१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सांस्कृतिक जागरणको सेतु ‘महायज्ञ’ : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादव।

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ऐतिहासिक जननायक सलहेसको पवित्र भूमि, मधेश जनविद्रोहको उद्गम स्थल सिरहा र यस क्षेत्र वरपरका स्थानीय बासिन्दाहरुमा सामाजिक, सांस्कृतिक र आध्यात्मिक जागरण पैदा गर्न महायज्ञ महोत्सवबाट टेवा पुग्ने बताएका छन्।

उनले मधेश प्रदेशको सिरहा नगरपालिका–१४, खिरौना नवटोलीमा श्री रामजानकी महायज्ञ समितिद्वारा आयोजित ‘श्री श्री १०८ श्री रामजानकी महायज्ञ महोत्सव’ को बुधबार उद्घाटन गर्दै महायज्ञबाट सम्पूर्ण नागरिकमा आन्तरिक आध्यात्मिक चिन्तनको प्रस्फुटन गर्दै परस्पर मैत्रीभाव, अपनत्वभाव, भाइचारा, मेलमिलाप र भ्रातृत्व भाव पनि बढ्ने विश्वास व्यक्त गरे।

‘महायज्ञ, धार्मिक अनुष्ठानलगायतबाट मानव जीवनमा प्रादुर्भाव हुने अलौकिक अध्यात्म शक्ति तथा धार्मिक चिन्तनले व्यक्तिलाई सही र असल मार्गमा डोर्‍याउन सघाउँदछ। यसले व्यक्तिलाई सबै मानिस र जीव–जन्तुलाई समान दृष्टिकोणले बुझ्न र सम्मान गर्न पनि सहयोग पुग्ने गर्दछ ’ उपराष्ट्रपति यादवले भने,‘ यी र यस्ता महायज्ञहरुले व्यक्तिलाई भौतिक वस्तुहरुप्रतिको मोह भंग गराउँदै असीम शान्तिको मार्गमा हिँड्ने आध्यात्मिक सोचको विकास पनि गराउँदछ। महायज्ञ आफैमा एउटा सांस्कृतिक र सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतालाई बढावा दिने अनुष्ठान हो। यसले व्यक्तिलाई नाम, दाम र लोकप्रियता गौण विषय हो भन्ने तथ्य बुझ्न पनि मद्दत गर्दछ’, उनले भने। 

उनले द्रुत प्राविधिक विकास र सामाजिक परिवर्तनको यो युगमा, विश्वले शान्ति संकटको सामना गरिरहेकोमा चिन्ता व्यक्त गर्दै वैज्ञानिक प्रविधिहरुले हामीलाई एकआपसमा नजिक ल्याए पनि आजको मानव सभ्यता चिन्ता, अवसाद जस्ता मनोविक्षिप्तता र अनेकौँ जटिल मनोविकृतिबाट सिर्जित समस्याहरूसँग लड्न बाध्य पनि बनाएको बताए।

‘यसले हाम्रो जीवन ऊर्जाको क्षयीकरण हुने गर्दछ। अझ व्यस्त जीवनशैलीले मानिसलाई असन्तुलनको अवस्थामा पुर्‍याइ दिएको छ’, उनले भने, ‘यस्तो अवस्थामा महायज्ञ जस्तो धार्मिक अनुष्ठानको उपादेयता झनै बढी हुने गर्दछ।’

उपराष्ट्रपति यादवले महायज्ञको भौतिक र आध्यात्मिक महत्त्व रहेको उल्लेख गर्दै यज्ञको ऊष्माले मानिसको अन्तः करणमा देवत्वको छाप छाड्न सक्ने बताए। ‘भनिन्छ, जहाँ यज्ञको आयोजना गरिन्छ त्यहाँको भूमि र प्रदेश सुसंस्कारहरुको छापलाई आफूभित्र धारण गर्न पुग्दछ। यज्ञमा गुञ्जिने जय जयकार ध्वनिले हाम्रो मनोभूमिलाई उच्च सुविकसित एवं सुसंस्कारी पनि बनाउँदछ।’

उनले कुबुद्धि, कुविचार, दुर्गुण तथा दुष्कर्महरुले युक्त व्यक्तिहरूको मनोभूमिमा पनि यज्ञले व्यापक सुधार ल्याउन सहयोगी र महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए।

‘त्यसैले यज्ञलाई त्यागमय जीवनको आदर्शको प्रतीक पनि मानिएको छ। इदन्न मम–(यो मेरो होइन सम्पूर्ण समाजको हो) भन्ने भावना सिंगो मानव जातिमा विकास गराउन उत्प्रेरित गर्दछ। यसले हाम्रो सनातन आध्यात्मिक समाजवादलाई जीवन्त बनाउनमा सघाउँदछ।’ 

यज्ञको अर्को महत्त्वपूर्ण पाटो भनेको यो सामूहिकताको प्रतीक पनि भएको उल्लेख गर्दै उनले भने, ‘अन्य उपासना, अनुष्ठान र धार्मिक प्रक्रियाहरू एक्लो पनि गर्न सकिन्छ। तर, यज्ञ–महायज्ञ यस्तो कार्य हो, जसमा बढी भन्दा बढी मानिसको सहयोग आवश्यकता पर्दछ। त्यसैले यज्ञ आयोजनलाई सामूहिकता, सहकारिता र एकताको भाव विकसित गराउने उपर्युक्त माध्यम पनि भनिएको हो। 

उपराष्ट्रपति यादवले समाजमा विद्यमान गरिबी, सामाजिक विकृति, एक्लोपन र तनावग्रस्त जीवनशैलीले आफूलाई नै सिध्याउने जस्तो नकारात्मकताले हामीलाई गम्भीर रुपमा गाँजेको अवस्थाप्रति चिन्ता व्यक्त गरे। 

‘यी सबैको जरो मन हो, जसले कालान्तरमा मानसिक समस्या निम्त्याउँदछ। यो समस्या समाधानका लागि पनि महायज्ञ कोशेढुंगा साबित हुन सकोस् ’ उनले भने, ‘मानिस आफ्नो योग्यता, शक्ति, विद्या, सम्पत्ति, प्रतिष्ठा, प्रभाव आदिको उपयोग आफ्नो सुखका लागि कम भन्दा कम गरी समाजलाई उसको आधिकारिक लाभ प्रदान गर्न सकोस्, यही आदर्श यज्ञमा सन्निहित हुन्छ। यो तथ्य सबैले मनन र चिन्तन गर्नु आजको आवश्यकता हो।’

उनले महायज्ञका आयोजकहरु, साधुसन्तहरु, धार्मिक अनुयायीहरु, सहभागिहरु, सहयोगी हातहरु लगायत सम्पूर्णको सुख, शान्ति, सुदीर्घ, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामनासहित महायज्ञको सफलताको कामना पनि गरे।

प्रकाशित: ५ वैशाख २०८१ १९:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App