१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
ब्लग

नेपालमा सधैँ ‘अप्रिल फुल’

आज अप्रिल १ अर्थात् अप्रिल फुल। प्रत्येक वर्ष अप्रिल महिनाको १ तारिखको दिन झुटो बोलेर, ख्याल ठट्टा गरेर यो दिन रमाइलो गरिन्छ। नेपालमा पनि सामाजिक सञ्जाल तथा साथीभाइसँगको भेटघाटमा अप्रिल फुल मनाइएको देखियो। यसै मेसोमा केहीले  भने राज्यले नै जनता झुक्क्याइरहेको देशमा  अप्रिल फुल मनाउनुको कुनै अर्थ नरहेको व्यङ्ग हानेका छन्।

‘हामीलाई त राज्यले नै लामो समयदेखि अप्रिल फुल बनाइरहेको छ,’ सामाजिक सञ्जालमा विकाश निरौलाले लेखेका छन्, ‘यस्तोमा अप्रिल फुल मनाई रहनुको कुनै तुक छैन।’ सुशासनको नारा लगाउनेहरू जब कुशासनका सिरानी हालेर राज गर्छन् तब उनीहरूको बाचा अप्रिल फुलको मजाकभन्दा पनि हल्का बन्ने गरेको उनको टिप्पणी छ।

उनले भनेजस्तै देखिन्छ नेपालको वर्तमान अवस्था पनि। जुन देशका मन्त्रीले एक घण्टामा श्रम स्वीकृति दिने निर्णय गर्छन् त्यही देशमा एक वर्षदेखि स्वकृति नपाएका हजारौँ श्रमिक कार्यालय धाइरहेको भेटिन्छन्। सर्वसाधारणले सरकारी सेवाको लागी  लाइन नलाग्नु पर्ने प्रधानमन्त्री बताउँछन्। तर सर्वसाधारणको जिन्दगी लाइनमै बितेर सकिन थालेको छ।

स्वास्थ्य शिक्षा निःशुल्क भनेर घोषणा गरिन्छ। तर त्यो प्रभावकारी ढङ्गले कहिल्यै कार्यान्वयन हुँदैन। सरकार बदलिरहन्छन् तर उनीहरूको ढाँट्ने शैली भने कहिल्यै फेरिएन। नयाँ जोगीले खरानी घसेजस्तै नयाँ भनिएका नयाँ स्टन्ट पनि गर्छन्। तर साउनको वर्षासँगै सबै खरानी  पखालिन्छ। यस्तोमा अप्रिल फुलको कुनै अर्थ रहँदैन भन्ने विकाश निरौलाको धारणासँग एक हदसम्म  सहमत रहन सकिन्छ।

कहिले प्रजातन्त्र, कहिले लोकतन्त्र अनि कहिले गणतन्त्रको नाममा मजाक गरिरहेको कतिपयको बुझाई छ। समाजवादको सोच राखेर आएका हरू परिवारवादको दलदलमा फसेको उदाहरण दिँदै यो भन्दा बढ्दा अप्रिल फुल अर्को हुन नसक्ने उनीहरूको टिप्पणी छ।

‘संसार बदल्न निस्केका जनयुद्धका कमान्डरका सन्तान समेत सुन र  नुनको तस्करीमा समातिन्छन्,’ विनय धिताल लेख्छन्, ‘ अनि प्रजातन्त्रका दुहाईदिनेहरु पदलोलुपतामा बिक्छन्।’ 

अप्रिल फुलमा झुक्किएको मानिसले संभवत त्यही दिनमा थाहा पाउँछ। तर राज्यले  वर्षौंदेखि झुक्काएको नागरिकले  थाहा पाउन सकेको देखिँदैन। ‘साथीभाइले झुक्काउने गरेको अप्रिल १ धेरैलाई थाहा छ ,’ सामाजिक सञ्जालमा निरोज प्रधान लेख्छन्, ‘तर  सरकारले वर्षोदेखि  झुक्काउने गरेको ‘अप्रिय’ अवस्थाको कसैलाई बोध छैन।’

प्रकाशित: १९ चैत्र २०८० १५:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App