१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

नेपाल अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव हुँदै

फाइल तस्बिर

एलाइन्स फर चिल्ड्रेन फिल्म नेपाल (एसिएफ नेपाल) ले ‘नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ।

मंगलबार ‘अभिभावक र नानीबाबु सँगसँगै’ भन्ने आशयका साथ कलाकार दयाहाङ राई, पशुपति राई र ‘गाउँ आएको बाटो’ फिल्मका बालकलाकार प्रसन राईले महोत्सवको लोगो सार्वजनिक गर्दै नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव घोषणा गरिएको हो।  

अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर पहिलोपटक नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव आयोजना गर्न लागेको जानकारी एलाइन्स फर चिल्ड्रेन फिल्म नेपालका अध्यक्ष केदार श्रेष्ठले दिए।

‘अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर आगामी मंसिर ५ देखि १४ गतेसम्म राजधानीमा पहिलो पटक नेपाल अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्न लागेका हौं,’ उनले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल–चलचित्र प्रदर्शन हुने महोत्सव ३ देखि १८ वर्ष उमेर समूह र अभिभावक तथा शिक्षक लक्षित गरिएको छ।’

त्यस्तै महोत्सवमा १८ वर्षमुनिका बालबालिका योङ फिल्ममेकरको फिल्म प्रतियोगिता तथा कार्यशाला पनि हुनेछ। महोत्सवमा निर्णायक जुरीको रूपमा बालबालिका समावेश तथा सहभागिता गराइने छ।

उनका अनुसार महोत्सवमा बाल–चलचित्रबारे तथा यसले बालबालिका र समाजमा पार्ने प्रभावबारे सरोकारवालासँग छलफल तथा अन्तक्र्रिया कार्यक्रमसमेत आयोजना हुनेछन्।  

‘चलचित्र बालबालिकालाई संस्कृति, समाज, शिक्षासँग जोड्नसक्ने विभिन्न कला मिश्रित माध्यम भएको हुँदा महोत्सवले कल्पना गर्न, अवधारणा बनाउन, विश्लेषण गर्न, रचनात्मक सोचको विकास गर्न, विभिन्न सामाजिक, सांस्कृतिक, राजनीतिक मूल्य बुझाउन उल्लेखनीय भूमिका खेल्ने छ भन्ने विश्वास लिएका छौं,’ उनले भने। महोत्सवसँगै एसिएफ नेपालले ‘स्कुल टु स्कुल फिल्म फेस्टिभल’ समेत आयोजना गर्ने भएको छ।

‘बालबालिकाका लागि चलचित्र’ भन्ने अभियानका साथ सन् २०११ मा स्थापना भएको एसिएफ नेपालले विद्यालयहरूमा नियमित बाल चलचित्र प्रदर्शनी तथा छलफल कार्यक्रम, योङ फिल्म मेकिङ वर्कसप र स्कुलमा सिनेमा क्लब सञ्चालन गर्दै आइरहेको छ।

प्रकाशित: ५ वैशाख २०८१ ०७:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App