थिति सिर्जना मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए।

विराटनगर–१३ र १५ बाट रामनवमीको अवसरमा एउटा समुदायले निकालेको र्‍याली विराटनगर बजार परिक्रमापछि रामजानकी मन्दिर नजिक पुगेर कोणसभामा परिणत हुने कार्यक्रम थियो। तर, रानी रोड, हनुमान मन्दिर, आइसिपी रोड, छाला फ्याक्ट्री र मण्टा पोखरी हुँदै गएको र्‍यालीलाई अर्को समुदायले अवरोध गरेपछि तनाव सुरु भएको प्रहरीले जनाएको छ।

अहिले स्थितिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिइसकेका छन्। माहोल भड्काउन र भीडलाई उत्तेजित बनाउन भूमिका खेल्ने ३ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको र केही व्यक्तिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

दुवै पक्ष लाठी, तरबारलगायतका घरेलु हतियारसहित झडप र प्रदर्शनमा उत्रिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ वैशाख २०८१ २१:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App